राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरुद्ध कलम चलाउने इकागजका प्रधान सम्पादक हरिबहादुर थापाले पत्रकारितामा तीन दशक बिताइसकेका छन् । पत्रकारलाई जबर्जस्ती बिदा बस्न लगाउने, तलब कटौती र श्रमजीवी पत्रकार कटौती विषयमा व्यवस्थापनसँग असहमति दर्ज गर्दै कोभिड-१९ महामारीकै बीचमा चार महिनाअघि अन्नपूर्ण पोस्टको प्रधान सम्पादकबाट राजीनामा दिएपछि त्यसबेला उनको चर्चा चुलिएको थियो । त्यसो त थापाले कान्तिपुर दैनिकमा सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
कोभिड-१९ को महामारीपछि श्रमजीवी पत्रकारको अवस्था, भ्रष्टाचारजन्य विषयमा खोजी पत्रकारिता, अनलाइन पत्रकारिताको अनुभव र पछिल्लो समयमा मिडियामा देखिएको नवप्रवर्तनका विषयमा थापासँग मिडिया फाउन्डेसनको विपद् रिपोर्टिङ स्रोतका लागि छत्र कार्कीले गरेको कुराकानी :
'मिडिया लगानीकर्ताहरुले कोभिड-१९ को संकटलाई कार्यालय चुस्त पार्ने ‘अवसर’का रुपमा ग्रहण गरे, जुन नाजायज हो ।... ठूला मिडियाबाट हटेका अनुभवी पत्रकारहरुले अब बिस्तारै स्वरोजगारमूलक मिडिया सञ्चालनको बाटोमा हिँड्नैपर्ने बाध्यता सिर्जना भएको छ ।'
कोभिड-१९ को महामारीपछि नेपाली मिडिया र श्रमजीवी पत्रकारको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
२०४६ प्रजातन्त्रसँगै एकदमै फस्टाएको क्षेत्रभित्र पारिन्थ्यो, मिडियालाई । प्रजातन्त्रसँगै मिडियामा लगानीको वातावरण सिर्जना भयो, ह्वात्तै लगानीको प्रतिस्पर्धा पनि चल्यो । मिडियामा प्रशस्त लगानी पनि भए । सँगै पत्रकारिताका संस्थागत विकास प्रक्रियामा छ भन्ने धेरैलाई लागेको थियो । तर, कोभिड-१९ प्रारम्भिक चरणमै ठूला भनिएका मिडियामै कार्यरत श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सन्दर्भमा अन्योल सिर्जना भयो । यसले जसरी मिडिया संस्थागत हुँदैछ भन्ने ठानिएको थियो, त्यसमा प्रश्नचिह्न पैदा गरेको छ ।
भर्खर खुलेका र आर्थिक स्थिति दरिलो नभएको मिडियाको हकमा एउटा फरक सवाल हुनसक्थ्यो, तर ‘कर्पाेरेट मिडिया टावर’, चिल्ला-सुकिला सुविधासम्पन्न कार्यालय भएकै मिडिया हाउसबाटै पत्रकारहरुलाई संकटमा पार्ने खेल रचिनु भनेको ‘बद्नियतयुक्त’ क्रियाकलाप हो । मिडिया लगानीकर्ताहरुले कोभिड-१९ को संकटलाई कार्यालय चुस्त पार्ने ‘अवसर’का रुपमा ग्रहण गरे, जुन नाजायज हो ।
महामारीकै बीचमा प्रतिष्ठित मिडिया हाउसले वर्षौदेखि कार्यरत पत्रकारलाई बेतलबी बिदामा राख्ने, कतिपय पत्रकारलाई जागिरबाट निकाल्ने अनि कार्यरत पत्रकारलाई पनि नियमित तलब नदिएको गुनासो ती मिडियामै कार्यरत पत्रकारले व्यक्त गर्दै आएको देखिन्छ, यसबारे के भन्नुहुन्छ ?
मिडिया हाउसले कोभिड-१९ को लकडाउनसँगै कार्यरत पत्रकारहरुलाई पारिश्रमिकबेगर जबर्जस्ती बिदामा बस्न बाध्य पार्ने, तलब कटौती, पत्रकारहरु हटाउने योजना सुरु भए । यसरी संकटका बेला पत्रकारहरुलाई थप संकटमा पारियो । अर्कातिर त्यसरी बिदा बस्न वाध्य पारिएका या हटाइने सूचीमा पर्ने पत्रकारहरु हेर्दा सरकारका गलत क्रियाकलापको आलोचना गर्नेहरु बढी छन् । यसमा मिडियाका लगानीकर्ता र सरकारबीचको मिलेमतो पनि हुनसक्छ ।
सरकारले मिडिया मालिकलाई अनेकन खाले लाभ देखाउँदै आलोचनात्मक समाचार, लेख र सम्पादकीय लेख्ने पत्रकारलाई हटाएको दृश्यले पनि मिलेमतोको आशंका गर्न सकिने आधार बनेको छ । त्यहीकारण पछिल्ल्लो समयमा सरकारका अनुचित क्रियाकलापको चिरफार कम भएको छ ।
यसअघि तपाईं महामारीको बेलामा अन्नपूर्ण पोस्टको प्रधान सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । पत्रकारको सेवासुविधाको विषयमा मिडिया व्यवस्थापनसँग असहमति बढेपछि राजीनामा दिनुभएको भन्ने सुनियो । प्रतिष्ठित भनिँदै आएका मिडियाको यस्तो स्थितिले के देखाउँछ ?
पत्रकारलाई जबर्जस्ती बिदा बस्न लगाउने व्यवस्थापनको नीतिमा सहमत हुन नसक्ने अडान राखेपछि अन्नपूर्ण पोष्टमा त्यो नियम लागू भएन । त्यसअतिरिक्त तलब कटौतीका विषयमा व्यवस्थापनको निर्णयमा मेरो असहमति रह्यो । त्यसअतिरिक्त श्रमजीवी पत्रकार कटौती विषयमा त मैले कुनै पनि हालतमा मेरो सहमति हुनै नसक्ने अडान राखेको थिएँ । यिनै कारण व्यवस्थापनसँग मेरो सम्बन्ध टुटेको हो । आर्थिक रुपले संकट उत्पन्न नहुँदै जटिल परिस्थिति सिर्जना भएको नाटक गर्नुमा अरु कारणहरु पनि हुन सक्छन् । यी घटनाहरुले अब ठूला भनिएका मिडियाहरु हतासको मानसिकता गएको हुँदा तिनको भविष्यमा प्रश्न उब्जेको छ । यससँगै आमनागरिकको तिनीहरुमाथि विश्वास हट्दै गएको छ ।
कोभिड-१९ को महामारीपछि मूलधारको दाबी गर्दै आएका मिडिया हाउसले आफ्ना प्रकाशन बन्द गर्नुका साथै नियमित तलब दिएका छैनन् । बरु स्वरोजगारमूलक मिडिया भने केही हदसम्म टिकेका देखिन्छन्, यो अवस्थाबारे के भन्नुहुन्छ ?
मिडियाका लगानीकर्ताहरुले पहिला कमाएको सम्पत्ति जोखिमका बेला प्रयोग गर्न नचाहेको देखियो । उनीहरुले आफ्ना प्रकाशनका संस्करणहरु बन्द गर्दै पत्रकार र कर्मचारी कटौती गर्ने बाटोमा लिनुमा पनि पहिले कमाएको सम्पत्ति खर्च नगर्ने योजना कारक हो । उनीहरुले मिडियामा कमाएको सम्पत्ति अन्यत्र लगानी गरेका छन् । त्यो रकम फिर्ता नगरी मिडिया हाउसलाई संकुचन लगेका हुन् । बरु साना मिडिया हाउसले आफूलाई व्यवस्थापन गरेको देखिन्छ ।
तपाईंले लामो समय प्रिन्ट मिडियामा काम गर्नुभयो । कोरोना महामारीभन्दा पहिलेदेखि नै प्रिन्ट मिडियाप्रति आमपाठकको आकर्षण घट्दै गएको थियो । महामारीपछि त प्रिन्ट झनै संकटमा देखिन्छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
कोरानासँगै पत्रिका छुन डराएको अवस्था छ । म आफैले पनि २०७६ चैत १ देखि पत्रिका छोएको छैन । बरु तिनको अनलाइनको ‘इ-पेपर’ पढ्ने बानी बसेको छ । यतिखेर पत्रिकाको नयाँ ग्राहक नबन्ने र पुरानो पनि नवीकरण नगर्ने क्रम बाक्लिएको हुँदा प्रिन्ट झन् संकटमा पर्ने निश्चित छ । त्यसो त, मिडियाका माध्यमहरु परिवर्तन हुने क्रम चलेकै थियो । कोरानाले प्रिन्ट माध्यमलाई छिट्टै असर गरेको छ । त्यसकारण विगतमा जसरी प्रिन्टले मिडिया बजार प्रभाव जमाउने स्थिति अब हुने छैन । सँगै प्रिन्ट बजार खस्कने देखिन्छ ।
भर्खरै तपाईंले इकागज अनलाइन न्युजपोर्टलको प्रधान सम्पादकका रुपमा सम्पादकीय नेतृत्व सम्हाल्नुभएको छ, अनलाइनको अनुभव सेयर गरिदिनुस् न ?
ठूला मिडियाबाट हटेका अनुभवी पत्रकारहरुले अब बिस्तारै स्वरोजगारमूलक मिडिया सञ्चालनको बाटोमा हिँड्नैपर्ने बाध्यता सिर्जना भएको छ । अन्नपूर्ण पोस्ट, कान्तिपुर र नागरिकबाट बाहिरिएका साथीहरुको सहकार्यमा अनलाइन जर्नालिज्ममा प्रवेश गरेका छौं । अनलाइन पत्रकारिता हाम्रा निम्ति नयाँ होइन, किनभने हरेक ठूला मिडिया हाउसले अनलाइन सञ्चालन गर्दै आएको पृष्ठभूमिमा कन्टेन्ट सवालमा काम गरिएकै हो । फरक यत्ति हो कि प्रविधिसँगै घुलमिल भएको थिएन । अब प्राविधिक विषयमा सिक्दै अघि बढ्नुपर्नेछ । हाम्रो उद्देश्य अनलाइनमा तथ्यसहितको विश्लेषणयुक्त समाचार पस्कने योजना छ ।
कोरोना महामारीकै बेलामा धमाधम नयाँ अनलाइन मिडिया खुलिरहेका छन् ।कन्टेन्टको फरक प्रस्तुति तथा मल्टिमिडिया, इन्फोग्राफिक्स, मोबाइल जर्नालिज्म जस्ता इन्नोभेसनको प्रयोेग कस्तो पाउनुभएको छ ?
तीव्र प्रतिस्पर्धासँगै कन्टेन्टको प्रस्तुति फरक गर्नैपर्छ । प्रविधिकै कारण मल्टिमिडिया, इन्फोग्राफिक्स, मोबाइल जर्नालिज्म जस्ता इन्नोभेसन निम्ति सजिलो हुनेछ । यो प्रक्रिया पनि प्रतिस्पर्धासँगै राम्रो र आकर्षक बन्ने विश्वास गर्न सकिन्छ । प्रविधि–पत्रकारिता हामीकहाँ नयाँ भए पनि यसले छिट्टै आकार लिइरहेको हुँदा प्रतिस्पर्धाले आकर्षक बाटो तय गर्नसक्ने देखिन्छ ।
तपाईंले कान्तिपुर दैनिकमा रहँदा लामो समय सरकारी निकायमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार र विसंगतिविरुद्ध कलम चलाउनुभयो । कोरोना महामारीकै अवधिमा नेपालमा सरकारद्वारा खरिद गरिएको स्वास्थ्य उपकरण, औषधि आदिमा हिनामिना भएको तथ्य बाहिर आयो । भ्रष्टाचारजन्य यस्ता विषयमा पत्रकारले खोजी पत्रकारितालाई कसरी अगाडि बढाएका छन् ?
पत्रकारितामा स्थापित हुने हो भने खोजी र गहिराइमै पुगेर पत्रकारिता गर्नुपर्ने हुन्छ । हामीकहाँ आर्थिक अनियमितता र भ्रष्टाचारजन्य विषयमा खोजी पत्रकारिता बढ्दो छ । यस निम्ति तालिमका अवसरहरु प्रशस्त मात्रामा उपलब्ध हुँदै आएका छन् ।
खोजी पत्रकारिताका निम्ति लगानी र धैर्यता आवश्यक पर्छ । मिडिया हाउसले खोजी पत्रकारिताकै निम्ति आवश्यक मात्रामा लगानी गरेको पाइँदैन । पत्रकारहरुकै इच्छाशक्ति आधारित भएर भ्रष्टाचार र आर्थिक अनियमितताका पाटाहरु उजागर हुँदै आएका छन् ।
तर कोरानाबेला सम्पर्क स्रोतसँग भेटघाट, सम्पर्क गर्न र डकुमेन्ट संकलन गर्न पत्रकारहरुलाई कठिनाइ भएको छ । यसबीचमा जे जति अनियमितता भएका छन्, तिनको सम्पूर्ण पाटो उजागर गर्न नसकिएको स्थिति छ । महामारीपछि यस्ता विषयमा अझ गहिराईमै पुगेर रिपोर्टिङ गर्नुपर्ने स्थिति छ ।
अन्त्यमा, आगामी दिनमा नेपाली पत्रकारिताको ‘ट्रेन्ड’ कसरी अगाडि जाला भन्ने लाग्छ ?
अबका दिनमा पत्रकारिताका माध्यम प्रविधिअनुरुप परिवर्तन हुँदै जाने निश्चित छ । पत्रकारले ‘कन्टेन्ट’ र ‘प्रस्तुति’का हिसाबले परिमार्जित गर्नुपर्नेछ । अब डिजिटल पत्रकारितामै प्रतिस्पर्धा चल्नेछ । प्रविधि डिजिटल भए पनि कन्टेन्ट चाहिँ तथ्यपरक र विश्वसनीय नै चाहिन्छ ।