श्रीशिशा राई
रिक्सा तानिरहेकाले इटहरी–२४ का रिक्साचालक हरिजन (नाम परिवर्तन)लाई , २०७२ वैशाख १२ को भुइँचालोको हेक्का भएन । वरपरका मान्छे अत्तालिँदै ग्वारग्वारती सडकमा आउन थालेपछि उनले रिक्सा रोके । बल्ल भुइँचालो गएको थाहा भयो उनलाई ।
आफ्नो रिक्साका बेचैन यात्री त्यहीँ ओर्लिएपछि उनले रिक्सा फर्काए र चौकतिर लागे उनी । चियाको तलतल र उही भुइँचालोको चासो बोकेर एउटा पसलमा छिरे । पसलको टिभी स्क्रिनमा भुइँचालोमा परेर क्षतविक्षत घाइतेहरुको दृश्य देखेपपछि उनलाई ठूलो विपतको महसुस भयो । धेरै बेरसम्म दृश्य हेरिरहन सकेनन् उनले । टाउको फनन्न घुमेर दुख्न थाल्यो । के गरुँ कसो गरुँ भयो । करिब ३ किमी पर डेरामा विहानै छाडेका परिवारको याद आयो । डेरा हान्निए ।
परिवार सकुशलै भेटिए पनि उनको मन हाँस्न सकेन । ज्वरो र बान्ता होला जस्तो भयो । स्फुर्ति हरायो । एकोहोरिएर खाटमा पल्टिरहे । यसको अर्थ हरिजनमा मानसिक असर परिसकेको थियो ।
हरिजनमा मानसिक असरको कारण भुइँचालो नै हो त ? भुइँचालो त उनले ९० सालको पनि सुनेकै हुन् । ४५ सालको त भोगेकै हुन् । तर यसपटकको भुइँचालो गएको त उनले थाहा पनि पाएनन् । तर उनको मथिंगल भने असन्तुलित भयो । यसो हुनुमा टिभी स्क्रिनको घाइतेको दर्दनाक दृश्य कारण थियो । उनमा मानसिक असर देखिनुको कारण मिडिया थियो ।
भुइँचालो प्रत्यक्ष देख्ने र भोग्नेले त देखे, भोगे । तर जो मिडियाको पहुँचमा थिए, उनीहरुमा पनि मानसिक असन्तुलन सुरु भयो । प्रश्न उठ्छ, महाविपत्तिमा मिडियाले निर्वाह गरेको भूमिका के सही थियो ? हरिजनले स्क्रिनमा दृश्य हेर्नुको सट्टा वर्णन सुनेको वा पढेको मात्र भए यस्तो हुन्थ्यो ?
के कुरा स्वाभाविक हो भने मिडिया प्रतिस्पर्धी छ । आधुनिकता, प्रयोग र क्षमताको त्रिकोणीय चापमा कसले कति छिटो सामग्री सार्वजनिक गर्ने भन्ने होडबाजी छ । विपतपछि नेपाली मिडिया अधिकतम सक्रिय र प्रतिस्पर्धी हुनुलाई सराहना नै गर्नुपर्छ । तर प्रश्न उठेको छ, यस्तो होडबाजीबीच मिडिया समग्रमा लक्षित वर्गको पक्षमा उभियो कि विपक्षमा ? मिडियाले नागरिकमा सकारात्मक सोच बनायो कि नकारात्मक ? द्रुत सूचना सम्प्रेषणका नाममा कतिपय मिडियाले सम्पादन नगरिएका दृश्य नै सार्वजनिक गरे । कसले सबभन्दा दुखद, वीभत्स, दर्दनाक सामग्री दिने भन्ने प्रतिस्पर्धा उत्कर्षमा थियो । सूचनाबाट नागरिकमा पर्ने सबै किसिमका प्रभावको ख्याल गरिएन । संवेदनशीलता देखिएन । के यसबाट मिडियाको लक्ष्य र कर्त्तव्य पूरा भयो ? हरिजनजस्ता प्रतिनिधि लक्षित वर्गलाई यसले न्याय गर्यो ?
सामग्री सन्तुलित हुँदाहुँदै पनि मिडियाले कहालीलाग्दा वीभत्स मानवीय क्षतिका दृश्यलाई प्राथमिकता दिए । सबैले प्राथमिकता नदिए पनि नागरिकमा यसको असर प्रभावकारी बन्यो । नेपाल र भारतका मिडिया दुवैको शैली उही देखियो ।