पत्रकार नितु पण्डितसँग रेडियो, टेलिभिजनलगायत मिडियामा लामो समय काम गरेको अनुभव छ । हाल उनी सञ्चारिका समूहकी अध्यक्ष हुन् । कोभिड-१९ को महामारीपछि मिडियाको अवस्था, पत्रकार महिलाका समस्या, प्रविधिको प्रयोगलगायत विषयमा 'मिडियाका लागि विपद् रिपार्टिङ स्रोेत'ले गरेको कुराकानी :
पत्रकार महिला कार्यरत मिडियाले बेतलबी बिदाजस्ता कुरा ल्याइरहेको छ; मिडियाबाट नियमित तलब नपाइरहेको अवस्था छ । यस्तो स्थितिमा घरपरिवारबाट पनि जोखिम मोलेर किन काम गर्नुपर्यो, बरु बच्चा हेरेर बस्नु भन्ने कुराहरु आउँछन् । यसरी पत्रकार महिला दुईतर्फी चपेटामा परेका छन् ।
कोभिड-१९महामारीपछि नेपाली पत्रकार महिलाको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिले कोभिड-१९ महामारीबाट सबै क्षेत्र नै प्रभावित भएको अवस्था छ । यसरी बजारमा असर पर्नेबित्तिकै त्यसको प्रभाव मिडियामा पनि पर्ने नै भयो । हामीकहाँ पनि मिडियामा यसको प्रत्यक्ष असर देखिन थालिसकेको छ ।
मिडिया प्रभावित भएको स्थितिमा अवश्य पनि पत्रकार महिलाले यसको असर व्यहोर्नुपरेको छ । मेरो विचारमा पत्रकार महिलामा कोभिड-१९ को प्रभाव दुई तरीकाले परेको छ । पहिलो, समग्र पत्रकारिता क्षेत्र प्रभावित बन्दा त्यो पेशामा भएको कारणले एउटा पत्रकारको हैसियतमा पर्ने प्रभाव महिलाहरुमा परेको छ । दोस्रो, घरपरिवारसँगै पत्रकारितालाई पनि अगाडि बढाउनुपर्नेे दोहोरो जिम्मेवारी महिलाहरुमाथि छ ।
पत्रकार महिला कार्यरत मिडियाले बेतलबी बिदाजस्ता कुरा ल्याइरहेको छ । मिडियाबाट नियमित तलब नपाइरहेको अवस्था छ । यस्तो स्थितिमा घरपरिवारबाट पनि जोखिम मोलेर किन काम गर्नुप¥यो, बरु बच्चा हेरेर बस्नु भन्ने कुराहरु आउँछन् । यसरी पत्रकार महिला दुईतर्फी चपेटामा परेका छन् ।
'मिडिया हाउसले बेतलबी बिदामा राख्यो, नियमित तलब पाएनौं' भनी कतिजना पत्रकार महिलाले औपचारिक रुपमा सञ्चारिका समूहमा गुनासो गरेका छन् ?
हामीकहाँ त्यस्तो लिखित गुनासो छैन र, त्यसो त सञ्चारिका समूह उजुरी लिने निकाय पनि होइन । तर, हामीले पत्रकार महिलाहरुसँग भुर्चअल्ली भए पनि प्रादेशिक रुपमा अन्तरक्रिया गरेका छौं । यसका साथै देशभरका करिब सयजना पत्रकार महिलाहरुसँग भर्चुअल्ली सम्मेलन पनि गर्यौं ।
त्यतिखेर उहाँहरुले पत्रकार महिलालाई समस्या छन् भन्ने कुरा राख्नुभएको छ । पछिल्लो समयमा त पत्रकारहरुमा नै कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा पत्रकार महिलालाई पनि कोरोना संक्रमण देखिएको छ । कतिपय संक्रमण भएर पनि निको भइसकेका छन् भने कतिपयलाई संक्रमण भएपछि आइसोलेसनमा रहेका छन् ।
मुलुकमा कोरोना संक्रमणपछि लकडाउन सुरु भएसँगै मिडिया हाउसले तलब कटौतीको कुरा ल्याए । मिडिया हाउसले सेवासुविधा पनि घटाउने प्रस्ताव ल्याएपछि सञ्चारिका समूहले त्यसको विरोधमा स्पष्ट रुपमा आफ्नो धारणा राखेको थियो । लकडाउनपछि पत्रकार महिलालाई मिडिया हाउसले घरबाटै काम गर्दा हुन्छ भने पनि पछि चलब चाहिँ कटौती गरेर दिएको भनी विभिन्न जिल्लाका साथीहरुले शेयर गर्नुभएको थियो । मिडिया हाउसले तलब कटौती गरेकाले साथीहरु त्यसको मारमा पनि पर्नुभएको छ ।
कोभिड-१९ को महामारीका बेलामा पत्रकार महिलालाई सुरीक्षत तरिकाले रिपार्टिङ गर्नका लागि सञ्चारिका समूहको तर्फबाट कसरी सहयोग गर्नुभएको छ ?
सुरक्षाकै कुरा गर्दा हामीले पत्रकार महिलालाई टोकनकै रुपमा भए पनि मास्क, स्यानिटाइजर आदि वितरण गर्यौं । फिल्डमा रिपोर्टिङ गर्ने पत्रकारका लागि केही थान मास्कले लामो समय त नपुग्ला ! तर, यसले एक खालको आत्मीयता दर्शाउने काम पक्कै गर्यो ।
हामी साथीहरुसँग निरन्तर सम्पर्कमा छौं, उहाँहरुसँग अन्तक्र्रिया भइरहेको छ । कोभिड-१९ को बेलामा मिडियाको अवस्था जस्तो रहेको छ, सधैंभरि यस्तै रहने पनि होइन । तसर्थ, अहिलेको समयमा पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि भर्चुअल भए पनि तालिमलाई अगाडि बढाएका छौं । केही-केही फेलोसिप पनि व्यवस्था गरेका छौं । सञ्चारिका समूहले गर्ने कामले केही मद्दत गर्ने मात्र हो, मिडिया हाउस आफैं बलियो भएर पत्रकारहरुलाई नियमित रुपमा तलब दिनसक्नुपर्छ ।
महामारीका बेला पत्रकार महिलाले गरेका कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हामी नियमित रुपमा मुलुकभका पत्रकार महिलाहरुसँग छलफल गरिरहेका छौं । अप्ठ्यारोमा परेका साथीहरुलाई सहयोग गर्दै आएका छौं । यस्तो अवस्थामा पत्रकार महिलालाई समस्या प¥यो भन्ने मात्र होइन, फिल्डमा खटिएर राम्रा रिपोर्ट तयार पार्ने पत्रकार महिलाहरु हुनुहुन्छ । उहाँहरुले हिजो पनि राम्रो रिपोर्ट तयार पार्नुभएको थियो, अहिले पनि राम्रो काम गर्नुभएको छ।
कतिपय पत्रकार महिलाले घरबाटै काम गर्दा पनि राम्रो स्टोरी तयार पार्नुभएको छ । उहाँहरुले टेलिभिजनमा समाचार भनिरहनुभएको छ, टकशो चलाइरहनुभएको छ, रेडियोमा समाचार भनिरहनुभएको छ ।
पत्रपत्रिकामा बाइलाइन आइरहेका छन् । पत्रकार महिलाले क्वारेन्टिनमा बसेर पनि काम गरिरहनुभएको छ । यस्तो महामारीका बेलामा उहाँहरुको भूमिका कस्तो रह्यो भनेर हामीले सञ्चारिकाको अनलाइन महिलाखबर डटकममा अनुभव समेट्ने कार्य गरिरहेका छौं । यसरी हामी त्यस्ता अभ्यासको डकुमेन्टेसन गर्ने काममा पनि लागेका छौं ।
कोभिड-१९ महामारीका बेला मानसिक स्वास्थ्य अति महत्वपूर्ण विषयवस्तु हो । पत्रकार महिलाले यस्तो बेलामा तनावमुक्त रहेर काम गर्नु जरुरी हुन्छ । तपाईंहरुले मनोसामाजिक काउन्सिलिङसम्बन्धी कुनै कार्यक्रम ल्याउनुभएको छ कि ?
पत्रकार महिलाहरुसँग अन्तरक्रियाका क्रममा हामीले उहाँहरुका समस्याबारे छलफल गरेका छौं । त्यस्ता समस्यामाथि उचित सुझाव र सल्लाह पनि दिएका छौं । अन्तक्र्रियाका क्रममा मनोसामाजिक परामर्शको सेसन पनि राखेका छौं र पछि पनि यसलाई निरन्तरता दिन सकिन्छ ।
तपाईंले अघि कोभिड-१९ पत्रकारको क्षमता अभिवृद्धि गर्ने अवसर पनि हो भन्नुभयो । यो समयमा सुरक्षित रहेर सिर्जनशील बन्न पत्रकार महिलालाई कस्तो सुझाव दिनुहुन्छ ?
हामीले महामारीकै बीचमा प्रदेश २ मा फिचर लेखन तालिम गराएका थियौं । हामीलाई कस्तो कमेन्ट आयो भने पत्रकारिता छाड्नुपर्ने बेलामा के को फिचर लेखन तालिम ? अझै पनि हामी यस्ता तालिम गरिरहेका छौं । विभिन्न प्रदेशमा लेखनको माध्यमबाट महिला हिंसा कसरी कम गर्न सकिन्छ भनी तालिम गराइरहेका छौं ।
अहिले त मिडिया मात्र होइन, सबै क्षेत्र प्रभावित छ । कोरोनापछि मिडिया एउटा नयाँ विन्दुमा जान्छ । त्यो बेलामा मिडिया अहिलेको जस्तै नहुन सक्छ । कोरोनापछि मिडिया कसरी अगाडि बढ्छ भन्नेमा पर्याप्त बहस हुन थालेको छ ।
पक्कै पनि मिडिया कुनै न कुनै स्वरुपमा रहन्छ । त्यही भएर पनि पत्रकारले परिवतर्तित सन्दर्भमा आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने हुन्छ । तसर्थ, यस्तो बेलामा हामीले पनि प्रविधिको अधिकतम फाइदा लिन सकिन्छ, कसरी काम गर्दा उपयुक्त हुन्छ ? भन्ने कुरा ख्याल गर्नुपर्छ । सिक्ने कुरा कहिल्यै सकिँदैन । महामारीमा काम गरेको अनुभवलाई डकुमेन्टेसन गर्न सकिन्छ ।
अब कार्यक्रम गर्ने स्वरुप परिवर्तन हुन सक्छ । हिजोका दिनमा प्रत्यक्ष भेटघाट गरेर कार्यक्रम गरिन्थ्यो, अनुहार हेराहेर गरेर छलफल हुन्थ्यो । तर, अबका दिनमा काम गर्ने शैली परिवर्तन हुन्छ । प्रविधिको प्रयोग गरेर त्यस्ता कार्यक्रम गरिन्छन् । यो महामारी कति समय रहन्छ भनी विश्लेषण गर्ने अनि काम गर्ने तौरतरिका बदलेर त्यसमा आफूलाई ढाल्नेजस्ता काम गर्न सकिन्छ ।
आगामी दिनमा सञ्चारिका समूहले पत्रकार महिलाका लागि कस्तो कार्यक्रम ल्याउने योेजना बनाउँदैछ ?
हामी दुइटै किसिमले अहिले काम गरिरहेका छौं । एउटा चाहिँ महिला हिंसा न्युनीकरणका लागि मिडयाको योगदानबारे काम गरिरहेका छौं । अर्को चाहिँ, प्रविधिको प्रयोगबाट गरिने तालिमलाई कसरी अगाडि बढाउने सोचमा छौं । हामीलाई अधिकांश पत्रकार महिलाले आम्दानीको स्रोत कम भएको कुरा बताउनुभएको छ । त्यही भएर हामीले फेलोसिपको कार्यक्रमलाई पनि जोड दिने योजना बनाएका छौं ।
कोरोनापछि पत्रकार महिलाको अवस्था कस्तो छ भनी हामी छलफलबाट आएको कुराको आधारमा बोलिरहेका छौं । कोरोनापछि पत्रकार महिलाको अवस्थाबारे रिसर्च गर्नुपर्छ भन्नेबारे पनि हामी सोचिरहेका छौं । पत्रकार महिलाहरुबीच प्रविधिको प्रयोगलाई कसरी व्यापक बनाउने भन्नेबारे पनि योजना बनाइरहेका छौं । सकेसम्म पत्रकार महिलाको क्षमता विकासका लागि मिडियाका आएका नवीनतम प्रयोगलाई कसरी तालिमका माध्यमबाट व्यवहारमा उतार्ने भन्नेमा हामी केन्द्रित हुन खोजेका छौं ।