‘धेरै मिडिया हाउसका लागि कोरोना कहर बनेर आयो तर, हाम्रा लागि चाहिँ अवसर जस्तो भएको छ।’
– बन्धु पोखरेल, प्रबन्ध निर्देशक, उद्घोष दैनिक, विराटनगर
विराटनगर – विराटनगरबाट प्रकाशित हुने स्थानीय उद्घोष दैनिक बाहिरको प्रेसमा छापिन्थ्यो । करिब १० जना पत्रकारले चलाएको उद्घोष विराटनगर र आसपासका केही क्षेत्रमा मात्रै वितरण हुन्थ्यो, तर, अन्य राष्ट्रिय पत्रिकाका क्षेत्रीय संस्करणहरु प्रदेश-१ भरि नै जान्थे ।
तर, कोरोना कहरले देखाइदियो, ठूला मिडियाको भन्दा साना सञ्चारगृहको जग धेरै बलियो रहेछ । यस बीचमा राष्ट्रिय पत्रिकाका पत्रकारहरु महिनौंदेखि तलबविहीन काम गरिरहेका छन्, उद्घोषका पत्रकार अखबार बन्द भएका बेला पनि पूर्ववतः पारिश्रमिक बुझिरहेका छन् । लकडाउनको अवधिमा उद्घोष ४५ दिन बन्द रह्यो । ‘४५ दिन अखबार बन्द हुँदा पनि अफिसले हामीलाई नियमित तलब दियो, एकै पैसा पनि काटेन,’ उद्घोष दैनिकमै कार्यरत पत्रकार बाबुराम भण्डारी भन्छन्, ‘दसैं बोनस पनि उपलब्ध गरायो ।’
सानो सहरको स्थानीय अखबारले आफ्ना पत्रकारलाई दसैं बोनससमेत उपलब्ध गराइसक्दा आफूलाई मुलुककै प्रतिष्ठित मिडिया हाउस दाबी गर्ने कतिपय राष्ट्रिय पत्रिकाहरुले प्रदेश-१ मा संवाददाताहरुलाई लामो समयदेखि पारिश्रमिक दिएका छैनन् । ‘स्ट्रिन्जर’ का रुपमा काम लगाइरहेका उनीहरु तलब कुरेर बसेका छन् ।
ठूला मिडिया खासगरी अखबारको अवस्था यस्तो छ भने टेलिभिजनको अवस्था झनै सकसपूर्ण छ । टेलिभिजनका पत्रकार ‘ब्रान्डका लागि बुम बोक्ने, आफ्नो अरु काम गर्ने’ हाकाहाकी बताउँछन् । ‘यो लोगो देखाएपछि अरु काम पाइन्छ भन्ने आशा हो,’ एक टेलिभिजन पत्रकार भन्छन् ‘डकुमेन्ट्री बनाउने, विज्ञापनहरु पाइने हुन्छ । टिभीले नै तलब चाहिँ पहिले नि दिन्नथ्यो, अहिले त झन् दिने कुरै भएन ।’
बरु स्वरोजगारमूलक मिडियामा धेरैले नियमित पारिश्रमिक पाइरहेका छन् । प्रदेश–१ मा २९ वटा दैनिक अखबार सञ्चालनमा छन्, जसमध्ये १४ वटा अहिले पनि बन्द नै छन् । यहाँ १ सय ७ वटा रेडियो, सात वटा टेलिभिजन र दुई सय हाराहारीमा अनलाइन छन् । यीमध्ये बिर्तामोडको सूर्योदय टिभीले लकडाउनलगत्तै ठूलो संख्यामा कर्मचारी र पत्रकार कटौती गरेको थियो ।
‘हामीलाई बेतलबी बिदामा बस्न भनियो,’ त्यहाँ कार्यरत एक पत्रकारले भने ‘करिब १० जना जतिमा चारजना फेरि जोडिएका छौं ।’ नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेलका अनुसार स्वरोजगारमूलक मिडियाको समस्या त्यति धेरै बाहिर आउँदैन, जति ठूला मिडियाको आउँछ ।
‘स्वरोजगारमूलकमा सानो टिम, परिवारले चलाएको हुन्छ, सुखदुःख गरेर बसेका हुन्छन्,’ उनले भने, ‘त्यसैले पारिश्रमिकबारे उनीहरुले गुनासो गरेका छैनन्, तर ठूला मिडियामा समस्या धेरै देखिएको छ ।’
ठूला अर्थतन्त्र र शक्तिराष्ट्रलाई हल्लाइदिएको कोरोना महामारीले नेपालका ठूला भनिएका मिडिया हाउसको अहंकार मात्रै झारिदिएन, तिनको झुठो प्रतिष्ठा र शोषणसमेत उजागर गरिदियो । कोरोना कहरको केही समय विज्ञापन बजार सुस्ताउँदा उठ्नै नसक्ने अवस्थामा पुग्ने ठूला मिडियाको दाँजोमा सानो आकारमा चलेका मोफसलका सञ्चारगृहहरु बलिया र इमानदार देखिए ।
‘धेरै मिडिया हाउसका लागि कोरोना कहर बनेर आयो तर हाम्रा लागि चाहिँ अवसर जस्तो भएको छ,’ उद्घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोखरेलले कोरोना कहरको अनुभव सुनाए, ‘अरु बेला विराटनगरमा काठमाडौंका अखबारको दबदबा थियो, अहिले तिनको उपस्थिति पूरै खुम्चेको छ । यसले स्थानीय अखबार र मिडियाको महत्व पनि बढाएको छ ।’
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्षसमेत रहेका पोखरेलका अनुसार कोरोना कहरका बेला महासंघमा आउने गुनासो अधिकांश ठूला मिडियासँग सम्बद्ध मात्रै छन् । ‘स्थानीय मिडिया सानो टिममा चलेको हुँदोरहेछन्, उनीहरुको आवश्यकता पनि सानै हुनेरहेछ,’ उनले भने ‘त्यसैले यतिबेला जति पत्रकार पीडित भए सबै ठूला भनिएकाहरुबाटै भएको देखियो ।’
कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिकाजस्ता ठूला मिडियामा काम गर्ने मोरङका १३ जना पत्रकारहरुमध्ये कोही महिनौदेखि तलव नपाएको पीडामा छन् भने कोही ३० देखि ५० प्रतिशतसम्म तलब काटिएको पीडा भोगिरहेका छन् । ‘काम घटेको छैन, झनै बढेको छ,’ कान्तिपुर प्रदेश-१ का एक संववाददाता भन्छन्, ‘तर, पैसा चाहिँ पूरै घटेर आएको छ ।’ स्थानीय अखबारबाट कान्तिपुर प्रवेश गर्दाको खुसी यतिबेला आएर व्यर्थको लागेको ती पत्रकारको भनाइ छ ।
विराटनगरबाट उद्घोष, हाम्रोमत, न्यूसृष्टि र दर्शन गरी चार वटा दैनिक प्रकाशित हुन्छन् । आधा दर्जन रेडियो, एक दर्जनभन्दा बढी अनलाइन न्युजपोर्टलहरु पनि छन् । लकडाउन सुरु हुनेबित्तिकै दैनिक अखबार सबै बन्द भए । ‘कोरोनाको त्रास र विज्ञापन शून्य हुँदा छपाई रोक्यौं,’ हाम्रोमतका प्रधानसम्पादक विवेक गौतम भन्छन्, ‘तर, सहकर्मीहरुको तलब रोकेनौ, अनलाइन चलाइरह्यौं ।’
प्रदेश–१ को झापा यस्तो जिल्ला हो, जहाँ मिडिया उद्योग बलियो अवस्थामा रहेको छ । जनसंसद्, पूर्वाञ्चल, इजलास, विवेचना, प्रतिदिन, मेची टाइम्स, लोकतन्त्रपोष्ट, पूर्व सन्देश, झापा पोष्टलगायत १० वटा दैनिक अखबार प्रकाशित हुन्छन् । २० भन्दा बढी साप्ताहिक, उत्तिकै संख्यामा रेडियो र अनलाइनहरु पनि छन् । लकडाउनको प्रारम्भमा अखबार सबै बन्द नै भए ।
‘त्रासका वीच जिम्मेवारी निर्वाह गरियो । पत्रिका सात दिन मात्र प्रकाशन भएन, चैत १३-१९ इपेपर र अनलाइनलाई निरन्तरता दिइयो,’ झापाको पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी भन्छन्, ‘असार २ बाट बजारमै पठाइयो । यो बेला आमनागरिकलाई सूचित गर्ने हाम्रो पेशागत धर्म र जिम्मेवारी सम्झिएर काम गरियो । सबै साथीहरुलाई सुरुका दिनमा घरमै बस्न भनेर म र प्राविधिक मात्र कार्यालयमा गएर काम गर्यौं ।’ उनका अनुसार सुरुमा कागजबाट पनि कोरोना सर्छ भन्ने भ्रमले असर गर्यो, बिस्तारै सामान्य भयो ।’
‘विज्ञापन शून्य हुँदा पनि प्रकाशनलाई निरन्तरता दिइयो, आज केही नभए नि भोलि होला, यो बेलाको निरन्तरताको भोलि अवश्य मूल्यांकन होला भन्ने आशमा,’ उनले भने, ‘खुसीको कुरा कोरोना कहरमा पनि सबै साथीहरुलाई तलब ख्वाउन सकियो, वैंक बचतबाट, किनकि संकटकै बेला हो कर्मचारीलाई सहयोग साथ दिने भनेर ।’
अहिले झापाबाट प्रतिदिन, पूर्वसन्देश र पूर्वाञ्चल नियमित प्रकाशन भइरहेका छन् । अन्य दैनिक अनलाइन पोर्टलमा नियमित उपस्थित भइरहेका छन् । ‘झापामा पनि ठूला मिडियाका साथीहरु तलबविहीन भएको सुनिन्छ, तर स्थानीय मिडियाले जसोतसो पारिश्रमिक उपलब्ध गराइरहेका छन्,’ जनसंसद् दैनिकमा कार्यरत पत्रकार किशोर उपरकोटी भन्छन्, ‘यो बेला ठूला मिडियामा भएको भए हाम्रो पनिा बिजोग हुनेरहेछ भन्ने लाग्दैछ ।’
चारवटा दैनिक, ६ वटा रेडियो, दुई वटा साप्ताहिक र १० वटा अनलाइन सञ्चालनमा रहेको इलाममको अवस्था भने अलि फरक छ । सानो बजार र विज्ञापन स्रोत पनि कम भएकाले यस्तो भएको पत्रकारहरुको भनाइ छ ।
हाल इलाम पोष्ट र इलाम एक्सप्रैस दैनिक नियमित प्रकाशित भइरहेका छन् । लकडाउनको प्रारम्भमा स्थगन भएका ती दैनिक स्थानीय सञ्चारकर्मीहरुकै अगुवाइमा चलेका हुन् । अन्य दुई दैनिकहरु सन्दकपुर र चियाबारी दैनिक बन्द भएका छन् । तर, ती दुवै दैनिक लकडाउन अघि नै बन्द भएका हुन् ।
‘लकडाउनको सुरुआतमा अत्यन्त बढी त्रास भयो । लकडाउनभर पेपर बन्द रह्यो,’ इलाम पोष्टका सम्पादक सटेन्द्र जवेगु भन्छन्, ‘त्यसपछि त्रासका बीच पत्रिका प्रकाशन गरिरहेका छौं । तर, वितरणको समस्या, विज्ञापन लगभग शून्य रहेकाले निरन्तरताका लागि मात्र केही पत्रिकाहरू प्रकाशन भइरहेका छन् । यस्तै हो भने अब बन्द हुने अवस्थामा छन् जिल्लाका मिडिया हाउस ।’
उदयपुरका पुराना पत्रकार महेश्वर चामलिङको भनाइमा स्वरोजगारमूलक मिडियाले यो कहर जसोतसो धानिरहेका छन् । खासगरी साप्ताहिक अखबारहरु बजारमा पठाइन्न । उनका अनुसार धेरैले इपेपर आफ्नो न्युज साइटमा राखेर काम गरिरहेका छन् ।