उमेर (Age):
38
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
म आफ्नै घरभित्र बसेर नियमित कार्यस्वरूप कम्प्युटरमा सम्पादनको काम गरिरहेको थिएँ । अचानक ठूलो भूकम्प गएको महसूस हुनासाथ घरबाट बाहिरिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
भूकम्पले घर हल्लाउन सुरू गरेपछि स्वभावतः अतालियौँ । फेरि यस पटक भूकम्प अत्याधिक जोडका साथ आएको थियो, ०४५ सालका भूकम्पका केही स्मृति रहेको, ०६८ सालको धक्का र त्यसपछि पनि बेलाबेलामा आइरहने धक्का महसूस भइरहेकाले भूकम्प आउनासाथ घरपरिवारका सदस्यहरुको सुरक्षालाई महत्वमा राखेँ र खुल्ला स्थानमा जाऔं भनेर कराउन थालेँ । म व्हीलचेयर प्रयोगकर्ता भएकाले सहज रूपमा बाहिर निस्कन असम्भव नै थियो । श्रीमतिका सहयोगले तत्काल घरबाट बाहिर निस्किएर सुरक्षित खुल्ला स्थानमा पुग्यौँ, तर बाटो व्हीलचेयरमैत्री नभएको, खाल्डाखुल्डी, पखेरातिर भएकाले निकै ठूलो सकस भयो ।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
सञ्चारकर्मी भएका नाताले नियमित काम अवरूद्ध हुने चिन्ता लागिरह्यो । पहिलो धक्का रोकिएपछि फेरि घरभित्र प्रवेश गरेर आफ्नो सम्पादन कार्य जारी राखेँ, बत्ती र इन्टरनेट तत्काल काटिएकाले वैकल्पिक विधिबाट प्रबन्ध गरेँ र मोबाइललाई नै मोडेमका रूपमा प्रयोग गरेर सूचना इमेलमार्फत पठाइ रहेँ ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
सूचना पाउन निकै कठिनाइ थियो, न बत्ती, न इन्टरनेट । तर केही समय ल्यापटप र मोबाइलका ब्याट्रीले धानेकाले तत्कालीक सूचना भने प्रवाह भयो । तर ५ दिनसम्म बत्ती नभएपछि भने अर्को समस्या भयो । छिमेकीका सोलार बत्तीमा मोबाइल चार्ज गरेर सूचना प्रवाह गरेँ ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
सबैभन्दा राम्रो काम नेपाल टेलिकमले नै गर्यो, किनकि उसका सूचना प्रवाहमा कटौती भएन । रेडियो नेपालको भूमिका प्रशंसनीय रह्यो । म आफै दैनिक पत्रिकामा संलग्न भएकाले एक दिनबाहेक हामीले प्रकाशन रोकेनौँ, नियमित सूचना प्रवाहका काम जारी राख्यौँ ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake-- what you did, etc.).
सञ्चारकर्मी भएका नाताले ज्यानको सुरक्षासँगै सूचना प्रवाह महत्वपूर्ण थियो । बाहिर खुल्लास्थानमा ल्यापटप र मोबाइलका सहाराले सम्पादन कार्यमा संलग्न भइ रहेँ ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
भूकम्पको पहिला धक्कापछि फेरि फर्केर काम गर्न थालेँ, फेरि हल्लाउन थालिहाल्यो । श्रीमती र छोराछोरीका सहायताले बाहिर गयो, अब आउँदैन भनेर फेरि फर्केर ल्यापटप खोल्यो. फेरि हल्लाउन सुरू गर्ने । बाहिर प्लास्टिकका पालमुनि ४ दिनसम्म व्हीलचेयरमा बस्दा डिहाइड्रेसन, ज्वरोका साथै बेडसोरले गम्भीर समस्या उत्पन्न गर्यो । बेडसोरका उपचार गर्न अस्पतालहरूमा सबै भूकम्प पीडितले भरिएको, ट्याक्सी नपाउने । घरैमा उपचार गर्न ड्रेसिङ कटन, कटन गेज, घाउ सुक्खा पार्ने पाउडर केही पाइएन । निकै सकस भयो ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
मूल कमजोरी त हाम्रा पूर्वाधारहरूमै देखियो, त्यसले धेरै ठूलो जनधनको नोक्सानी गर्यो । अर्को मुख्य कमजोरी सरकारको सूचना प्रवाहसम्बन्धी संयन्त्रमा रह्यो । सरकारले समयमै उचित सूचना प्रवाह गराउन नै सकेन । विपत व्यवस्थापनसम्बन्धी संयन्त्रका अभाव खड्कियो । विपतका बेला सञ्चारकर्मीले के गर्ने, कस्ता सूचना प्रवाह गर्ने भन्ने विषयमा जानकारी र प्रशिक्षणहकाे पनि अभाव खड्कियो, जसका कारण जानअन्जानबस जनमानसमा त्रास सिर्जना हुने सूचना, भयभित तुल्याउने तस्बिर र भिडियो दृष्यहरू सार्वजनिक हुन पुगे । उत्प्रेरक सूचनाहरूको अभाव रह्यो । प्रकोपका रिपोर्टिङलाई १-२ जना रिपोर्टरको मात्र दायित्व मानिदिँदा अरू सञ्चारकर्मीहरू समग्र प्रकोप सूचना सम्प्रेषणका मामिलामा कमजोर ठहरिए ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।