काठमाडौँ, जेठ १८ गते । पत्रकारिताको धर्म सहाराविहीनलाई सहारा प्रदान गर्नु पनि हो, तर अहिले नेपाली पत्रकारिता आफैँ सहाराविहीन बन्न पुगेको छ ।
आफैँ टेकिरहेको धर्ती हल्लिरहेको कारण यसको असर सिङ्गो पत्रकारितामा परेको छ । पत्रकारका लेख्ने कलम, बोल्ने माइक्रोफोन र प्रसारण गर्ने स्टुडियो कतिपय स्थानमा क्षतविक्षत भएको छ गत वैशाख १२, १३ र २९ गतेको भूकम्पले ।
अहिले पनि आमसञ्चार माध्यमले ती दिनका भूकम्प अनि निरन्तरको पराकम्पनले ल्याएका विनाशलाई आमदर्शक, पाठक र स्रोतलाई आँसु, चिन्ता र कारुणिक व्यथाले भरिएका विषयवस्तु प्रस्तुत गरिरहेका छन् । प्रेस काउन्सिलद्वारा आज यहाँ आयोजित छलफलका सहभागी सञ्चार विज्ञले भने, “बल्ल नेपाली पत्रकारिता तङ्ग्रिदै छ, रोदनका चित्कारलाई उत्साह जगाउँदै छ ।”
भूकम्पपछिका त्रास हटाउन पत्रकारिताका तर्फबाट उत्साहजनक रुपमा सहयोग भइरहेको उनीहरुको ठम्याइ छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भन्नुभयो, “अहिले नेपाली पत्रकारिताले जिम्मेवार र उत्तरदायीपूर्ण रुपमा समाचार पस्किरहेका छन् ।” उसो त काउन्सिलले वैशाख १२ पछिका सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार तथा विचारलाई सुक्ष्म रुपमा अनुगमन गरिरहेको जनाएको छ । उहाँले भन्नुभयो, “आजसम्म धेरै कम्पन आए, तर पत्रकारिताले शिष्ट, शालीन रुपमा भूकम्पबाट जोगिने उपायका बारेमा आमपाठक, दर्शक र स्रोतालाई खुराक पस्किरहेका छन् ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भूकम्पले धर्ती हल्लिरहेको समयमा पत्रकारिता नहल्ली आफ्नो धर्म निर्वाह गरिरेहका छन् भन्नुभयो । उहाँले केही अनलाइनका समाचारबाहेक अन्य समाचार उत्कृष्ठ रहेको टिप्पणी गर्नुभयो ।
महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले भूकम्पले उत्पन्न गरेका त्रासदीलाई हटाउने माध्यम रेडियो, टेलिभिजन र पत्रकारिताले पस्किने विषयवस्तु भएको बताउनुभयो । खोज पत्रकारिता केन्द्रका सम्पादकसमेत रहनुभएका गाउँलेले भूकम्पकले उत्पन्न गरेका संवदेनशीलताका साथ साथमा उत्साह पनि जगाइरहेको छ भन्नुभयो ।
काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले विपत्को समयमा सञ्चार माध्यमले प्रभावकारी रुपमा समाचार सम्प्रेषण गरेको देखिएको बताउनुभयो ।
सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले मूलप्रवाहका सञ्चारमाध्यमले संयमित रुपमा विपत्का समयमा समाचार सम्प्रेषण गरिरहेका बताउनुभयो ।
गोरखापत्र / रासस