काठमाडौं, २७ साउन (ओएनएस) : नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले भूकम्प पीडित आर्थिक पत्रकारका लागि स्थापना गरेको सहयोग कोषमा प्रभु बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले भूकम्पबाट प्रभावित भएका आर्थिक पत्रकारको सहयोगार्थ स्वेच्छिक रुपमा यो सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेको जनाएको छ । भूकम्पपछि सेजनले आर्थिक पत्रकारहरुको सहयोगार्थ एक लाख रुपैयाँ छुट्याएर कोष स्थापना गरेको थियो ।
कोषमा आर्थिक पत्रकारमार्फत २८ हजार १ सय ६ रुपैयाँ जम्मा भएको थियो । सेजनले कोषमा भएको रकम भूकम्पबाट प्रभावित भएका पत्रकारलाई दामासाही रुपमा हस्तान्तरण गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सेजनले भूकम्पपछि प्रभावित भएका आर्थिक पत्रकारको नामावली संकलन गरेर दामासाही रुपमा बुधवारदेखि वितरण गरिएको अध्यक्ष विज्ञान अधिकारीले जानकारी दिए ।
ONS News, 13 August 2015