सूचना विभागले भूकम्पबाट प्रभावित सञ्चार माध्यमको वर्गीकरण र सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनमा सहुलियत दिने तयारी गरेको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पदाधिकारीसँग आज छलफल गर्दै सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले भूकम्पका कारण रेडियो तथा टेलिभिजन लगायतका सञ्चार माध्यमलाई सहयोग गर्ने बताए।
उनले सञ्चार माध्यममले आयात गर्ने उपकरणमा भन्सार छुट दिने तयारी गरिरहेको उल्लेख गर्दै विपद्को समयमा सञ्चार क्षेत्रले पुर्याएको सहयोगको प्रशंसा गरे।
महानिर्देशक कोइरालाले भने, “भूकम्प गएपछि सरकारको साथमा पत्रकारसँगै राहत र उद्धारमा खटिएको थियो, विपद्पछि वातावरण सामान्य बनाउन ठूलो भूमिका निर्वाह गरेको थियो ।”
सो अवसरमा महासङ्घले भूकम्पका कारण सञ्चार माध्यममा भएको क्षति, प्रभावित पत्रकारको आवास निर्माण तथा बैंक सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेको शाखाका सचिव रामकृष्ण अधिकारीले जानकारी दिए।
सचिव अधिकारीका अनुसार सिन्धुपाल्चोक, दोलखा र काठमाडौँबाट प्रसारण तथा प्रकाशन हुने सञ्चार माध्यमले त्यस्तो सहयोग पाउने छन् ।