१२, १३ र २९ वैशाखको विनाशकारी महाभूकम्प र त्यसयताका लगातार पराकम्पनका कारण सिंगो देश अस्तव्यस्त हुँदा दिनरात नभनी समाजलाई सूचना प्रवाह गर्ने सञ्चारकर्मी मात्र अछुतो रहने कुरा भएन ।
भूकम्पले सयौँ पत्रकारको घरबास उठ्यो, सञ्चारसामग्री ध्वस्त भयो । धेरैका आफन्त गुमे, गोरखापत्रमा कार्यरत मकवानपुरका युवा पत्रकार सुमन भोम्जनको महाबौद्धस्थित डेरामै पुरिएर निधन भयो । सिन्धुपाल्चोकमा रेडियोमा आंशिकरुपमा पत्रकारिता गर्ने दुई पत्रकारको भूकम्पकै कारण निधन भयो । १२ पत्रकारको एकाघरको परिवारको निधन भयो भने देशभरका अधिकांश पत्रकार कार्यक्षेत्रबाट विस्थापित हुने अवस्था बन्यो । थुप्रै पत्रकार घाइते भए । तर अत्यन्त जोखिमका बेला पनि आम पत्रकारले जिम्मेवार र उत्तरदायित्वपूर्ण ढंगले जतिसुकै चुनौतीबीच पनि कार्यक्षेत्रमा कमान्ड सम्हालिरहे ।
पीडित पत्रकारको चह¥याइरहेको घाउमा मल्हम लगाउन केही पत्रकारका अगुवा सक्दो लागिरहे । आम पत्रकारको नेता संगठन नेपाल पत्रकार महासंघले पनि महाभूकम्मबाट प्रभावित पत्रकार तथा सञ्चार क्षेत्रमा तत्काल उद्धार, राहत र सहयोगका लागि महासंघका केन्द्र तथा शाखा÷एसोसिएट संस्था सम्पूर्ण रुपमा परिचालन ग¥यो । त्यतिमात्र होइन मिडिया, मिडियाकर्मी, सरकार र आम जनता जोड्न सेतुको रुपमा काम गर्ने प्रेस काउन्सिलले पनि यस्तो बेला आफ्नो सक्रिय उपस्थिति देखाएर पीडित पत्रकारको पीडामा राहत दिन लागिप¥यो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, रिपोर्टर्स क्लबलगायतका संघ संस्थाको पनि पत्रकारको तात्कालिक राहत र उद्धारका लागि निकै लागे ।
महासंघले यसक्रममा भएका क्षतिका विवरण संकलन गर्ने कार्य जारी राखेको छ भने महाभूकम्पपीडित सञ्चारकर्मीलाई आवश्यक सहयोग गर्न नेपाल इन्भेस्टमेन्ट बैंक, पुतलीसडक शाखामा रहेको चल्ती खाता नम्बर ०१२०१०२०२५२६४५ मा ‘महाभूकम्प पीडित पत्रकार राहत तथा सहयोग कोष–०७२’ स्थापना गरिएको छ ।
महासंघले आफ्नो पाचौँ केन्द्रीय कमिटी बैठकबाट पत्रकारको पुनर्निर्माणका लागि विशेष एजेन्डा अघि सार्ने तयारी गरेको छ । ३० वैशाखमा भूकम्प अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा गर्न लागेको केन्द्रीय बैठकले भूकम्प प्रभावित सञ्चारकर्मीका लागि विशेष योजना अघि सार्ने तयारी गरिएको कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिए । ‘केही विशेष र सहुलियत हुनेगरी कार्यक्रम अघि सारी मोफसलमा प्रत्यक्ष लाभ दिन सकिएन भने जिल्लाका सञ्चारसंस्था बन्द हुन्छन्, त्यसो भएपछि त्यसमा आस्रित पत्रकार पनि पलायन हुनुको विकल्प रहँदैन,’ उनले भने, ‘त्यही भएर ल्यापटप, क्यामेरालगायतका उपकरण खरिद वा भत्किएका छापाखाना र रेडियो स्टेसनलाई पुनर्निर्माण गर्न अनुदान, ऋण सहुलियतका लागि सरकारसँग वा अन्य दातृनिकायसँग सहकार्य गरी केही प्याकेज अघि सार्ने तयारीमा छौँ ।’
पालका भरका चलेका अधिकांश जिल्लाका रेडियो यही रुपमा वर्षा कट्न नसक्ने भएकाले तिनलाई कसरी निरन्तरता दिने भन्ने महासंघलाई चिन्ता छ । त्यतिमात्र होइन एक हजार भन्दा बढी देशभरका पत्रकार निजी निवास गुमाएर विस्थापित छन् । तिनीहरु सबैको नजर महासंघले केही देखिने गरी सहयोग गर्छ र पूर्ववत ढंगले पेशामा फर्किन सकिन्छ भन्नेतिर परेको छ । महासंघले यसका लागि सरकारसँग लबिङ गर्नुका अतिरिक्त अन्तर्राष्टिय पत्रकार महासंघ (आइएफजे), युनेस्कोलगायतका अन्य सञ्चारसम्बन्धी संस्थाले पनि चासो व्यक्त गरेकाले केही प्याकेज ल्याउन सकिने आशा गरेको बताइन्छ ।
नेपाल पत्रकार महासंघमा १० हजार ७७ सदस्य छन् भने महासंघको सदस्यता नलिएका तर पत्रकारिता गरिरहेकाको संख्या पनि उत्तिकै छ । यो हिसाबले हेर्दा क्रियाशील सञ्चारकर्मी करिब १५ हजार रहेको र त्यसमध्ये भूकम्पप्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, गोरखालगायतका जिल्लाका सञ्चारकर्मी सबैभन्दा पीडामा छन् ।
त्यसो त अहिले केही पत्रकारका नेता आफैँ पीडामा छन् । प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल र प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी अत्यन्त प्रभावित जिल्ला सिन्धुपाल्चोक र दोलखाका हुन् । उनीहरु अहिले आफैँ गाउँमा टहरो कहाँ हाल्ने र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने तनावमा छन् ।
त्यसो त पत्रकारको समस्या अति प्रभावित १३ जिल्लामा मात्र होइन । सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा पनि उस्तै छ । भर्खरै ती जिल्लाको भ्रमण गरेर पत्रकारसँग भेटघाट गरी काठमाडौँ फर्किएका नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्साल भन्छन्, ‘अहिलेसम्म भूकम्पले त्यति प्रभाव नपारे पनि एकपटक भूकम्प आउने हो भने बाजुरा, बझाङ जस्ता स्थान एकैचोटी ध्वस्त हुने र सञ्चारकर्मीको अवस्था पनि के हुने हो भन्ने भय देखिन्छ ।’ उनले अहिलेबाटै सावधानी अपनाउन जरुरी रहेको बताए ।
पत्रकारहरुसँग छलफल गर्दै नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको टोली । तस्बिरः किशोर श्रेष्ठको फेसबुकबाट ।
Nepalese.org, 6 June 2015