जीवन लामा
वैशाख १२ र १३ गतेको भूकम्पले दोलखामा जनधनको ठूलो नोक्सान गर्यो । जिल्लामा ७६ जनाको मृत्यु भयो । सयौ घाईते भए । ५५ हजारमध्ये ५२ हजार घर पूर्ण रुपले भत्किए । धेरैवटा गाविसका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने भयो । घर छोडेर मानिसहरु सडकमा आए । सञ्चारमाध्यम समेत धरापमा परे । सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको अनुहारको खुसी उडेको थियो । तर काम त गर्नै पर्यो । पत्रकारहरुले आफ्ना घर भत्केको खबर सामाजिक सञ्जालमा हालेर अरुको घर भत्केको रिपोर्टिङ गरे । आफ्नो समाचार लेख्नु प¥यो भन्ने कसैले सोचेन । उनीहरुको गुनासो पोख्न थलो सामाजिक सञ्जाल मात्र थियो ।
१२ गतेको भूकम्पपछि दुई तीन दिनसम्म दोलखाका सबै रेडियो बन्द भए । न बत्ती, न टेलिफोन, न कर्मचारी र पत्रकारसित ३ तलमाथि बसेर काम गर्ने आँट नै रह्यो । रेडियोका केही विद्युतीय उपकरणहरु या त फुटेका थिए, या पुरिएका थिए । बल्ल बल्ल टुटे फुटेका सामान संकलन गरेर स्टुडियोमा नै राखियो । तेस्रो दिन बैशाख १५ गते, रेडियो बजाउने आँटका साथ स्टुडियोमा छि¥यौ ।
तर छिनछिनमा आउने पराकम्पनले जमीन र घर त स्थीर थिएनन् नै, मन पनि अस्थिर भैरह्यो । न हात गोडा चल्छ, न दिमागले काम गर्छ भैरह्यो । एक दुईजना साथीहरु बाहेक सबै साथीहरु आ–आफ्नै घरायसी समस्यामा अल्झेका थिए । आफै बाँचिन्छ कि बाँचिदैन भन्ने ठूलो भयले थिचेका साथीहरुमा रेडियोको धेरै चिन्ता नहुनु स्वाभाविकै थियो । त्यसमाथि मोवाईलको नेटवर्कले राम्रो काम गरेन । त्यसैले प्राय साथीहरु कहाँ छन् भन्ने कुरा पनि अत्तोपत्तो थिएन ।
हराएका, बेपत्ता भएकाको उद्धार तथा उपचार होस्, भूकम्प पीडितले समयमै राहत पाउन् भनेर रिपोर्टिङ गर्नु पत्रकारहरुको पेशा नै हो । घटना स्थलमा पुग्नु, सही सूचना जनतासम्म पुर्याउनु, कसले राहत पाए, कसले पाएनन् भनेर सोधखोज गर्नु रिपोर्टिङको दैनिकी बन्न थाल्यो ।
आफू के खाने ? कहाँ सुत्ने ? आफू मात्र बाँचेर भएन घरपरिवारलाई ओत लाग्ने वातावरण छ कि छैन भनेर सोच्ने फुर्सद पनि भएन । जहिले पनि अरुको लागि दिमाग जान थाल्यो । आफ्नै दिमागले आफ्नोबारेमा सोच्न फुर्सदै पाएन । यस्तै दैनिकी चलिरहदा बैशाख २२ गते रक्तचाप बढेर जेठो दाईको अचानक मृत्यु भयो ।
दैनिकजसो आईरहने ठूलठूला पराकम्पनले जमीनसँगै दिमाग पनि हल्लिरहेकै थियो । दाईको मृत्युको कारण पनि यही तनाव थियो । कहाँ उपचार गर्न लाने भनेर बेलामा निर्णय गर्न नसक्नाले दाईको ज्यान गयो । आफ्नो पनि कहाँ जाने, के खाने, कहाँ सुत्ने केही तालिका थिएन । भोक लाग्दा खानेकुरा खोज्ने र रातपरेपछि त्रिपाल खोज्ने बाहेक दिमागले लामो सोच्नै सकेन ।
यसरी दिन बित्दै थिए । वैशाख २९ गते रेडियोहरुलाई पनि टेण्ट चाहियो भनेर दोलखामा सञ्चालित ४ वटै रेडियोका सञ्चालक तथा व्यवस्थापकहरु ११ बजे जिल्ला प्रशासन कार्यालयमा पुग्यौ । प्रमुख जिल्ला अधिकारीलाई कार्यालय परिसरमै भेटेर कुरा गर्यौं । प्रमुख जिल्ला अधिकारीले टेण्ट बन्दोवस्त गरिदिएपछि हामी टेण्ट लिन बर्दबहादुर गणमा जाने बाटो लाग्यौं ।
टुँडिखेलमा आईपुगेर केही साथीहरु मोटर साईकल चढ्न थाल्नुभयो । म र चिरञ्जीवीजी हिडेर जाने भनेर पाईला अगाडि सार्दै थियौ । अचानक ठूलो आवाज आयो । यताउता हेरे । रुखहरु ढल्न थालेको जस्तो लाग्यो । जिल्ला विकास समितिको कार्यालय हामीतिरै आउन लागेको लाग्यो ।
खुला चौरमा जान खोज्छु । पाईला अभि सरे त मर्नु ! बोल्न खोज्छु, बोली आउदैन । सुरुमा त धर्ती नै उल्टेको जस्तो लाग्यो । दाँयाबाँया सबैतिर मानिसहरु चिच्याउन, कराउन थाले । गाउँतिर धुलोको मुस्लो निस्कन थाल्यो । मलाई रिङ्गटा चल्न थाले जस्तो भयो, तर ढल्न चाहि ढलिन । भुँईमा बस्न खोज्छु, भुँइ नै फाट्ला जस्तो लाग्यो । कहिले हल्लाउछ, कहिले उफार्छ । भुईंचालोले त हल्लाउनु पर्ने हो, तर उर्फाछ पो ! जमिनमुनि गुटुङटुङ आवाज आउँछ । मनले भन्यो, अब चाहि सबै तहस नहसै हुन्छ ! तर मुखले चिरञ्जीविजीलाई भन्न सकिन । यत्तिनै बेला फोन गर्नुपर्छ भन्ने दिमागमा आयो । पहिला रेडियोका साथीहरुलाई सम्झे । पटक पटक फोन गर्छु, फोनले सम्पर्क हुन सकेन मात्रै भन्छ । लामो समयको प्रयासपछि रेडियोका साथीहरुसित सम्पर्क भयो । रेडियो बन्द गर्न भ्याउने कुरै भएन । रेडियो बजेकै अवस्थामा छाडेर साथीहरु जुत्ता चप्पल बिनै बाहिर निस्कनु भएछ ।
एक घण्टापछि साथीहरु रेडियो स्टेशनमा पुग्दा सामान खसेर ध्वस्त । रेडियो आफै बन्द भएछ । रेडियोको मुख्य सामग्री ट्रान्समिटर खसेर काम नलाग्ने अवस्थामा पुरिएको छ । कम्प्युटर, प्रिन्टरहरु खसेर केही बाँकी थिएन । अन्य सामग्री राम्रा भएतापनि ट्रान्समिटरनै खसेपछि के काम र ? त्यही दिन घर झ्याँकुबाट चरिकोट पढ्न आउँदा सिंङ्गटीमा भाईलाई भूकम्पले बेपत्ता पारेको खबर आयो । न भाई खोज्न जाने, न रेडियो बजाउने ? अन्तमा जे नहुनु पथ्र्यो त्यही भयो । अब म गएर भाई ज्यूँदै रहने होईन भनेर मन बुझाएँ ।
रेडियो कसरी सञ्चालन गर्ने भन्ने कुराले सबैभन्दा धेरै मन पोल्न थाल्यो । रेडियोले सूचना दिन सके मात्र मरेकाको उध्दार र जिवीतको डर घटाउन सकिन्छ भन्ने कुरा मनमा लागि रह्यो । त्यसमाथि दोलखाका सबै रेडियो बन्द भएका छन् । यत्तिबेला रेडियो बजाउन सके मात्र जनताको मनमा राहत मिल्ने विश्वास बढ्यो । यही कुरालाई मनन गरेर काडमाडौमा सामान लिन जाने निष्कर्ष निस्क्यो । तर, सामान किन्ने दाम पनि छैन र जान सजिलो पनि छैन । साथीहरु सबै सम्पर्कबिहीन छन् । बिहान बेलुकी रिपोर्टिङ गर्ने र दिउँसो भतकेको रेडियोमा बस्ने बाहेक अरु केही गर्न सकिएन ।
वैशाख ३१ गते उज्यालो एफएमबाट गोपाल दाईको फोन आयो रेडियो सग्लै छ कि बन्द भो भनेर । कुराकानीपछि ट्रान्समिटर दिने कुरा गर्नुभयो । के खोज्छस दृष्टिबिहिन भन्दा “आँखा” भने झैं लाग्यो । मनमनै धन्यवाद दिए । प्राविधिक प्रलादजीलाई खबर गरे, काडमाडौमा सामान लिन जानको लागि तर उहाँको फोन स्वीचअफ । त्यही क्रममा वीवीसी मिडिया एक्सनबाट सुष्माजीले फोन गर्नुभयो । उहाँले पनि अर्को व्यवस्था नभएसम्मको लागि २ वटा ल्यापटप सहयोग गर्ने वचन दिनुभयो । यी सबै खबरले गदगद नै बनायो मन ।
जेठ २ गते बिहानै गाडी लिएर प्रलादजी र म काठमाडौ लागयौं । अरुबेला त्यही गाडी ५ देखि ६ हजार रुपैयामा काठमाडौ आवतजावत गथ्र्यो । तर १२ हजार रे अहिले ! तै पनि सामान सुरक्षित ल्याएर रेडियो चलाउनु थियो । महंगै भाडा तिरेर काठमाडौ लागियो । खाडीचौरदेखि उताको बाटो हेर्दा भरे फर्किन पाईन्छ कि पाईदैन जस्तो थियो । बाटामा ठूलै पराकम्प आयो । पराकम्पनले बाटोमा पहिरो खसिरहेको थियो । पहिरो आउने डाँडा हेर्दै र पहिरो छल्दै अगाडि बढ्यौ । धेरै ठाउँमा घरले बाटो छेकेका थिए । कतै पहिरोले साँघुरो बाटो । मौसम अत्यास लाग्दो थियो । कहिले चर्को घाम, कहिले पानी । उज्यालोमा गोपाल दाई र मन्टेश्वरी दिदीसित केही समय दुःखसुखको कुरा ग¥यौ । विविसीबाट २ वटा ल्यापटप लियौं र बानेश्वरमा सुशिल दाई (उहाँ दोलखाकै हुनुहुन्छ) कहाँ पुगेर ट्रान्समिटर लियौं । सामान लिएर चरिकोट आईपुग्दा रात परिसकेको थियो ।
३ गते बिहानैदेखि रेडियो स्टेशन नजिकै खुला चौरमा टेण्ट गाडियो । टेण्टमै उपकरण जाडियो । टेण्टबाटै रेडियो घन्कियो । सबैजना छक्क पर्न थाले । रेडियो पनि टेण्टबाटै प्रशारण ? २ वटा ल्यापटप, एउटा मिक्सचर र केही सामग्रीको भरमा दिनमा १६ घण्टा नियमित प्रशारण गर्न थाल्यौ । अरुबेला १८ घण्टा अनि घण्टैपिच्छे बुलेटिन हुन्थ्यो भने अहिले बुलेटिन ४ घण्टाको अन्तरमा मात्र प्रशारणमा ल्याउन सक्यौ ।
स्टुडियो मसानघाट जस्तो भैसकेको थियो साथीहरुको लागि । कोही पनि स्टुडियोमा जान मान्नु भएन । टेण्टको स्टुडियोमै खाट राखियो । राती ३,४ जना साथीहरु सुत्ने र दिउँसो कार्यक्रम चलाउनहरु बस्ने ! बेला बेलामा आउने पराकम्पनले हामीलाई त तसाईरहेकै छ, तर स्टुडियो सार्नपरेको छैन, टेण्टमा जो छ । रेडियोको धेरै कार्यक्रमहरु रोकिए । केही महत्वपूर्ण कार्यक्रमहरु मात्र नियमित प्रशारण भैरहेका छन् । तर, भुईचालोसँग सम्बनिधत कार्यक्रम र सूचना खोजी खोजी प्रसारण गर्छौ ।
नयाँ ट्रान्समिटर अनि नयाँ व्यवस्थापनको कारणले हो कि खै के भएर हो, जिल्लाका सबै ठाउँमा रेडियो स्पष्ट सुन्न सकिने भएछ । सबैजना छक्क पर्न थालेका छन् आजकाल । कत्तिले त कालिञ्चोक एफएमलाई भूकम्प आएको त राम्रो भएछ पनि भने । जस्ले जे सुकै भनुन्, टेण्टबाटै हामी हरेक दिन १६ घण्टा रेडियो प्रशारण गर्दैछौं । सामुदायिक रेडियो कालिञ्चोकले यो विपदको समयमा नभै नहुने सूचना र कार्यक्रमहरु उत्पादन र प्रसारण गरेर भुकम्प पीडित दोलखालीको मन र मुटुलाई जोड्ने काम गरिरहेको छ, ।
– जीवन लामा कालिञ्चोक एफ.एम. दोलखाका स्टेशन प्रवन्धक हुनुहुन्छ
उज्यालो अनलइन, १४ जून २०१५