काठमाडौं- चालिस वर्षको अन्तरालमा ७० पटक नेपाल भ्रमण गर्नु भएका स्वीस नागरिक मिसेल जोबाले नेपालको पर्यटन भूकम्पका कारण नभइ मिडियाको गलत प्रचारले बिग्रिएको बताउनु भयो ।
पर्यटन पत्रकार संघ (जाट-नेपाल)ले आयोजना गरेको सञ्चारकर्मीलाई सञ्चार सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मिसेलले नेपालको पर्यटनमा भूकम्पले खासै असर नपारेको बताउनु भयो । केही दिन अघि मात्र नेपाल आउनु भएका उहाँले अन्तर्राष्ट्रिय मिडियाले नेपालको बारेमा गलत प्रचारप्रसार गरेको बताउनु भयो । मैले मिडियाबाट नेपालको बारेमा सुनेको समाचार र वास्तवमा नेपालको अवस्था थाहा पाउँदा धेरै अन्तर पाएँ । उहाँको भनाइ छ- ‘नेपालमा पर्यटक नआउनुको कारण त मिडियाले गलत प्रचार गरेकै कारण रहेछ ।’ उहाँले नेपालको पर्वतारोहण, ट्रेकिङ, साइटसिङ, र्याफ्टिङ सबै क्षेत्र सुरक्षित रहेको बताउनु भयो ।
जाट–नेपालले संस्थामा आबद्ध विभिन्न सञ्चारमाध्यमका १५ जना पर्यटन पत्रकारलाई जनही रु २५ हजार मूल्य बराबरको झोला, हार्डडिष्क, टेप रिकर्डर, इन्टरनेट डिभाइस, प्रेस ज्याकेट, टिसर्ट लगायतका सामग्री प्रदान गरेको हो । खुम्बिला संरक्षण प्रतिष्ठानको सहयोगमा प्रदान गरिएको उक्त सञ्चारसामग्री प्रतिष्ठानका अध्यक्ष जिम्बाजाङ्बु शेर्पा र स्वीस पदयात्री मिसेल जोबाले वितरण गर्नुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् पर्यटन व्यवसायी शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
सोही अवसरमा मिर्गौला रोगबाट पीडित जाट–नेपालका संस्थापक अध्यक्ष हरिराज जोशीलाई नगद रु ५० हजार सहयोग प्रदान गरिएको छ । संघका अध्यक्ष देवी पन्तले पर्यटन पत्रकारहरुलाई पेसाप्रति थप प्रोत्साहन गर्ने उद्देश्यले सञ्चार सामग्री प्रदान गरिएको बताउनुभयो । त्यसैगरि संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले पर्यटन प्रबद्र्धनको लागि कृयाशील सञ्चारकर्मीहरुलाई निरन्तर यस्ता किसिमको कार्यक्रम गर्दै जाने बताउनु भयो । सोही अवसरमा स्विस नागरिक जोबाले नेपाल आएको ४० वर्ष पुगेको अवसरमा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै प्रतिष्ठान र जाट–नेपालले दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।