पत्रकार खनाल ४ घण्टापछि मुक्त
२६ जेठ, नुवाकोट । समाचार संकलनका क्रममा पक्राउ परेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका कोषाध्यक्ष एवं अनलाइनखबर डटकमका नुवाकोट संवाददाता कपिलदेव खनाललाई प्रहरीले ४ घण्टापछि मुक्त गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा समाचार संकलन गर्न पुगेका खनाललाई प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले दृष्य र आवाज रेकर्ड गर्न नमिल्ने भन्दा विवाद भएको थियो । त्यसपछि खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसअघि अर्थमन्त्रीका पीए रमेश महतको जस्ता प्रकरणबारे खनालले अनलाइनखबरमा समाचार लेखेपछि महतले अर्थमन्त्रीको स्वकीय सचिवबाट राजीनामा दिएका थिए । यो प्ररकणमा जिल्ला प्रशासन कार्यालयले महतलाई कारवाही नगरी बचाउन खोजेको जिल्लास्थित सञ्चारकर्मीहरुले आरोप लगाइरहेका बेला समाचार लेख्ने पत्रकारलाई गिरफ्तार गरिएको हो ।
राष्ट्रिय समाचार समिति र इमेज च्यानल टेलिभिजनको नुवाकोट संवाददाता समेत रहेका खनाललाई प्रमुख जिल्ला अधिकारी निरौलाको निर्देशन अटेर गरी आवाज रेकर्ड गर्न खोजेकाले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।
जस्तापाता अनियमितताको सम्बन्धमा यसअघि अर्थमन्त्रीका स्वकीय सचिव रमेश महतले काठमाडौमा पत्रकार सम्मेलनको क्रममा पनि कारोबार दैनिकका पत्रकार शिव बोहोरामा माथि आक्रमण गरी घाइते बनाएका थिए ।
दुई साताअघि नुवाकोट पुर्याएको राहतको जस्तापाता अर्थमन्त्रीका तत्कालिन स्वकीय सचिव रमेश महतले अनियमितता गर्न लागेको भन्दै जिल्लाका राजनीतिक दल र नागरिकहरुले बिरोध जारी राख्दै आएका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा बैंकका नायव महाप्रबन्धक राजन अमात्यले सामाजिक उत्तरदायित्व अन्तरगत सेवा पुर्याउन व्यक्ति मार्फत राहत पठाएकाले अनियमितता हुनै नसक्ने जिकिर गरेका छन् ।
जस्ता अनियमिततामा संलग्नलाई पक्राउ गर्न जिल्लाका दल र स्थानीयले माग गर्दै आए पनि घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको भन्दै प्रमुख जिल्ला अधिकारीले आफूले केही पनि गर्न नसक्ने बताउँदै आएका छन् ।
पत्रकारलाई पक्राउ गरेपछि बैठकमा सहभागी राजनीतिक दल र पत्रकारहरुले प्रेसमाथिको हस्तक्षेप र अनियमितताको संरक्षण गर्न प्रमुख जिल्ला अधिकारी नै क्रियाशील रहेको भन्दै आपत्ति जनाएका छन् ।
यसैवीच नुवाकोटका प्रमुख जिल्ला अधिकारी निरौलाले आफूलाई जुत्ताले हान्छु भनेका कारण पक्रेको बताएका छन् । तर, पत्रकार महासंघका पदाधिकारीहरुले चाँहि जस्ता काण्डबारे भइरहेको बैठकको श्रव्य दृश्य सामाग्री खिच्न खोज्दा खनाललाई पक्राउ गरिएको बताएका छन् ।
Online Khabar, 9 June 2015
नुवाकोट जस्ता बिक्री प्रकरणः सिडिओको निर्देशनमा डिएसपीले समाते पत्रकारको कठालो
नुवाकोट, २६ जेठ– जिल्ला दैवीप्रकोप उद्धार समिति बैठकमा सहभागीले बोलेका विषय रेकर्ड गरेको आरोपमा नुवाकोटका पत्रकार कपिलदेव खनाल पक्राउ परेका छन् ।
स्थानीय रेडियो त्रिशुलीका सञ्चालक तथा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका कोषाध्यक्षसमेत रहेका खनाललाई विदुरस्थित कर्मचारी मिलन केन्द्रमा बसेको बैठकबाटै सोमबार पक्राउ गरिएको हो ।
प्रहरीले खनालविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ । अर्थमन्त्री रामशरण महतका पूर्वस्वकीय सचिव रमेश महतले भूकम्पपीडितका लागि इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता बिक्री गर्न खोजेको विषयमा छलफल चलिरहेका बेला रेकर्ड गरेको आरोपमा खनाललाई पक्राउ गरिएको हो ।
महतविरुद्ध जिल्ला प्रशासन कार्यालय नुवाकोटमा जस्ता काठमाण्डु ल्याएर बेच्न खोजेको दाबीसहित उजुरी दर्ता भएको छ । महतको पक्षमा प्रष्टीकरण दिन पुगेका इन्भेष्टमेन्ट बैंकका कर्मचारीले बोलिरहेका बेला खनालले उनको आवाज रेकर्ड गरेका थिए ।
त्यस विषयमा विवाद भएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा प्रहरी प्रमुख नायब उपरीक्षक अरुण पौडेल आफैंले खनाललाई पक्राउ गरेका थिए ।
यसैबीच पत्रकार महासंघसहित सञ्चार सम्वद्ध विभिन्न संघसंस्थाले समाचारको विषयमा पत्रकारलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
Kathmandu Today, 9 June 2015
सिडिओलाई जुत्ता हान्छु भनेपछि पक्राउ परेका पत्रकार रिहा
[caption id="" align="alignnone" width="528"]
तस्बिर साभार : रामहरि न्यौपानेको फेसबुकबाट[/caption]
काठमाडौं : नुवाकोटमा प्रमुख जिल्ला अधिकारीलाई जुत्ता हान्छु भनेपछि पक्राउ परेका पत्रकार कपिलदेव खनालले आफूले गल्ती महसूस गरेको र आइन्दा अभद्र व्यवहार नगर्ने बताएपछि छाडिएको छ।
जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठकमा पत्रकारलाई प्रवेशको विषयमा विवाद हुँदा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई जुत्ता हान्छु भनेपछि रेडियो त्रिशुलीका अध्यक्ष रहेका खनाल पक्राउ परेका थिए। खनाल नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका कोषाध्यक्ष पनि हुन्।
यसअघि आफूलाई अपशब्द प्रयोग गरेकाले उनलाई पक्राउ गर्न लगाएको प्रमुख जिल्ला अधिकारी निरौलाले पहिलोपोष्टलाई बताएका थिए। 'दैवीप्रकोप उद्दार समितिको बैठकमा अरु दिन जस्तै आज पनि पत्रकारहरु आउनुभएको थियो, छलफलकै क्रममा उहाँले मलाई 'तँलाई जुत्ता हान्छु' भन्नुभयो त्यसपछि मैले पक्राउ गर्न लगाएँ' उनले टेलिफोनमा भने।
भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न मंगलबार जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक आयोजना गरिएको थियो। बैठकमा केही दिन अगाडि सार्वजनिक भएको जस्तापाता बिक्री काण्डको विषयमा छलफल हुँदै थियो। छलफलका लागि जस्तापाता सहयोग गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधि पनि पुगेका थिए।
त्यसैले प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारहरुलाई बैठकका गतिविधि रेकर्ड नगर्न आग्रह गरेका थिए। त्यसपछि पत्रकार खनालले 'त्यसो भए जुत्ता हान्छु' भन्ने अभिव्यक्ति दिएका बैठकमा सहभागी एक पत्रकारले बताए। प्रमुख जिल्ला अधिकारीलाई अपशब्द प्रयोग गरेपछि पक्राउ गरेको प्रहरी प्रमुख अरुण पौडेलले बताए।
Pahilo Post, 9 June 2015