राष्ट्रिय तहका सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक २० हजार बनाउन माग
कान्तिपुर संवाददाता
काठमाडौ, जेष्ठ ३१ - नेपाल पत्रकार महासंघले भूकम्प पीडित पत्रकार र सञ्चारमाध्यमलाई राहत तथा पुनर्निर्माण सम्बन्धी काम गर्न उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा ७ सदस्यीय संयन्त्र बनाएको छ ।
भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोक सदरमुकाम चौतारामा शनिबार सम्पन्न केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले उक्त संयन्त्र बनाएको हो । संयन्त्रमा सचिव प्रभात चलाउने, कोषाध्यक्ष सूर्यमणी गौतम, केन्द्रिय सदस्यहरु राजु लामा, पवन वर्षा शाह, चिरञ्जिवी मास्के र प्रकाश तिमिल्सिना सदस्य छन् । संयन्त्रले भुकम्पबाट पीडित पत्रकारहरुको सूची तयार गर्दै सहयोग कार्यक्रमको खाका तयार पार्नेछ ।
वैठकले भूकम्पबाट क्षति भएका पत्रकारका लागि पुनस्थापना, उपकरणमा सहुलियतका साथै ध्वस्त भएका सञ्चारमाध्यमलाई राहत र पुननिर्माणका लागि पनि सक्दो पहल लिने निर्णय गरेको छ ।
महासंघले भूकम्पबाट अति प्रभावित पत्रकार, कर्मचारी, कामदारलाई राहत र पुनर्निर्माणमा सहयोग गर्न सम्बन्धित सञ्चारसंस्थालाई अपिल गर्नुका साथै भूकम्पको बहानामा आमनवीय ढंगले पत्रकार निस्कासन गर्ने, पारिश्रमिक रोक्का गर्ने, दरबन्दी कटौती गर्ने, असुरक्षित र अत्यन्तै जोखिमपूर्ण कार्यस्थलमा जबर्जस्ती काममा लगाउने जस्ता कार्य नगर्न सचेत गराएको छ ।
बैठकले सञ्चारमाध्यमबाट भूकम्प पीडितको राहतका लागि संकलन गरेको सहयोग पारदर्शी बनाउन र कुनै प्रश्न उठेमा आफंै अग्रसरता लिई अधिकार प्राप्त निकायबाट छानबिन गराएर विवरण सार्वजनिक गर्न समेत आह्वान गरेको छ ।
महासंघले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल पुनरावलोकन गर्न र त्यसो गर्दा राष्ट्रिय तहका सञ्चारमाध्यमका श्रमजीवी पत्रकारको मासिक न्यूनतम पारिश्रमिक कम्तीमा २० हजार रुपैयाँ पुर्याउन पनि माग गरेको छ ।
बैठकले हिमालयन टेलिभिजन र एभिन्युज टेलिभिजनमा उत्पन्न श्रम समस्या २०७२ जेठ मसान्त भित्रै समाधान गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान व्यवस्थापनलाई आह्वान गर्दै अन्यथा संघर्षका कार्यक्रममा महासंघ केन्द्रीय समिति प्रत्यक्ष सहभागी भई संघर्षलाई निश्कर्षमा पुर्याउने निर्णय पनि गरेको छ ।
Kantipur, 14 June 2015