भूकम्पपीडित नेपालीको सहयोगको लागि कान्तिपुर मिडिया ग्रुपले संकलन गरेको रकम आज प्रधानमन्त्री दैवी प्रकोप कोषलाई हस्तान्तरण गरेको छ। कान्तिपुर फाउन्डेसनले सञ्चालन गरेको खातामा जम्मा भएको ४ करोड ४३ लाख रुपैयाँ आज कान्तिपुर मिडिया ग्रुप र फाउण्डेसनका अध्यक्ष कैलाश सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरे। एक कार्यक्रमका बीच सिरोहियाले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरे।
भूकम्पपीडितको सहयोगार्थ कान्तिपुर मिडिया ग्रुपले सुरुमा सेञ्चुरी बैंकसँग र पछि अन्य बैंकसँगको सहकार्यमा बैंक खाता खोली रकम सङ्कलन गरेको थियो । “खातामा हामीले १० लाख राख्यौँ र अरुलाई सहयोग गर्न अपिल ग¥यौँ,” कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाले भने “यसमा एक सय देखि ५० लाख दिने दातासमेतको रकम सङ्कलन भएको छ ।” सो अवसरमा अध्यक्ष सिरोहियाले सो रकम आवश्यकता परेका भूकम्पपीडितको राहत र पुनःस्थापनामा सदुपयोग होस् भन्ने विचार व्यक्त गरे।
प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको सदुपयोग होस् भन्नेमा सरकार अत्यन्त सजग रहेको उल्लेख गर्दै भने “म राहत रकम र सामग्रीको दुरुपयोग हुन दिन्न । मैले यो कुरा क्याबिनेटमा पनि उठाएको छु । गल्ती गर्ने परेका छन् । कति कुरा अख्तियारमा पनि पुगेको छ ।”
सो कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, द काठमाण्डु पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्याय, सेञ्चुरी बैंक, सनराइज बैंकका पदाधिकारीका साथै कान्तिपुर मिडिया ग्रुपका विभिन्न पदाधिकारीको पनि उपस्थिति थियो ।
खेलकुद पत्रकारले दिए पाँच हजार डलर
भूकम्पपीडित नेपालीको सहयोगको निमित्त नेपालका खेलकुद पत्रकारको सङ्गठन खेलकुद पत्रकार मञ्च नेपालले पाँच हजार डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । सो रकमको चेक सङ्घले आज बिहान प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो । नेपालका भूकम्पपीडितको सहयोगको निमित्त खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल स्पोर्ट प्रेस एसोसियसनले पठाएको रकमबाट सो सहयोग गरिएको हो । यसमध्येको केही रकम भूकम्पमा परी दिवङ्गत हुनुभएको सुमन भोम्जनको परिवारलाई दिइएको छ भने केही रकम भूकम्पपीडित पत्रकारको सहयोगमा खर्च भएको जनाइएको छ ।
Setopati / RSS, 23 June 2015