[caption id="" align="alignnone" width="461"]
भारतका पत्रकार शेखर गुप्ता[/caption]
काठमाडौ, श्रावण २६ - भारतका चर्चित पत्रकार शेखर गुप्ताले विषयको गाम्भीर्य र संवेदनशीलता ख्याल नगरीकन पाठक, दर्शक, स्रोतालाई आकषिर्त गर्ने गरी समाचार सम्प्रेषण नगर्न सुझाव दिएका छन् । विषयको गाम्भीर्य र संवेदनशीलता ख्याल नगरी अन्तर्राष्ट्रिय सम्बन्ध, मुलुकको आर्थिक विकास, राज्य सञ्चालनमा समेत असर पर्नसक्ने उनले बताए ।
'भारत, अमेरिका, युरोपलगायत विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा समेत पत्रकारिता अझै परिपक्व हुन सकेको छैन,' उनले भने, 'मुलुकको स्वार्थअनुकूलको पत्रकारिता गरिँदा पनि पत्रकारले राज्यको भाषा होइन निष्पक्षतालाई जोड दिनुपर्ने हुन्छ ।' अझ छिमेकसँगको सम्बन्धलाई ख्याल गर्नुपर्ने र त्यसको आँकलन गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने उनी बताउँछन् । गुप्ताले सञ्चार क्षेत्र महत्त्वपूर्ण र जिम्मेवार पेसा भएकाले यसकोे गरिमा जोगाउन विषयको गाम्भीर्यलाई विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
उनका अनुसार विश्वका धेरै मुलुक आर्थिक संकट वा विपत्तिपछि नै विकासको पथमा लागिपरेका उदाहरण छन् । लामो द्वन्द्वपछि स्थायी शान्तिका लागि प्रयत्नशील नेपालमा महाभूकम्पपछि अर्थतन्त्रमा सुधार आएको उल्लेख गर्दै उनले विपतपछि नवनिर्माणका लागि प्राप्त हुने अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
महाभूकम्प आफैंमा दुःखद हो, तर पनि नेपालले आफूलाई पुनर्निर्माणमा लैजाने अवसरका रूपमा लिन सक्नुपर्ने उनको सुझाव छ । 'सञ्चार माध्यम र विपतपछिको अर्थतन्त्रमा दक्षिण एसियाली अवधारणा' विषयक अन्तक्रिर्यामा प्रवचन दिन नेपाल आएका भारतीय पत्रकार तथा स्तम्भकार गुप्ताले देशको आर्थिक तथा सामाजिक विकास र स्थायित्वका विषयवस्तुलाई आमजनता समक्ष लैजानुपर्ने र यथार्थतामा अडेर समाचार लेख्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले सञ्चारमाध्यम जिम्मेवार भएर विषयवस्तुको गहिराइमा पुग्नपर्ने बताए । कतिपयले नबुझीकन समाचार सम्प्रेषण गर्दा नकारात्मक सन्देश जनतासमक्ष पुग्ने गरेकोले यसमा सचेत हुनुपर्ने उनले बताए । सञ्चार माध्यम चौथो खम्बाका रूपमा रहेकाले त्यही रूपमा रहन बढी जिम्मेवार हुनपर्ने उनले बताए । विपतका समयमा सम्प्रेषित समाचारले जनतालाई परनिर्भरतातर्फ उन्मुख गराउन खोजेको उल्लेख गर्दै उनले सबल, सक्षम नेपाल र नेपालीका पक्षमा समाचार प्रवाह गर्न आग्रह गरे । जिम्मेवार पत्रकारिता चौथो खम्बाका रूपमा स्थापित हुन सक्ने पनि उनले बताए । विदेशी सञ्चारमाध्यमले नेपालको भूकम्पलाई बढी नै अति रञ्जित गराएको बताउँदै आउँदा दिनमा त्यो विषयमा समेत ख्याल गर्नपर्ने उनले बताए ।
पत्रकार युवराज घिमिरेले विपतका समयमा समाचार संकलन तथा सम्पादन गर्न चुनौती हुने भए पनि पत्रकारिता थप जिम्मेवार हुनुपर्ने बताए । उनले गुप्ताको पत्रकारिता र नेपाल सम्बन्ध बारेमा जानकारी पनि दिएका थिए । स्तम्भ लेखक तथा आर्थिक विषयका जानकार अच्युत वाग्ले र अर्का स्तम्भकार तथा सामाजिक क्षेत्रमा कार्यरत अजय दीक्षितले विषयको संवेदनशीलताको ख्याल नगरीकन समाचार सम्प्रेषण गर्न नहुने बताए । उनीहरूले भूकम्पपछि आएका समाचारको विश्लेषणसमेत गरेका थिए ।
Kantipur, 11 Agust 2015