काठमाडौँ, २५ जेठ, वैशाख १२ को भूकम्पपछि पत्रकार यशोदा अधिकारी अहिलेसम्म आफू बस्ने कोठाभित्र पस्न सक्नु भएको छैन । उहाँले भन्नुभयो – “भूकम्पले मलाई यति आतङ्कित पारेको छ कि मलाई अहिले पनि कोठाभित्र छिर्न डर लाग्छ ।” नेपाल पत्रकार महासङ्घ र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) को आयोजनामा आज भएको ‘सन्डे क्लब’मा विभिन्न सञ्चारमाध्यमका सहभागी महिला पत्रकारले भूकम्पका बेला र त्यसपछिको अवस्थाबारे आफ्ना अनुभव बाँडेका थिए ।
सोही क्रममा आफ्नो अनुभव सुनाउँदै पत्रकार अधिकारीले भन्नुभयो – ‘मैले चार वर्षकी मेरी छोरीलाई अहिलेसम्म विद्यालय पठाउन सकेको छैन ।’भूकम्पका परकम्प अझै आउन नछाडेकाले पनि उनको यो डर थामिएको छैन ।
कार्यक्रममा आफ्नो अनुभव सुनाउने क्रममा अर्का पत्रकार अमिका राजथलाले अहिलेसम्म टेलिभिजनमा समाचार हेर्न नसकेको बताउनुभयो । भूकम्पलगत्तै टेलिभिजन च्यानलहरूले देखाएका वीभत्स दृश्यलाई उहाँले अझै पचाउन सक्नुभएको छैन ।
भूकम्पका कारण घर बस्न नमिल्ने भएपछि अहिलेसम्म बाहिरै बस्नुपरेको बताउँदै उहाँले भन्नुभयो – ‘पहिलो पटक गएको भूकम्पले भन्दा २९ गते गएको भूकम्पले ज्यादै त्रसित पा¥यो ।’
अर्का पत्रकार रुपा न्यौपानेले भने भूकम्पका कारण आफूले मृत्युलाई नजिकैबाट देखेको अनुभव गरेको बताउनु भयो । तेस्रो तलामाथि रहेको बेला पहिलो पटक भूकम्प गएको स्मरण सुनाउँदै उहाँले भन्नुभयो – ‘भूकम्पको धक्काले भन्दा पनि त्यसपछिको अवस्थाले मलाई अत्यन्त चिन्तित तुल्यायो । काठमाडौँ उपत्यकालगायतका विभिन्न जिल्लामा भूकम्पका कारणले भएको क्षतिले दुःखी बनायो ।’
विपद्पछि नुवाकोटमा राहत बाँड्न पुगेकी रुपाले त्यहाँ अर्को ठूलो भूकम्पको महसुस गर्नुभयो । पत्रकार त आएका छन् यहाँ अब त केही हुन्न डराउनुपर्दैन भनेर स्थानीयबासीले मन बुझाएपनि आफूले भने डरलाई लुकाउन नसकेको उहाँले बताउनुभयो ।
पत्रकार पार्वती थापामगरले भने विपद्का बेला पत्रकारले गहन जिम्मेवारी लिनुपर्ने अनुभव आफ्नो रहेको बताउँदै भन्नुभयो – ‘मेरो घर वरपरका छिमेकीले अब भूकम्प आउँछ कि आउँदैन भनेर बारम्बार सोध्ने मात्र हैन मेरो कुरामा विश्वास समेत गरेका छन् । त्यसैले पनि समाजप्रति पत्रकारको दायित्व महत्वपूर्ण हुन्छ ।’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पहिले आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी काम गर्न सहकर्मी पत्रकारहरुलाई सुझाव दिँदैै पत्रकारको ज्यानलाई जोखिममा पारेर काम लिने सञ्चारगृहप्रति महासङ्घ कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।
पत्रकारको बिमाका विषयमा समेत सञ्चार नीतिमा उल्लेख गर्न आफूहरूले तयारी थालेको उहाँको भनाइ थियो । विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत रविन अधिकारीले समाजले पत्रकारबाट धेरै आशा गर्ने भएकाले सर्वसाधारण मानिसलाई आतङ्कित पार्नेभन्दा पनि संयमित हुने खालका समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले तुलनात्मक रुपमा भूकम्पलगायतका प्राकृतिक विपद्बाट महिला बढी प्रभावित हुने गरेको बताउनुभयो ।
आजको खबर / रासस