कोभिड-१९ को महामारीपछि टेलिभिजन पत्रकारिता अवसरसहित चुनौतीपूर्ण रह्यो । विभिन्न चुनौती हुँदाहुँदै पनि वास्तवमा यो जनता र दर्शकको सेवा गर्ने उपयुक्त अवसर पनि रह्यो ।
कोभिड-१९ को महामारीपछि टेलिभिजन पत्रकारिता अवसरसहित चुनौतीपूर्ण रह्यो । फिल्डमा गएर काम गर्नुपर्ने पेशा भएकाले यो समय पत्रकारका लागि जोखिमयुक्त बन्यो । राष्ट्रिय र सामाजिक उत्तरदायित्वसहितको पेशा भएकाले गर्दा पत्रकारले जनतालाई सुसूचित गर्न फ्रन्टलाइनमा गएर काम गर्नु पर्यो । वास्तवमा यो जनताको सूचनाको हक र सूचनाको आवश्यकतालाई परिपूर्ति गर्ने अवसर पनि हो । यही उद्देश्यका साथ सञ्चारकर्मीले महामारीका बेला जोखिम मोलेर काम गरेको पाइयो ।
२०७६ माघमा नेपाल टेलिभिजन इटहरी च्यानलको सुरुआत भएदेखि नै मैले उक्त च्यानलको नेतृत्व सम्हाले पनि कोभिड-१९ का कारण गत चैतमा सरकारले मुलुकभर लकडाउन गरेपछि चुनौती थपियो । विभिन्न चुनौती हुँदाहुँदै पनि वास्तवमा यो जनता र दर्शकको सेवा गर्ने उपयुक्त अवसर पनि रह्यो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले देशव्यापी लकडाउन लागू गरेपछि सारा जनता घरभित्रै बस्नुपर्ने बाध्यता आइपर्यो । त्यस्तो बेलामा मिडियाले उनीहरुलाई अझ बढी सूचना दिनुपर्ने, शिक्षा दिनुपर्ने, मनोरञ्जन दिनुपर्ने र विचार निर्माण गर्नुपर्ने अवस्था थियो ।
स्वभाविक रुपमा टेलिभिजनले आफ्नो प्रकृतिअनुसार दर्शकलाई ‘भिज्युअल इम्प्याक्ट’ पार्नुपर्ने हुन्छ । दृश्यसहितको समाचार, फिचर आदिले दर्शकमा विश्वसनीयता सिर्जना गर्छ । नयाँ टेलिभिजन स्टेसनका लागि हामीले अभूतपूर्व अवसर प्राप्त गर्यौं, र, सँगै यसलाई पुँजीकृत गर्ने ‘भिजन’ निर्माण गर्यौं । त्यही अनुसार नयाँ ‘कन्टेन्ट’ तयार गर्यौं, कार्यक्रमहरुको तालिकीकरण गर्यौं । हामीले विशेष बुलेटिन थप्यौं, जनप्रतिनिधिका सन्देश राख्यौं । जनचेतनामूलक सन्देश (पब्लिक सर्भिस अनाउन्समेन्ट) प्रसारण गर्यौं ।
दर्शकहरुको टेलिफोन कल, म्यासेन्जर कल र भाइबर कल लियौं। यसरी कोरोना भाइरससम्बन्धी जनताका जिज्ञासालाई विज्ञहरुसम्म पुर्यायौं । यसबाट जनता र विज्ञलाई जोड्ने पुलको काम भयो । यसको अतिरिक्त आधिकारिक रुपमा सरकारी निकायले गरेका प्रेस ब्रिफिङहरुलाई प्रत्यक्ष प्रसारण गर्ने माध्यम पनि बन्यौं । यो त छँदै थियो, फेरि समाचार बुलेटिन पनि थप्यौं ।
एसइईका विद्यार्थीलाई तयारी कक्षा
करिब पाँच लाख विद्यार्थी एसइई परीक्षाको तयारीमा थिए । कोभिड-१९ को संक्रमण बढ्न थालेपछि परीक्षा सुरु हुनुभन्दा दुई दिनअगाडि छोटो सूचना दिएर सरकारले परीक्षा स्थगन गर्यो। त्यसपछि विद्यार्थी घरमै बसिरहेका थिए । केही समयपछि एसइई परीक्षा हुने नै भन्ने थियो तर कहिले हुने भन्ने थिएन ।
त्यति बेला विद्यार्थीलाई परीक्षाको तयारीमा सहयोग पुग्ने केही कार्यक्रम दिनुपर्ने आवश्यकता थियो । उनीहरुलाई व्यस्त राख्न जरुरी थियोे । यसलाई मध्यनजर गरेर हामीले विद्यार्थीका लागि दैनिक सय मिनटको एसइई सहयोग कार्यक्रम उत्पादन गरी प्रसारण गर्यौं । गत वैशाख १५ गतेदेखि कार्यक्रम सुरु गरेर ४९ दिनसम्म निरन्तरता दियौं ।
त्यो कार्यक्रम एकदमै लोकप्रिय भयो; त्यसमा शिक्षक र अभिभावक पनि सरिक भए । दर्शकहरुको संख्या एकैचोटि दोब्बर भयो । बिजुली नजाने ठाउँमा त समस्या भएन । पूर्वी पहाडी भेगमा पेल्ट्रिक सेट र माइक्रो हाइड्रोबाट पावर उत्पादन हुँदो रहेछ । त्यहाँ बेलुका मात्र बत्ती आपूर्ति हुने भएकाले त्यसबेला पनि हामीले कार्यक्रम रिपिट गरेर ठूलो संख्यालाई सेवा पुर्यायौं । सरकारले एसइई नहुने भनेर निर्णय गरेपछि चाहिँ हामीले यो कार्यक्रम स्थगन गर्यौं ।
त्यसैबीच हामीले फरक क्षमता (अपांगता) भएका र त्यसमा पनि बहिरा (कान कम सुन्ने वा नसुन्ने) समुदायका लागि काम गर्यौं । राष्ट्रिय बहिरा महासंघ र कोशी बहिरा संघका अनुसार यस्ता बहिराको संख्या ५ लाखभन्दा बढी छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर बहिरा वर्गका पहुँचमा सूचना (कोभिड-१९ सम्बन्धि सरकारी सूचना वा अन्य समाचार) पुगोस् भन्ने उद्देश्यले प्राइम टाइम बुलेटिनमा समाचारलाई सांकेतिकरण पनि गर्यौं ।
यी सबै कार्यक्रममा हामीले प्रादेशिक सरकारका कुनै न कुनै मन्त्रालय, सरकारी निकायसँग सहकार्य गर्यौं, त्यसले कन्टेन्ट उत्पादनमा दिगोेपन हुने भयो र आर्थिक रुपमा पनि भरथेग भयो । कुनै पनि टेलिभिजन स्टेसन चलाउनका लागि कम्तिमा पनि पाँच वर्ष नोक्सान व्यहोर्न सक्ने ‘प्लान’ चाहिन्छ किनकि टेलिभिजन माध्यम महँगो हुन्छ र आय गरी थेग्न समय लाग्छ । एउटा एक मिनेटको गुणस्तरीय स्टोरी गर्न पनि उपकरण र गाडीसहित चारजना पुग्नुपर्ने हुन्छ ।
यस्तो महँगो माध्यमलाई हामीले सुरु भएको तीन महिनाभित्रै कोभिड-१९ को बीचमै सञ्चालन खर्च जुटायौं । यसरी एकातिर दर्शकलाई सेवा गर्ने अवसर र अर्कोतिर आर्थिक रुपमा पनि टेलिभिजनलाई टिकाउने वातावरण सिर्जना गर्न सक्यौं हामीले ।
नयाँ टेलिभिजन च्यानलले गरेका उदाहरणीय काममध्ये यी हुनसक्छन् :
निजी च्यानलको कमजोर स्वास्थ्य
समग्रमा अरु टेलिभिजनको कुरा गर्दा प्रदेश-१ र प्रदेश-२ का अन्य सबै प्रादेशिक टेलिभिजन निजी क्षेत्रबाट सञ्चालित रहेका छन् । प्रदेश-१ मा एनटिभी इटहरीबाहेक ६ वटा टेलिभिजन च्यानल रहेका छन् । उनीहरुको अवस्था कस्तो रह्यो भने कर्मचारीलाई बिदा दिने, काम गर्ने अवधि घटाउने, नयाँ कार्यक्रम उत्पादन न्यून गर्ने र अर्काइभको प्रयोग बढाउने काम भयो । उनीहरुको व्यवसायिक स्वास्थ्य कमजोर हुँदै आयोे किनभने निजी क्षेत्रले विज्ञापन घटाउँदै ल्याए । उनीहरु पूर्ण क्षमतामा चल्न नसक्ने भए । सुरुमा लकडाउनका कारणले निजी क्षेत्र, उद्योगधन्दा, होटल-व्यवसाय आदि पूर्ण रुपमा बन्द भए ।
लकडाउन खुलेपछि पनि निजी क्षेत्र पूर्ण क्षमतामा चल्न सकेनन् । त्यसको मारमा निजी टेलिभिजन र मिडिया प्रत्यक्ष रुपमा परे । समाचार पनि राम्रो कभरेज गर्न नसक्ने भए, संवाददाताहरुको सञ्जाल सीमित भएकाले नयाँ कार्यक्रम गर्न सकेनन् र ट्रान्समिसनका लागि मात्र प्राविधिक ल्याउने अवस्था रह्यो । स्वास्थ्यका पर्याप्त सावधानी अपनाउन पनि लगानी गर्नुपर्ने हुन्छ, जुन कार्य गर्न निजी च्यानललाई असहज अवस्था भयो ।
उदाहरणका लागि, अस्पतालको अपरेसन थिएटरमा प्रयोेग हुने केमिकल (गुणस्तरीय र महँगो) प्रयोग गरेर हाम्रो च्यानलको स्टुडियोलाई ‘डिस्इन्फेक्ट’ गर्यौं । निजी टेलिभिजनलाई चाहिँ गुणस्तरीय स्यानिटाइजर नै पनि प्रयोग गर्न नसक्ने अवस्था आयो । निजी क्षेत्रमा कार्यरत पत्रकारलाई मास्क पनि विभिन्न संघसंस्थाले सप्लाइ गर्नुपर्ने स्थिति रहेको देखियो । स्वास्थ्यका पर्याप्त सावधानी पनि अपनाउन नसकेर निजी क्षेत्रका पत्रकार संक्रमित रहेको पनि देखियो ।
विपद्को समयमा पत्रकारलाई आपतकालीन कोष
विपद्का बेला पत्रकारलाई अत्यन्तै आवश्यक पर्ने मध्ये आपतकालीन कोष पनि रहेछ । कोभिड-१९ को बेलामा कुनै पनि मिडियामा आपतकालीन कोष भनेर स्थापना भएको देखिएन । सरकारी स्तरमा प्रधानमन्त्री विपद् कोष, गृह मन्त्रालय, जिल्लास्तरमा सिडियो र पालिकास्तरमा पनि केही न केही संयन्त्र छ । तर, कुनै पनि मिडियामा त्यो खालको संयन्त्र रहेको देखिएन । महामारीमा यसको आवश्यकता धेरै महसुस भयो । आपतकालीन कोषको आवश्यकता भूकम्पमा महसुस गरिएको थियो, तर, कोरोना कालमा पनि नेपाली मिडियाले सिकेको पाइएन ।
जब कोरोना महामारी देखियो, नेपाल टेलिभिजनले चाहिँ आफ्ना सम्पूर्ण संवाददाता र कर्मचारीको एक लाखसम्मको कोरोना बिमा गरायोे । एनटिभीले त्यो आफ्नो नियमित फन्डबाटै गरायो । जुनसुकै बेला यस्तो अवस्था आउनसक्ने भएकाले परिआउँदा उपचार गर्ने कोष स्थापना गर्नैपर्ने देखिएको छ ।
विपद्लाई कसरी ट्याक्लिङ गर्नुपर्छ, कसरी रिपोर्टिङ गर्नुपर्छ भन्नेबारे रिपोर्टरलाई तालिम दिनुपर्छ । रिपोर्टिङमा जाँदा कस्ता कुरा आवश्यक पर्छन्, आपतकालीन अवस्थामा रिपार्टिङ किट कसरी प्रयोग गर्नुपर्छ भन्नेबारे तालिम दिनुपर्छ । यस्तो अवस्थामा पत्रकारलाई सेफ्टी किटको प्रयोगबारे अभ्यस्त बनाउनुपर्छ । न्युजरुम र बाहिरी स्रोतहरुबीच महामारीको बेलामा सहज रुपमा कसरी सम्पर्क बढाएर जनतालाई सुसूचित बनाउने भन्नेबारे अभ्यस्त बनाउनुपर्छ ।
लेखक नेपाल टेलिभिजन इटहरीका प्रमुख हुन्