हुलाकी न्यूज, काठमाडौ । गत बैशाख १२ गते गएको महाभूकम्पको विषयमा डकूमेन्ट्री तयार पार्ने विषयमा फोटो पत्रकारहरुबीच छलफल भएको छ । भविष्यमा फेरि यस किसिमको भूकम्प गएको खण्डमा क्षति न्यूनीकरण गर्ने र बच्ने उपाय बारे जानकारी होस् भन्ने ध्येयले मार्टिन चौतारीमा फोटो पत्रकारहरु बीच छलफल भएको हो ।
कान्तिपुर दैनिकका पूर्व फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिकसँग आवद्ध फोटो पत्रकार उमा विष्टले महाभूकम्पको बेला खिचेका विभिन्न खालका फोटोहरु कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले पत्रकारहरुको अनुभव सुनाउन पाउनु सुखद् कुरा भएको औंल्याउँदै आगामी पुस्तालाई गोर्खा भूकम्प र क्षतिका विषयमा जानकारी दिन पनि पुस्तक आकारमा फोटोहरुको डकुमेन्ट्री तयार पार्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा किशोर शर्मा, उषा तिंतिंछुं लगायतका फोटो पत्रकारहरुले आफूहरुले कुन फोटो प्रस्तुत गर्नु हुने र कुन फोटो प्रस्तुत गर्न नहुने भन्ने विषयमा जानकारी हुने गरी आवश्यक नियम तर्जुमा गर्न सञ्चार मन्त्रालयसँग सहकार्य हुनुपर्ने विषयमा जोड दिए ।
उषा तिंतिंछु सहजकर्ता रहेको कार्यक्रमका सहभागीहरुले विदेशीहरुले खिचेका समेत फोटो राखेर भएपनि विक्रम संवत १९९० सालको महाभूकम्पले पु¥याएका क्षति बारे समेत भावी पुस्तालाई जानकारी हुने गरी डकूमेन्ट्री बनाउन सके अझ उपयोगी हुने धारणा राखे ।