निष्ठुरी प्रकृति कतिसम्म क्रुर बन्दोरहेछ भन्ने कुरा यतिबेला रोहिरहेका नेपालीहरुको दृश्यले छर्लङ्ग पार्छ । विश्वका बैज्ञानिकहरुले समेत पूर्वसंकेत नपाएको विनाशकारी महाभुकम्पपछि सात दिनसम्म मेरो मुटुले पनि उसैगरी झड्का हानिरहयो । हामीले टेकेको सुन्दर पृथ्वीले दुईसय झड्का बेहोर्दा मेरो मुटुले लाखौं झड्काका सामना गर्यो । पराकम्पन कम त हुँदै गएको छ तर मुटुको कम्पन झनै उच्च हुँदै गइरहेको छ । प्रकृतीसँग त जुधियो तर जिन्दगीसँग जुझ्न कठिन भइरहेको छ ।
मैले अंगालेको बाटोले यतिबेला मलाई नै धिक्कारिरहेको छ । मानौं, मैले सयौं बर्षसम्म पनि माफी नपाउने बाटो अंगालेको छु । विध्वसंकारी महाभुकम्पपछि मैले जे भोगें देशभरका करिब पाँचसय बढी म जस्तै र ८० लाख बढी नेपालीहरुले उही दुःख भोगिरहेका छन् । ‘धर्म अनुसारको कर्म’गर्ने तर फलको आशा कहिल्यै गर्नु नपर्ने मेरो पेशा र मजस्ता सयौं साथीहरुले व्यहोरेको दुःखत दृष्टान्तले मलाई यतिबेला आहात तुल्याएको छ ।
त्यही दिन अर्थात करिब ८० लाख नेपालीको खुशी खोसिएको दिन मेरो विहानीको खानाखाने समय भएको थियो । लाजिम्पाटमा रहेको इमेज च्यानलको तीनतलामाथि रहेको मेरो समाचार कक्षबाट ओर्लिएर रेष्टुरेन्टतर्फ गइरहेको थिएँ । रेष्टुरेन्टमा खाना अर्डर गरेर कुर्सीमा के बसेको थिएँ एक्कासी भुइ हल्लियो । मुटुको कम्पन एक्कासी बढ्यो । फुत्तबाहिर निस्किएँ । मलाई पाइला चाल्न कठिन भयो । फनफनी रिंगटा लाग्यो । हिँडनै सकिन ।
सडकमा निस्कँदा गुडिरहेका मोटरसाइकल एकाएक ढले । गाडीहरु रोकिए । मानिसहरु चिच्याउँदै दगुर्न थाले । नजिकै रोकिएको कारमा गएर अडिएँ । एकछिन पिंङमा मच्चिए जस्तै भयो । ठूला–ठूला विल्डिङ तिर आँखालगाएँ ।अव्यस्विथत र मापदण्ड विपरित बनेका ती विल्डिङ ढलेर किच्लान कि जस्तो भयो । ‘कंक्रिटहरुको जंगल’एकाएक सोत्तर होलान जस्तो लाग्यो । अनि म त्यही सोतरहरुसँगै मिसिउँला र सँदाकालागी प्राँण त्याग्नुपर्ला की जस्तो भयो । अनाहक मै किचिएका अभागी नेपालीहरुसँगै स्वर्गको बास होल की जस्तो लाग्यो । केही जुक्ती निकालेर त्यहाँबाट दौडिए ।
कार्यालय अगाडीको सडकमा आइपुग्दा सबै स्टाफहरु चिच्यारहेका थिए । एकैछिनमा अर्को झड्का आयो । सबै त्रसित भए । मेरो मुटुको कम्पन तिब्र भयो । आकाश कालो/निलो भएर बौलायो । लगत्तै सडकमा एकाएक एम्बुलेन्स गुडन थाले । प्रहरीको भ्यान साइरन बजाउँदै गुड्यो । लाग्यो, लौ आज नेपाल सकियो । तर यतिबेला मैले मेरो जिम्मेवारी सम्झिएँ । अनि तीन तलामाथि रहेको मेरो कार्यकक्षमापुगेर ‘काठमाडौंमा भुकम्प’ समाचार पोष्ट गरेर बाहिरिएँ ।
अर्डर गरेको खाना समेत नखाई फरार भएको मलाई त्यसपछि २४ घण्टा भोक लागेन । यो बीचमा झड्काहरु आइरहेकाथिए । त्यसपछि कार्यालय छाडेर मैले काठमाडौंको फन्को लगाउँने हिम्मत गरें । बाटाभरी देखिएका दृश्यहरु मोबाइलमै कैद गरें । एकसाता अघि चढेको धरहरा नियालें । चिच्याइरहेका मानिसहरु हेरें। उद्धार गर्ने मन थियो तर सुरक्षाकर्मीले प्रवेश दिएन । उनीहरु आफैं अघि सरे ।
काठमाडौंमा ठूला घरहरु ढलेका थिए । बाटामा भेटेको दरबार हाइस्कुल छिया–छिया भएको देख्दा मेरो देशको सम्पत्ति क्षणभरमै प्रकृतीले कुरुप बनाइसकेछ भन्ने लाग्यो । अन्य कति सम्पदाहरु यसरी नै कुरुप भएछन् । समाचारहरु आउनथाले–सयौं मानिसहरुको मृत्यु भयो । म भने विछप्त हुँदैं डेरातिरफर्किएँ । तर डेरासम्मपुग्ने आँट भएन । खुल्ला ठाउँ रोजें र सयौं व्यक्तिहरुसँग तीनरात खुल्ला आकाशमूनि रात काँटे ।
महाभुकम्पलगत्तै मैले इलाम रहनुभएको बा–आमालाई फोन गरें । डेरामा रहेकी जीवनसाथी हिमालाई म्यासेज गरें । सबै ठिक भएको खबर आयो । तर मन शान्त भएन । देशभरका सयौं घरहरु ढलेका थिए । सयौंको मृत्यु भएको खबरहरु आइरहेकाथिए । त्यो रात निन्द्रै परेन । खुल्ला आकाशमूनि निन्द्रा पनि कसरी पो परोस । फुको चिउराको ‘डिनरसेट’ले निन्द्रालाग्ने कुरै भएन । चिरिएको मन र बढीरहेको मुटुको कम्पनले निन्द्रा गायबभ यो । अतालिरहेका मानिसहरु र अत्तालिएका बालकालिकाहरुकाबीचमा ज्यान ढल्काएँ । डरले‘वाक्य बन्द’भएकी हिमा छेउमा लुसुक्कै घुस्रिन । सियोजस्ता ढुंगाले घोचेर शरीरलाई असहैय भइरहेको थियो । हल्लैहल्ला र त्रासैत्रासमा त्यो रातबित्यो ।
विहान सबेरै उठेर कार्यालयतर्फ जाने तम्तयार गरें । हिमा हातमा झुन्डिरहेकी थिइन । नजान आग्रह गर्दै थिइन । पत्रकारको जागिर यतिबेलामलाई सा¥है भारी लाग्यो । तर मन द¥हो बनाएर जागिरलाई जिम्मेवारी सम्झिएँ । मैले प्रवाह गरेका सुचनाले सयौं पीडितहरुको घाउमा मल्हम लगाउने सकें भने पूण्य प्राप्त हुन्छ की जस्तो लाग्यो । दिनहुँ मन्दिर धाएर भगवान पुकार्ने मानिसहरुको भन्दा सयौं गुणा बढी धर्म यतिबेला हुन्छ की जस्तो लाग्यो ।
मैले लेखेको समाचार र गरेको प्रवाहले मनमा शान्ति मिल्ने विश्वास गरें । सडकमा गाडी ठप्प थिए । अग्ला–अग्ला घरहरु र त्रासमा दौडिरहेका मानिसहरु नियाल्दै एघार नम्बरे सवारीमा म कार्यालयमा पुगें । तीन तलामाथिको मेरो कार्यकक्ष सुनसान झैं थियो । फाट्टफुट्ट रहेका साथीहरुसँगै समाचारको काम गरिरहेका थिए । करिब ६ घण्टा अफिसमा रहँदा पराकम्पन गइरहेका थिए । झ्यालबाट बाहिर नियाल्थें । सबै स्टाफहरु बहिर दगुरिरहेको देख्थें । तर जिम्मेवारीले थिचिएको म कार्यकक्षबाट हडबढाइन । काम झनै रप्तार गतीमा गरिरहें ।
विश्वका संचारमाध्यमहरुमा नेपालको त्रासतिपुर्ण र कहालीलाग्दो घटनाले तरङ्गित बनाइरहेको थियो । सिएनन, वीवीसी, अलजजिरा जस्ता सञ्चारमाध्यमले नेपालको घटनाले प्रमुख स्थानदिइरहेका थिए । नेपालमा भएको विपत्तिले विश्वभर सनसनी मच्चाइरहेको थियो । नेपालीहरुले व्यहोरेको यस्तो विध्वसंकारी घटना र त्यसपछि पटक–पटक आएको झड्काले जनजीवनलाई आक्रान्त बनाइरहेको थियो । यस्तै यस्तै समाचारहरुलाई पोष्ट गर्दागर्दै मेरो ड्यूटी सकियो । म पुनःउही खुल्ला आकाशमुनीको सामुहिक डेरामा पुगें । त्यही साँझ पश्चिमबंगालको मिरिकलाई केन्द्रविन्दु बनाएर अर्को झड्काहान्यो ।
त्यही झड्काले बा–आमाओतलाग्ने सानो माटोको घर चिरा परेछ । बा–आमा ग्वालीतिर बसाई सरेछन् । मलाईअर्को विपत आइलाग्यो । यसैबर्ष बहिनी र आफ्नो विहे गरेकाले ऋणमा थिचिएको म भूमरीमा फसें । पत्रकारिता गरेर ‘सुको’ संचित गर्न नसक्ने मेरो पेशामलाई झनै बोझ लागेर आयो । भुकम्पको झड्काहरुसँगै जिन्दगीमा अर्को झड्का लाग्यो । त्यो रात पनि निदाउन सकिएन ।
हिमाले थमाइदिएको फुको चिउराले भरिएको टपरी हेर्नै मन लागेन । जीवनभर सुखको अनुभूति गर्न सम्बन्ध गाँसेकी हिमाको अनुहार नियालें । बा–आमालाई सम्झिएँ । पराइ घर गएका तीन चेलीहरुले माइती घरमा गरेको दुःखआखैभरी घुम्यो । भाउन्न होला जस्तो भो । धौधौ गरी पेटमात्र पाल्दै गरेको मेरो आफ्नै अनुहार चिथोर्न मन लाग्यो । अनि सोचें,भत्किएको घर कहिले बनाउछस छोरा ?बा–आमाले यस्तै प्रश्न गलार्न । के जवाफदिने ? यस्तै प्रश्नहरु फनफनी दिमागमा घुमिरहे । अर्को मनले चित्तबुझाउने प्रयास गरें । आखिर, आत्मसन्तुष्टी यही पत्रकारितामा छ, घर त झोप्रो बनाउँला ।’
रातभरी यस्तै प्रश्नहरुले मलाई घेरिरहे । हिमालाई सुनाउन मन लागेन । सुखको सपना बोकेर आएकी उनलाई दुःख सुनाउ नआत्माले मानेन् । घरी–घरी आँखा आँशुले भरिन्थे । रातभार आइरहेका साना–तीना झड्काले आत्तिएर उठथें । चिरा परेको घर माटोमै मिल्यो कि जस्तो लाग्दथ्यो । यतिबेला लक्का जवानभएको छोराको जिम्मेवारीबोध हुन्थ्यो । घरी–घरी आत्मग्लानी उस्तै । यस्ता अनेक कुराहरु सोच्दा सोच्दै विहान भएछ ।
अफिस जाने तरखर गर्दै थिएँ । कान्तिपुर साप्ताहिकका सम्पादक सुबास ढकाल सरको फोन आयो । महाभुकम्पको स्टोरी तयार पार्न जिम्मेवारी थमाए । यता कठोर मन लगाएर हिमालाई एक्लै छाडेर कार्यालय जानुछ, फेरि अर्को कामको बोझ थपियो । देशभर भुकम्पको विनाशका घटनाहरुको समाचार सम्प्रेषण र सम्पादन गर्दागर्दै कतिखेर आफैं स्वाहा भइने हो अर्को त्रास त छँदै थियो । सुवास सरले दिनुभएको असाइमेन्ट मेरो अवसर र जिम्मेवारी थियो । मैले काम सुरु गरें । तीन रातचौरीमा बसेर डेरा फिरें । आफनै डेरा पनि विरानो लाग्यो । सुनसान सडक र चकमग्न घरहरुकाबीच हामी डेरा बास सुरु गरेका थिऔं ।
यस्तोबेला मनमा अनेकौं कुराहरु खेल्दारहेछन् । सम्हालिएर आफैंलाई सम्झाउन खोज्दथें । घर मेरो मात्र भत्किएको होइन । करिब तीनलाख घर स्वाहा भएका छन् । करिब आठ हजार मानिस मरिसके । लाखौंको विल्लीबाठ भएको छ । म जस्ता पत्रकारका पनि घर भत्किएका छन् । उनीहरु पनि म जस्तै होलान । म त एकजना सामान्य पात्र मात्र हुँ । उनीहरुले पनि मैले जस्तै ‘सुको’ संचितगर्न त पक्कै सकेका छ्रैनन ।
हिमाले बेला–बेला सम्झाउँथिन । ‘पत्रकारिता कहिल्यै नछाडनु । तपाईको परिचय यही हो । मैले पत्रकार भएकैले तपाईलाई चिनेको ।’ यता मेरो हालत उनलाई के थाहा? घर भत्किएको, बा–आमाको विजोग भएको अनि उनैलाई पाल्न नसक्ने मेरो पेशाको दुःखत कथा कसरी सुनाउन सकुँ । विहान उनलाई निद्रामै छाडेर हिडेको म बेलुकी हुँदा मात्र डेरा पुग्थें । उनलाई लाग्दो हो, सुको राम्रै संचित भइरहेको होला र त यस्तो व्यस्त हुनुभएको’ ।
उनलाई के थाहा, मेरो जागिर कति गरिब छ भनेर । तर हिम्मत गर्दैछु । लेखेरै ब्याङ्क व्यालेन्स गर्छु । पत्रकारिता गरेरै घर ठड्याउँछु । बा–आमाको पुरानो घरमा नयाँ जस्ता फेर्छु । हिमालाई दुःख होइन खुशीमात्र साट्ने प्रयास गर्छु । उनलाई थाहा नहोस की पत्रकारको कमाइ कति हुन्छ ? उनलाई थाहा यति मात्र होस की, पत्रकारले ‘सबैको आवाज बोल्छ ।’भुकम्पका पीडितहरुको मनमा लागेको घाउमा मल्हम लगाउन सक्छ । घर नहुनेहरुको ओत लाग्ने व्यवस्था मिलाउन राज्यलाई घच्घच्याउने गर्छ । अस्पतालमा छटपटाइरहेकाहरुलाई उत्साह प्रदान गरिदिन्छ । सुन्दर र समृद्ध नेपाल बनाउन सरकारलाई घोचिरहन्छ । अस्तु
Online Patrika, 30 May 2015