रिक्सा तानिरहेकाले इटहरी–२४ का रिक्साचालक हरिजन (नाम परिवर्तन)लाई बैशाख १२, ०७२ को भुइँचालोको हेक्का भएन । वरपरका मान्छे अत्तालिँदै ग्वारग्वारती सडकमा आउन थालेपछि रिक्सा रोके । बल्ल भुइँचालो गएको थाहा भयो उनलाई । आफ्नो रिक्साका बेचैन यात्री त्यही ओर्लिएपछि रिक्सा फर्काए र चौकतिर लागे । चियाको तलतल र उही भुइँचालोको चासो बोकेर एउटा पसलमा छिरे । जब पसलको टिभी स्क्रिनमा भुइँचालोमा परेर क्षतविक्षत घाइतेहरुको दृश्य देखे, ठुलो विपतको महशुस भयो । धेरैबेर दुश्य हेरिरहन सकेनन् । टाउको फनन्न घुमेर दुख्न थाल्यो । के गरुँ कसो गरुँ भयो । करिब ३ किमी पर डेरामा विहानै छाडेका परिवारको याद आयो । डेरा हान्निए । परिवार सकुशलै भेटिएपनि उनको मन हाँस्न सकेन । ज्वरो र बान्ता होला जस्तो भयो । स्फुर्ति हरायो । एकोहोरिएर खाटमा पल्टिरहे । अर्थात हरिजनमा मानसिक असर परिसकेको थियो ।
हरिजनमा मानसिक असरको कारण भूइँचालो नै हो त ? भूइँचालो त उनले ९० सालको पनि सुनेकै हुन् । ४५ सालको त भोगेकै हुन् । यसपटक त उनले थाहा पनि पाएनन् तर उनको मथिंगल असन्तुलित हुनुमा टिभी स्क्रीनको घाइतेको दर्दनाक दृश्य कारण थियो, अथवा मिडिया थियो । प्रत्यक्ष देख्ने र भोग्नेले त देखे, भोगे । तर जो मिडियाको पहुँचमा थिए, उनीहरुमा पनि मानसिक असन्तुलन शुरु भयो । प्रश्न उठ्छ, महाविपत्तिमा मिडियाले निर्वाह गरेको भूमिका के सही थियो ? हरिजनले स्क्रीनमा दृश्य हेर्नुको सट्टा वर्णन सुनेको वा पढेको मात्र भए यस्तो हुन्थ्यो ?
स्वभाविक हो की मिडिया प्रतिस्पर्धी छ । आधुनिकता, प्रयोग र क्षमताको त्रिकोणिय चापमा कसले कति छिटो सामाग्री सार्वजनिक गर्ने भन्ने होडबाजी छ । विपतपछि नेपाली मिडिया अधिकतम सक्रिय र प्रतिस्पर्धी हुनुलाई सह्राहना गनैैपर्छ तर होडबाजीका विच मिडिया समग्रमा लक्षित वर्गको पक्षमा कि विपक्षमा उभियो ? मिडियाले नागरिकमा सकारात्मक की नकारात्मक सोँचको निर्माण गर्यो ? द्रुत सुचना सम्प्रेषणका नाममा कतिपय मिडियाले सम्पादन नगरिएको दृश्य सार्वजनिक गरे । कसले सवभन्दा दुखद, विभत्स, दर्दनाक सामाग्री दिने भन्ने प्रतिस्पर्धा उत्कर्षमा थियो । सुचनावाट नागरिकमा पर्ने सवैकिसिमका प्रभावको ख्याल गरिएन । संवेदनशीलता देखिएन । के यसले मिडियाको लक्ष्य र कर्तव्य पुरा भयो ? हरिजनजस्ता प्रतिनिधी लक्षितवर्गलाई यसले न्याय गर्यो ?
अहिले मिडियाको भुमिका र कर्तव्य सुचनाको सर्लक्कै सही सम्प्रेषणमा मात्र सिमित छैन, हुनुहुन्न । मिडियाको नागरिकप्रतिको दायित्व पनि गहन बनेको छ । समाजिक वा साँस्कृतिक कर्तव्य पनि सामान्य विषय होईन । महाविपत्ति पछि मिडियाको सवैभन्दा ठुलो कर्तव्य कायल भएका सर्वसाधारणलाई सम्हालिन प्रेरित गर्ने हो । धैर्यधारण गर्ने शक्ति दिने हो । उनीहरुमा कायम रहेको आशा र सकारात्मक सोँचलाई जिवित राखिरहने हो । विपतमा नआत्तिने, दृढ रहने र प्रतिकुलताको सामना गर्न सक्ने आत्मविश्वास निर्माण गर्ने हो । शोकलाई परास्त गर्न उत्साह भर्ने हो । तर मिडियाले नै आशा र सकारात्मक सोँचको मुहानमा बन्द गरेपछि नागरिकहरु कसरी दृढ रहन सक्छन् ?
भुइँचालोपछि नागरिकको जिज्ञासा अथाह थियो । यसका लागि सवै मिडियामाथि नै भर परे । यतिखेर स्वाभाविक रुपमा मिडियालाई दबाब थियो । यस्तो बेला व्यवहारतः अन्य जिम्मेवार निकाय झैँ मिडिया पनि दिग्भ्रमित हुनसक्छ । सिद्धान्ततः मिडियाले खेल्नुपर्ने भुमिका खेलेकै हो । एकांगी भएको वा नियतमै खोट त होईन तर समाचार सम्प्रेषणको शैलीमा समस्या पक्कै देखियो । सामाग्री सन्तुलित हुँदाहुँदै पनि मिडियाले कहालीलाग्दा विभत्स मानविय क्षतिकै दृश्यहरुलाई प्राथमिकता दिए । सवैले प्राथमिकता नदिएपनि नागरिकमा यसको असर प्रभावकारी बन्यो । नेपाल र भारतका मिडिया दुवैको शैली उही देखियो । मानविय क्षतिका दृश्यहरुमा संयमित भएर भौतिक संरचनाहरुको अवस्था सम्प्रेषणमा जोड दिएको भए सक्रियता र भुमिकाले सार्थकता पाउँथ्यो । कुनैपनि सामाग्री नागरिकलाई विपत व्यवस्थापन गर्न साहस जुटाउन प्रेरित गर्ने खालका भएको भए नकारात्मक असरको गुन्जायस नै हुँदैनथ्यो । हरिजन जस्ता वर्गका लागि पनि मिडिया भरोसायोग्य सावित हुन्थ्यो ।
भारतिय मिडिया प्रो–एक्टिभ जर्नालिज्म शैलीमा छ । विपतमा भारतिय पत्रकारहरुको एक हुल नेपालमा अड्डा जमाएर सक्रिय हुनु यसको उदाहरण हो । नेपालको पत्रकारिता पनि यही शैलीको अभ्यासमा छ । यो प्रगति हो । तर प्रो–एक्टिभ हुनु भनेको नागरिकप्रतिको दायित्वप्रति सचेत नहुनु होईन । सामाग्री सम्प्रेषणवाट ‘साइड इफेक्ट’ का रुपमा देखिने कुनैपनि नकारात्मक असरप्रति नेपाली र भारतिय मिडिया अत्यन्तै संवेदनशील हुनुपर्छ । नेपाली मिडिया नागरिक र निकायका लागि भरोसालायक अंग सावित हुने हो भने यो विपतपछि देखिएको चरित्रका आधारमा भावि कर्तव्य, भूमिका र शैलीबारे गहन छलफल मार्फत निष्कर्षमा पुग्नु जरुरी छ ।
यस सन्दर्भमा जापानी मिडिया गतिलो उदाहरण हुनसक्छ । सन् २०११ मार्च ११, दिउँसो २ः४६ बजे जापानमा ९ रेक्टरस्केलको भुइँचालो गयो । ३ मिनेट नवित्दै भिषण सामुद्रिक आँधी ‘सुनामी’ आयो जुन भुइँचालो भन्दा पनि महाविपत्तिको कारक थियो । पुरै जापानमा संकट आयो । मुख्य गरी सुन्दर शहर इसिनोमाकी सुनामीले तहसनहस भयो । यस्तो बेला जापानी मिडियाले के गरे ? जे गरे, हामीकहाँ भन्दा ठिक विपरित गरे ।
इसिनोमाकी पुरै जलमग्न भयो । सरकारी लगायत सञ्चारका सवै संरचना तत्काल सुचारु हुननसक्ने गरी तहसनहस भए । स्थानिय दैनिक पत्रिका ‘इसिनोमाकी हिबी सिम्बुन’को कार्यालय पनि यसवाट अछुतो रहेन । साविक झैँ पत्रिका प्रेसवाट छाप्न सम्भव नभएपछि नागरिकप्रतिको आफ्नो दायित्वप्रति स्पष्ट व्यवस्थापकिय र सम्पादकिय टिमले सुनामीको भोलिपल्टदेखि नै पत्रिका हस्तलिखित रुपमा बाँकी जापानीका हातहातमा पुर्याए । ‘हामी पनि विपतमा बहकिए स्थिती कसले सम्हाल्ने ?’ भन्ने दृढताका साथ सवै सार्वजनिक क्षेत्र, पिडित बसेका सेल्टरहरुमा पत्रिका छ्याप्छ्याप्ती पुर्याईयो । प्रतिकुलतामा पनि बाँकी जापानीलाई भड्किन दिएनन् । ठिक विपरित नेपालमा महाभूकम्प जाँदा मूलधार भनिएका मिडियाले नै क्षति भएको वा काम गर्ने वातावरण नभएको भन्दै केहीदिन प्रकाशन प्रसारण नै रोके । यसवाट मिडियाको नागरिकप्रतिको दायित्वबोध देखिएन ।
हस्तलिखित संस्करण व्यक्ति पिच्छे पुग्नु कुनै ठुलो विषय होईन, ठुलो कुरा त मिडियाको ‘कन्टेन्ट’ के थियो भन्ने हो । जापानी पत्रकारले नेपालमा जस्तो मानविय क्षतिको दर्दनाक दृश्य देखाएनन् । छापेनन् । टाउको क्षतविक्षत भएको, हात काटिएको, आन्द्रा भूँडी बाहिर आएको, एउटी आमा नानी च्यापेराखेकै अवस्थामा किचिएर मरेकोे, लाश जल्दै गरेको जस्ता फोटो वा दृश्यको प्रयोग उनीहरुले गरेनन् । अथवा विपत र क्षतिलाई मानविय चित्रवाट देखाएनन् । पिडितहरुको तस्विरसम्म छाप्न लालयित भएन । सेन्डाई शहरको अग्रणी पत्रिका ‘काहोकु सिन्पु’ ले विपतको भोलिपल्ट जलमग्न वस्ती र एउटा घरमा आगो दन्किरहेको तस्विर छाप्यो । दोस्रो दिन जलमग्न बस्तीको तस्विर । विपतपछि पहिलोपल्ट तेस्रो दिन पिडित जापानीहरुको तस्विर छाप्यो तर विभत्स होईन, सम्हालिएर गन्तव्य तिर लम्किरहेको । उक्त पत्रिकाले अझै पनि आफ्नो मास्टहेड नजिक ‘पुर्नस्थापनाका लागि हामी सँगै हिँडौँ’ भन्ने नारा राख्ने गरेको छ जुन विपतकै बेला शुरु गरेको थियो ।
पत्रिकाले सुनामीपछि लगातार १० दिनको फोटोसंग्रह प्रकाशित गर्यो तर तस्विरमा पीडा र आँशुका भाव थिएनन् । समाचार र तस्विरहरु साहस जुटाउन प्रेरणा दिने खालका थिए । उद्धार गरिरहेको, राहत बाँडीरहेको, विपतपछिको निर्माणमा बालकदेखि बृद्धहरु एकसाथ जुटिरहेको फोटो छापिए । १० औँ दिनको अंकमा सुनामीको दिन जन्मिएका दुई बालक र तिनका हाँसिरहेका आमाहरुको फोटो छापियो जसको शीर्षक थियो–‘नयाँ आशा’ ।
महाविपत्तिले नेपाललाई निकै वर्ष पछाडी धेकेलेको मात्र होईन, पटकपटकको धक्काले नेपालीहरुको मानसिक सन्तुलन खल्बलिएको छ । भविष्यमा यो थप विकराल बन्नसक्छ । यस्तो बेलामा मिडिया थप संवेदनशील हुनु पहिलो सर्त हो । नेपाललाई पुर्ववत् स्थानमा ल्याउन र विपतको सामान्यिकरणमा नेपाली मिडियाले ठुलो योगदान दिँदा दिँदै पनि कमजोरीहरु भएकाछन् । तिनमा आत्मसमीक्षा गर्दै परिष्कृत शैलीमा विपतको थप व्यवस्थापनमा थप योगदान गर्न जरुरी छ ।
पूर्वेली न्युज, 3 June 2015