नेपाली मिडियामा कोरोनाभाइरस रिपोर्टिङ र लेखनको भाषा र शैलीमा कतिपय असंगत वा नमिल्दो प्रयोगहरु देख्न सकिन्छ, र कति त रोचक पनि लाग्छन्। 'विपद् रिर्पोटिङ स्रोत'ले सबै मिडियाकर्मी र मिडियाका प्रयोगकर्तालाई उपयोगी होस् र शैलीलाई अझ परिष्कृत गर्न सकियोस् भनेर प्रकाशित गरेको टिप शीट।
पत्रकारितामा बढी भन्दा बढी पाठक, श्रोता वा दर्शकले बुझ्ने जनबोलीको भाषा प्रयोग गर्ने चलन छ। कोभिड-१९ को रिपोर्टिङमा चिकित्साशास्त्र र विज्ञानसम्बन्धी थुप्रै प्राविधिक शब्दावली प्रयोग गर्नु पर्ने हुन्छ।
यिनको प्रयोगमा सकेसम्म सरलता र एकरुपता अपनाउनु पाठकीय दृष्टिकोणमा फलदायी हुन्छ। प्रशासनिक र प्राविधिक शब्दहरु भरसक प्रयोग नगर्नु उचित मानिन्छ। कतिपय प्राविधिक वा विदेशी शब्दको नेपाली समकक्षी वा ठ्याक्कै उही अर्थ दिने शब्द पाईंदैन पनि। यस्तो अवस्थामा जनबोलीमा झुन्डिइसकेका अंग्रेजी शब्दहरु नै प्रयोग गर्ने गरिएको पाइन्छ।
कोरोनाभाइरस रिपोर्टिङमा विशेषत: नेपाली भाषा र शैलीबारे मिडियाकर्मीका लागि उपयोगी हुने ठानी ‘विपद् रिपोर्टिङ रिसोर्स’ले यो टिप शीट तयार गरेको हो। यसलाई अपडेट गर्दै लैजाने हाम्रो योजना छ।
नेपाली मिडियामा कोभिड-१९ रिपोर्टिङको भाषा-शैली र यो टिप शीटलाई अझै परिष्कृत गर्नेबारे तपाईंका सुझाव, टिप्पणी हामीलाई यहाँ पठाउन सक्नु हुन्छ। सान्दर्भिक सुझाव, सामग्रीलाई हामी समाविष्ट गर्ने प्रयास गर्नेछौं।
आ
आइसोलेसन (isolation), सेल्फ-आइसोलेसन (self-isolation), क्वारनटिन (quarantine) – रोग लागेको वा लक्षण बिनै पोजिटिभ देखिएको व्यक्तिलाई अन्य व्यक्तिभन्दा टाढै राख्ने अभ्यासलाई आइसोलेसन र त्यसरी आफैं टाढै बसे सेल्फ-आइसोलेसन भनिन्छ। कोभिड-१९ लागिसकेको मानिसको निकट सम्पर्कमा आइसकेको व्यक्तिलाई अरु मानिसभन्दा टाढै राख्ने कार्यलाई भने क्वारनटिन भनिन्छ। यी दुई फरक कुरा हुन् तर मिडियामा एउटै जस्तो गरी प्रशस्तै समाचारहरु आएका छन्। क्वारन्टिन, क्वारेन्टिन, क्वारन्टाइन, क्वारेन्टाइन → फरक स्वरुप/हिज्जेहरु प्रयोगमा छन्; एकनास प्रयोग गर्ने। क्वारेनटान, क्वारिनटान होइन।
आंकड़ा, संख्या, प्रतिशत, आदि − संख्याको स्केल जनाउन अल्पविराम प्रयोग गर्ने ("५०,००० संक्रमित भए") वा मुख्य संख्यालाई स्केल अंकमा र अन्यलाई शब्दमा लेख्न सकिन्छ ("५० हजार संक्रमित भए"), जसले गर्दा ठूलो वा लामो अंकलाई सहजै छुट्टयाउन सकिन्छ। जसरी लेखे पनि एकरुपता कायम गर्नु राम्रो।
त्यस्तै, पूर्ण विराम र अंकलाई छुट्टयाउन सहज होस् भनेर अंक प्रयोग गरी वाक्य शुरु नगर्ने, वाक्यको शुरुमा अंक लेख्नै पर्ने भए शब्दमा ढाल्ने ("काठमाडौँमा महामारीको प्रभाव घटेको छैन। पन्ध्रसय संक्रमित थपिएका छन्।")
प्रतिशत जनाउन दशमलव प्रयोग गर्ने, भिन्न अंक होइन: ३.५ प्रतिशत, ३५/१० प्रतिशत होइन।
प्रतिशतलाई शब्दमा (“प्रतिशत”) वा संकेतमा (“%”) लेख्न सकिन्छ, तर एउटै लेख-सामग्रीमा एकनास गरी प्रयोग गर्ने।
प्रतिशत र प्रतिशत पोइन्ट: ‘कोभिड-१९ संक्रमण ५० प्रतिशतबाट बढेर ६५ प्रतिशत पुग्यो’ भन्नुको अर्थ १५ प्रतिशत पोइन्टले वृद्धि भयो भन्ने हो, १५ प्रतिशतले होइन। प्रतिशतमा भन्ने हो भने, जम्मा ३० प्रतिशत वृद्धि भयो।
इ
इन्फोडेमिक (infodemic) − "इन्फो" र " एपिडेमिक" मिश्रण गरिएको शब्द; रोगव्याधी सम्बन्धी सूचना वा अफवाह/दुष्प्रचारको द्रूत र व्यापक विस्तार। मिसइन्फोडेमिक (misinfodemic) र डिसइन्फोडेमिक (disinfodemic) ले भने अफवाह/दुष्प्रचारको द्रूत र व्यापक विस्तार जनाउँछन्। सम्बन्धित अन्य शब्दावली: मिथ्या समाचार (fake news), गलत समाचार (false news), भ्रामक सूचना (misleading information), हेरफेर गरिएको समाग्री (manipulated content), कपोलकल्पित/बनावटी सामाग्री (fabricated content), संगठित प्रचार (propaganda), आदि।
ए
एन्टीबडी (antibody) − रोग प्रतिकारक, प्रतिरक्षी तत्व। संक्रमणबिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीले सिर्जना गर्ने तत्व।
एन्टीभाइरस (antivirus) − प्रतिविषाणु, भाइरसविरोधी।
एसिम्प्टोमेटिक (asymptomatic) − गैर-लक्षणात्मक, अ-लक्षणात्मक, लक्षण नदेखिने। लक्षण देखिएको (symptomatic) र लक्षण नदेखिएको (asymptomatic)।
क
कन्ट्याक ट्रेसिंङ (contact tracing) − संक्रमित मानिसको निकट सम्पर्कमा रहेका व्यक्तिहरु पत्तो लगाउने वा उनीहरु माथि निगरानी राख्ने कार्य।
केस (case) − घटना, रिपोर्ट, उदाहरण। शब्दकोषमा यसलाई "मामला" पनि छ, जो कानुनी अर्थमा पनि अधिक प्रयोग भएको पाइन्छ। केस नेपाली भाषामा पनि चल्तीको शब्द भइसकेकोले एकरूपता कायम गरी यसको प्रयोग गर्नु जायज देखिन्छ।
कोभिड-१९ − कोविद, कोबिद, कोविड, कोबिड होइन। कोभिड र १९ का वीचमा एम ड्यास (—) वा एन ड्यास (–) होइन, ड्यास (-) प्रयोग गर्ने। ड्यासको दुबैपट्टि खाली ठाउँ नराख्ने: कोभिड-१९ (COVID-19)। कोभिड-१९ सकेसम्म पूरै लेख्ने, तर पहिलो पल्ट पूरै प्रयोग गरे पछि दोहोर्याउँदा वा पुन: प्रयोग गर्दै जाँदा "कोभिड" मात्र एकरूपताका साथ लेखे बुझ्न सजिलो हुन्छ।
कोरोनाभाइरस − “कोरना” वा "करोना" होइन, “कोरोना” (हिज्जे हेर्ने)। ल्याटिन भाषाको corona (मुकुट वा कुसुममाला) शब्द ग्रीक भाषाको कोरोन (korṓnē) अर्थात् मालाबाट व्युत्पन्न भएको हो। भाइरसको वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय समिति (आईसिटिभी) को शैलीमा "कोरोनाभाइरस" एउटै शब्द हो। अंग्रेजी मिडियामा पनि यसलाई एउटै गरेर लेखिएको पाइन्छ। नेपाली मिडियामा कोरोना र भाइरस छुट्टाछुट्टै गरी लेख्ने गरिएको पाइएको छ। राष्ट्रिय समाचार समिति (रासस) लगायत नेपालका प्रमुख मिडियामा बढी जसो छुट्याएरै लेखिएको पाइन्छ। उता बीबीसी नेपाली सेवाले पनि छुट्याएरै लेखेको देखिन्छ। देवनागरी हिन्दीमा भने कतिपय मिडियाले एउटै शब्द प्रयोग गरेको पाइन्छ − "कोरोनावायरस"। भारतमा प्रकाशित हुने हिन्दी भाषाका मिडियामा पनि एकरूपता देखिंदैन।
कोरोनाभाइरस एक किसिमको विषाणु हो जसले मानिसमा सामान्यतया माथिल्लो श्वासप्रश्वास नलीको साधारण संक्रमण गर्दछ। सामान्य भाषामा भन्दा, रुघा-खोकी लाग्ने हुन्छ। नाकबाट पानी बग्ने, घाँटी दुख्ने, अस्वस्थ महसुस हुने, ज्वरो आउने र गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास हुने आदि लक्षण देखा पर्छन्। संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाबाट यो मानिसमा सर्दछ।
कोरोनाभाइरस प्रजातिको भाइरस सन् १९६५-१९७० ताका पहिचान गरिएको थियो। हालसम्म सात खालका मानिसमा लाग्ने कोरोनाभाइरसको पहिचान गरिएको छ: गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास (Severe acute respiratory syndrome coronavirus or SARS-CoV; सन् २००२), एचफाइभएनवान (H5N1 or Avian influenza; सन् २००४), एचफाइभएनसभेन (H5N7; सन् २००५), एचवानएनवान प्रखर रुघा (H1N1 influenza; सन् २००८), मध्य पूर्व श्वसन लक्षण (Middle East respiratory syndrome coronavirus or MERS-CoV; सन् २०१२), निपाह् बिषाणु (Nipah virus; सन् २०१८) र कोभिड-१९ (COVID-19; सन् २०१९)।
राइबोन्यूक्लिक एसिड (RNA) भनिने आनुवंशिक पदार्थले भरिएका भाइरसका अंशहरु गोलाकार हुन्छन् र तिनको सतहबाट सुइरो परेर निस्केका प्रोटिनहरु हुन्छन्। माइक्रोस्कोपमा हेर्दा यो बनोट मुकुट जस्तो देहिने हुँदा यो भाइरसलाई कोरोनाभाइरस भनिएको हो।
घ
घातक, भयङ्कर, त्रासदीपूर्ण, भयावह, आदि − यथावस्तु जनाउन वा कसैले भनेको विचार वा अभिव्यक्तिलाई उद्धरणमा प्रयोग गर्नु बाहेक यस्ता सनसनीपूर्ण विशेषण भरसक प्रयोग नगर्ने। भाइरस वा यसको प्रभावलाई तथ्य-तथ्याङ्क दिएर, बढाइ-चढाइ नगरी तटस्थ भाषामा स्पष्ट पार्ने।
ट
टेड्रोस अधानोम गेह्ब्रीएसह्स − विश्व स्वास्थ्य संगठनका महानिर्देशक; डा. टेड्रोस अधानोम गेह्ब्रीएसह्स; इथियोपियाली नागरिक। इथियोपियाको अम्हारिक लिपिमा ቴዎድሮስ አድሓኖም ገብረኢየሱስ लेखिन्छ। नेपाली मिडियामा प्रयोग भएको उनको नामको हिज्जे भद्रगोल छ: टेड्रोस अधानोम घेब्रेयेसस, टेड्रोस अधानोम गेब्रेयसस, टेड्रोस एड्हानोम गेहब्रेयसस, टेड्रोस अधानोम गेब्रेयसस, टेड्रोस एड्हानोम गेहब्रेयसस, टेड्रोस अढानोम घेब्रेयेसस, टेड्रोस अधानम देभ्रेयुस, टेड्रोस अडहानोम गेहब्रेयसस, टेड्रोस अदनोम घेब्रेयसस, टेड्रोस एधानोम घेब्रेयिसस, टेड्रोस आधनम गेब्रेयेसस, टेड्रोस एडहेनम घेबरेयेसस, टेड्रोस एडहानेमा गेहेब्रेयसस, टेड्रोस एडहानम गीब्रिएसुस, टेड्रोस अधानोम ग्रेहबेयसस, टेड्रोस एड्हानोम गेहब्रेयसस, टेड्रोस एड्हानम घेब्रेयसुस, टेड्रोस अढ्नम घेब्रेसुस, टेड्रोस आडानोम, टेड्रोस एडहेनोम घेबरेयेसस आदि। अग्रणी सञ्चारगृहका एउटै माध्यममा समेत भिन्ना-भिन्नै हिज्जे देख्न सकिन्छ।
इथिओपियामा भने पहिलो दुई नाम बढी प्रयोग भएको पाइन्छ: टेड्रोस अधानोम (इथिओपियली ब्रोडकाटिङ् कर्पोरेसनको उच्चारण)। उनको अन्तिम नाम त्यति प्रयोग भएको पाईंदैन।
टेस्ट (test) − परीक्षण; तर नेपाली भाषामा "टेस्ट" शब्दको प्रयोग आजभोलि सामान्य भइसकेको छ। टेस्ट विधि विकास गर्ने कम्पनी र सम्बन्धित निकायले उही टेस्टलाई केही पृथक नाम दिने गरेका छन् र मिडियामा पनि एकरुपता देखिंदैन। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार टेस्ट मुख्यत: दुई खालका छन्, तर यिनका पनि आ-आफ्नै भिन्न विधिहरु छन्:
१. भाइरल वा डायगनोस्टिक (नैदानिक) टेस्ट: भाइरल वा डायगनोस्टिक टेस्टका दुइ विधि प्रचलनमा छन्: आणविक/आनुवंशिक टेस्ट र एन्टीजन (प्रतिजन) टेस्ट। अहिले तत्कालको अवस्थामा कसैलाई संक्रमण भएको छ वा छैन भनेर जाँच्न यी टेस्टको प्रयोग गरिन्छ।
आणविक/आनुवंशिक टेस्टमा नाक, घाँटीको स्वाब लिइन्छ र तिनमा पाइने भाइरसबाट लिइएको आनुवंशिक तत्वको परीक्षण गरिन्छ। यसमा थुप्रै विधिमध्ये पोलिमरेज चेन रिएक्सन (polymerase chain reaction) अर्थात् PCR विधि बढी प्रयोगमा छ। त्यस्तै, एन्टीजन टेस्टमा भाइरसमा पाइने प्रोटिनयुक्त प्रतिजन पदार्थको परीक्षण गरिन्छ, जुन पदार्थबाट वर्तमान अवस्थामा संक्रमण भए-नभएको पहिचान हुन्छ। यो टेस्ट नाकको स्वाब लिएर गरिन्छ।
२. एन्टीबडी (प्रतिरक्षी) टेस्ट: बिगतमा कसैलाई कोभिड-१९ संक्रमण भएको थियो वा थिएन भनेर जाँच्न एन्टीबडी टेस्ट गरिन्छ। प्रतिरक्षी कोषहरुले भाइरस प्रतिको प्रतिक्रिया स्वरुप उत्पादन गर्ने एन्टीबडी पदार्थको पहिचान रगत जाँचबाट गरिन्छ। यो जाँचका विभिन्न विधिहरु छन्, र्यापिड डायगनोस्टिक टेस्ट (rapid diagnostic test) अर्थात् RDT बढी प्रचलनमा रहेका विधिहरु मध्येको हो।
ड
डा. होजे भ्यान्डलायर (Dr. Jose Vandelaer) − विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि। नेपाली मिडियामा उनको नाम डा. जोस भ्यान्डिलियर, भ्यान्डेलिअर, भान्डेलिअर, भेन्डरलेर, भान्डेलार, भ्यानदेलिअर, भ्यान्देलिअर, भान्देलिअर आदि प्रयोग गरिएको छ। प्रमुख नेपाली मिडियाले पनि भिन्न-भिन्न हिज्जे प्रयोग गरेको पाइन्छ। भ्यान्डेलर बढी चल्तीमा रहेको देखिन्छ। खासमा हुने पर्ने "डा. होजे भ्यान्डलायर"। होजे = जोसफ वा जोजफ (Joseph) को स्पेनी स्वरुप।
द
दूर शिक्षा (distance education) − दूर शिक्षा, प्रविधिको माध्यमबाट टाढैबाट गरिने अध्ययन वा शिक्षण; अनलाइन शिक्षा, डिस्ट्यास् लर्निङ, आदि।
न
निषेधाज्ञा (curfew) − निषेधको आज्ञा वा आदेश; सुरक्षाका लागि निश्चित स्थानमा खास समय-अवधिका लागि मानिसको आवत-जावत, उनीहरुका गतिविधिहरु पूर्ण रुपमा बन्द गर्ने सरकारी आदेश।
नेपाली जडिबुटी, परम्परागत/घरेलु/आयुर्वेदिक औषधी − कोभिड-१९ को "रोकथाम, उपचार र नियन्त्रणमा" अदुवा, लसुन, बेसार, मरीच, गुर्जो, तुलसी, मसला, मह र परम्परागत जडिबुटी वा आयुर्वेदिक औषधी प्रभावकारी हुने जस्ता वक्तव्य वा मन्तव्य प्रधानमन्त्रीदेखि लिएर कतिपय बिज्ञहरुले दिंदै आएका छन्। विश्व स्वास्थ्य संगठनले यस्ता पदार्थले स्वास्थ्यमा लाभ पुग्ने भए पनि यिनले कोभिड-१९ को उपचार वा नियन्त्रण नै गर्ने कुनै प्रमाण नभएको स्पष्ट गरिसकेको छ। मिडियामा नेता वा बिज्ञका यस्ता कुरालाई उद्धरित गर्दा प्रमाणिकताको प्रसंग समेत उल्लेख गर्नु पत्रकारको महत्वपूर्ण जिम्मेवारी हुन आउँछ।
नोभल कोरोनाभाइरस − नव वा नयाँ कोरोनाभाइरस; कोरोनाभाइरसको नयाँ प्रजाति। हाल "कोभिद-१९" महामारी फैलाउने कोरोनाभाइरसलाई नयाँ वा नव ("नोभल") भनिएको छ; भोलि अर्को नयाँ प्रजाति पहिचान भए त्यसबेलाका लागि त्यहि नोभल कोरोनाभाइरस (novel coronavirus) हुनेछ।
नोभल कोरोनाभाइरस र कोभिड-१९ − नेपाली मिडियामा प्रकाशित हुने थुप्रै लेख-सामग्रीहरुमा नोभल कोरोनाभाइरस (कोभिड-१९) वा कोरोनाभाइरस (कोभिड-१९) भनी प्रयोग गरिएको पाइन्छ। यहाँ सम्म कि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सार्वजनिक सूचनामा पनि यसरी पर्यायवाची अर्थको रूपमा प्रस्तुत गरिएको छ। यसरी लगतै कोष्टकभित्र राख्नुको अर्थ हुन्छ यी पर्यायवाची हुन्। यथार्थमा कोरोनाभाइरस र कोभिड-१९ एउटै कुरा होइन। नव कोरोनाभाइरस वा कोरोनाभाइरस एउटा बिषाणु हो; कोभिड-१९ उक्त बिषाणुले सिर्जना गर्ने रोग हो। बरु कोरोनाभाइरस रोग (कोभिड-१९) लेख्नु सही हुन्छ। कोरोनाभाइरस रोग २०१९ (coronavirus disease 2019 अर्थात् CO-rona-VI-rus D-isease 2019 = KOVID-19)। यस्तै गरी, सार्स-कोभ२ = कोभिड-१९ गराउने भाइरस।
प
पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट; पिपीइ (personal protective equipment; PPE) − निजी सुरक्षा उपकरण; व्यक्तिगत सुरक्षा उपकरण। भाइरसको संसर्गबाट बच्न खास गरी स्वास्थ्यकर्मी र अग्रिम पंक्तिका कामदारहरु वा प्रथम प्रतिक्रियाकर्ताहरूले प्रयोग गर्ने बिशेष खालका मास्क, शिल्ड वा भाइजर, चस्मा, पन्जा र गाउन आदि। पहिलो चोटी उल्लेख गर्दा पिपीइको पूर्ण स्वरुप उल्लेख गर्ने: पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपीइ); त्यसपछिको उल्लेखमा पिपीइ मात्र पर्याप्त हुन्छ।
प्रिएग्जिस्टिङ कन्डिसन्स (preexisting conditions) − पूर्वविद्यमान अवस्थाहरु। कोभिड-१९ वा अन्य रोग लाग्नु वा तिनबाट मृत्यु हुनुमा कुनै न कुनै रुपमा कारक रहेका अन्य स्वास्थ्य समस्याहरु।
पेसन्ट जिरो (patient zero) − पहिलो सङ्क्रमित बिरामी।
पोजिटिभ (positive) − पोजिटिभ वा पजिटिभ, पोजेटिभ होइन। एकनास प्रयोग गर्ने।
प्रकोप (outbreak) – उत्पात, क्षोभ, क्रोध, रोष।
फ
फन्ट (लिपि) को प्रयोग − देवनागरी फन्ट (लिपि) युनिकोडमा रूपान्तरण गर्दा प्रायस: कतिपय अक्षर वा मात्रा/संकेत चिन्ह चिन्नै नसकिने गरी गिजोलिन पुग्छन् (जस्तै, गर ् यो, क्$क्ष, ¥याली, आदि)। कतिपय अक्षर वा चिन्हको सही बिकल्प पाइँदैन पनि। दोहोर्याएर, तेहर्याएर हेर्ने।
फ्रन्ट-लाइन वर्कर्स (front-line workers), फर्स्ट रेस्पनडर्स (first-responders), कि वर्कर्स (key workers), इसेन्सल वर्कर्स (essential workers), आदि − अग्रिम पंक्तिका कामदारहरु, प्रथम प्रतिक्रियाकर्ताहरू, प्रमुख कामदारहरु, अत्यावश्यक कामदारहरु। जस्तै: चिकित्सक, नर्स, प्रहरी, पत्रकार, आपतकालमा खट्ने कामदार (उद्धारकर्ता, दमकल कर्मचारी, प्यारामेडिक्स वा चिकित्सा-सहायक आदि) र दैनिक आवश्यकताका खाद्यान्न, ऊर्जा, बालसेवा प्रदान गर्ने कामदारहरु, आदि।
फ्ल्याटन दि कर्भ (flatten the curve) − संक्रमण ग्राफको वक्र रेखालाई समतल पार्नु। सामाजिक वा भौतिक दूरी कायम गरी वा शेल्टर-इन-प्लेस आदिको अभ्यासबाट भाइरसको अत्याधिक फैलावटलाई न्यून गर्नु।
भ
भाइरस (virus) − विषाणु; नेपाली मिडियामा भाइरस नै चल्तीमा छ।
भेरिफाइ (verify) − जाँचेर हेर्नु, प्रमाणीकरण गर्नु (क्रिया)। भेरिफाइड (verified) = जाँचिएको, प्रमाणित गरिएको (भूतकाल क्रिया; नामको अघि आएमा विशेषण)
भ्याक्सिन (vaccine) − खोप, सङ्क्रमण-निवारक। खोप शब्द "खोप्नु" बाट बनेको हो। तर सुइबाट लिने मात्र होइन थोपाको रुपमा खाने भ्याक्सिन पनि हुन्छन्। अंग्रेजी शब्द "भ्याक्सिन" पनि नेपाली मिडियामा उत्तिकै चल्तीमा छ। प्रसंगअनुसार प्रयोग गर्नु राम्रो।
म
महामारी (pandemic) − यसको ठाउमा मिडियामा प्रकोप, रोगव्याधि, महाव्याधि, कहर, बिमारी, विपद्, बिपत्ति, आपत, जोखिम, संकट, खतरा जस्ता शब्दावली पनि प्रशस्तै प्रयोग भएको पाइन्छ। अंग्रेजीमा उस्तै जस्तो लाग्ने pandemic (विश्वव्यापी रूपमा फैलिएको रोग), epidemic (कुनै खास क्षेत्र वा समुदायमा द्रूत गतिमा फैलिएको रोग), र endemic (एक निश्चित क्षेत्र वा समुदायमा कुनै न कुनै मात्रामा देखिइरहने रोग) भनेर बर्गीकरण गरेको पाइन्छ। ग्रीक भाषाबाट: pandemic अर्थात् pan (all) + dēmos (people); epidemic अर्थात् epi (among, upon) + dēmos (people), र endemic अर्थात् en (in) + dēmos (people)।
नेपालीमा pandemic र epidemic जनाउन प्रायस: एउटै शब्द "महामारी" प्रयोग गरिएको देखिन्छ। यदाकदा pandemic लाई "ठूलो महामारी", "सर्वव्यापी महामारी", "विश्वव्यापी महामारी" भनिएको पाइन्छ। अंग्रेजीमा "global pandemic" लेखिरहनुको अर्थ छैन किन भने "pandemic" भन्नु नै "विश्वव्यापी महामारी" हो। हिन्दी भाषाका मिडियामा र केही नेपाली भाषाका मिडियामा यसलाई "विश्वमारी" भनेर पनि उल्लेख गरिएको छ। कतिपय मिडियाले महामारी (pandemic) र स्थानीय महामारी (epidemic) भनेर छुट्याएको देखिन्छ। अर्को चल्तीको अंग्रेजी शब्द outbreak पनि धेरै प्रयोग भएको पाइन्छ र यसलाई नेपालीमा प्रकोप वा महामारी नै भन्ने गरिएको छ। खासमा pandemic हुनु अघिको अवस्थालाई outbreak भनेको पाइन्छ। जस्तो कि विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड-१९ को प्रकोप (outbreak) लाई सर्वव्यापी हुन थालेको भन्दै "pandemic" घोषणा गरेको थियो। कोभिड-१९ का सन्दर्भमा मिडियामा कम प्रयोग भएका अंग्रेजी शब्द हुन् pestilence र plague जसले सामान्य अर्थमा महामारी पनि जनाउछन्।
मास्क (mask) − नकाप, नकाब, मुकुण्डो, मुखौटो, बुर्का आदि। गोरखापत्रले "मुखौटो (मास्क)" भनेर पनि प्रयोग गरेको भेटिन्छ। महामारीको सन्दर्भमा नियालेर हेर्दा मास्क नै जनबोलीमा झुन्डिएको पाइन्छ।
मृत्यु, मरण (death) − मृत्यु भयो, निधन भयो। मरे, बिते जस्ता ठाडा शब्द वा स्वर्गवास भए, परलोक गए जस्ता घुमाउरा वा औपचारिक अभिव्याक्ति प्रयोग नगर्नु जाति।
र
रेस्पिरेटर, भेन्टिलेटर (respirator, ventilator) − श्वासवाहक/सास फेर्न सहयोग गर्ने यन्त्र, वायुसञ्चार गर्ने यन्त्र।
ल
लकडाउन / बन्दाबन्दी − बन्दाबन्दी बढी र बन्दाबंदी कम प्रयोगमा रहेको देखिन्छ। वन्दावन्दी होइन। धेरै सञ्चारमाध्यमले अंग्रेजीको "लकडाउन" (lockdown) शब्द नै लिप्यन्तरण गरी प्रयोग गरिरहेका छन्। रासस (राष्ट्रिय समाचार समिति) ले कोष्टकमा यसरी प्रयोग गरेको उदारहरण पाइन्छ: "लकडाउन (बन्दाबन्दी)"। लकडाउन वा बन्दाबन्दी जे प्रयोग गरे पनि एकरूपता कायम गर्नु उत्तम अभ्यास हो। एउटा माध्यमले आफ्ना सबै लेख सामग्रीमा एउटै शैली प्रयोग गरे बुझ्न सहज हुन्थ्यो।
द्वन्द्वकालमा जुलुस-हड्तालका बेला हुने "बन्द"मा मुख्यतया यातायात, कार्यालय, ब्यापार-उधोग, शिक्षण संस्थाहरु ठप्प पारिन्थे भने "बन्दाबन्दी"मा सामाजिक वा भौतिक दूरी कायम गर्न उल्लेखित क्षेत्र लगायत आम मानिसका घरदैलो र उनीहरुको आवतजावत समेत पूरै बन्द गरिएको पाइन्छ। यस महामारी अघि नेपाली मिडियामा बन्दाबन्दी शब्दको प्रयोग गरिएका उदाहरण खासै भेटिंदैनन्।
व
वर्किङ फ्रम होम (working from home; WFH) − घरबाटै काम, प्रविधिको सहयोगमा घरबाटै काम गर्ने। रिमोट वर्क (remote work) वा प्रविधिको सहयोगमा टाढैबाट काम गर्ने।
वेबसाइट (website) − वेभसाइट होइन; website को b (ब) लाई bh (भ) संग नझुक्किने।
वुहान − कोभिड-१९ महामारी शुरु भएको चिनियाँ शहर। अंग्रेजीमा Wuhan; म्यान्डरिन वा चिनियाँ भाषामा 武汉 र ध्वनि संकेतमा: Wǔhàn (/woo-han/) [woo-hahn]। कतिपय मिडियाले "उहान" प्रयोग गरेका छन्। चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (नेपाली सेवा) ले "वुहान" र "उहान" दुवै प्रयोग गरेको देखिन्छ। खासमा चिनियाँ भाषाको उच्चारणलाई लिने हो भने वूहान्ह् वा वूहान। चल्तीको प्रयोग "वुहान"।
स
सर्वेक्षण (survey) − सर्भेक्षण होइन, सर्वेक्षण। v = व
संक्रमण (infection) − संक्रमण (छोएर वा सम्पर्कबाट सर्ने; प्रदूषित गर्ने)। कतिपय मिडियामा लगातार "संत्रमण" लेखिएको पाइन्छ। संत्रमण शब्दकोषमा भेटिएन। संत्रमित (चिन्तित), संत्रस्त (त्रसित), सन्त्राण (उद्धार) शब्दहरु "संक्रमण"का समनामी जस्ता देखिए पनि उही होइनन्।
स्वास्थ्य / स्वस्थ − पहिलो विशेषण हो (आरोग्य, आरोग्यता), दोस्रो नाम (निरोग, निरोगी)। उस्तै देखिने शब्द; लेख्दा हिज्जेमा झुक्किएका थुप्रै उदारहण पाइन्छन्।
सोसल डिस्ट्यान्सिङ (social distancing) − सामाजिक दूरी कायम गर्ने अभ्यास; कतिपय मिडियामा "भौतिक दूरी" पनि उल्लेख गरिएको पाइन्छ। एकनास रुमपा प्रयोग गर्नु राम्रो। अरु मानिसबाट १.८ मिटर (६ फीट) टाढै बस्ने, घरमै बसेर काम गर्ने, सार्वजनिक कार्यक्रम/सेवा, बिद्यालय, बजार आदि बन्द गर्ने, यातायातलाई सकेसम्म न्यून गर्ने जस्ता कार्य सामाजिक वा भौतिक दूरी कायम गर्ने अभ्यासका केही उदाहरण हुन्।
स्रोतको नाम र विवरण − मिडियामा स्रोतको नाम र पहिचान उल्लेख गर्ने शैलीमा अझ स्पष्टता हुनुपर्ने देखिन्छ। पहिलो उल्लेखमा स्रोतको पूरै नाम लेख्ने र संस्था भए त्यसको नाम पछि कोष्टकमा तुरुन्तै अक्रोनिम वा संक्षिप्त रूप दिने चलन पत्रकारितामा छ, तर अभ्यासमा त्यसो नगरिएका धेरै उदाहरण पाइएका छन्। पाठक-श्रोता अल्मलिने अवस्था रहेको देखिन्छ। जस्तै: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (स्वजमं) → Ministry of Health and Population (MoPH) वा नेपाल वायु सेवा निगम (नेवानि) → Nepal Airlines Coroporation (NAC)। याद राख्नु पर्ने कुरा: “स्वास्थ्य मन्त्रालय” मात्र होइन, “जनसंख्या” पनि जोडिएको छ। हामीकहाँ मन्त्रालयका नाम चाँडो-चाँडो परिवर्तन हुन्छन्। हाल सम्बन्धित मन्त्रालयको नाम के छ, बुझेर लेख्ने। दोस्रो र त्यसपछिका उल्लेखमा "स्वास्थ्य मन्त्रालय" र अग्रेजीमा भए the MoPH मात्र लेखे पुग्छ। विश्व स्वास्थ्य संगठन अर्थात् अंग्रेजीमा भए World Health Organization (WHO)। नेपालीमा लेख्दा सोझै "डब्लूएचओ" भनेर उल्लेख गर्नु अर्थहीन देखिन्छ। अर्को उदाहरण: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु। दोस्रो र त्यसपछि उल्लेख गर्दा शुक्रराज वा शुक्रराज अस्पताल लेखे पुग्छ। अझ अर्को उदाहरण: "बिरामीको उपचार नर्भिकमा गरियो" होइन, "बिरामीको उपचार नर्भिक अस्पतालमा गरियो" लेख्ने। खास नाम "नर्भिक अन्तर्राष्ट्रिय अस्पताल" हो। उपयुक्त प्रग्योग: “थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल”। याद राख्नु पर्ने कुरा: नर्भिक नाम अन्य संस्थाले पनि प्रयोग गरेका उदाहरण छन्, त्यसैले अस्पताल भनेर खुलाए बुझ्न सजिलो हुन्छ। अर्को कुरा "नर्विक" होइन, नर्भिक। दोस्रो र त्यसपछिको उल्लेखमा नर्भिक मात्र लेखे पुग्छ। कुनै पनि संस्थाको नाम पुन: उल्लेख गर्दा यसै अनुरुप गर्ने।
यस्तै, मानव स्रोतलाई "कोट" वा उद्धृत गर्दा स्रोतको नाम, थर, पद, सम्बद्ध संस्था, बासस्थान, आदि आवश्यकता अनुसार उल्लेख गर्ने। हुबहु मिल्ने नाम-थर भएका अन्य स्रोत एउटै लेख-सामग्रीमा उल्लेख गर्नु पर्ने भए मात्र तिनलाई छुट्टै हुन् भनेर चिनाउन तिनका पूरै नाम, पद वा सम्बद्धता फेरि उल्लेख गर्ने।
सुपर स्प्रेडर (super spreader) − संक्रमित रोगलाई अप्रत्याशित वा असामान्य रूपमा ठूलो संख्यामा अन्य मानिसलाई सार्ने व्यक्ति। अत्यन्तै सांस्पर्शिक संक्रमित जसले धेरै मानिसलाई रोग सार्छ वा सार्न सक्छ।
सेनिटाइजर (sanitizer) − स्वच्छकारी, स्वच्छ गर्ने पदार्थ, सजीव वस्तुहरु (मानिस, अन्य जीवहरु) मा किटाणु वा बिषानु मारी स्वच्छ पार्ने पदार्थ। डिसइन्फेक्टेन्ट (disinfectant) अर्थात् निसङ्क्रामक वा रोगाणुनाशक भने निर्जीव वस्तुहरु (भुइँ, टेबल, आदि) मा किटाणु वा बिषानु मारेर स्वच्छ पार्न प्रयोग हुन्छ।
श
शेल्टर-इन-प्लेस (shelter-in-place) − "घरमै आश्रय लिने" (stay-at-home) वा भाइरस फैलिन नपाओस् भनेर अलग्गै बस्ने सरकारी आदेश। क्रियापदमा ड्यासहरु हटाउने: शेल्टर इन प्लेस (shelter in place)।
ह
हट स्पट /हटस्पट (hot spot, hotspot) − अन्य ठाउँहरु भन्दा बढी मात्रामा रोगव्याप्त स्थान, क्षेत्र; बढी नै जोखिम वा खतरापूर्ण स्थान वा क्षेत्र।
हर्ड इम्युनिटी (herd immunity) − सामूहिक रोग प्रतिरक्षा; बथाने प्रतिरक्षा। कम्तिमा पनि ७० देखि ८० प्रतिशत जनसंख्या कुनै रोगबाट प्रतिरक्षित छन् वा प्रतिरक्षित हुन पुगे भने उनीहरुले अन्य मानिसमा उक्त रोग फैलाउँदैनन् भन्ने मान्यता रहिआएको छ।
---------------------------------------------------------
© 2020 bipadresource.org / मिडिया फाउन्डेसन, काठमाडौँ, नेपाल