गण्डकी प्रदेशका ४ सय ४० सक्रिय पत्रकारमध्ये ६० प्रतिशतले कोभिड-१९ का कारण जागिर गुमाउनु परेको फ्रिडम फोरमको निचोड छ । पछिल्लो समय पत्रकारमा धमाधम संक्रमण फैलिएपछि ‘फिल्ड रिपोर्टिङ’ मा समस्या उत्पन्न भएको छ ।
नवलपुरका राजन खरेल १० वर्षअघि विद्यालयमा पढाउने काम गर्दागर्दै पत्रकारितामा छिरे । पछिल्ला ६ वर्षदेखि उनको पेसा पत्रकारिता मात्रै छ ।
पत्रकारिताबाटै सामान्य दैनिकी चलिरहेकै थियो । कोभिड-१९ महामारीको कारण जब लकडाउन भयो, उनको दैनिकी पनि विस्तारै ‘लक्ड’ हुने अवस्थामा पुग्यो । अहिले उनी पत्रकारिता पेसामा छैनन् । उनले अन्यत्रै व्यवसाय थालेका छन् ।
‘सुरुमा रमाइलोका लागि पत्रकारिता सुरु गरेँ, पछि फुलटाइम यसैमा लागिपरेँ । अहिले पत्रकारिताभन्दा अन्य क्षेत्रमा पसिसकेँ,’ खरेलले भने, ‘परिवारको जिम्मेवारीले एक्लै हिँडेजस्तो फुकाफाल नहुने रहेछ । रमाएर मात्रै नचलेपछि कमाउनुपर्ने भयो ।’
उनले लामो समय समृद्धि खबर साप्ताहिक पत्रिकामा आफै प्रकाशक र सम्पादक भएर काम गरे । बजार खस्किएपछि पत्रिका नियमित निस्किन सकेन । ‘उद्योग-व्यवसाय ठप्प छ । विज्ञापन नभएपछि पत्रिका कसरी चलोस्?’ उनले थपे, ‘आर्थिक स्रोत बन्द भएपछि नैराश्य थपियो । पत्रिका निकाल्न सकिनँ, घरखेत धितो राखेर अर्को व्यवसायमा लगानी गरेको छु ।’ खरेलले पत्रकारितामै स्नताक गरेका हुन् ।
पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटका अनुसार नवलपुर जिल्लामा मात्र ७० भन्दा बढी पत्रकारले महामारीका बेला जागिर गुमाए । कतिपय अर्को पेशसामा छन् भने कतिपय घरमै बसिरहेका छन् । नवलपुरमा १ सय ८८ पत्रकार महासंघमा आवद्ध छन् ।
खबरकर्ममै लागिरहँदा कोरोना संक्रमण
खबरकर्ममै लागिरहँदा नवलपुरका ७ जना पत्रकार कोरोना संक्रमणमा परे । जिल्लामा क्रियाशील पत्रकारका संघ-संगठनले २० जनाभन्दा बढी पत्रकारलाई राहत वितरण गरेका छन् । ‘महासंघ, नवलपुर शाखामा कसैले उजुरी गर्नुभएको छैन । तर, अनौपचारिक कुरा हुँदा ७० जनाभन्दा बढी पत्रकारको जागिर कोरोनाले खाइदियो,’ रानाभाट भन्छन्, ‘विस्थापित भएका र जागिर छाड्न बाध्य पारिएका पत्रकारलाई फर्काउन महासंघले सार्वजनिक अपिल गरेको छ ।’ अहिले काम गरिरहेका ६० जनाभन्दा बढी पत्रकारले तलब नपाएको उनको भनाइ छ ।
लमजुङका नवीन लामिछाने १२ वर्षदेखि मनाङ जिल्लामा पत्रकारिता गर्छन् । उनी १० वर्षदेखि पूर्णकालीन पत्रकारका रुपमा क्रियाशील छन् । आजभोलि पहिलेजस्तो खबर खोज्न र पठाउन सजिलो छैन । उनी भन्छन्, ‘पेशाप्रति गर्व छ । तर, जहाँ जान्छु, खल्तीको पैसा खर्च गर्नुपर्छ । त्यसमाथि मनाङको महँगी धानिनसक्नु हुन्छ । ऋण खोजेर कति दिन पत्रकारितामा टिक्न सकिएला र?’
लामिछाने सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन र राससमा कार्यरत छन् । नेपाल टेलिभिजनले भदौयताको तलब नपठाएको उनले बताए । ‘चार महिनाको तलब लिनुपर्नेमा एक महिनाको मात्रै आउँछ । अहिलेसम्म जेनतेन चलाएकै छु,’ लामिछानेले भने, ‘त्यसै पनि सकसपूर्ण दुर्गमको पत्रकारितालाई कोरोनाले झनै बिजोग बनाएको छ।’
नेपाल पत्रकार महासंघमा मनाङका ३२ जना पत्रकार आबद्ध भएका छन् । तीमध्ये ९ जना मात्र पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
कास्कीमा प्रदेशकै बढी पत्रकार
कास्की गण्डकी प्रदेशकै सबैभन्दा धेरै पत्रकार भएको जिल्ला हो । कास्कीका ३ सय १ जना पत्रकार महासंघमा आबद्ध छन् भने सय हाराहारीका पत्रकार महासंघमा आबद्ध नभए पनि निरन्तर क्रियाशील छन् ।
कास्कीका १२ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भए । लकडाउनपछि कार्यरत सञ्चार माध्यमले तलब नदिएकाले दैनिकी चलाउनै समस्या भएका ३७ जना पत्रकारलाई महासंघले राहत वितरण गरेको छ । जागिर गुमाउने पत्रकारले जानकारी नगराएको पत्रकार महासंघ, कास्कीले जनाएको छ । ‘केही पत्रकारले जागिर गुमाए पनि यसबारे अफिसियल्ली जानकारी आएको छैन,’ पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने, ‘जागिर छुटेर अप्ठ्यारोमा परेका पत्रकारलाई फेलोसिप उपलब्ध गराउँछौं । पत्रकारलाई खान बस्नकै समस्या भएमा महासंघको कल्याण कोषबाट सहयोग गर्नेछौं ।’ जबर्जस्ती कामबाट निकालिएका पत्रकारलाई पुनर्बहालीका लागि सञ्चारगृहमा दबाब र धर्ना दिन महासंघ तयार रहेको उनको भनाइ छ । उनका अनुसार कास्कीमा मात्रै ३० भन्दा बढी पत्रकारले जागिर छाड्नुपरेको छ ।
महासंघका अनुसार पत्रकारको पिसिआर टेस्ट, संक्रमितलाई आइसोलेसनमा बस्नेसम्मको प्रबन्ध मिलाइएको छ । महासंघमा आबद्ध सबै पत्रकारहरुका लागि कोरोना बिमाको व्यवस्था गरिएको श्रेष्ठले बताए।
बागलुङका १ सय ६० जना पत्रकारले फागुन देखि नै तलव नपाएको नेपाल पत्रकार महासंघ, बागलुङले जनाएको छ । ‘बिदा बस्न दबाब दिने र तलव नदिने समस्या धेरै छ । केही मिडियाले आधा तलब दिएर काममा लगाएका छन् । जागिर छाडेर अरु पेसा थालेको त देखेको छैन,’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसले भने, ‘तर, यही अवस्था कायम रहेमा धेरै पत्रकार पलायन हुने अवस्था आउँछ ।’ निकै चुनौतीका साथ पत्रकारहरुले पेसालाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।
गण्डकी प्रदेशका ९० प्रतिशत पत्रकारले कोरोना संकटपछि नियमित पारिश्रमिक नपाएको फ्रिडम फोरम गण्डकीको अनुसन्धानबाट देखिएको छ । फ्रिडम फोरमले तीन महिनाअघि उक्त अनुसन्धान गरेको हो । गण्डकी प्रदेशका ४ सय ४० सक्रिय पत्रकारमध्ये ६० प्रतिशतले कोभिड-१९ का कारण जागिर गुमाएको फोरमको निष्कर्ष छ । फ्रिडम फोरमका अनुसार गण्डकीका अधिकांश मिडिया हाउसले स्वास्थ्य सुरक्षाका सामान्य उपकरणबिनै पत्रकारलाई काममा लगाएका छन् । मिडिया हाउसले अधिकांश पत्रकारलाई बेतलवी बिदामा राखेपछि उक्त कामको चाप अन्य पत्रकारलाई थपिएको छ ।
लकडाउनकै बीचमा पोखराका केही मिडियामा कार्यरत पत्रकार तथा कर्मचारीले राजीनामा बुझाएका छन् । अन्नपूर्ण एफएमबाट कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठसहित पाँचवटा विभागका प्रमुखहरुले राजीनामा दिए । आदर्श समाज दैनिकका कार्यकारी सम्पादन नवीन सिग्देलले लकडाउनकै बेला राजीनामा बुझाए । द हिमालयन टाइम्सले पोखराको कार्यालय नै हटायो । यद्यपि, अहिले चैतदेखि भदौसम्मको आधा र त्यसपछि पूरा तलव दिने गरी टाइम्सले पहिले कार्यरत तीनैजना पत्रकारलाई जागिरमा फर्काएको छ ।
फिल्ड रिपोर्टिङमा समस्या
गण्डकी प्रदेशका करिब ८ सय पत्रकारमध्ये २०७७ साल असोज ३० गतेसम्म २५ जना पत्रकार कोरोना संक्रमित भएका छन् । सबैभन्दा धेरै कास्कीमा १२, नवलपुरमा ७ र लमजुङमा ६ जना पत्रकार संक्रमित भएको पत्रकार महासंघ, गण्डकी प्रदेश कमिटीले जनाएको छ । कतिपय पत्रकारले सामाजिक त्रासका कारण आफूलाई संक्रमण भएको तथ्य सार्वजनिक गरेका छैनन् । पछिल्लो समय पत्रकारमा धमाधम संक्रमण फैलिएपछि ‘फिल्ड रिपोर्टिङ’ मा समस्या उत्पन्न भएको छ ।
पोखरामा पत्रकारिता गर्दै आएकी पाल्पा स्थायी घर भएकी अनिता घिमिरे कोरोना महामारीमा पनि सबैभन्दा धेरै फिल्डमा पुग्छिन् । हरेकजसो सार्वजनिक कार्यक्रममा उनी उपस्थित भएर रिपोर्टिङ गर्छिन् । राष्ट्रिय टेलिभिजनमा काम गर्ने भएकाले त्यसरी कार्यक्रममा पुग्नैपर्ने उनको बाध्यता हो । ‘फुटेजका लागि फिल्डमा नपुगिकन हुँदैन,’ उनले भनिन्, ’सन्चै निस्केको मान्छे फर्किँदा रोगी हुने हो कि भन्ने डर मनमा रहिरहन्छ ।’
दिनभर काम गरेर घर फर्किँदा वरपरका छिमेकी पनि आफूसँग पहिलेजस्तो खुलेर कुरा नगर्ने उनको अनुभव छ । ‘मुखै फोरेर त भन्नु हुन्न । तर, त्रास त उहाँहरुलाई पनि छ नि,’ घिमिरे भन्छिन्, ‘घरबेटी वृद्ध हुनुहुन्छ । मेरो कारण रोग नसरोस् भनेर भेट्न गएको छैन ।’ मोफसलमा बसेर राष्ट्रिय मिडियामा काम गरे पनि उनको तलव भनेको बेलामा आउँदैन । ‘पहिले पनि तलब तीन महिनामा एकपटक पठाउने गर्थे । अहिले त्यही पैसा आधा घटाएका छन्,’ उनले थपिन्, ‘सामान्य समयमा भन्दा झन् धेरै रिपोर्टिङ गर्दा पनि तलब चाहिँ घटाएर हाल्छन् ।’
मुखमा मास्क र साथमा स्यानिटाइजर राखेर फिल्ड रिपोर्टिङमा हिँड्दा पनि कतिपय स्थानमा जान समस्या पर्ने गरेको कतिपय पत्रकारको अनुभव छ । ‘बरु कापी, कलम र क्यामेराको वास्ता हुन छाड्यो, बाहिर निस्किने बेला मास्क र स्यानिटाइजर हाल्नैपर्यो,’ बागलुङबाट बीबीसी नेपाली सेवाका लागि रिपोर्टिङ गर्ने पत्रकार रवीना बोहरा भन्छिन्, ‘त्यसो गर्दा पनि सहज रुपमा गाउँघर छिर्न पाइँदैन । नौलो मान्छे देख्दा गाउँलेहरु तर्सिन्छन् र, समाचार बनाउन गाह्रो हुन्छ ।’
फिल्डमा पत्रकारिता गर्ने पत्रकारहरुले छुवाछूतकै ब्यवहार सहनुपरेको रवीनाको अनुभव छ। ‘काठमाडौं र पोखराबाट फर्किएर आउँदा कोरोना लिएर आएको भन्छन् र, बोल्न डराउँछन्,’ उनले सुनाइन्, ‘हामी नै डराएका बेला अरु डराउनुलाई सामान्य रुपमा लिएर दैनिक काम गरिरहन्छौं ।’
पछिल्लो समय बागलुङ जिल्ला कोरोनाको ‘हटस्पट’को रुपमा विकास भएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिँदा पत्रकारहरुमा संक्रमणको जोखिम बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।