नेपाल पत्रकार महासंघले महाभूकम्प र लगातारका पराकम्पनबाट महिला पत्रकारहरूमा पारेको असर र मिडियाले खेल्नुपर्ने भूमिकाको सन्दर्भमा सोमबार महासंघ केन्द्रीय कार्यालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघका साथै क्रियाशील पत्रकार महिला समूह, सञ्चारिका समूह र अस्मिता प्रकाशन गृहसमेतको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले भूकम्पको कारण सिर्जित विपत्को अवस्थामा पत्रकारहरूले आ–आफ्नो क्षेत्रमा क्रियाशील रहेर जनतालाई सुसूचित पार्ने भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेकोमा सराहना गर्नुभयो । अनेकौं समस्याका बाबजुद पत्रकार महिलाले निडरताको साथ आफ्नो भूमिका निर्वाह गरेको बताउँदै उहाँले आगामी दिनमा विपत्को अवस्थामा आफू सुरक्षित हुँदै कसरी जनतालाई सुसूचित गर्ने भन्ने विषयमा पत्रकारहरूमाझ तालिम, वहस र छलफललाई अगाडि बढाएको पनि बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा विपत् व्यवस्थापनको क्षेत्रमा काम गरिरहनु भएका रविन अधिकारीले भूकम्पपश्चात आम मानिसको जनजीवनलाई सामान्यीकरण गर्दै आगामी दिनमा आउनसक्ने हरेक खालका प्राकृतिक प्रकोपबाट सुरक्षित रहन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुसक्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दू, महासचिव उजिर मगर, सचिव संगीता खड्का, कोषाध्यक्ष सूर्यमणि गौतम, क्रियाशील पत्रकार महिलाका अध्यक्ष शुभेच्छा बिन्दूलगायत सञ्चारिका समूह, अस्मिता प्रकाशन गृहका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा सहभागी मिडियाकर्मीले पहिले आफूलाई सम्हालेर अरूको मनोवल बनाउने अभियानात्मक खालका समाचार प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले भूकम्पको जोखिमपूर्ण अवस्थामा आफूहरूले रिर्पोटिङ गर्दाको अनुभव राख्दै आगामी दिनका लागि विपत्कालीन अवस्थामा पत्रकारले रिपोर्टिङ गर्न अपनाउनु पर्ने सचेतताका विषयमा तालिम आवश्यक रहेको बताएका थिए । महासंघले यसअघि प्रभावित जिल्लाका साथै राजधानीमा सम्पादकहरू, अनलाइन पत्रकारहरू तथा विभिन्न संघसंगठनसँग पनि चरणवद्धरूपमा छलफल गरिसकेको सचिव संगीता खड्काले बताउनुभयो ।
Nepalpati, 8 June 2015