राष्ट्रिय र स्थानीय सञ्चारगृहमा आबद्ध लुम्बिनी प्रदेशका करिब २५ प्रतिशत पत्रकारले ‘फोर्स्ड लिभ’ का नाममा बेरोजगार हुनुपरेको छ । ‘पत्रिकामा १७ प्रतिशत मात्रै विज्ञापन छ । अहिलेसम्म त जसोतसो धानियो, कोरोना अझै कायमै रहेमा के हुन्छ भन्न सकिन्न ।’
–झलक गैरे, प्रधान सम्पादक, दैनिक नेपालगन्ज’
वुटवल – कोभिड-१९ का कारण लुम्बिनी प्रदेशको पत्रकारितामा गम्भीर संकट देखा परेको छ । प्रदेशका १२ जिल्लामा सञ्चालित छापा, विद्युतीय एफएम रेडियो, टेलिभिजन र अनलाइन न्युजपोर्टलको आम्दानी ५० देखि ७५ प्रतिशतसम्म घटेको नेपाल पत्रकार महाशाखा, रुपन्देही शाखाले जनाएको छ। सञ्चार गृहको आम्दानी घटेपछि त्यहाँ कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीको रोजीरोटी गुम्दै गएको छ ।
कोरोनाका कारण लुम्बिनीका केही सञ्चारमाध्यमले कर्मचारीलाई बेतलबी बिदामा राखेका छन् भने अधिकांशले नियमित तलब नै दिन सकेका छैनन् । रुपन्देहीका पत्रकार हिक्मत चौधरी असार १ गतेदेखि कोरोना विशेष बिदामा छन् । एक प्रतिष्ठित सञ्चार गृहले कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै केही समयका लागि बेतलबी बिदा बस्न चौधरीलाई पत्र दिएको हो । १५ वर्षदेखि कार्यरत संस्थाले बिदाको पत्र थमौती गर्दा उनी आफैं आश्चर्यचकित थिए ।
‘कोरोनाले संस्थालाई अप्ठ्यारो छ भन्ने कुरा मलाई थाहा थियो, तर कोरोना विशेषका नाममा बेतलबी बिदा बस्न पत्र आउँछ भन्ने सोचेको थिइनँ,’ उनले भने । अहिले चार महिनादेखि बेतलबी बिदा बस्नुपर्दा नियमित घरखर्च चलाउनसमेत असहज भएको छ ।
कोरोना भाइरसका कारण बेरोजगार बनेका चौधरी एक्ला पत्रकार भने होइनन् । राष्ट्रिय र स्थानीय सञ्चारगृहमा आबद्ध लुम्बिनी प्रदेशका करिब २५ प्रतिशत पत्रकारले ‘फोर्स्ड लिभ’ का नाममा बेरोजगार हुनुपरेको छ ।
अर्घाखाँचीका पत्रकार अनिल नेपाली कोरोना महामारीपछि दैनिकी असहज भएको बताउँछन् । ‘एकातिर कोरोनाको डर, अर्कोतिर बेरोजगार हुनुपर्दा घरखर्च चलाउन मुस्किल भएको छ,’ उनी भन्छन् । स्थानीय रेडियो बन्द भएपछि भदौदेखि उनी बेरोजगार भएका हुन् । राष्ट्रियस्तरमा नाम चलेका छापा र टेलिभिजनमा कार्यरत पत्रकारले पनि नियमित तलब नपाएको गुनासो गर्दै आएका छन् । तर, खुलेर भने कोही पनि यो कुरा बाहिर ल्याउन चाहदैनन् । जिल्लामा सञ्चालित एफएम रेडियो र पत्रिकामा कार्यरत पत्रकारहरुको हालत उस्तै छ ।
स्थानीय मिडिया हाउसले पत्रकारलाई प्रत्यक्ष जागिरबाट निकालेका छैनन् । तर, संस्था नै धराशायी भएपछि त्यहाँ कार्यरत पत्रकारले वैकल्पिक बाटो खोज्न थालेका छन् । जेनतेन काम गरिरहेका पत्रकारले पनि नियमित तलब नपाएका उदाहरण प्रशस्त भेटिन्छन् । कोरोना महामारीका बेला जोखिम मोलेर निरन्तर सूचना दिन खटिएका पत्रकारको पेशागत सुरक्षामाथि ठूलो जोखिम आइपरेको बताउँछन् नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी ।
कोरोना महामारीले मिडिया हाउस र पत्रकारको अवस्था दयनीय बन्दै गएको उनले बताए । ‘कोरोना महामारीले लुम्बिनी प्रदेशका पत्रकारको दैनिकी दिनप्रतिदिन असहज हुँदै गएको छ । तर, उनीहरु निवेदन नै दिएर अप्ठ्यारो पर्यो भन्दै चाहिँ आएका छैनन्,’ उनले भने । उनका अनुसार पत्रकार महासंघ, रुपन्देहीले कोरोनाको वहानामा पत्रकारलाई ननिकाल्न सञ्चारगृहलाई आग्रह गरेको छ । पत्रकार महासंघले बिमा रकमको दाबी भुक्तानी, कोरोना संक्रमित पत्रकारको उपचारमा सहजीकरणलगायत काम गर्दै आएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा रुपन्देही, दाङ र बाँकेका करिब एक सय पत्रकारले रोजगारी गुमाएका पत्रकार महासंघको आँकलन छ । सञ्चारगृहले कोरोना महामारीका बेलामा फ्रन्टलाइनमा खटिने पत्रकारलाई थप सुविधा दिनुपर्नेमा उल्टै सेवासुविधा कटौती गरिएको बाँकेकी पत्रकार रुपा गहतराज बताउँछिन् । ‘सञ्चारगृहले सुरक्षित भएर रिर्पोटिङ गर्न भन्ने तर, सामान्य मास्क र स्यानिटाइजरसम्म दिएका छैनन्,’ उनले भनिन्, ‘यस्तो जोखिम मोलेर काम गरेका मिडियाकर्मीलाई थप भत्ता, बिमा र हौसलाको खाँचो छ ।’
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तथा कान्तिपुर दैनिकमा कार्यरत गहतराजले कोरोना महामारीले पत्रकारिता क्षेत्रलाई ठूलो चुनौती थपिदिएको बताइन् । यस्तो विषम स्थितिमा पनि पेशागत दायित्वले बच्चा र परिवारको समेत स्वास्थ्यलाई जोखिममा राखेर फिल्ड रिर्पोटिङमा खटिनुपरेको उनको भनाइ छ । यस्तो अवस्थामा सरकार र पत्रकार सम्बद्ध संस्थाले पत्रकारको जीवनरक्षा र पेशागत सुरक्षाका सवालमा बहस नै गर्न नसकेको उनको गुनासो छ । लुम्बिनी प्रदेशमा करिब १ हजार ७ सय पत्रकारहरु पत्रकार महासंघको सदस्य छन् । यीमध्ये कम्तीमा ८ सय हाराहारी पत्रकार क्रियाशील छन् ।
कोरोना महामारीले रोजगारीसँगै पत्रकारको स्वास्थ्यमा समेत जटिलता थपेको छ । यहाँका ३१ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । पत्रकार महासंघका सदस्य र अन्य गरी हालसम्म ३० जनामा कोरोना पुष्टि भएको पत्रकार महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष केसीले बताए । लुम्बिनीमा एकजना कपिलवस्तुका पत्रकारको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
सञ्चारगृह थला परे, प्राण मात्रै बाँकी
बाँकेबाट १५ वर्षदेखि प्रकाशित कालपृष्ठ दैनिक कोरोना महामारीकै कारण केही समय बन्द भयो । भदौबाट नयाँ व्यवस्थापनले पत्रिकालाई निरन्रता दिएको छ । कोरोना महामारीकै कारण अर्घाखाँचीको रेडियो सगर्वको भदौदेखि नियमित प्रसारण बन्द भएको छ । दैनिक पत्रिकाले पेज घटाएका छन् । छपाइ पनि भारी मात्रामा घटाएका छन् । एफएम रेडियोले समाचार र कार्यक्रम बुलेटिन कटौती गरेका छन् । कतिपय रेडियोले प्रसारण अवधि घटाएका छन् भने कतिपयले आफ्नो उत्पादन पूर्ण रुपमा बन्द गरेका छन् ।
उसै त यहाँका सञ्चार गृह कोरोनाअघि पनि आर्थिक रुपमा बलिया थिएनन् । त्यसमाथि कोरोना महामारीले थला पारेपछि अवस्था भयावह बनेको बुटवलबाट प्रकाशित दैनिकपत्रका प्रधान सम्पादक बालकृष्ण चापागाई बताउँछन् । उनका अनुसार अहिले मासिक १५ लाख हाराहारी घाटामा पत्रिका प्रकाशन गर्नुपरेको छ । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा दैनिकपत्र, जनसंघर्ष दैनिक र स्वाधीन मासिक पत्रिका प्रकाशन हुँदै आएको छ । कोरोना महामारीपछि भने दैनिकपत्रबाहेक अन्य पत्रिकाहरुको प्रकाशन साप्ताहिक गरिएको छ ।
बुटवलबाट प्रकाशित बुटवल टुडे दैनिकले पनि पृष्ठ घटाएको छ । ब्रोडसिट रंगीनमा छापिने यस पत्रिका कोरोना महामारीअघि आठ पृष्ठ प्रकाशित हुन्थ्यो । तर, कोरोनापछि भने चार पृष्ठ मात्रै प्रकाशित हुँदै आएको छ । ‘अहिले ४० प्रतिशत मात्रै आम्दानी छ, यसले नियमित खर्च जुटाउनसमेत असहज भइरहेको छ,’ बुटवल टुडेका प्रबन्ध सञ्चालक नवराज कुँवरले भने । उनले अहिले जिल्लाका कार्यालय, वितरण र बजारका कर्मचारीलाई बिदा दिइएको बताए । ९४ जनामध्ये करिव ५० जनालाई मात्रै काममा लगाइएको बुटवल टुडेले जनाएको छ । ‘अहिलेसम्म पत्रकारहरुलाई जेनतेन तलब दिइरहेका छौं । तर, कोरोना महामारी यस्तै भइराखे के हुन्छ भन्न सकिँदैन,’ कुँवरले भने ।
यस्तो असहज अवस्थामा पनि नागरिकलाई नियमित सूचना दिने सञ्चारगृहलाई स्थानीय, प्रदेश र संघीय सरकारले नहेरेको उनले बताए । ‘मिडिया हाउस नै बन्द हुने स्थिति भयो, अब पत्रकारहरुले वैकिल्पक अवस्था नखोजे स्थिति भयावह हुनसक्छ,’ उनले भने ।
बाँकेबाट प्रकाशित दैनिक नेपालगन्ज पत्रिका कोरोना महामारीपछि रंगीनबाट श्यामश्वेत रुपमा प्रकाशन भइरहेको छ । कोरोना महामारीपछि सरकारले गरेको लकडाउनको सुरुआतका केही दिन पत्रिका बन्द भए पनि नियमित घाटा व्यहोरेर भए पनि जनतालाई सुसूचित गर्न फेरि प्रकाशन सुरु गरेको प्रधान सम्पादक झलक गैरैले बताए । ‘पत्रिकामा १७ प्रतिशत मात्रै विज्ञापन छ, अहिलेसम्म त जसोतसो धानियो, कोरोना अझै कायमै रहेमा के हुन्छ भन्न सकिन्न,’ उनले भने । कोरोना महामारी सकिएको करिब डेढ वर्षसम्म पुरानै अवस्थामा फर्किन नसकिने उनको भनाइ छ ।
बुटवलको बुद्ध सामुदायिक टेलिभिजनमा पनि ठूलो संकट निम्तिएको छ । कोरोना महामारीअघि नियमित पारिश्रमिक दिने सञ्चारगृहमा पर्ने यस टेलिभिजनमा तलब अनियमित भएको छ । खर्चिलो माध्यम मानिने टेलिभिजनको ७० प्रतिशत आम्दानी घटेको टेलिभिजनका निमित्त कार्यकारी निर्देशक विक्रम खड्काले बताए । ठूला उद्योगले समेत सबैभन्दा पहिले मिडियाकै विज्ञापन कटौती गरेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर हुँदा पत्रकारिता फितलो र गुणस्तरहीन भएको उनले बताए । ‘अहिलेसम्म त प्राण धानिएको छ, स्थिति यस्तै भए धेरै सञ्चारगृह बन्द हुन सक्छन्,’ उनले भने । लुम्बिनी प्रदेशमा साना ठूला गरी २ सय ५० सञ्चारगृह सञ्चालनमा रहेका प्रदेश सरकारले जनाएको छ ।
रेडियोको स्थिति थप पीडादायी
लुम्बिनी प्रदेश सरकारको वस्तुगत विवरण अनुसार यहाँ सामुदायिक र व्यवसायिक गरी ९० रेडियो सञ्चालनमा छन् । कुनै बेलाको आधुनिक सञ्चारमाध्यम मानिए पनि पछिल्ला केही वर्षयता भने डिजिटलाइजेसनले गर्दा एफएम रेडियोको बजार र स्रोताको सहभागितामा गिरावट आइरहेको थियो । कोरोना सुरु नहुँदैदेखि गिरावट सुरु भएको एफएम रेडियोको बजार अहिले ध्वस्तै भएको छ ।
प्रदेशका अधिकांश रेडियोले कार्यक्रम बन्द गरेका छन भने केहीले समाचार बुलेटिन र नेटवर्कका समाचार÷कार्यक्रममार्फत् प्रसारण गरेर रेडियो जीवित राख्ने काम गरेका छन् । ‘कोभिड-१९का कारण रेडियोहरुको आम्दानीको स्रोत ठप्प भयो, नियमित तलब दिन सकेका छैनन्, बिजुली र घरघाडा तिर्न नसकेको अवस्था छ,’ सामु्दायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरेले भने ।
घिमिरेका अनुसार दाङका केही रेडियोहरुले समाचार र कार्यक्रम पूरै बन्द गरेर नेटवर्क र गीत मात्रै बजाउन थालेका छन् । यस्तो अवस्था रुपन्देही, कपिलवस्तु, बाँके, पाल्पालगायत केही जिल्लाका रेडियोमा देखिएको छ । कोरोनाले थला पारेको अवस्थामा पनि सरकारले कुनै पनि सहयोग नगरेको घिमिरेको गुनासो छ ।
मिडिया राहत प्याकेज जरुरी
२०७७ साल चैत ११ गदेखि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि बैशाख पहिलो सातासम्म लुम्बिनी प्रदेशका छापा सञ्चार माध्यमले प्रकाशन बन्द गरे । त्यसपछि पत्रिकाको पुनः प्रकाशन गरिए पनि टिकाउन हम्मे परेको छ ।
कोरोना महामारीपछि रेडियो-टेलिभिजनको प्रसारण नियमित गर्न सकेका छैनन् । सञ्चारगृहले तलब नै नदिएपछि खोजी रिपोर्टिङ शून्यजस्तै भएको छ। सतही सूचना स्रोतका आधारमा समाचार बनाउँदा त्यसको विश्वसनीयतामै ह्रास आउन थालेको नेपाल पत्रकार महासंघ, पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताए । क्षणक्षणमा सूचना पस्कने सञ्चारगृह र सञ्चारकर्मीका बारेमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन नसकेको उनको ठम्याइ छ ।
कोभिड-१९ को सूचना प्रसारणमा सरकारले सञ्चारमाध्यमको समुचित प्रयोग गर्न नसकेको उनले बताए । स्थानीय सरकारहरुले समेत सञ्चार क्षेत्रको योगदान र पत्रकारहरुको हौसला बढाउने गरी राहत प्याकेज ल्याउनुपर्नेमा त्यतातर्फ कुनै पनि तहका सरकारले ध्यान नदिएको बुटवल टुडेका प्रबन्ध सञ्चालक कुँवरले उल्लेख गरे । तीन तहको सरकार र सूचनाका लागि सरोकार राख्नेहरुले ध्यान नदिए कोभिड-१९ कै कारण लुम्बिनीका अधिकांश सञ्चारगृह बन्द हुनुका साथै सयौं पत्रकार बेरोजगार हुनुपर्ने अवस्था सिर्जना हुने उनको धारणा छ ।