विमल पोखरेल
रेडियो, टेलिभिजन, पत्रपत्रिका, फोन र अनलाइनहरूलाई नै सञ्चार माध्यम भनिन्छ, जसका माध्यमबाट सूचना, विचार आदि प्रसारण÷प्रकाशन हुन्छ । धेरै अगाडि हुलाकले पनि सञ्चार माध्यमकै काम गर्दथ्यो, त्यो अब त्यति प्रभावकारी हुन छोडेको छ । लिखित रूपमा त होइन, तर सञ्चार माध्यमलाई राज्यको चौथो अङ्गको रूपमा व्याख्या गरिन्छ । अहिले सञ्चार माध्यम नभई मान्छेको दैनिक जीवन असम्भव जस्तै बन्न पुगेको छ । आफ्नो दैनिक जीवनसँग जोडिएको निजी र सार्वजनिक सञ्चार माध्यमहरू कस्तो हुनु पर्छ भन्नेबारेमा नेपालमा पर्याप्त बहस भएको छैन । विवादका समाचारलाई नियोजित रूपमा बाहिर ल्याउँदा त्यस बेलामा मात्रै केही छलफल र बहस हुने गर्दछ । कहिलेकाहीँ विवादका समाचारलाई सञ्चार माध्यमले अदालतले जस्तै फैसला गरेर बाहिर ल्याइदिन्छन् ।
२०७२ बैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । भूकम्प गएपछि देश विदेशमा तरङ्ग पैदा भयो । त्यसको क्षतिका बारेमा छिटोभन्दा छिटो सूचना पाउनका लागि जनता आतुर रहेका थिए । तर सञ्चार माध्यमहरूले त्यो भूमिका निर्वाह गर्न सकेनन्, जुन आम जनता चाहन्थे । सञ्चारको धेरै ठूलो विकास भयो भनेर नेपालमा खुब गानाबजाना गरियो र यो निरन्तर गरिरहिएकै छ । तर कुन रूपमा विकास भएको छ र त्यसले आफूलाई जिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत गरेको छ कि छैन भन्नेबारेमा चाहि मूल्याङ्कन गरिएको छैन । सङ्कटका बेलामा नै यस्ता कुराहरू मूल्याङ्कन गरिन्छन् । त्यसरी निरन्तर मूल्याङ्कन गरिनु पर्दछ ।
रेडियो नेपालका हरिशरण लामिछानेले भूकम्प आएको पाँच मिनेटमै प्रत्यक्ष प्रसारण सुरू गरे । उनले रेडियो नेपालका संवाददाताहरूलाई विभिन्न ठाउँमा अवलोकन गर्न पठाउने र त्यहींबाट प्रत्यक्ष प्रसारणमा उतारे । नयाँ शैली समेत अपनाए । आम जनतालाई आह्वान गरे कि तपाई रहेको स्थानमा भूकम्पले कति क्षति पुर्याएको छ ? त्यसबारे छिटोभन्दा छिटो जानकारी गराउनु होला । भूकम्प गएका ठाउँका मान्छेहरूलाई नै उनले रेडियो नेपालको संवाददाता बनाइदिए । उनले नागरिकहरूलाई नडराउन, सुरक्षित हुन, जिम्मेवार हुन, उद्दारमा खट्न, घाइतेहरूलाई अस्पतालमा लैजान आह्वान गरे । त्यो उनको जिम्मेवारपूर्ण र छिटो निर्णय गर्न सक्ने खुबीको परिणाम थियो । सयौँ जनताले संवाददाता बनेर रेडियो नेपाल मार्फत् भूकम्पबारेमा जानकारी गराए ।
म भूकम्प आउने बेला धनगढी थिएँ । त्यहाँ ठूलो क्षति हुने गरी भूकम्प आएको थिएन । तर काठमाडौँमा धेरै साथी र आफन्त थिए । उनीहरूका बारेमा चिन्ता हुनु स्वाभाविकै थियो । सम्पूर्ण नेपालीका देशभरिका आफन्तहरू छट्पटाइरहेका थिए । जब त्यहाँका स्थानीय एफएमहरू ट्युन गर्न थालियो, सबैले गीत बजाइरहेका थिए । राजधानीमा स्टुडियो रहेका र सुदुर पश्चिममा सुनिने एफएमहरूले पनि भूकम्पबारे जानकारी दिइरहेका थिएनन् । यदि रेडियो नेपालको प्रत्यक्ष प्रसारणलाई नै आफ्ना एफएम रेडियो मार्फत् प्रसारण गरिदिएका भए आम जनतालाई ठूलो राहत हुने थियो । देशभरिकै एफएमहरूले त्यसो गरेनन् । उनीहरूले आफै समाचार सङ्कलन गर्ने तागत राख्दैनथे । अनलाइनबाट कपी गरेर समाचार पढ्ने बानी परेका रेडियोहरूका लागि त्यो कठिन काम थियो । तर रेडियो नेपाल स्रोत–साधन सम्पन्न थियो । उसले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा कुनै कसर बाँकी राखेन । चौबिसै घण्टा प्रत्यक्ष प्रसारण गर्यो । धेरै टिभीहरूले पनि तत्काल समाचार प्रसारण गरेनन् । उनीहरूको पनि भागाभाग भयो । प्रविधिका हिसाबले टिभी प्रसारण गर्नु गाह्रो पनि हुन सक्छ । तर भूकम्प आएको लामो समय बितिसक्दा पनि टिभीहरूले आफ्नो क्षमता देखाउन सकेनन् । गीत बजाएर बसे । भूकम्प प्रतिरोधी घर बनाऊ भनेर करोडौँ रूपैयाँको विज्ञापन बजाउने टिभी रेडियोका आफ्नै भवनहरू भरपर्दा छैन रहेछन् । अरूलाई पाठ पढाउने सञ्चार माध्यमहरूले आफैले किन कार्यान्वयन गरेनन् त ? परिणाम यो भयो कि भूकम्पको बेला उनीहरूले भाग्नु पर्यो ।
काठमाडौँको मध्य क्षेत्र केही भएकै थिएन । एकाध घर भत्किने र चर्किने वाहेक केही भएको थिएन । बसपार्क, सीतापाइला र काठमाडौँकै ग्रामीण भेगमा भएका कच्ची घरहरू भत्किएका कारण त्यहाँ ठूलो क्षति भएको थियो । तर टिभीहरूले भाँच्चिएको धरहरा र भत्किएको वसन्तपुरलाई देखाएर सबै काठमाडौँ ध्वस्त भएको सन्देश जाने गरी प्रसारण गरे । देशभरिका आफन्तहरूलाई काठमाडौँमा भएका सबैको निधन वा घाइते भएको शङ्का भयो । क्षतिको तुलनामा यति ठूलो आतङ्क मच्याइयो कि काठमाडौँ सम्पूर्ण रूपले ध्वस्त भयो । ३० लाख जनसङ्ख्या बसोबास गर्ने काठमाडौँ उपत्यकामा ३ हजारको ज्यान जानु भनेको ०.१ प्रतिशत मानवीय क्षति हुनु हो ।
भारतीय मिडियाहरूले काठमाडौँ ध्वस्त भएको समाचार प्रसारण गरे । उनीहरूले भारतीय सेनाका हेलिकोप्टर प्रयोग गरेर भूकम्पमा परेका जनताका लागि नेपाल सरकारले केही गर्न नसकेको भनेर मात्रै प्रसारण गरेनन् कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण नेपालको उद्धार गरिरहेको सन्देश दिएर भारतीय टिभीहरूले समाचार प्रसारण गरे । भारतीय सेनाका हेलिकोप्टर मार्फत् राहत सामग्री बोकेको निहुँ पारेर भारतको एकतर्फी प्रचार गर्न भ्याए । भारतीय सञ्चार माध्यमको रवैयाको व्यापक आलोचना भयो र ‘गो होम इण्डियन मिडिया’ भनेर सामाजिक सञ्जालबाट अभियान नै सञ्चालन गरियो । उक्त अभियानमा लाखौँ भारतीयहरूले पनि साथ दिए । उनीहरूले भने कि भारतीय मिडियाबाट हामी आजित छौँ, नेपाली जनता त्यसबाट बच्नु पर्दछ । भारत नफर्काउ भनेर उनीहरूले भारतीय मिडियाप्रति रोष प्रकट गरे । नेपाली मिडियाले पनि भारतीय मिडियाको रवैयाप्रति सुरूमा त्यति ध्यान दिएनन् । जब नेपाली मिडिया भारतीय मिडियाबाट हेपिएको महसुस गर्न थाले, त्यसपछि भारतीय मिडियाको रवैया टिभीबाट देखाउन, रेडियोबाट बोल्न, पत्रपत्रिकाबाट लेख्न थाले । तर उनीहरूले गलत प्रसारण गरेका छन् भनेर जनतालाई जानकारी गराएनन् । किनभने नेपाली मिडियाहरू आफैले कतिपय घटनालाई अतिरञ्जित गराइरहेका थिए ।
भूकम्पबाट ठूलो जन–धनको क्षति हुँदा हुँदैका बाबजुद काठमाडौँका ठूल्ठूला घर र यहाँ बस्ने जनता सुरक्षित छन् भनेर समाचार प्रसारण भएनन् । जति पनि मान्छेहरू पालमुनि बास बसेका थिए, ती सबै बाँचिसकेका थिए । अर्काे कुरा के छ भने त्यस समयमा सरकारको व्यापक रूपमा आलोचना भयो, यो सरकारले केही गरेन भनेर । मुख्यतया एनजिओ, आइएनजिओ, कथित बुद्धिजीवी र भारतीय मिडियाहरू केही गर्नै सकेन भनेर नेपाल सरकारको विरुद्धमा हात धोएर लागे । तर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामति कर्मचारी सबै तत्काल उद्धारमा खटिइसकेका थिए । सरकार भनेको को हो ? सरकार भनेको प्रधानमन्त्री वा गृहमन्त्री आफै उद्धार गर्न जानु होइन । त्यति बेला प्रधानमन्त्री सुशील कोइराला विदेशमा थिए । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिनु भनेकै सरकार खटिनु हो । सङ्कटका बेला आम जनताले पनि सरकारकै प्रतिनिधिको रूपमा काम गरे अर्थात् उनीहरू स्वतः स्फूर्त रूपमा उद्धार र राहतमा खटिए । सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएका मन्त्री, सचिवहरूले छिटोभन्दा छिटो आवश्यक निर्णय लिन सकेनन् । त्यो सत्य हो । संसारका धेरै देशका सरकारहरूले विपत्तिको बेला यस्तै कुराको सामना गर्नु पर्छ । चीन र भारत जस्ता शक्तिशाली देशहरूमा भूकम्प जाँदा पनि त्यहाँ राहत र उद्धारको काममा हप्तौँ र महिनौँ लागेका उदाहरणहरू छन् । त्यति ठूलो विपत्तिमा एकै दिन वा एकै रातमा उद्धार र राहतका काम गर्न कठिन हुन्छ । सञ्चार माध्यमहरूले सरकारले केही गरिरहेको छ र गर्दै छ भन्ने कोणबाट होइन कि केही गरेकै छैन भन्ने कोणबाट प्रसारण गर्दा सरकारप्रति नकारात्मक धारणाको विकास भयो र त्यसले नेपाली जनतामा विदेशीको मुख ताक्ने प्रवृत्ति देखा पर्यो । नेपाल सरकारले त केही गरेकै छैन, सबै विदेशीले मात्रै गरिदिएका रहेछन् भन्ने नेपाली जनतामा छाप पर्न गयो । सङ्कटका बेलामा सरकारलाई सहयोग गर्नु सबैको कर्तव्य हो । यो बेला भनेको सरकारको उछित्तो काढ्ने होइन कि उद्धार र राहतका कामहरू छिटो गर भनेर झक्झकाउने हो । सुरूमा त्यस्तो देखिएन । उछित्तो काढ्ने प्रवृत्ति हावी भयो । सरकारको व्यापक आलोचना भएपछि संसद् बैठक आह्वान समेत गर्न आनाकानी गर्यो । तर संसद्को बैठक बसिसकेपछि सम्पूर्ण राजनीतिक दलहरू राष्ट्रिय सङ्कटको बेलामा एकजुट छन् भन्ने सन्देश प्रवाह भयो । सङ्कटको बेलामा हुनु पर्ने नै त्यही थियो, जुन भयो ।
कतिपय बेला सञ्चार माध्यमहरूले आफै गलत सूचना सम्प्रेषण गर्ने र जनतालाई व्यापक रूपमा भ्रम पार्ने काम समेत गर्न भ्याए । तर उनीहरूले हामीले गल्ती गरेका छौँ भन्ने कुराको हेक्का समेत राखेनन् । केवल सरकार, राजनीतिक दल तथा तिनका भातृ सङ्गठनले यति ठूलो विपत्तिमा केही गरेनन् भनेर एकोहोरो प्रचार युद्ध गरे, आफ्नै कर्तव्यलाई भुलेर ।
सञ्चार माध्यमहरूको काम के हो भन्नेबारे पछिल्ला केही समयमा व्यापक रूपमा बहस भइरहेको छ । कैयौँ घटनाक्रमका सन्दर्भमा ‘हट न्यूज’ कभरेज गर्ने नाममा उनीहरूले आफै फैसला समेत गर्न भ्याएका छन् । कतिपय समाचार पुष्टि नगरिकनै दिने चलन छ । तर त्यसरी दिइएका समाचार गलत परेछन् भने सच्याउनु पर्ने हुन्छ । नेपाली सञ्चारहरू त्यसरी सच्याउने पनि गर्दैनन् । उनीहरूमा हामीले गल्ती गरेकै छैनौँ भन्ने दम्भ बढिरहेको छ । गम्भीर प्रकृतिका घटनाका बारेमा कसैलाई आरोप आउँदा वित्तिकै सञ्चार माध्यमले एकतर्फी फैसला गरेर समाचार प्रकाशन÷प्रसारण गरिदिन्छन् । सञ्चार माध्यमको काम सूचना दिने हो । घटनालाई पुष्टि गर्ने क्रममा दाहोरो स्रोत खुलाएर समेत समाचार दिनु पर्ने ठाउँमा एकोहोरो स्रोतको आधारमा न्यायाधीशले गर्नु पर्ने काम समेत आफैले गरेर समाचार प्रसारण गर्ने क्रम बढेको छ । उनीहरूले सत्य तथ्य सूचना दिने काम गर्नु पर्दछ । यदि गलत सूचना दिइयो भने त्यसलाई त्यत्तिकै महत्व दिएर सच्याउने हिम्मत गर्नु जरूरी छ । झुटा समाचारलाई पुष्टि गरिनु हुँदैन । सञ्चार माध्यमहरू सही सूचनाका वाहक हुन्, झुटा प्रचार गर्ने साधन होइनन् । पत्रकारिताको पनि आचार संहिता छ ।
हाँक साप्ताहिक, 21 July 2015