विपद् यस्तो घटना हो जो थोरै वा शुन्य पूर्व-चेतावनीका साथ आइलाग्छ, जसले खतरा निम्त्याउछ, धेरै ठूलो संख्यामा मानिसहरुलाई आघात पुग्ने गरी प्रभावित गर्दछ, र जीवन र मरणमा गम्भीर स्वरुपको उथलपुथल नै ल्याउँछ ।
परम्परागत रूपमा, विपद् लाई "भगवान वा प्रकृतिको कार्य" को रूपमा लिइन्थ्यो र यो मानिसको नियन्त्रणभन्दा बाहिरै रहेको बुझिन्थ्यो। धेरै धन-जनको अचानक क्षति गर्ने भूकम्प, बाढी-पहिरो, आँधीबेहरी, महामारी जस्ता विनाशकारी घटनाहरूलाई नितान्त "प्राकृतिक विपद्"को रूपमा लिइन्थ्यो । प्रविधिको विकाससंगै औधोगिक, खानी वा यातायात दुर्घटना, आगजनी, संरचनात्मक क्षतिका घटनामा मानिस स्वयंको पनि हात हुने वा देखिन थालेपछि "प्राविधिक विपद्" वा "मानव-सृजित विपद्" बारे जनचेतना बढ्दै गयो ।
उसो त आज आएर झट्ट हेर्दा प्राकृतिक जस्ता देखिने जलवायु परिवर्तन, वनविनास, मरुभूमिकरण, प्रदूषण, खरेडी, अनिकाल, भोकमरी र यहाँ सम्म कि सर्पको टोकाइका घटना समेतमा मनिस कम जिम्मेवार छैन भन्ने चेतना बढ्दै गैरहेको छ । विगत चार दशकयता विश्वमा वातावरणीय चेतना संगै प्राकृतिक र सामाजिक विज्ञानवीच समझदारी र पारिस्परिकता गहिरिंदै जाँदा सामाजिक विभेद, असमानता र गरिबी आदिलाई पनि कतिपय विपद्का कारकको रूपमा हेर्न थालिएको छ । यति मात्रै होइन, आज बढ्दो रूपमा देखिने आमहत्या, आत्माहत्या, युद्ध र आतंकबादका घटनाले सिर्जना गर्ने विपद्पका त्रासदीपूर्ण र भयहव अवस्थाहरुको मुख्य कारक मानिसलाई नै मान्ने गरिन्छ ।
परम्परागत दृष्टिमा विपद्का घटना हुनुमा मानिसको दोष थिएन र जिम्मेवारी पनि न्यून रह्यो । "दैवी लिला" वा "दैवी प्रकोप" भन्ने भनाइ नै छ नि। भगवानका अगाडि मानिसको के लाग्छ र! तर अब त्यसो होइन। यसो चाहिं हो कि विपद् सृजनामा मानिसको यत्तिनै हात वा भूमिका छ भनेर किटान गर्न सँधै सम्भव छैन। उदाहरणका लागि प्रदूषण, मरुभूमिकरण, खडेरी, जलबायु परिवर्तनले सिर्जना गर्ने कतिपय विपद्का कारक प्रकृति र मानव दुवै हुन सक्छन् वा हुन्छन् पनि । यस्ता विपद्लाई यस क्षेत्रमा काम गर्ने विशेषज्ञहरु "मिश्रित विपद्" भन्ने गर्छन् ।
अत: "विपद् रिसोर्स"को ध्यान मोटामोटी रूपमा विपद्का यी तीन स्वरुपबारे समाचार माध्यमहरुमा गुणस्तरीय रिर्पोटिङ र कभरेज गर्न पत्रकारहरुलाई सहयोग पुर्याउने कुरामा केन्द्रित छ ।
उल्लेखनीय कुरा, मानिसले विपद्प्रति के-कस्तो प्रतिक्रिया कसरी गर्छन् वा गर्दैनन् भन्ने कुरामा विपद्को परिभाषाको मर्म रहेको छ । एसियाली विपद् न्यूनीकरण केन्द्रले गरेको परिभाषामा कुनै पनि "जोखिम" कतिखेर "विपद्" बन्न पुग्छ भन्ने कुरा मानिसकै क्षमतामा निर्भर रहने स्पष्ट गरिएको छ: "कुनै पनि समाजको कार्यकलापहरुमा आइपर्ने गम्भीर वितण्डा जसले प्रभावित समाजको आफ्नै स्रोतसाधन मात्र प्रयोग गरी सामना गर्न सक्ने क्षमता भन्दा बढी व्यापक मानव, भौतिक वा वातावरणीय क्षति पुर्याउँदछ। "
नेपालमा सरकारी स्तरमा यसको परिभाषा यसरी गरिएको छ: "विपद् भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावारंमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैर-प्राकृतिक विपद् सम्झनु पर्दछ" (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४; पृष्ठ २) । यस ऐनमा मानव-सृजित विपद्लाई औपचारिक रूपमा "गैरप्राकृतिक विपद्" भनेर छुट्याइएको छ (पृष्ठ १) । जोखिमको स्रोत वा उद्भव प्राकृतिक हो कि गैर-प्राकृतिक हो भन्ने कुरामा यो बर्गीकरण आधारित रहेको स्पष्ट गर्न खोजिएको छ ।
प्रकोप, बिपत्ति, व्याधी/महाव्याधी, आपत, जोखिम, संकट, खतरा, महामारी, कहर, आतंक जे-जस्ता शब्द प्रयोग गरे पनि खासमा विपद् भन्नु कुनै पनि किसिमको जोखिमको नकारात्मक असर हो, अर्थात् जोखिमको उपयुक्त ढंगमा सामना गर्न नसक्नुको परिस्थिति वा परिणाम हो भन्ने कुरामा आज आएर यस क्षेत्रका बहुसंख्यक जानकारहरुवीच सहमति देखिन्छ ।
जिम्मेवारीपूर्ण ढंगमा उचित पूर्व तयारी र व्यवस्थापन गर्न सके कुनै पनि जोखिम पूरै टार्न नसकेपनि विपद्को हदलाई कम वा न्यूनीकरण गर्न सकिन्छ भन्ने मत आज प्रवल बन्दै गएको छ, यद्दपि ख्याल राख्नु पर्ने कुरा के भने आज पनि जिम्मेवारी नबोकेको, पूर्वतयारी नगरेको र खास गरी सीमान्तकृत, बिपन्न बर्गका मानिस विषम र असंगत तवरमा प्रभावित रहेको भन्ने आलोचना प्रत्येक विपद् लगतै सुन्नु पर्ने हुन्छ ।
यस्ता आलोचना २०७२ को महाभूकम्प र हाल कोभिड-१९ महामारीको क्रममा प्रशस्तै देखिए र धेरैजसो आलोचना जायज पनि मानिएका छन् । स्मरणीय कुरा, नेपाल विपद्को जोखिम खेप्ने मुलुकहरुको सूचीमा सुरुतिरै आउँछ । जलवायु परिवर्तन, भूकम्प, र बाढीको जोखिममा नेपाल क्रमश: चौथो, एघारौं र तेह्रौं स्थानमा आउछ । बर्षेनी यी र अन्य विपद्का घटनामा सैयौं नेपालीले धन-जन गुमाउनु परिरहेको छ ।
यस्तो अवस्थामा पत्रकारको भूमिका अत्यन्तै महत्वपूर्ण छ । पत्रकारले परम्परागत "वाच डग" को भूमिका त सधैं झैँ निभाउनु नै छ । महाभूकम्प र नव कोरोना भाइरस महामारीका कठिन र कटु अनुभव उपरान्त अहिलेको टड्कारो आवश्यकता के पनि हो भने नेपाली मिडियाले विपद् रिर्पोटिङलाई एउटा छुटै, अझ परिस्कृत र स्थायी "बिट"को रूपमा स्थापित गर्नु पर्ने भएको छ ।
"विपद् रिसोर्स"को उद्धेश्य यस कार्यमा एउटा सहयोगीको भूमिका निभाउनु हो । यस साइटको 'फोकस' विपद् बारे भन्दा पनि विपद् रिर्पोटिङबारे हो । यसमा विपद् सम्बन्धि विविध रिर्पोटिङ चरणहरु समेट्ने प्रयास गरिने छ: समुदायको विपद् न्यूनीकरण र पूर्व तयारीसम्बन्धमा पत्रकारको 'वाच डग' भूमिका र रिर्पोटिङ योजना; पूर्व चेतावनीमा मिडियाकर्मीको कर्तव्य, विपद् आइलागे पछि गर्नु पर्ने रिर्पोटिङ (सूचना संकलन, प्रमाणिकरण, त्रुटी सुधार, तनाव वा मानसिक आघातको सामना, र आत्म-सुरक्षा वा हेरचाह); समुदायको प्रतिकार्य, पुनर्लाभ, उत्थानशीलतामा पत्रकारको भूमिका, फलो-अप रिर्पोटिङ, आदि । विपद्का विविध स्वरुप र पक्षबारे गुणस्तरीय रिर्पोटिङ र कभरेजका लागि यसमा सञ्चारकर्मीहरूलाई कामलाग्ने प्रासंगिक, प्रामाणिक, व्यवहारिक, खोजपूर्ण र उपयोगी स्रोत सामाग्रीहरु प्रकाशित गर्दै लगिने छ ।
विपद्का विभिन्न प्रकार र बिषयमा नेपाली सञ्चारजगतको सन्दर्भमा उपलब्ध र उपयोगी सामग्रीहरु समेटिने छ । बिषयगत ट्यागहरु पनि थपिंदै लगिने छ ।
• सान्दर्भिक लिङ्क: बिषयगत ट्यागहरु