आजभोलि कोभिड-१९ खोप विकासमा भैरहेका प्रगतिका समाचारहरु बढ्दो संख्यामा पढ्न पाइन्छ। यस्ता समाचार उत्साहपूर्ण छन् तर तिनलाई अझ गुणस्तरीय बनाउन कतिपय पक्षहरुमा ध्यान दिनु पर्ने देखिन्छ। इन्टरनेटमा खोप रिपोर्टिङबारे थुप्रै आधिकारिक र भरपर्दा सूचनाहरु उपलब्ध छन् तर अधिकांश अंग्रेजी भाषामा प्रकाशित छन्। यो टिप शीट 'इन्टरन्युज' र 'जर्नालिस्ट रिसोर्स'ले तयार गरेका सामग्रीहरुबाट भावानुवाद गरिएको हो।
कोभिड-१९ खोपबारे याथार्थ्य रुपमा कसरी रिपोर्टिङ गर्ने?
- खोप विकासबारे के कुरा थाहा भैसकेको छ र के थाहा भैसकेको छैन, खुलाउने। आकर्षक हेडलाइन लेख्ने सुरमा आफ्नै निष्कर्ष नदिने।
- खोप विकासमा लागेको कम्पनीले प्रचार गरेको "प्रेस रिलिज"मा आधारित भएर समाचार नलेख्ने; सम्बन्धित अध्ययन रिपोर्ट वा जर्नल आर्टिकल माग्ने र उक्त अध्ययन गर्ने कार्यमा संलग्न नरहेका स्वतन्त्र बिज्ञहरुको परामर्श लिने।
- ट्रायलहरु द्रूत गतिमा भैरहेका छन्, सकेसम्म पछिल्लो/ताजा सूचना संकलन गर्ने। खोपका क्लिनिकल ट्रायलबारे ट्रयाक गर्ने साइटहरुबाट जानकारी लिइरहने।
- खोप विकास प्रक्रियाबारे स्पष्ट गर्ने र आफ्ना पाठक-दर्शकले बुझ्ने भाषामा उदाहरणहरु दिने।
- आफ्ना पाठक-दर्शकका प्रश्न र सरोकारहरूलाई आफ्नो रिपोर्टिङमा सम्बोधन गर्ने।
- सहजै अरु प्रश्नहरु सोध्न पाठक-दर्शकलाई सहयोग गर्ने माध्यमहरु विकास गर्ने। उनीहरुलाई सुन्ने, सम्बोधन गर्ने र पुन: सुन्ने कार्यको चक्र नियमित हुनु पर्छ।
- बलियो स्वास्थ्य प्रणाली, प्रयाप्त टेस्टिङ क्षमता, सुरक्षात्मक उपायहरुको कार्यान्वयन, र सुरक्षित र प्रभावकारी तथा सर्वत्र उपलब्ध खोपमा हुने पहुँच समुदायहरुलाई कोभिड-१९ बाट बचाउनमा महत्वपूर्ण हुन्छन् भन्ने कुरा रिपोर्टिङमा खुलाउने।
- जन-सेवी पत्रकारिताका खातिर कुनै पनि खोप विकास कार्यक्रममा शुरुदेखिनै कोभिड-१९ खोपमा सर्वव्यापी, न्यायसंगत, र सुलभ पहुँच हुने अवस्थाहरु निश्चित गर्न पत्रकारहरुले स्वास्थ्य अधिकारीहरुमा दबाव दिने गर्नु पर्छ।
- गरीब समुदाय/देशहरुलाई प्रतिरक्षणमा समावेश गर्न वकालत गर्ने। स्मरणीय छ, अहिले कतिपय धनी देशहरुले आफ्ना जनतालाई प्राथमिकता राखी अग्रिम रुपमा बढी भन्दा बढी खोप जम्मा गर्ने गरिरहेका छन् र 'भ्याक्सिन नेसनालिज्म'को आरोप पनि खेपिरहेका छन्।
- विभिन्न स्वास्थ्य बिज्ञ, स्वास्थ्य कर्मी, रिसर्चरहरुका कामहरुलाई बिशेष आकर्षणका रुपमा प्रस्तुत गर्न र मानवीयकरण गर्न उनीहरुबारे व्यक्तिचित्र लेखहरु प्रकाशित गर्ने। बैज्ञानिक रिसर्चलाई "शोकेस" गर्नाले समुदायहरुमा बिज्ञान-साक्षरतामा बढावा हुन्छ र अफवाह र छद्म बिज्ञान फैलिन पाउँदैन।
- खोपको ट्रायलमा सहभागीका "स्टोरी" प्रकाशित गर्ने। यसो गर्दा उनीहरुको गोपनियताको कदर गर्ने।
(इन्टरन्युज, अक्टुबर २७, २०२०)
कोरोनाभाइरस खोप रिपोर्टिङ: पाठकहरुमा तथ्यको सुई लाउन पत्रकारलाई मद्धत पुर्याउने ५ वटा टिप्सहरु
१. क्लिनिकल ट्रायलका विभिन्न चरणहरु हुन्छन्, जस्तो कि पहिलो चरणको ट्रायलले खोप कति प्रभावकारी छ भन्नेबारे खासै केहि किटान गर्दैन। प्रत्येक चरणको सीमा र उपादेयताबारे राम्ररी बुझेर मात्र लेख्नु विवेकी कार्य हुनेछ।
त्यस्तै, प्रारम्भिक चरणको खोप सम्बन्धि रिसर्चबाट प्राप्त तथ्यांकलाई प्रेस रिलिज मार्फत बढाइचढाइ प्रचार-प्रसार गर्ने गरिएका दृष्टान्तहरु पनि छन्। प्रेस रिलिजमा उल्लेखित विवरणहरु बैज्ञानिक जर्नलमा प्रकाशित लेखहरुमा जस्तो तथ्यपरक हुँदैनन् भन्ने कुरा पनि बुझु आवश्यक छ।
२. खोपको ट्रायलमा सहभागी पेसेन्टहरुले अनुभव गर्ने वा गर्न सक्ने "साइड इफेक्ट" बारे पारदर्शी भै स्पष्ट रुपमा रिपोर्टिङ गर्नु पर्छ। यसो गरे पछि सोसल मिडियामा देखा पर्ने प्रतिक्रियाहरु (समाचार सम्बन्धि गुनासा, टिप्पणी) लाई न्यून गर्न पनि सकिन्छ।
३. ट्रायलमा सहभागीहरुको डेमोग्राफी अर्थात् जनसांख्यिकी आफ्ना पाठकसामु स्पष्ट गर्नु पर्छ। जस्तो कि, "ट्रायलमा २० देखि ४० बर्षका पेसेन्ट सहभागी थिए"। यसरी उल्लेख गर्नाले ६० देखि ८० बर्षका पेसेन्ट वा अन्य उमेर समूहमा उक्त ट्रायलको परिणाम लागू हुँदैन भन्ने स्पष्ट गर्न सकिन्छ।
४. ट्रायलमा रहेको खोपबारे के-कति कुरा जानकारीमा छन् भन्ने सीमा बारे बुझ्न आफ्ना पाठक वा दर्शकलाई सहयोग गर्ने। खोपको द्रूत विकासमा लागेका रिसर्चकर्तालाई पनि साइड-इफेक्टहरु बारे थाहा पाउन समय लाग्न सक्छ भनी कुरा बुझाउने।
५. बिज्ञ वा स्रोतको नेटवर्क तयार गर्ने जसको सहयोगले ट्रायलमा रहेको खोप सम्बन्धि तथ्यांकहरु बुझ्न सजिलो होस्। तथ्यांकलाई केलाउन बढी भन्दा बढी विज्ञहरुका सुझावहरु लिने। रिपोर्टरहरुले प्रायस: रिसर्च आर्टिकलका शब्दहरु पढ्ने गर्छन् जबकि महत्वपूर्ण सूचना तथ्यांकहरुमा हुन्छन्।
(जर्नालिस्टस् रिसोर्स, अगस्ट २३, २०२०)
अन्य सम्बन्धित सामग्री
खोप १०१: खोपबारे रिपोर्टरका लागि सम्पूर्ण निर्देशन – खोप कसरी तयार गरिन्छ र तिनले कसरी काम गर्छन् भन्नेबारे बिशेषज्ञ क्याथरिन क्रिपके। (हेल्थ जर्नालिज्म, मे १०, २०२०)
कोभिड-१९ खोप प्रयासहरु: बिज्ञान पत्रकार जन कोहेन स्पष्ट गर्छन् – भिडियो सहित (पुलिट्जर सेन्टर, अप्रिल १७, २०२०)
खोपबारे मिडिया रिपोर्टिङ (भ्याक्सिनेसन डिसिजन, मिति उल्लेख नगरिएको)
खोप १०१: नयाँ खोपहरु कसरी तयार गरिन्छ? (नेचर भिडियो, सेप्टेम्बर २८, २०२०)
खोप हिचकिचाहट (vaccine hesitancy) बारे जिम्मेवारीपूर्ण ढंगमा रिपोर्टिङ गर्न पत्रकारहरुलाई मद्धत गर्ने टिप् शीट (हेल्थ जर्नालिज्म, मार्च १३, २०२०)