मेकअप गरें। मौसम परिवर्तनसँगै रुघा लागेर ज्वरो आउलाजस्तो भएको थियो। ‘न्युज प्रोडुसर’ लाई स्वास्थ्य अवस्थाबारे जानकारी गराएँ। र, अरू बेलाभन्दा फटाफट तयार भएर स्टुडियोतर्फ ओर्लिएँ। १० मिनेट पहिले नै स्टुडियो पसिसकको थिएँ। माइक, इयरपिस लगाएर स्ट्यान्डबाई पोजिसनमा बसें। हाम्रो टोली लगभग तयार थियो समाचार प्रसारणका लागि। प्रोडुसरले तपाईंलाई धेरै गाह्रो भएमा हामी ‘रिप्लेसमेन्ट’ गर्छौं भन्ने जानकारी एयरपिसबाट दिए।
त्यसैबीच ११:५६ मा एक्कासि जमिन हल्लिएजस्तो लाग्यो। सुरुमा त सन्चो नभएर होकि जस्तो लाग्यो। केही क्षणमै कम्पन बढ्दै गएको अनुभव भयो। अनि स्टुडियोका सामान र बत्ती हल्लिएर आवाज बढ्न थाल्यो। क्यामेरापर्सन भुईंचालो भन्दै बाहिर निस्किए। सिसाबाट न्युज कन्ट्रोल रुमको गतिविधि हेर्न खोजें। मान्छे हतारहतार हिँडेंजस्तो लाग्यो। केही क्षणमै अगाडिको मनिटर लड्यो, बत्तीहरू मजाले हल्लिए। कन्ट्रोल रुमबाट केही आवाज नआएपछि म बाहिर निस्कन खोजें।
शनिबार, बिदाको दिन। तर पत्रकारका लागि शनिबार होस् कि अन्य सार्वजनिक बिदा, कार्यदिन भन्दा खासै फरक हुन्नन्।
२०७२ वैशाख १२ गते शनिबार। म ११ बजे कान्तिपुर टेलिभिजनको कार्यालय पुगेर काम सुरु गरिसकेको थिएँ। एकैछिन सम्पादकीय बैठकमा उपस्थित भएपछि अपारान्ह १२ बजेको समाचार वाचनको तयारीमा लागें। मेकअप गरें। मौसम परिवर्तनसँगै रुघा लागेर ज्वरो आउलाजस्तो भएको थियो। ‘न्युज प्रोडुसर’ लाई स्वास्थ्य अवस्थाबारे जानकारी गराएँ। र, अरू बेलाभन्दा फटाफट तयार भएर स्टुडियोतर्फ ओर्लिएँ। १० मिनेट पहिले नै स्टुडियो पसिसकको थिएँ। माइक, इयरपिस लगाएर स्ट्यान्डबाई पोजिसनमा बसें। हाम्रो टोली लगभग तयार थियो समाचार प्रसारणका लागि। प्रोडुसरले तपाईंलाई धेरै गाह्रो भएमा हामी ‘रिप्लेसमेन्ट’ गर्छौं भन्ने जानकारी एयरपिसबाट दिए।
त्यसैबीच ११:५६ मा एक्कासि जमिन हल्लिएजस्तो लाग्यो। सुरुमा त सन्चो नभएर होकि जस्तो लाग्यो। केही क्षणमै कम्पन बढ्दै गएको अनुभव भयो। अनि स्टुडियोका सामान र बत्ती हल्लिएर आवाज बढ्न थाल्यो। क्यामेरापर्सन भुईंचालो भन्दै बाहिर निस्किए। सिसाबाट न्युज कन्ट्रोल रुमको गतिविधि हेर्न खोजें। मान्छे हतारहतार हिँडेंजस्तो लाग्यो। केही क्षणमै अगाडिको मनिटर लड्यो, बत्तीहरू मजाले हल्लिए। कन्ट्रोल रुमबाट केही आवाज नआएपछि म बाहिर निस्कन खोजें। भवन हल्लिरहेकाले मलाई रिंगटा लाग्न थालिसकेको थियो। बल्ल बल्ल कन्ट्रोल रुमको ढोकासम्म पुगें। सबैजना हतास थिए। कोही टेबलमुनि थिए। मैले प्रोडुसर नारायण निरौलालाई न्युज टाइम हुन लाग्यो के गर्ने भनेर सोधेँ। उनले ‘सेफ्टी फस्र्ट’ भन्दै एकछिन सुरक्षीत बस्न भने। कम्पन गइरहेको थियो, म न भित्र न बाहिर गरी बीचमा उभिरहें। कोही आत्तिएर तल झरे, कोही ओत लागेर बसे।
तलबाट कसैले बोरिङको पानी स्टुडियोको भवनमुनिबाट ‘ओभरफ्लो’ भयो भन्दै कराए। त्यत्तिकैमा कम्पन रोकियो अनि म स्टुिडयो पसें। म बस्ने कुर्सी धूलाम्मे भएको थियो। क्यामेरा २ फिट जति पर सरेको र मनिटर लडेको थियो। कान्तिपुर गोल्डको कार्यक्रम ‘जस्ट टेक्स्ट’ को स्टुडियो सजावट गर्ने सिसाको टेबल लडेर विजोग भएको थियो।
यथासम्भव छिटो काम थालेर समाचार प्रसारण गर्न तयार भयौं। प्रोडुसरले ठूलो भूकम्पको पराकम्पन पनि जाने भएकाले सुरक्षित रहेर काम थाल्न भने।
‘केहीबेरअघि काठमाडौंलगायत देशका विभिन्न भागमा ठूलो भूकम्प गएको छ। करिब ७.६ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु गोरखा र लम्जुङ आसपास रहेको’ भन्दै नियमित बुलेटिनलाई अगाडि बढायौं। त्यति भन्नासाथ पुन: भूकम्पको धक्का महसुस भयो। स्टुडियोका बत्तीहरू हल्लिए, आवाज बढ्यो। थरर कम्पन महसुस भयो। म एकैछिन रोकिएँ।
त्यतिबेलै भित्रबाट मलाई दिइएको ‘कमान्ड’ को आवाज बदलिएको जस्तो लाग्यो। ‘मृदुला डन्ट प्यानिक यु आर क्रियटिङ हिस्ट्री’ भन्ने वाक्य सुनेपछि एकैछिन मौन बसें। आवाज ठम्याएँ, समाचार प्रमुख दिलभूषण पाठकको। अलि लामो सास फेरे। अनि सोचेँ अब न्युज मिसनमा गयो रोकिने बेला छैन। समाचार सधैंको ढाँचामा जाने अवस्था थिएन। तर, न तयारी सामग्री थिए, न टेलिप्रम्टर नै। भूकम्पसम्बन्धी जे खबर आयो त्यसैलाई वाचन गर्न व्यस्त भइयो।
धरहरा ढलेको खबर इयरपिसबाट आयो। लाग्यो, ठूलै क्षति भएछ, अब कस्ता–कस्ता क्षतिका विवरण आउने हुन्? अनि भन्न सुरु गरें, ‘ऐतिहासिक धरोहर धरहरा भूकम्पले पूर्णरूपमा क्षति पुगेको छ।’ त्यसपछि टेलिफोन कुराकानी गर्नुपर्ने जानकारी आयो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीसँँग टेलिफोन सम्पर्क भयो तर कुरा गर्दागर्दै अर्को धक्का गयो। उताबाट आवाज कम आएजस्तो लाग्यो अनि सोधें, ‘यहाँ ठूलो धक्का महसुस भएको छ त्यहाँ अवस्था के छ?’
उनले त्यहाँ पनि महसुस भएको बताए। गोरखाको बारपाक केन्दबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको भन्दै उनले अन्य पराकम्पनहरूबारे जानकारी दिए। त्यतिबेलासम्म करिब ५/६ वटा धक्का महसुस भइसकेको थियो। ती सबै ५ रेक्टरभन्दा माथिका थिए।
म समाचार अपडेट गरिरहन्थें। क्यामेरा हल्लिन्थ्यो अनि म बसेको कुर्सी र टेबल पनि। आफूलाई दरो बनाएर सम्हाल्न र ‘पोजिसन’ कायम राख्न कोसिस गरिराख्थे। मेरासामु तीनवटा चुनौती थिए : सुरक्षित रहने, कम्पन र विकराल दृश्यबाट विचलित नहुने र संयमित भएर सामान्य परिस्थितिजस्तै मुद्रामा समाचारलाई निरन्तरता दिने।
संवाददाताहरू जगत नेपाल, दीर्घपाणी उपाध्याय, पुष्प ढुंगाना, उद्धवराज भेटवाल, सरल गुरुङ आदिसँग ‘लाइभ’ कुराकानी भयो।
सुन्धारा वरपरको जानकारी लिइयो। धरहरा ढलेको, मृत्यु, असंख्य घाइते, सुनधारा न्युरोड क्षेत्रमा कोलाहल र वीर अस्पतालमा चापजस्ता खबर संवाददाताले दिए।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा घाइतेको चाप बढेकोबारे टेलिफोन कुराकानी भयो। एम्बुलेन्सका साइरनको आवाज बढिरहेको र घाइते संख्या गन्ती गर्न सक्ने अवस्था नरहेको खबर थियो। यस्तै अवस्था पाटन अस्पतालको पनि थियो।
यत्तिकैमा धरहरा ढलेपछिको दृश्य प्राप्त भयो। त्यसलाई मनिटरमा हेर्दै समाचार भनियो। केहीबेर अघि मौखिक रूपमा मात्र पस्किइएको समाचार अब सचित्र वर्णन गर्दै गएँ। सम्पादन नगरिएका ती दृश्य हेर्दै झस्काउने थिए।
त्यसपछि गोरखा संवाददातासँग टेलिफोन कुराकानी गर्ने प्रयास भयो। उनले गोरखा दरबार, मनकामना मन्दिरमा क्षति पुगको पुराना कच्ची घरहरू भत्किएको जानकारी दिए। उनीसँग कुरा गर्दागर्दै फेरि अर्को धक्का महसुस भयो। बढी क्षतिग्रस्त जिल्ला भएकाले होला संवाददाता आफैं आत्तिएको जस्तो भान हुन्थ्यो। मोबाइल नेटवर्क पनि राम्रो थिएन। जो–जोसँग कुरा गर्दा पराकम्पन आउँथ्यो, म उनीहरूले कत्तिको महसुस गरे भनेर सोधिहाल्थें।
बिस्तारै स्टुडियोमा चहलपहल बढेको थियो। कन्ट्रोल रुमबाट मेरा लागि दिइएको कमान्डसँगै अन्य व्यक्तिका आवाज पनि आभास मिल्थ्यो।
त्यसै क्रममा काठमाडौं उपत्यकाका सम्पदाहरूमा पुगेको क्षतिबारे सचित्र वर्णन गरियो। उपत्यका आसपासका ग्रामीण क्षेत्रमा पुगेको क्षतिका समाचार पनि आउन थालिसकेका थिए। सिन्धुपाल्चोक संवाददातासँग टेलिफोन सम्पर्कको प्रयास सम्भव हुन सकेन।
बेला बेला मलाई लाग्थ्यो क्षति नपुगेको ठाउँ, सहर, गाउँ कुन होला? स्टुडियो बाहिर निस्किएपछि राजधानीको मुहार कस्तो पाउने होला मैले? अर्कोतर्फ छेउमा राखिएको मेरा ‘ह्यान्ड ब्याग’ मा रहेको मोबाइल बेला बेला भाइब्रेट भइराख्थ्यो। अनि म सोच्थें, देशभरको खबर पस्किरहेको छु, तर आफ्नै प्रियजनसँग एक शब्दसमेत बोल्न पाइएको छैन। कस्तो विडम्बना †
आफन्ततहरूको अवस्था के होला? तर्कनाले मात्रै पनि मुटु हल्लाउँथ्यो।
एकमनले सोचें, विशेष अनुरोध गरेर एक कल फोन गरुँ। तर सबैजना तनावका बीचमै ‘लाइभ कभरेज’ मा भिडिरहेका बेला डगमगाइनँ। हामी यस्तो पेसामा छौं, जहाँ जस्तोसुकै परिस्थितिमा पनि तयार भएर नागरिकलाई सुसूचित गराउने दायित्वबाट पन्छिन मिल्दैन। त्यसैले यी सब तनाव र मानवीय समवेदनालाई अनुहारमा देखाउन उपयुक्त थिएन, न त उठेर जान नै सम्भव थियो।
पराकम्पनहरू जारी थिए। हरेक झट्कामा क्यामेरापर्सन सुरक्षित ठाउँमा ओत लाग्न पुग्थे। मेरो लागि न्युजरुमको कुर्सी र टेबलको विकल्प थिएन, सुरक्षित स्थान भने पनि, काम भने पनि।
केही बेरमा अरनिको राजमार्गअन्तर्गत भक्तपुर सूर्यविनायक खण्डमा पर्ने लोकन्थली, कौशलटारको बाटो भासिएको खबर आयो। आफ्नै घर नजिकको बाटोको त्यो अवस्थाबारे जानकारी पाएलगत्तै एक्कासि मुटुको धड्कन बढ्यो।
बेलाबेला मौका मिलाएर घडी हेर्न खोज्थें। दिनको चार बजेसम्मको समाचार दिउँसोको एन्करले पढ््नुपर्ने नियम थियो। तर त्यो दिन परिस्थिति नै बेग्लै। कति घन्टा बस्नुपर्ने टुंगो थिएन।
२ बजेर ५० मिनेट गएपछि समाचार प्रमुख र समाचार संयोजक स्टुडियोभित्र प्रवेश गरे र भने, ‘वेल डन मृदुला, अब बाहिर जाऔं।’ मैले हाते घडी हेरें, समाचार सकिने बेला भएको थिएन। जिम्मेवार व्यक्तिहरू भित्र पसेपछि केहीबेर त मनमा अनेक सोचाइ आए। कतै कुनै अप्रिय घटनाको जानकारी दिन लागिएको त होइन भन्ने ठानें। बिस्तारै इयरपिस र माइक्रोफोन फुकालेर म बाहिर निस्किएँ। सबै साथीहरू मलाई हेर्दै थिए, मेरो मुखबाट शब्द आइरहेको थिएन। स्टुडियोबाट तल ओर्लने क्रममा साथीहरू सबै छिटो बाहिर जाऔं भन्दै अगाडि बढे तर म भावशून्य थिए।
प्राय: सहकर्मीहरू खुला स्थानमा पुगिसकेका थिए। मेरो सोचभन्दा स्थिति सामान्य पाएपछि लामो सास फेरें। अनि सहकर्मीहरूको माया र स्वाबासीले तनावबाट बाहिर आउन सहज भयो।
त्यतिन्जेलसम्म कान्तिपुर टोली बाहिर सडकबाट प्रसारणको तयारीमा व्यस्त थियो। अनि हाम्रो टोलीको सानो आपतकालीन बैठक बस्यो त्यहीं बाहिर नै। अनि केही क्षणमा सडकबाटै प्रत्यक्ष प्रसारण सुरु गर्यौं।
कान्तिपुर कोशेली, 30 May 2015