'महामारीका बेला देशले मिडियाबाट मार्गनिर्देशन खोजेको छ । यस्तो बेला जनतालाई दिग्भ्रमित गर्ने खालका सूचना सम्प्रेषण गर्नुहुँदैन । मुख्य महामारीसँग लड्नुपर्ने बेलामा ध्यान अन्यत्र मोड्न मिथ्या सूचना दिने कार्य ठिक होइन ।'
डा. अनुप सुवेदी काठमाडौंस्थित ह्याम्प्स हस्पिटलका इन्टरनल मेडिसिन र संक्रामक रोग विशेषज्ञ हुन् । मुलुकमा कोभिड-१९ को महामारी सुरु भएपछि उनले विभिन्न मिडियामा लेख, अन्तर्वार्ता आदिको माध्यमबाट कोरोना भाइरससम्बन्धी जनचेतना जगाउने काम गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणको ट्रेन्ड, अपनाउनुपर्ने सुरक्षा सतर्कता र कोरोना भाइरससम्बन्धी मिडिया कन्टेन्टका विषयमा केन्द्रित रहेर डा. सुवेदीसँग ‘मिडियाका लागि विपद् रिपोर्टिङ स्रोत’का लागि छत्र कार्कीले गरेको कुराकानी :
नेपालमा कोभिड-१९ संक्रमणको पछिल्लो ‘ट्रेन्ड’बारे केही बताइदिनुहोस् न ?
नेपालमा कोभिड-१९ संक्रमण सुरुमा अन्य मुलुुकभन्दा अलि ढिलो फैलियो । अहिले आएर द्रुत गतिमा यो संक्रमण बढिरहेको छ । दिनदिनै यो बढ्ने क्रम जारी छ । जति टेस्ट भएको छ, त्यसमा कोरोना पोजेटिभ दर उच्च छ । समुदायस्तरमा कति मात्रामा फैलियो भनेर भन्न सकिएको छैन, किनकि हाम्रो परीक्षण दर एकदमै कम छ । यसरी संक्रमितको ठूलो हिस्सा हामीले पहिचान गर्न सकेका छैनौं ।
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा कोभिड-१९ संक्रमण समुदायस्तरमा गइसकेको छ भन्ने सुनिन्छ, यस्तो अवस्थामा कसैलाई संक्रमण भइहालेमा के गर्नुपर्ला ? सुरक्षित भएर बस्नका लागि कस्तो सतर्कता अपनाउनुपर्ला ?
पहिलो कुरा त संक्रमित व्यक्तिलाई छुट्टै राख्ने व्यवस्था हुनुपर्छ । कतिपय संक्रमितहरु घरमा आइसोलेसन बस्नमिल्ने स्थिति छैन । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु पनि छुट्टाछुट्टै बस्नुपर्छ ।
एउटा परिवारमा पाँचजना सदस्य छन्, र, एकजनालाई पोजेटिभ देखियो भने बाँकी चारजना पनि छुट्टाछुट्टै बस्नुपर्छ । ती चारजना छुट्टाछुट्टै बस्न एकदमै गाह्रो छ । कतिपय परिवार एउटा कोठामा बस्नुपर्ने बाध्यता रहेकोे हुन्छ । यस्तो बेलामा घरमै आइसोलेसन बस्न सजिलो र सम्भव हुँदैन । बाँकी क्वारेन्टिनमा बस्नुपर्ने मानिसले भौतिक दुरी कायम नराख्दा संक्रमण झन् फैलिन्छ ।
कतिपय आर्थिक हैसियत राम्रै भएका मानिसहरुले पनि चेतनाको कमीले गर्दा थाहा नपाएर अरु व्यक्तिको सम्मुखमा पर्दा मास्क नलगाइकन बसेको भेटिन्छ । समुदायमा घरघरभित्रैबाट यो संक्रमण फैलिरहेको छ । त्यो कुरामा अलि विचार पुर्याउनुपर्छ । संक्रमितका सम्पर्कमा आएका सबै मानिसहरु आफू-आफू पनि छुट्टै बस्नुपर्छ । संक्रमितलाई मात्र आइसोलेसनमा राखेर ढुक्क हुन सकिँदैन ।
त्यसबाहेक बाँकी मानिस भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा मिटिङ नबस्ने, सँगै बसेर चिया, खाना नखाने आदि सर्तकता अपनाउनुपर्छ । यसैगरी, कही जानुपर्ने विशेष कामबाहेक घरमै बस्ने, अनलाइनबाट मिल्ने काम घरबाटै गर्ने, सकेसम्म फोनबाटै कुराकानी गर्ने, जहाँ गए पनि मास्क लगाउने आदि उपाय अवलम्बन गर्नुपर्छ ।
कोरोना पोजेटिभ देखिएर पनि पछिल्लो समयमा कुनै पनि लक्षण नदेखिएका बिरामीको संख्या चाहिँ कति छ ?
पक्कै पनि पोजेटिभ देखिएर लक्षण नहुने संक्रमितको संख्या पहिलेकै अनुपातमा हुन सक्ला । लक्षण नभएका संक्रमितको संख्या पक्कै पनि ठूलो नै होला । त्यो त कम हुँदैन । जो उच्च जोखिममा रहेका व्यक्तिहरु थिए, उनीहरु पनि बिस्तारै संक्रमणको सिकार बन्दै गएका छन् । जो सर्तक भएर घरमै बसिरहेका थिए, उनीहरुलाई पनि कोरोना पोजेटिभ देखिन थालेको छ । लक्षण भएका सिकिस्त बिरामीहरु पनि धेरै भए, त्यसो भएर उनीहरुलाई पनि च्याप्न थाल्यो ।
लक्षण नभएका संक्रमितहरु पनि टन्नै होलान् । हामीकहाँ त्यसको परीक्षण नै हुन छाड्यो । कन्ट्याक्ट ट्रेसिङ नभइकन लक्षण नभएका बिरामीहरुको परीक्षण र पहिचान हुने कुरै भएन ।
हामीकहाँ एकपटक कोभिड-१९ बाट संक्रमित भएर निको भइसकेको व्यक्ति पुनः संक्रमित हुने अवस्था कस्तो छ ?
त्यो चाहिँ हाम्रो केसमा पुष्टि गर्न गाह्रो छ । नेपालमा जिन स्क्वेन्सिङको पर्याप्त अनुसन्धान पनि हुन सकेको छैन । केही डाक्टरहरुले फेसबुकलगायत सामाजिक सञ्जालमा शेयर गर्दा त्यस्ता केसहरु देखिएको भनी उल्लेख गर्नुभएको देखिन्छ । तर, त्यसको पुष्टि चाहिँ भएको छैन ।
सबैभन्दा कोभिड-१९ को संक्रमण हुनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकर्स, पत्रकारलगायत पेशाकर्मीहरु देखिएका छन् । फिल्डमा प्रत्यक्ष खटिएर काम गर्ने पेशाकर्मीहरुलाइ सुरक्षित रहेर काम गर्न के-कस्ता सुझाव दिनुहुन्छ ?
डाक्टर वा स्वास्थ्यकर्मीले कार्यस्थलमा बिरामीसँग ’डिल’ वा कोहीसँग व्यक्तिगत अन्तक्र्रिया गर्नुप¥यो भने अनिवार्य रुपमा मास्क र फेस शिल्ड लगाउनुपर्छ । आवश्यकताअनुसार गाउन र पिपिईको प्रयोग गर्नुपर्छ । पिपिई भन्नेबित्तिकै तलदेखि माथिसम्म लगाउनु आवश्यक छैन । कम्तीमा बिरामीसँग अन्तरक्रिया हुँदा चाहिँ सबै स्वास्थ्यकर्मीले मास्क र फेसशिल्ड चाहिँ अनिवार्य रुपमा लगाउनुपर्छ । यस्ता आधारभूत सामग्री सरकारले उपलब्ध गराउनुपर्छ ।
यो सुरक्षा सतर्कता फिल्डमा काम गर्दा धेरैजनासँग भेटघाट गर्ने अरुले पनि अपनाउनुपर्छ । ट्राफिक प्रहरी, सेना, नेपाल प्रहरी, सफाइकर्मी, बैंकका सुरक्षागार्डलगायतलाई मास्क र फेसियल शिल्ड उपलब्ध गराउनुपर्छ ।
कतिपय पत्रकारले टेलिभिजनमा अन्तर्वार्ता गर्दा मास्क नलगाएको देखिन्छ । पछिल्लो समय त धेरै पत्रकारहरु कोरोना संक्रमित भएका छन् । मिडियाकर्मीहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ ?
पत्रकारहरुले समाचार संकलन फोनबाटै गर्न सकिन्छ भने सकेसम्म भेटेर नगरौं । म व्यक्तिगत रुपमा टेलिभिजन स्टुडियो जाँदै जाँदिनँ । कोरोना संक्रमण फैलिने अत्यन्त जोखिम भएका ठाउँहरुमध्ये टेलिभिजन स्टुडियो पनि हो । स्टुडियोमा बन्द ठाउँ हुन्छ, झ्याल र भेन्टिलेटर हुँदैन । सानो स्पेसमा दुई-तीन मानिस बसेर मास्कबिनै कुराकानी गरेको वा समाचार पढेको पाइन्छ । संक्रमित व्यक्तिलाई लक्षण देखिनुभन्दा ४८ घन्टा अघिसम्म दुवै वा एकजनाले मास्क नलगाई ६ फिटको दुरीमा १५ मिनेटसम्म बसेमा संक्रमण फैलने डर हुन्छ । त्यही भएकाले यस्ता कुरामा एकदम विचार पुर्याउनुपर्छ ।
मिडियाकर्मीले पनि अलि पढ्नुपपर्यो । हामीकहाँ कतिपय मिडियाकर्मीलाई विषयवस्तुको सामान्य ज्ञान पनि छैन । मैले देखेका धेरै मिडियाकर्मी त्यस्तै खालका छन् । कोरोना भाइरस केही पनि होइन भन्ने व्यक्तिहरु मिडियामा आएका छन् । यसले गर्दा मिडियाले जनतालाई ससूचित गर्न जुन खालको भूमिका खेल्नुपर्ने हो, त्यो खेलेको देखिँदैन । सामान्य शिक्षा र स्वास्थ्य सम्बन्धी चेतनाको अभावले पनि जनतामा सही सूचना पुगेको छैन । महामारी यति फैलिसक्दा सबैभन्दा जागरुक वर्ग मिडियाकर्मी भएकाले कस्तो खालको सूचना जनतालाई दिने र त्यसको कस्तो असर पर्छ भन्नेमा सचेत हुनुपर्छ ।
कतिपय मिडियामा कोरोना भाइरस केही पनि होइन भन्ने खालका अन्तर्वार्ता र लेखहरु आए, यसबारे के भन्नुहुन्छ ?
यो एकदमै गलत कुरा हो । यसमा पनि चेतनाकै कुरा आयो । नाम चलेका सम्पादक, संवाददाता पनि यस्ता कुरा उचालेर हिँडेको देखियो । यो त गैरजिम्मेवार कार्य हो । महामारीका बेला देशले मिडियाबाट मार्गनिर्देशन खोजेको छ । यस्तो बेलामा जनतालाई दिग्भ्रमित गर्ने खालका सूचना सम्प्रेषण गर्नुहुँदैन ।
मुख्य महामारीसँग लड्नुपर्ने बेलामा ध्यान अन्यत्र मोड्न मिथ्या सूचना दिने कार्य ठिक होइन । कोरोना भाइरसविरुद्ध जुध्न जनताले जुन त्याग गरेका छन्, त्यसलाई निष्फल गराउन यस्ता मिथ्या कुरा आएका हुन् । यो भूमिका गैरजिम्मेवार हो । महामारी विश्वव्यापी हौवा हो, षडयन्त्र हो भनी केही व्यक्तिहरुले प्रचार गरिरहेका छन् । त्यसबाट आमजनता मात्र होइन, कतिपय ठूला भनिएका नेताहरु पनि दिग्भ्रमित भएको पाइन्छ । यसको पछाडि कुनै वैज्ञानिक आधार छैन । यतिसम्म कि मैले मन्त्रीहरुसमेत दिग्भ्रमित भएको देखेको छु । मलाई मन्त्रीले नै प्रश्न गर्नुभएको छ – कोरोना भाइरस हौवा होइन ?
यो एकदमै गलत कार्य भइरहेको छ । मिडियालाई त्यस्तो कार्य गर्ने अधिकार छैन । पत्रकारको पेशागत निष्ठाले पनि महामारीका बेला यस्तो भूमिका खेल्न दिँदैन । पत्रकारले आफ्नो पेशागत धर्म पालना गरेर सही सूचना मात्र दिनुपर्छ ।