कोभिड-१९ को महामारीपछि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञामा प्रदेश २ का पत्रकारहरुले एकातिर चरम आर्थिक संकट व्यहोर्नुपर्यो भने अर्कातिर अर्कातिर फिल्डमा खट्दा बढ्दो संख्यामा संक्रमित हुनु पर्यो
कोभिड-१९ महामारीका कारण प्रदेश २ का पत्रकारहरुले चरम आर्थिक संकटको सामना गर्नुपर्यो । यतिसम्मकि लकडाउनका बेला बारा जीतपुरसिमरा उपमहानगरपालिकास्थित एक एफएमका स्टेसन म्यानेजरलाई समेत रकम नभएकाले दैनिक गुजारा चलाउन हम्मे पर्यो ।
नेपाल पत्रकार महासंघ, बाराले सहयोगस्वरुप दिएको ५ हजार रुपियाँले उनले केही दिनको गर्जो टारे । लकडाउनका कारण उक्त एफएमले समयमै तलब नदिएकाले उनलाई आर्थिक समस्या परेको हो ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाई घरबाट पनि भरथेग हुन नसकेको नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष कमलकुमार उपाध्यायको भनाइ छ ।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष उपाध्यायका अनुसार जिल्लाका पत्रकारले तलब नपाउने समस्या पहिलेदेखि नै रहेको र कोभिड-१९ को लकडाउनपछि झन् विकराल बन्दै गएको छ । ‘तलब पाउने पत्रकारले पनि त्यसबाट गुजारा गर्नसक्ने अवस्था छैन, लकडाउनपछि त झन् समस्या बढेर गएको छ,’ उनले भने ।
पत्रकारलाई संक्रमण बढेपछि कोरोना बीमा
कोरोना महामारीपछि हालसम्म बाराका पाँचजना पत्रकार संक्रमणको सिकार भएका नेपाल पत्रकार महासंघ, बाराले जनाएको छ । यसरी पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि नेपाल पत्रकार महासंघ, बाराले पत्रकारहरुका लागि कोरोना बिमा गराएको थियो । कोरोना संक्रमण भएका पत्रकारले जनही एक लाख रुपियाँ पाएका छन् । यसैगरी, पत्रकार महासंघ, प्रेस युनियन र प्रेस संगठनले पनि संक्रमित पत्रकारलाई जनही २५-२५ हजार सहयोग गरेका थिए ।
कोभिड-१९ को महामारीपछि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञामा प्रदेश २ का पत्रकारहरुले एकातिर चरम आर्थिक संकट व्यहोर्नुपर्यो भने अर्कातिर अर्कातिर फिल्डमा खट्दा बढ्दो संख्यामा संक्रमित हुनु पर्यो ।
प्रदेश २ का सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा गरी नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारको संख्या ८ सय ४२ छ । महासंघको सदस्यता नलिएका पत्रकारको संख्या ४ सय हाराहारीमा छ ।
कूल १ हजार २ सय ५० पत्रकार रहेका यो प्रदेशमा ७२ वटा एफएम छन् । यसका साथै यहाँ पत्रिका, टिभी र अनलाइन न्युजपोर्टल पनि सञ्चालनमा छन् ।
अपवादबाहेक अधिकांश पत्रकारले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् । अन्य बेलामा पनि सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएका पत्रकारले लकडाउनका बेला झनै मार खेप्नुपरेको थियो ।
नेपाल पत्रकार महासंघ, प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान कोभिड-१९ को महामारीपछि सरकारले जारी गरेको लकडाउनका कारण पत्रकारको आर्थिक अवस्था दयनीय बनेको बताउँछन् । ‘धेरै पत्रकार समस्यामा परेका छन् । तर, लकडाउन र निषेधाज्ञामा तलब नपाएको भनी महोत्तरीका एकजना पत्रकारबाहेक अन्य कसैले पनि पत्रकार महासंघ, प्रदेश–२ समितिलाई उजुरी गरेका छैनन्,’ चौहान भन्छन् ।
लकडाउनको अवधिमा जनकपुरबाट प्रकाशित जनकपुर टुडे र वीरगन्जबाट प्रकाशित प्रतीक दैनिक मात्र निरन्तर सञ्चालनमा आए । तीबाहेक यहाँका अधिकांश पत्रिका आर्थिकभार वहन गर्न नसकेर बीचमा बन्द भएर पुनः सञ्चालनमा आएका पत्रकार महासंघले जनाएको छ ।
प्रदेश २ मा पत्रिका, टिभी, अनलाइन न्युजपोर्टल कति संख्यामा छन् भन्ने यकिन नभएको चौहानको भनाइ छ । चौहानका अनुसार प्रदेश सरकारले महामारीबाट प्रभावित पत्रकारलाई आर्थिक सहयोगको आश्वासन दिए पनि अहिलेसम्म रकम प्राप्त भएको छैन ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार महासंघ प्रदेश समितिलाई ५० लाख रुपियाँ सहयोग दिने प्रतिबद्धता जनाए पनि त्यसलाई कार्यान्वयन नगरेको चौहानले बताए । पत्रकार महासंघले स्थानीय निकायका जनप्रतिनिधि, संघीय सांसद र प्रदेश सासदसँग सहयोगका लागि आग्रह गरेको छ ।
जोखिम मोलेर फिल्ड रिपोर्टिङ
लकडाउनका बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै पत्रकारले पनि अग्रपंक्तिमा रहेर काम गरे । तर, पत्रकारको अवस्था स्वास्थ्यकर्मी र सुरक्षाकर्मीजस्तो आर्थिक रुपमा सहज हुन सकेन ।
प्रकाशन गृहबाट तलब सुविधा नपाए पनि आर्थिक समस्यासँग जुधेर पत्रकारले फिल्ड रिपोर्टिङलाई निरन्तरता दिएको नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेको भनाइ छ ।
‘पत्रपत्रिकामा कार्यरत पत्रकारले घरबाटै समाचार संकलन गर्न मिले पनि टेलिभिजन पत्रकार तथा फोटो पत्रकार भने फिल्डमा जानैपर्ने भएकाले उनीहरुले जोखिम मोलेर काम गर्दै आएका छन्,’ केसी भन्छन् । पत्रकार महासंघ, प्रदेश समितिले भने केही संख्यामा भए पनि पत्रकारका लागि स्यानिटाइजर र मास्क वितरण गरेको जनाएको छ।
लकडाउन र निषेधाज्ञामा वीरगन्जको नारायणी एफएममा कार्यरत सातजना पत्रकार र कर्मचारीमा कोरोना पोजेटिभ भए । सुरुमा नारायणी एफएमका स्टेसन म्यानेजर क्रान्ति साह र प्राविधिक रन्जन साह कोरोना संक्रमित भएर अस्पतालको आइसोलेशनमा बसे । उपचारपछि उनीहरु घर फर्किएर १४ दिनको होम आइसोलेसनको बसाइमा उक्त एफएमका पाँचजना पत्रकार, कर्मचारी संक्रमित भए ।
संक्रमित हुँदाहुँदै पत्रकार ड्युटीमा
कोरोना संक्रमण देखिएपछि पनि नारायणी एफएमका पत्रकार, प्राविधिकले कार्यक्रम सञ्चालन गरेका थिए । गत वैशाखमा उक्त एफएमका पत्रकारहरुलाई कोरोना संक्रमण देखिएको थियो ।
नारायणी एफएमका संक्रमित पत्रकारहरु अस्पतालमा आइसोलेसन बस्ने तयारी गर्दै थिए । रेडियो वीरगन्जले नारायणी एफएमका संक्रमितहरु अस्पताल भर्ना हुन गएनन् भनी समाचार प्रसारण गरेपछि बाध्य भएर कोरोना पोजेटिभ हुँदाहुँदै पनि काम गरेको स्टेसन म्यानेजर क्रान्ति बताउँछन् ।
नारायणी एफएमका पाँचजना संक्रमितहरु शिवनाथ यादव (समाचार वाचक), आनन्द साह र सद्दाम हुसेन (प्राविधिक), बिदुर गुप्ता (प्रशासन प्रमुख) र कार्यालय सहायक गणेश पौडेलले कोरोना पोजेटिभ देखिए पनि १४ दिनसम्म एफएम सञ्चालन गरे ।
स्टेशन म्यानेजर साहले होम आइसोलेसनबाट पठाएको समाचार यादवले वाचन गर्नुका साथै टकशो पनि सञ्चालन गरेका थिए । उनीहरुले आइसोलेसनबाटै १८ घन्टासम्म एफएम सञ्चालन गरेका थिए ।
नारायणी एफएमका पत्रकारहरुले लकडाउन अवधिमा आर्थिक समस्यासँग जुध्न नपरेको स्टेसन म्यानेजर साहको भनाइ छ । अन्य समयमा तलब खुवाउन कहिलेकाही ढिलो हुने गरे पनि लकडाउन र निषेधाज्ञामा सरसापटी खोजेर भए पनि सञ्चालकले पत्रकार र कर्मचारीको तलब समयमै उपलब्ध गराएका थिए ।
पर्सा जिल्लामा एक दर्जनको हाराहारीमा एफएम छन् भने २० भन्दा बढी दैनिक पत्रिका, साप्ताहिक र अनलाइन छन् । यसैगरी, पर्सामा दुईवटा टेलिभिजन सञ्चालनमा छन् । आर्थिक अभाव र प्राविधिक समस्याले लकडाउनमा पत्रिकाको प्रकाशन केही दिन बन्द भए पनि आर्थिक समस्या झेल्दै एफएम, अनलाइन, टिभिको प्रसारण भने नियमित रहेको थियो । विद्युत, इन्टरनेटलगायतको खर्च तथा तलबको बक्यौता अधिकांश मिडियाले झेल्दै आएका छन् । यसको भुक्तान कसरी गर्ने भन्ने चिन्ताले मिडिया सञ्चालकलाई सताएको छ ।
महोत्तरीका पत्रकारले लकडाउनमा विषम आर्थिक समस्या झेल्नुपरेको त्यहाँका पुराना पत्रकार गोपाल बराल जानकारी दिन्छन् । ‘यहाँका पत्रकारले पहिलेदेखि नै नियमित पारिश्रमिक नपाएको अवस्था रहेको थियो, लकडाउन र निषेधाज्ञाको बेलामा त झन पैसा पाएनन्,’ बराल भन्छन् ।
सबै पेशा र व्यवसायलाई लकडाउनले असर पारेको अवस्थामा पत्रकारिता झनै प्रभावित भएपछि पत्रकारहरुको अवस्था कमजोर बनेको पत्रकार बरालको बुझाइ छ । महोत्तरीका ११ वटा एफएममध्ये रेडियो जलेश्वरले मात्र नियमित तलब दिने गरेको छ । अन्य एफएमले पत्रकारको पुरानो बक्यौता पनि नदिएको पत्रकार बरालको भनाइ छ ।
कान्तिपुर राष्ट्रिय दैनिकका सर्लाही संवाददाता अमन कोइराला लकडाउनका बेलामा पत्रकारलाई कतैबाट पनि सहयोग नभएको गुनासो पोख्छन् । सर्लाहीका पत्रिका बन्द भए पनि एफएम रेडियोहरु भने सञ्चालनमा रहे ।
कोभिड-१९ का बेला पत्रकारहरु जोखिम मोलेर कार्यक्षेत्रमा खटेको कोइरालाको भनाइ छ । ‘यहाँका अधिकांश पत्रकारले न्यूनतम पारिश्रमिक पाएका छैनन्। सहमतिमा तय गरिएको तलब पनि लकडाउनका बेला पाएका छैनन् । प्रदेश-२ का सबै जिल्लाका पत्रकारको हालत उस्तै रहेको छ,’ कोइराला सुनाउँछन् ।