दीपक खनाल
जेष्ठ २९ -
बैशाख १२ गते भुइँचालोपछि उद्धारमा सरकारी तथा गैरसरकारी निकाय स्वस्फूर्त रूपमा खटेको पाइयो । यससँगै समाचार प्रवाहका लागि पत्रकार जगत पुन: भुइँचालो आउँदा निम्तिने खतराको समेत प्रवाह नगरी जनतालाई सुसूचित गर्न अहोरात्र मरिमेटेर लाग्यो । विपत्को समयमा उनीहरूले खेलेको यो निकै सकारात्मक र लोककल्याणकारी कदम थियो । त्यति हुँदाहुँदै पनि यस क्रममा कतिपय सन्दर्भमा मिडिया र मिडियाकर्मीले पत्रकार आचारसंहितालाई ख्याल नगरेको पाइयो ।
कत्रो भुइँचालो ?
वैशाख १२, १३ र २९ गते कत्रो भुइँचालो आयो ? यो भुइँचालो कस्तो हो, ‘महा’ हो कि सामान्य भनेर सही सूचना लिन पत्रकारलाई हम्मेहम्मे नै पर्यो । पहिलो दिनको भूकम्प कति ठूलो भन्ने विषयमा मिडियापिच्छे फरक तथ्य देखियो । त्यसो त विज्ञ भन्नेहरूले पनि अलमल/अन्योल पार्ने विचार दिए । विज्ञहरूका फरकफरक भनाइ, लेखोटले आमपत्रकार, जनतामा अर्काे दुविधा थोपरिदियो । यस हिसाबले पनि पत्रकारहरू सुरुमा भुइँचालोको यथार्थ शक्ति लगायत अन्य पक्षसँग जोडिएका विषयमा यथार्थ तथ्य दिने कुरामा कमजोर देखिए ।
ठूलो भूकम्प आएको १७ दिनपछि वैशाख २९ गते आएको शक्तिशाली परकम्पको बेलामा पनि त्यस्तै अवस्था देखियो । एउटाले भन्यो ६.८ रेक्टर स्केलको, अर्कोले भन्यो ७.३ रेक्टर स्केलको । यतिसम्म कि केही मिडियामा पृष्ठपिच्छे र कार्यक्रमको समय अनुसार यो विषयमा फरक–फरक तथ्य दिएको भेटियो । विपत्को अवस्थामा तथ्यलाई कसरी दिने भन्ने मिडियाको स्पष्ट नीति नहुँदा यस्तो भएको हो ।
सबै भुइँचालोविद् !
भुइँचालो आएपछि एकाएक सबै यसका विद्, विज्ञ, गुरु, अनुसन्धानकर्ता भएको पाइयो । एकले अर्कालाई उपदेश दिने, सिकाउने क्रम जताततै भइरहेको देखियो । मिडियामा राजनीतिक नेता/कार्यकर्तादेखि अन्य विभिन्न फरक क्षेत्रका मान्छे पनि भुइँचालो विज्ञझैँ बनेर देखापरे । यो विषयमा सबै आफ्ना धारणा राख्ने कुरामा प्रतिस्पर्धा गरेको पाइयो । यसले गर्दा वास्तविक विज्ञको विचार गैरभुइँचालोविद्हरूको भनाइले ओझेल परेको देखियो ।
केही अनलाइन मिडियामा ज्योतिषी लगायतको हवाला दिँदै सन्त्रास फैलाउने किसिमका समाचारहरूको प्रसारण भएको पनि पाइयो । राहत दिने धेरै संघ–संस्था र व्यक्ति/समूह भए पनि निकै थोरैले मात्र मिडियामा ठाउँ पाएको देखियो । सम्बन्धित व्यक्तिको पहुँचको आधारमा मात्रै मिडियामा ठाउँ पाएको देखिन्छ । यस हिसाबले यो विषयमा मिडियाले आधिकारिक नीति बनाएर त्यसै अनुसार अघि बढेको भए सबैलाई न्याय हुन जान्थ्यो नभए पहुँचका आधारमा मात्रै मिडियामा प्रचार पाउने प्रवृत्तिले बढावा पायो ।
पत्रकारले त्यसो भन्ने होइन
एक जना पत्रकार क्षेत्रगत प्रत्यक्ष रिपोर्टिङ गर्दा भन्दै थिए, ‘ल तपाईंलाई बधाई छ, बाँचेकोमा ।’ पत्रकार त्यहाँ बधाई दिन वा आफ्नो व्यक्तिगत ‘फिलिङ’ भन्न मात्र गएको होइन । जनताको वास्तविक पीरमर्का देखाएर सम्बन्धित निकायको ध्यान तान्ने र दबाब सिर्जना गर्ने काम पो गर्नुपथ्र्याे । आममिडियाग्राही (अडियन्स) को आत्मबल बढाउने भूमिका निर्वाह गर्नुपर्नेमा पत्रकारले नै ‘लौ खत्तम हुँदैछ, सबै स्वाहा हुने भयो’, भन्ने जस्ता सन्दर्भ जोडिदिँदा मिडियाग्राहीको आत्मबल झन् घट्छ । उनीहरूमा भय, त्रास र निराशा पैदा हुन्छ ।
कतिपय पत्रकारले ‘नालायक सरकार, निकम्मा दलहरू’ भनी गालीगलौज गरेको पनि पाइयो । पत्रकारले यसरी सीधै गालीगलौज गर्नु पक्कै पनि व्यावसायिक धर्म होइन । आचारसंहिताको परिपालना गरेको त यसै पनि देखिएन । सरकार र दलहरूको कमजोरी देखाउन खोजेको हो भने वास्तविक घटनाका साथै त्यसलाई सपोर्ट पुग्ने गरी विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै भन्न/लेख्न सक्नुपथ्र्यो ।
बढी नकारात्मक कोण
समाचार वा तस्बिर दिनेहरूले खालि भत्किएका, खण्डहर भएका र शवहरूको तस्बिर मात्र दिए, नकारात्मक विषयलाई मात्र देखाए । यसो हुँदा देश–विदेशबाट मिडिया पढिरहेका, सुनिरहेका, हेरिरहेका नेपाली, गैरनेपालीमा नेपाल ध्वस्तै/खत्तमै भएछ भन्ने नकारात्मक सन्देश गयो । समाचार दिँदा भुइँचालोले धक्का दिएको, भत्काएको तस्बिर र विवेचना मात्र दिइयो ।
विपत्कै बेलामा पनि आशा जगाउने खालको वा भनौँ मानिसको आत्मबल बढाउने किसिमका समाचार दिन सकिन्थ्यो । तर, मिडियाहरूले विपत्लगत्तैको धेरै दिनसम्म यो पाटोलाई ख्याल गरेको पाइएन । अहिले पनि कतिपय मिडियाले शवका तस्बिर, भुइँचालोपीडित र यसबाट त्रसित मानिसका चित्कार र भत्किएका संरचनाका दृश्य तथा छापा माध्यममा मिडियाग्राहीलाई निराश, त्रसित पार्ने समाचार शीर्षक र ‘हाइलाइट’ दिइरहेको पाइन्छ ।
प्रेस काउन्सिलको करकरी
प्रेस काउन्सिल नेपालले राष्ट्रिय विपत्को संवेदनशील घडीमा पत्रकारिताका मूल्य–मान्यता र आचारसंहिताको पालना गर्दै पूर्ण उत्तरदायी र जिम्मेवारपूर्ण भई समाचार सामग्री प्रस्तुत गर्न सम्पूर्ण पत्रकार र मिडियालाई करकरी लगाइरह्यो । वैशाख १३ गते काउन्सिलले विज्ञप्तिमार्फत ‘राष्ट्रिय विपत्मा संयमित तथा उत्तरदायीपूर्ण भई सत्यतथ्य समाचार सामग्री प्रकाशन/प्रसारण गरी उद्धार तथा राहतमा सहयोग पुर्याउन सम्पूर्ण सञ्चारमाध्यम तथा पत्रकारहरूलाई अनुरोध गरेको’ थियो ।
भुइँचालोसम्बन्धी समाचार सम्प्रेषण गर्ने नाममा केही सञ्चारकर्मी र स्वदेशी तथा विदेशी सञ्चार माध्यमहरूबाट वस्तुस्थितिको स्वच्छन्द र गलत प्रस्तुुति भइरहेको गुनासो आएपछि काउन्सिलले वैशाख १७ गते अर्काे विज्ञप्तिमार्फत पत्रकार र मिडियालाई जिम्मेवार र संयम बन्न पुन: करकरी लगाएको थियो । कतिपय विदेशी सञ्चार माध्यमहरूले राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पार्ने, पीडितलाई पीडा पुग्ने गरी सूचना सम्प्रेषण गरेको, वीभत्स दृश्य प्रकाशन/प्रसारण गरेको सन्दर्भमा सोही दिन पत्रमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी पनि गराएको थियो ।
केही अनलाइन माध्यमले ज्योतिषीहरूको हवाला दिँदै भुइँचालोसम्बन्धी समाचार सम्प्रेषण गरेपछि भय, त्रास र आतंक फैलाउने सामग्री प्रस्तुत नगर्न जेठ ४ गते काउन्सिलले अनलाइनहरूलाई ध्यानाकर्षण पत्र पठाएको थियो ।
समग्रमा, विपत्को अवस्थामा समाचार सम्प्रेषण गर्दा अक्षरश: पत्रकार आचारसंहिता पालना नहुन सक्छ तर संयमता अपनाउन भने जरुरी हुन्छ । विपत्मा कसरी समाचार संकलन र सम्प्रेषण गर्ने भन्ने सम्बन्धमा विगतमा अनुभव नभएको र तालिम तथा प्रशिक्षण दिने जस्ता कार्य नभएकाले पनि यस्तो भएको हुनसक्छ । अत: अब विपतको समयमा कसरी समाचार संकलन गर्ने भन्ने विषयमा पनि पत्रकारहरूलाई तालिम दिन जरुरी छ ।
खनाल प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत हुन् ।
Kantipur, 12 June 2015