डिसी नेपाल संवाददाता - नायिका रेखा थापाले आफ्नो फाउन्डेशन मार्फत बैशाख १२ गते आएको शक्तिशाली भूकम्पबाट घर गुमाएका सञ्चारकर्मी डिपी शाह चक्रवर्तीलाई आर्थिक सहयोग गरेकी छन्।
केही साता देखि अमेरिकामा रहेकी थापाले रेखा थापा फाउन्डेशनका महासचिव फिल्म निर्देशक सविर श्रेष्ठ मार्फत भूकम्प प्रभावित सञ्चारकर्मी शाहलाई मंगलबार नगद रु.३० हजार सहयोग गरेकी हुन्। गोदावरी नगरपालिका, १० बाँडे टोलमा रहेको तीन तले कच्ची घर बैशाख १२ को भूकम्पबाट पूर्ण रुपमा भत्किाएपछि सञ्चारकर्मी डिपी शाह चक्रवर्तीको परिवार पाल मुनि बस्दै आएको छ भने युवा जागरण पर्यावरणीय मञ्च तथा रेडियो पर्यावरणले उपलब्ध गराएको जग्गामा सञ्चारकर्मी शाहले अस्थायी घर निर्माण गर्दैछन्।
सोही अस्थायी घर निर्माणका लागि आफ्नो फाउन्डेशन मार्फत नायिका थापाले सञ्चारकर्मी शाहलाई उक्त नगद रुपैयाँ सहयोग गरेकी हुन्। ’रेखा थापा फाउन्डेश’ का महासचिव श्रेष्ठ मार्फत सञ्चारकर्मी प्रकाश सुवेदीको उपस्थितिमा शाहलाई उक्त रकम हस्तान्तरण गरिएको थियो। विगत तीन दशक देखि रंग सँगै अन्य विटमा पत्रकारिता गर्दै आइरहेका भूकम्प प्रभावित डिपी शाह चक्रवतीले रेखा थापा फाउन्डेशनको आर्थिक सहयोगलाई ’अनपेक्षित सहयोग’ रहेको बताए।
बनाइदै गरेको अस्थायी घरमा शाह भावुक मुद्रामा सुनिए, ’मलाई लाग्छ यस्तो प्रकारको सहयोग मेरो जिवनमै पहिलो सहयोग हो। मौखिक रुपमा धेरै ठाउँबाट आश्वसन आएका छन् तर व्यावहारिक रुपमा रेखा थापाकै सहयोग आयो। तीन दशक लामो मेरो पत्रकारितामा मैंले धेरैलाई हाइलाइट गरें। तर उहाँहरुबाट मैंले सहयोग पाइँन। जबकी रेखा जीको मान्छे भनेर म लेवल लागेको पत्रकार पनि होइन। जे होस्, उहाँले दाजु सम्झेर मलाई यो सहयोग उपलब्ध गराउनु भयो म आगामी दिनमा सकारात्मक काम गर्छु। रेखा जी र रेखा थापा फाउन्डेशन लाई मेरो भित्रि मन देखि आभार व्यक्त गर्दछ।’
निर्माता एवं निर्देशक समेत रहेकी नायिका रेखा थापाले सञ्चारकर्मी शाहसँगै भूकम्प प्रभावित प्राविधिकको लागि नेपाल चलचित्र प्राविधिक संघलाई रु एक लाख नगद रुपैयाँ सहयोग गरेकी छन्, भने भूकम्प गएको दिन देखि नै प्रभावित कहाँ पुगि उनले सहयोग गर्दै र सद्भाव देखाउँदै आइरहेकी थिइन्। भूकम्पमा परी निधन भएका र आर्थिक अभावमा दाह संस्कार गर्न नपाएकाको परिवारलाई समेत रेखाले आर्थिक सहयोग गर्दै आइरहेकी छन्।
DCNepal, 29 May 2015