कान्तिपुर संवाददाता
काठमाडौं, असार २० -
विपद् रिपोर्टिङका लागि तालीम आबश्यक रहेको विज्ञ तथा वरिष्ठ पत्रकारहरु औंल्याएका छन् । इन्स्टिच्युट फर फाइनान्सियल एजुकेशन एण्ड कम्युनिकेशन नेपाल (आईएफईसी) द्वारा आइतबार आयोजित भूकम्प र सञ्चारमाध्यम बिषयक कार्यक्रममा उनीहरूले तालिमको आबश्यकता औंल्याएका हुन् ।
प्राकृतिक स्रोत तथा विपद् विज्ञ अजय दीक्षितले नेपाली पत्रकारहरुमा विपद् रिपोर्टिङमा गहन ज्ञानको आवश्यकता रहेको बताए । ‘वरिष्ठ पत्रकार युवराज घिमिरेले विपदो वास्तविक कारणसम्म पुगेर रिपोर्टिङ गर्ने ज्ञानको नेपाल र भारत दुवै देशका मिडियामा कमी रहेको बताए,’ विज्ञप्तीमा भनिएको छ, ‘सबै देशका मिडियाकर्मीको सैद्धान्तिक आधार एउटै हो । तर प्रयोग महत्वपूर्ण हुन्छ ।’
भूकम्पका बेला भारतीय मिडियाले गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेकोतर्फ इंगित गर्दै घिमिरेले भने, ‘सबै भारतीय मिडियाले गैरजिम्मेवार रिपोर्टिङ गरेनन् । सबै नेपाली मिडिया जिम्मेवार ढंगले प्रस्तुतसमेत भएनन् ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले मिडियाले भूकम्पका बेला निकै जिम्मेवार भूमिका निर्वाह गरेको दावी गरे । कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले नेपाली समाचार कक्ष (न्यूजरुम) विपदका लागि तयार हालतमा नभएको बताए । उक्त कुरा भूकम्पले पुष्टि गरिदिएको उनले बताए ।
‘हामीले विपदो समाचार संकलन र सम्प्रेषणको कला सिक्दै गरेका छौं,’ उनले भने, ‘सैद्धान्तिक र व्यावहारिक ज्ञानको कमी महसुस गरिएको हो ।’ भूकम्पको कभरेजका सम्बन्धमा स्वतन्त्र मिडिया विश्लेषकबाट अध्ययन हुन जरुरी भएको उनले बताए । कार्यक्रममा नेपाल टेलिभिजनका सम्पादक राजेन्द्रदेव आचार्य, कान्तिपुर टेलिभिजनका समाचार सम्पादक दिलभुषण पाठक, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, आईएफईसी नेपालका अध्यक्ष अच्युत वाग्लेले धारणा राखेका थिए । ‘अधिकांशले रिपोर्टिङ गर्ने सीप क्षमता पत्रकाहरुमा खडकएको बताए,’ विज्ञप्तीमा भनिएको छ ।
कान्तिपुर, ५ जुलाई २०१५
================================
सञ्चार माध्यममा विपत् समाचारदाता र तालिम आवश्यक
काठमाडौँ, २० असार । नेपाली सञ्चार माध्यममा विपत्को समाचार सङ्कलन गर्ने समाचारदाता र तालिमको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ ।
आर्थिक शिक्षा र सञ्चारका लागि संस्था नेपालले आज आयोजना गरेको ‘भूकम्प र नेपाली सञ्चार माध्यम’ विषयक संवाद कार्यक्रममा पत्रकारहरु र विज्ञले यस विषयमा जोड दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले नेपाली सञ्चार माध्यमले भूकम्पअघिदेखि नै विपत् व्यवस्थापनका विषयमा राम्रो समाचार सामग्री प्रस्तुत गर्दै आएको बताउनुभयो ।
“७.९ रिक्टर स्केलको भूकम्प ५८ सेकेण्डसम्म जाँदा पनि क्षति कम हुनुमा सञ्चार माध्यमकै जागरणको प्रतिफल हो, यसअघि गरिएका अनुसन्धानले यो स्केलको भूकम्प जाँदा लाखौँ मानिस मर्ने अध्ययन प्रतिवेदन आइरहेकामा यो क्षति थोरै हो” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका समाचार निर्देशक राजेन्द्रदेव आचार्यले भूकम्प नियमित भौगर्भिक आकस्मिकता भएकाले नेपाली सञ्चार माध्यममा यसको तयारी नभएको बताउनुभयो ।
“वैशाख १२ गतेको भूकम्पपछि टेलिभिजनले ६४ दिनसम्म भूकम्पकै विषयमा केन्द्रित भई समाचार र विशेष समाचारसमेत प्रसारण ग¥यो, व्यक्तिगत जीवनको पर्वाह नगरी पत्रकार व्यावसायिक निष्ठामा लागे, यो सराहनीय पक्ष हो”–उहाँले भन्नुभयो ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सञ्चार माध्यमबाट आएको सूचनाका आधारमा उद्धार र राहत वितरणमा सहयोग पुगेको बताउनुभयो । “पत्रकार व्यक्ति मात्र नभई जनतासम्म सूचना पु¥याउने माध्यम भएकाले भूकम्पका समयमा राम्रो भूमिका खेलेको बताउनुभयो ।
विपत् अनुसन्धानकर्ता अजय दीक्षितले संयुक्त राष्ट्र सङ्घका एक कर्मचारीले नेपाली सञ्चार माध्यमलाई चेतना नभएको भनी गरेको टिप्पणीलाई हल्का रुपमा लिन नहुने धारणा राख्नुभयो ।
अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरे, कान्तिपुर टेलिभिजनका समाचार प्रमुख दीलभूषण पाठक, कान्तिुर दैनिकका सम्पादक सुधीर शर्मा, आयोजक संस्थाका अच्युत वाग्लेले नेपाली सञ्चारकर्मीलाई विपत्का बारेमा सचेत र जागरुक गराउनुपर्नेमा जोड दिनुभयो ।
NealDubai.com / रासस, 5 July 2015