काठमाडौं, श्रावण २४ - पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले भूकम्प प्रभावित पर्यटन पत्रकारलाई सञ्चार सामग्री प्रदान गरेको छ ।
जाट–नेपालमा आबद्ध विभिन्न सञ्चारमाध्यमका १७ जना पर्यटन पत्रकारलाई जनही रु २५ हजार मूल्य बराबरको झोला, हार्डडिष्क, टेप रिकर्डर, इन्टरनेट डिभाइस, प्रेस ज्याकेट, टिसर्ट लगायतका सामग्री प्रदान गरिएको हो ।
खुम्बिला संरक्षण प्रतिष्ठानको सहयोगमा प्रदान गरिएको उक्त सञ्चारसामग्री प्रतिष्ठानका अध्यक्ष जिम्बाजाङ्बु शेर्पा र स्वीस पदयात्री मिसेल जोबाले वितरण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् पर्यटन व्यवसायी शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए ।
लगातार ७० पटकभन्दा बढी नेपाल आएका पदयात्री स्विस नागरिक जोबाले आफू पहिलो पटक यहाँ आएदेखि नेपालका पर्यटकीय गन्तव्यसँग गहिरो सम्बन्ध रहेकाले बाँचुन्जेलसम्म नेपाल आएर यहाँको पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शेर्पाले मिर्गौला रोगबाट पीडित पर्यटन पत्रकार संघका संस्थापक अध्यक्ष हरिराज जोशीलाई नगद रु ५० हजार सहयोग गरेका थिए ।
Kantipur, 10 August, 2015