काठमाडौँ, २७ जेठ, विनाशकारी भूकम्पबाट दैनिक पत्रिका राष्ट्रिय सञ्जालसँग सम्बद्ध केही पत्रकारहरुले पनि जनधनको क्षति व्यहोर्नुपरेको सो सञ्जालले जनाएको छ ।
सञ्जालका अनुसार सो संस्थाका पूर्व अध्यक्ष डा केशव देवकोटाको सल्लाघारीस्थित घर, उपाध्यक्ष विकल श्रेष्ठको भक्तपुरमा रहेको घर तथा महासचिव रामचन्द्र खड्काको सिन्धुपाल्चोकमा रहेको घर पूर्णरुपमा ध्वस्त भएको छ ।
त्यस्तै, उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेको चाबहिलस्थित घरमा आंशिक क्षति पुगेको छ भने सचिव ज्ञानप्रसाद पौडेलको रामेछापमा रहेको घर पूर्णरुपमा ध्वस्त हुनुका साथै उहाँकी भतिजी कृपा पौडेलको मृत्यु भएको छ ।
साथै, कोषाध्यक्ष नेत्रबहादुर बस्नेतको सिन्धुपाल्चोकस्थित घर पूर्णरुपमा ध्वस्त हुनुका साथै उहाँकी श्रीमती र छोरा घाइते भएको सो संस्थाले जनाएको छ ।
सो संस्थाका अध्यक्ष जेपी गुप्ता ‘मायालु’ले हालैको भूकम्पबाट पत्रकारहरु पनि प्रभावित भएको भन्दै पीडितलाई तत्काल राहत, पुनःस्थापना र पुनःनिर्माण गर्नका लागि चाँडोभन्दा चाँडो पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।
संस्थाले भूकम्पका कारण साना लगानीका पत्रपत्रिकाहरु बन्द हुने अवस्थामा पुगेकाले यस्ता पत्रपत्रिकालाई विशेष राहतको व्यवस्था गर्नुपर्ने, सूचना विभागमार्फत दिइँदै आएको लोक कल्याणकारी विज्ञापन पत्रिकाको किसिमका आधारमा सबैलाई समान ढङ्गले उपलब्ध गराइनुपर्ने तथा सानो लगानीका स्वरोजगारमूलक पत्रपत्रिकाहरुको छुट्टै वर्ग घोषणा गरी विशेष सुविधा र आरक्षणको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
आजको खबर / रासस