Related news:
UN Official Berates Nepal Media For Coverage Of Sub-standard WPF Food,
MyRepublica, 2 July 2015
काठमाडौ, असार १७ - राष्ट्रसंघको मानवीय मामिला संयोजन तथा सम्बोधन विभागका निर्देशक जोन जिङले नेपालमा आएको सहयोग अन्यत्र लैजाने चेतावनी दिएका छन्। राष्ट्रसंघद्वारा वितरित चामल, दाललगायत खाद्यान्न कुहिएको, गुणस्तरहीन र अखाद्य भेटिएको सम्बन्धमा कुनै जवाफ नदिई जिङले उल्टै यस्तो चेतावनी दिएका हुन्।
राष्ट्रसंघीय भवन पुल्चोकमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिङले सहयोगको माग अन्यत्रबाट पनि आइरहेको र नेपालमा आवश्यक नभए फर्काउन सकिने बताए। आइरहेको सहयोगको अन्यत्रसमेत माग भइरहेको भन्दै यहाँ आवश्यक नभए आफूहरू फर्कन सक्ने चेतावनीसमेत दिए। भूकम्पपछिको स्थितिको विषयमा आफूले मुख्यालयमा बुझाउने प्रतिवेदनबाट समेत यही कुरा जाहेर हुन सक्ने उनले उल्लेख गरे। उनले नेपाललाई दिँदै आएको सहयोग इराक, सिरियाजस्तो स्थानमा जान सक्ने बताइरहँदा आवासीय संयोजक जेमी गोल्डरिक सँगै थिए।
जिङले सार्वजनिक रूपमै चेतावनी दिएको अवस्थामा विश्व खाद्य संगठनका अधिकारीहरूचाहिँ सञ्चारमाध्यमको कार्यालय नै धाएर समाचारले आफूहरूलाई समस्या परेको बताइरहेका छन्।
नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय अधिकारी जिङले राष्ट्रसंघको सहयोगलाई नजरअन्दाज गरी बदनाम गराउन नेपाल सरकारको कर्मचारीतन्त्रदेखि सञ्चारमाध्यम लागेको आरोप लगाए। उनले राष्ट्रसंघको सहयोगबारे नेपालका सञ्चारमाध्यममा आएका समाचार ‘ननसेन्स रिपोर्टिङ’ (वाहियात समाचार) भन्दै आक्रोशसमेत पोखे।
आफूले स्थलगत अध्ययन (फिल्ड भिजिट) गरेको दाबी गर्दै उनले मिडियाले भनेका कुरा सत्य नपाएको बताए। उनले सिन्धुपाल्चोक जाँदा त्यहाँका जनता विश्व खाद्यको कार्यक्रमप्रति खुसी नै भेटेको बताए। तर उनी सिन्धुपाल्चोकमा आकस्मिक रूपमा गएका होइनन्। त्यहीं काम गर्ने राष्ट्रसंघका अधिकारीले जम्मा गरेका व्यक्तिहरूको भनाइमात्र सुनेर उनी नेपालको कर्मचारीतन्त्र र सञ्चारमाध्यममाथि आक्रोशित भएको जानकारी स्रोतहरूले दिए। भूकम्पपश्चात् काभ्रे, बार्दिया, गोरखालगायत ठाउँमा विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल र दाल गुणस्तरहीन, अखाद्य भेटिएका थिए।
जिङले नेपालको सञ्चारमाध्यमले राष्ट्रसंघलाई नेपाली जनताबाट सम्पर्कविहीनको अवस्था’मा पुर्याउन खोजेको आरोपसमेत लगाए। भूकम्पपछिको वर्तमान अवस्था बुझ्न ३ दिने नेपाल भ्रमणमा आएका उनले राष्ट्रसंघको काम निकै सौहार्द रहेको दाबी गरे। उनले समयमा राहत नपुर्याएकामा नेपाली कर्मचारीतन्त्रको समेत आलोचना गरे। नेपाल भ्रमण सम्पन्न गरेर फर्कनुअघि उनले पत्रकार सम्मेलन बोलाएका हुन्। उनले राष्ट्रसंघलाई बदनाम गराउन गलत प्रचार भएको बताए।
‘केही चामल सडेको पर्यो होला तर डब्लूएफपीले यस्तो चामल खुवाउँदैन फर्काउँछ,’ उनले भने। कतिपय ठाउँमा फर्काउन राखिएको चामलसमेत देखाएर भ्रम सिर्जना गरिएको उनको दाबी थियो। विश्व खाद्य कार्यक्रमले कुहिएको चामल बाँडेको संसदीय समितिको अनुगमन टोलीले समेत स्पष्ट पारिसकेको अवस्थामा राष्ट्रसंघीय अधिकारीले त्यसबारे कुनै प्रतिक्रिया नदिई सञ्चारमाध्यम र कर्मचारी संयन्त्रप्रति आक्रोश व्यक्त गरेका हुन्। ‘खाद्य कार्यक्रमले जहाँ कुहिएको चामल भेट्छ, त्यहाँबाट फिर्ता ल्याएर राम्रो चामल दिनेसमेत गर्छ। विश्व खाद्यबाट नै सबै चामल आउने होइन, खरिद गर्दा कहिलेकाहीं कुहिएको पनि आउन सक्छ तर बाँड्दैन, त्यो फिर्ता जान्छ,’ उनले भने।
जिङले नेपाली प्रशासन सुस्त रहेका कारण भूकम्पपीडितसमक्ष १० प्रतिशतमात्र जस्तापाता पुगेको आरोपसमेत लगाए। उनले नेपालको समग्र अवस्था राखेर आफूले प्रतिवेदन बुझाउने बताए। उनले वर्षायाम सुरु हुन लाग्दासमेत पीडित जनतालाई बासको व्यवस्था नभएको उल्लेख गरे। ‘यस्ता विषयमा सरकारका अधिकारीहरूसँग पनि कुरा गरें। सरकार प्रतिबद्ध छ,’ उनले भने। उनले सरकारसँग पनि सञ्चारमाध्यमका विषयमा गुनासो पोखेको बताए।
Kantipur, 2 July 2015