लन्डन । लन्डनको गोल्डेनसीप रेष्टुरेन्टले भूकम्प पीडित पत्रकारका लागि ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सो रकम बुधवार साँझ गोल्डेनसीप रेष्टुरेन्टका निर्देशक सनत गुरुङले नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्मालाई हस्तान्तरण गरे ।
नेपालमा गएको भूकम्पका बेला प्रहरी, सेना र पत्रकारले महत्वपूर्ण योगदान पुर्याएको गुरुङले स्मरण गरे । यसअघि सो रेष्टुरेन्टले करिब १६ लाख रुपैयाा भूकम्प पीडितको सहयोगार्थ रकम संकलन गरेको थियो । रेष्टुरेन्ट संचालकद्वय देव गुरुङ र दिनेश गुरुङले महत्वपूर्ण सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्माले भूकम्प पीडितका लागि बेलायत स्थित नेपाली समूदायले निकै ठूलो योगदान पुर्याएको बताए । पत्रकारको पीडामा मलम लगाउने उद्देश्यले गोल्डेनसीप रेष्टुरेन्टले सहयोग उपलब्ध गराएको सञ्चालक गुरुङले बताए । सहयोगका लागि अध्यक्ष शर्माले गोल्डनसीप परिवारलाई धन्यवाद दिए ।
पत्रकार महासंघ यूकेले जुलाईको अन्तिमसम्म सहयोग संकलन गरी जम्मा भएको रकम यथाशक्य छिटो भूकम्प पीडित पत्रकारको हातमा पुर्याउने जानकारी अध्यक्ष शर्माले दिए ।
नेपालब्रिटेन डट कम्, 9 July 2015