सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका आठ मिडियाकर्मीका मार्मिक अनुभव
कैलाली – कोभिड-१९ को महामारीले विश्व नै त्रसित भएका बेला नेपाल अछुतो हुने कुरै भएन । महामारीले समाजमा स्वास्थ्य चेतना बढाए पनि जनजीवन अस्तब्यस्त बनाएको छ । देशैभरिका पत्रकारको जीवनमा पनि विभिन्न खाले समस्या सिर्जना भएका छन् ।
कैलालीका अधिकांश पत्रकारको रोजीरोटी संकटमा परेको छ । कैलालीमा सञ्चालित मिडिया समेत विज्ञापन नपाएर जेनतेन चलिरहेका छन् भने पत्रकारमा समेत मनोसामाजिक समस्या देखिन थालेको गुनासो बढेको छ । महामारीबाट बच्नका लागि नागरिकले जीवनशैलीमा परिवर्तन गर्न थालेका छन् ।
संक्रमणको जोखिम बढेपछि सरसफाईमा ध्यान दिनुका साथै रहनसहनमा समेत सुधार हुनु सकारात्मक पक्ष रहे पनि पत्रकारिता गरेर जीवन निर्वाह गर्ने पत्रकारको घरव्यवहार चलाउन समस्या भएको छ ।
आर्थिक समस्या झेल्दै पत्रकार
कोरोना संक्रमण फैलन थालेपछि सरकारले देशै लकडाउन गर्दा कैलाली जिल्लाका अधिकांश पत्रिका प्रकाशन हुन सकेनन् । केही दिन लकडाउन र त्रासका कारण पत्रिका बन्द गरेका प्रकाशकहरु पछि स्रोतको अभाव झेल्न वाध्य भए । विज्ञापन आउन बन्द भएपछि पत्रिका चलाउनै मुश्किल भएको उनीहरुको गुनासो छ ।
पत्रिका नै प्रकाशन हुन नसकेपछि पत्रिकामा काम गर्ने कर्मचारीको कामकाज पनि रहने कुरै भएन । पत्रिका प्रकाशन हुन नसकेपछि एफएम रेडिया देश विदेशका खबर सुन्ने एक मात्र माध्यम बन्यो । बन्दका कारण बजारको विज्ञापनको भरमा कर्मचारीलाई टिकाइ रहेका मिडिया हाउसलाई आर्थिक संकट प¥यो ।
कैलालीको टीकापुरबाट प्रकाशन हुने समाधान न्युज दैनिकले हरेक वर्ष नयाँ वर्षमा रु. २ लाखसम्मको शुभकामना सन्देश छाप्ने गरेको थियो । “लकडाउनले चैत महिनामा करिव १५ दिन पत्रिका नै छापिएन । पछि केही छापिए पनि पहिलाको जस्तो कारोबार भएन”, सम्पादक झलनाथ खनालले भने, “बजार बन्दपछि बजारबाटआउने अन्य नियमित विज्ञापनपनि कटौतीभएपछि आर्थिक संकट प¥यो ।”
आयस्रोत नै नभए पछि कार्यालयको कोठाभाडा तिर्न, कर्मचारीको तवल भत्ता, आफु बसेको कोठाभाडा तिर्न समस्या भएको उहाँको अनुभव छ । “ऋण लिएर पत्रिकाको कार्यालयको कोठाभाडा तिरें । अझैँ पांच महिनादेखि आपूm बसेको कोठाभाडा भने तिर्न सकेको छैन', खनालले बताए, “हाल बजार केही खुकुलो भयो तर बजारमा विज्ञापन खोज्न जांदा रित्तै हात फर्किनुपर्छ । ब्यापारी पनि ब्यापार नभएर पीडामा छन् ।”
पत्रिकाको तलबले घरव्यवहार चलेका सामाधान न्यूजमा कार्यरत पत्रकार लक्ष्मण विकले करिव ५ महिनाको पारिश्रमिक पाएका छैनन् । “पत्रिका संकटमा भएपछि पारिश्रमिक नपाउँदा घर चलाउन समस्या भएको छ' उनी भन्छन्,” गाउँघरमा कोरोनाको त्रासले मानिस ऐचोपैंचो गर्न समेत मान्दैनन, आफ्नो घरमा अन्न नभए भोकै मरिन्छ, छिमेकमा सहयोग पाउने अवस्था छैन ।”
लक्ष्मण आफ्नोजस्तो समस्या धेरैजसो पत्रकारको भएको बताउँछन् । “ममात्र होइन, विज्ञापनको भरमा चलेका पत्रिकामा कार्यरत सबैको अवस्था यस्तै छ ।”
टीकापुरबाट प्रकाशित हुँदै आएको कालान्तर दैनिकमा कार्यरत पत्रकार सुदिप विश्वकर्मा पनि डेरा गरेर बस्छन् । मासिक रु. २ हजार कोठा भाडा तिर्ने सुदिपको पीडा पनि कम छैन । असार महिनाको अन्त्यतिर एकदिन रिपोर्टिङमा निस्किएका सुदिप साँझ फर्कंदा कोठामा घरबेटीको थप ताला लागेको थियो । “कोभिड-१९ का कारण एक दिन रिपोर्टिङमा जाने र धेरै दिनका लागि सामग्री लिएर आउनु पर्ने बाध्यता थियो त्यतिबेला । दिनभर रिर्पोटिङ गरेर सांझ कोठा फर्किदा ढोकामा अर्को ताल्चा लागेको थियो”, सुदिप सम्झन्छन्, “मैले ६ महिनासम्म कोठाभाडा तिर्न सकेको थिइन, घरबेटीले पनि कतिदिन पर्खिनु? अब यसले दिन सक्दैन ठानेर होला ताला लगाइदिए ।”
सुदिपसँग कोठाभाडा तिर्न नसकेको पीडा मात्र होइन, रिर्पोटिङमा जाँदा 'यसले कोरोना सार्छ' भनी घरबेटी र उनका छिमेकीले गरेको व्यवहारले थप पीडा दिएको छ । “ननिस्कौं, पत्रकारिता गर्छु, निस्कन डर पनि छ तर अर्कोतर्फ आफ्ना कारणले अरु डराउन थाले,” उनले भने, “घरबेटीले ताला लगाएपछि चार दिन साथीको कोठामा बसे, काम गर्ने कार्यालयमा तलव माग्दा विज्ञापन छैन, बजारबाट पैसा उठ्दैन, लकडाउन छ, पैसा छैन, कसरी दिने भन्ने जवाफ पाएँ । बल्ल साथीसँग सापटी मागेर भाडा तिरेर बस्न पाएँ ।”उनले लकडाउनको समयमा लागेको १५ हजार ऋण अझैँ तिर्न नसकेको बताए ।
मानसिक तथा सामाजिक पीडा
शुरुका दिनमा कोरोनाको हल्ला जसरी फैलिरहेको थियो यसबाट सुरक्षित रहन र भिडभाड कम गर्न कैलालीको टीकापुरमा रहेको सामुदायिक रेडियो टीकापुर एफएमको प्रशासन र केही शाखा प्रमुखको आकस्मिक बैठक बस्यो । बैठकले केही सीमित कर्मचारीलाई मात्र नेपाल सरकारले सिफारिस गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई समाचार लगायतका महत्वपूर्ण सूचना सम्प्रेषण गर्न भनी काम गर्ने र अन्यलाई अर्को सूचना नहुँदासम्मका लागि सुरक्षित भएर घरमै बस्न भन्यो ।
सामुदायिक रेडियो टीकापुर एफएमका कार्यक्रम प्रस्तोता रमेश चौधरी करिव एक महिना घरमै बसे । दैनिक रेडियोमा आउने कार्यक्रम चलाउने, रिर्पोटिङमा जाने चौधरीलाई घरमै बस्दा तनाव बढ्यो । “एफएम प्रशासनले लामो समयसम्म नबोलाउँदा तलव भत्ता नै नपाइने हो कि भन्ने डरले आफैं एफएम कार्यालय गएको र दिनभर जसो खाली बसेर भए पनि समय बिताएर घर फर्कन थालेको सम्झन्छन्, “कतै तलव नपाइने हो कि भन्ने पिरले जिद्दी गरेरै रेडियोमा जान थालें, दिनभर कार्यालयमै मोबाइल चलाएर बस्ने, साँझ घर फर्कने गर्न थालेँ ।”
करिव डेढ महिना काम नगरेका रमेशले तलब भने हरेक महिना समयमै पाइरहे । “मेरो जस्तो मिडिया अरुको भाग्यमा भए त ठीकै हो । मैले काम नगरेको समयको पनि तलव पाएँ,” रमेशले भने, “स्टेशनलाई मलाई तनाव हुन थाल्यो भनेपछि समय अगावै पेश्की उपलब्ध गराइदियो । आजभोलि पहिलेजस्तै नियमित काममा फर्केको छु ।”
यस्तै पीडा पत्रकार गीता चौधरीको पनि छ । उनी बस्ने जानकी गाउँपालिकामा हो भने काम गर्ने टीकापुर नगरपालिकामा रहेको सामुदायिक रेडियो टीकापुर एफएममा हो । कार्यालयमा आउँदा अन्य साथीहरुले गाउँबाट 'आउनु भएको हो, आउँदा-जादा कत्ति जनासँग घुलमिल भएको होला, अलि टाढै बस्नुस्' भन्नेसम्म उनले सुन्नु परेको थियो । सहकर्मीले 'कार्यालय नै नआएको भए हुन्थ्यो' भन्ने खालका कुरा गर्दा मनोविज्ञान अर्कै हँदो रहेछ भन्ने उनको अनुभव छ ।
“कार्यालय नै नआउँदा तलब नपाइने हो कि भन्ने पीर सधैँ रह्यो । घरजाँदा छिमेकी तथा आफन्तले ‘बजारबाट आएकी हो, पत्रकारको सयौं मानिससंग भेट भइराख्छ, अलि टाढै बस्नुस्’ भन्दा थप डर लाग्थ्यो”, गीताले सुनाइन्, “घरमा छोरा थियो, बच्चाको विद्यालय बन्द थियो । त्रासका बीचमा काम गर्न कठिन हुने रहेछ । यो समयमा कसैले सामान्य कुरा भन्दा पनि पीडा हुँदो रहेछ ।”
पत्रकारले कोरोना सार्छन् भनी समाजले अलग्याउने गरेका व्यवहारले पीडा थपेको पत्रकारहरु बताउँछन् । टीकापुर दैनिकका कार्यकारी सम्पादक लोकेन्द्र रावल रिर्पोटिङको क्रममा क्वारेन्टाइनमा जाँदाको अनुभवले पीडा दिएको सम्झन्छन् । “जेठ महिनामा टीकापुर बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइन स्थलमा रिपोर्टिङमा गएको थिएँ । त्यहाँ बस्नेहरुका अनुभव लेख्न खोजेको थिएँ । तर त्यहाँ बसेकाहरुले 'हामी सुरक्षित छौँ, तिमी पत्रकार आएर हामीलाई कोरोना सार्छौ' भन्दा अत्ति पीडा भयो”, रावल भन्छन्, “पत्रकार डुलुवा हुन्, यिनीहरु जोखिममा छन् भन्ने बुझाइ समाजको देख्दा पीडा हुन्थ्यो, मलाई भने हामी समाजकै लागि काम गरिरहेका छौँ जस्तो लाग्थ्यो ।”
रिर्पोटिङ खर्चिलो
कोरोना महामारीपछि अधिंकाश पत्रकारले पहिलेजस्तै फील्ड जाने वातावरण बनेको छैन । धेरै पत्रकारले फोनबाट रिर्पोटिङ गर्न थालेका छन् । यस्तो समयमा फोन खर्च बढेको उनीहरुको गुनासो छ । “पहिले हामी फील्ड गएर रिर्पोटिङ गर्थ्यौं, अहिले फील्ड कम गइन्छ,” कैलालीको घोडाघोडीस्थित पत्रकार इन्दु केसीले भने, “हाल फोनबाट बढी रिर्पोटिङ हुन्छ, फोनबाट आवाज लिँदा बढी खर्च भइरहेछ ।”
नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा कोरोना कहरले पत्रकारको जनजीविकामा समस्या पारेको बताउँछिन् । “धेरै पत्रकारको रोजीरोटी खोसिएको छ । यस्तै अवस्था रहे अब पत्रकारले पेशा परिवर्तन गर्ने अवस्था आउनेछ,” देवकोटाले भनिन्, “कोरोना महामारीपछि धेरै मानिस घर फर्कन थालेका छन्, तर पत्रकारहरु कामको खोजीका लागि भौंतारिएको अवस्था छ । मिडिया नै बन्द हुने अवस्था आएपछि तलब पाउने अवस्था छैन ।”
देवकोटाकाअनुसार कति जनाले जागिर गुमाए भन्ने तथ्यांक नभए पनि कैलालीका ५० प्रतिशत पत्रकारले तलब खाने अवस्था छैन । “धेरै पत्रकारलाई बेतलबी विदा दिइएको छ । केन्द्रका मिडियासँग जोडिएका समाचार छापिएपछि मात्रै रकम पाउने यहाँका पत्रकारका पनि समाचार कम छापिन थालेका छन्,” देवकोटा भन्छिन्, “यसरी आर्थिकरुपमा समस्या सिर्जना भएको छ । यस्तो बेलामा पत्रकार सबैभन्दा बढी समस्या झेलिरहेका छन् ।”
पत्रकारका लागि स्वास्थ्य तथा सुरक्षा सामग्री, लेखनवृत्ति, कोरोना बीमा जस्ता कार्यमा सरकारले कार्यक्रम ल्याउन आवश्यक रहेको कुरामा देवकोटा जोड दिन्छिन् ।