कोभिड-१९ ले पत्रकारलाई प्रविधिसँग खेल्न सिकायो । प्रविधिको ज्ञान अत्यावश्यक रहेछ भन्ने बोध गरायो । फोटो र भिडियोका साथीहरुबाहेक अन्यले घरमै बसेर पनि समाचार बनाउन, संकलन गर्न सकिँदोरहेछ भन्ने विश्वास दिलायो ।
पेशागत प्रकृति नै जोखिम र आकस्मिकतामा काम गर्ने भएकाले सञ्चारकर्मी र मिडिया हाउसले दोस्रो विकल्प अर्थात् प्लान नम्बर २ लाई सधैँ तयारी अवस्थामा राख्नुपर्छ । विपद्मा समाचार सम्प्रेषणबारे समय-समयमा तालिम गोष्ठी भए पनि त्यहाँ सिकाइएको सिकाइलाई व्यवहारमा त्यति उतार्ने गरिएको थिएन ।
विपद् भन्नेबित्तिकै बाढीपहिरो, भूकम्पजस्ता प्रकृतिसिर्जित अवस्थालाई बुझ्ने र बुझाउने गरियो । विगतमा मुलुक द्वन्द्वको चेपटामा परेकाले द्वन्द्व रिपोर्टिङको तालिम दिइयो । आन्दोलनमा जाँदा पत्रकारले अपनाउन पर्ने सावधानी सिकाइयो । तर, सरुवा रोगको महाव्याधिका बेला कसरी सुरक्षित रिपोर्टिङ गर्ने भन्ने कुराको तालिम दिइएन । यससम्बन्धी ज्ञानको अभाव कोभिड-१९ को महामारीमा स्पष्ट देखियो । नयाँ भाइरसबारे दैनिक फरक–फरक तथ्य सार्वजनिक हुँदै आए । सुरुआती दिनहरुमा कोरोनाबाट बच्च सावधानी अपनाउनभन्दा पनि डर र त्रास फैलाउने काम भयो ।
सूचना र सञ्चारमा काम गर्नेले कुनै पनि संकटका बेला विश्राम लिन मिल्दैन । असहज र अप्ठ्यारोमा त उनीहरु अझै बढी सक्रिय हुनुपर्छ । बाढी, पहिरो, भूकम्प, झडप, लडाइँ, झगडा, द्वन्द्व सबैमा अग्रभागमा बसेर सूचना सम्प्रेषण गर्ने दायित्व पत्रकारको हो । तर, कोभिड-१९ हाम्रा लागि मात्रै नभई विश्वकै लागि नयाँ समस्या भएकाले के गर्ने, कसरी गर्ने भन्ने अन्योल हामीकहाँ पनि देखियो ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई विश्वव्यापी महाव्याधिका रुपमा घोषणा गरिसकेपछि पनि आवश्यक तयारीका लागि हामीलाई पर्याप्त समय थियो । समस्याप्रति समयमै गम्भीर बन्न नसकेको सत्य हो । त्यसमा सरकारसँगै मिडिया हाउसहरु पनि चुकेको देखियो । कोभिड संक्रमण देखिएको अवस्थामा कसरी काम गर्ने भनेर कुनै पनि मिडिया हाउसले योजना बनाएको देखिएन । तर, केही मिडिया हाउसहरुले आकस्मिक रुपमा नै आफूलाई व्यवस्थापन गर्न सफल भए र कार्यालयभित्रै क्वारेन्टाइनको व्यवस्था गरे ।
२०७६ साल चैत १० गते नेपालमा कोभिड-१९ को दोस्रो केस देखिएपछि सरकारले चैत ११ गतेदेखि नै मुलुकभर लकडाउन गर्यो । सरकारले पनि बिनातयारी लकडाउन घोषणा गर्यो । मिडिया हाउसहरुसँग पनि लकडाउनको समयमा कसरी समाचार सम्प्रेषण गर्ने भन्ने तयारी थिएन । चैत १० गते राती १ बजे सम्म काठमाडौं सिडियो कार्यालयमा पास लिने भीडले बिनातयारीको लकडाउन घोषणा भन्ने स्पष्ट पाथ्र्यो ।
भिडभाड रोक्न लकडाउन गरियो । तर, लकडाउनमा हिँड्नका लागि पास लिन आउनेको भीड बढेपछि प्रमुख जिल्ला अधिकारीको कार्यालयले सूचना विभागकै कार्डलाई मान्यता दिने भन्दै पत्रकारका लागि पास वितरण गर्ने कार्य राक्यो । यो सुन्दा सामान्य लाग्ने घटना भए पनि यसको महत्व ठूलो थियो । पासबिना रिपोर्टिङ कसरी गर्ने भन्ने समस्या थियो । घरबाहिर ननिस्किकन समाचार संकलन हुँदैन भन्ने मानसिकता थियो । तर, यो मानसिकता सात महिनाको अवधिमा परिर्वतन भएको छ । कार्यशैलीमा पनि परिर्वतन आएको छ ।
कोभिड-१९ ले पत्रकारलाई प्रविधिसँग खेल्न सिकायो । प्रविधिको ज्ञान अत्यावश्यक रहेछ भन्ने बोध गरायो । फोटो र भिडियोका साथीहरुबाहेक अन्यले घरमै बसेर पनि समाचार बनाउन, संकलन गर्न सकिँदोरहेछ भन्ने विश्वास दिलायो । कतिपय मिडिया हाउसमा कार्यरत पत्रकारहरु अहिले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गरिरहेका छन् । टेलिभिजनमा समाचार पढ्नुपर्ने, भिडियो संकलन गर्न जानुपर्ने र स्टुडियोभित्रका केही प्राविधिक काम गर्नेबाहेक अन्यले घरमै बसेर समाचार लेख्न सकिँदो रहेछ भन्ने सिकायो ।
पत्रकार बबिता बस्नेतको अनुभव पनि यस्तै छ । उनी भन्छिन्, ‘कोरोनाले प्रविधिको अधिकतम सदुपयोग गर्न सिकायो । समाचारका लागि बाहिर गइरहनुपर्ने रहेनछ । पहिले हामीलाई यो कुरा थाहै थिएन । समाचार लेख्न जानेर मात्रै के गर्नु ? अनलाइनमा अपलोड गर्न नजानेपछि पछि परिने रहेछ । ३० वर्षको अवधिमा मैले एउटा पत्रकारले पत्रकारिताको गोलचक्रमा सबै दृष्टिकोणबाट पर्फेक्ट हुनुपर्दोरहेछ भन्ने अनुभव गरेँ ।’
कोभिडको समयमा धेरै पत्रकारले रोजगारी गुमाए । यसले व्यवसायिक सुरक्षाका बारेमा लगानीकर्ता र पत्रकार दुवैलाई सोच्न बाध्य बनाएको छ । केही बद्नियतका घटनाबाहेक प्रविधिमैत्री नभएकाले पनि कतिपयले आफ्नो रोजगारी गुमाएका छन् । यसअघि समाचार मात्रै लेख्नेहरुले कोभिडको समयमा घरबाटै समाचार अपलोड गर्न नजान्दा जागिर गुमाउनुपरेका दृष्टान्त पनि छन् ।
कोभिडका कारण आम्दानी घटेर खर्च कटौतीको रणनीति अपनाएका मिडिया हाउसहरुले बहुमुखी प्रतिभाशाली व्यक्तिलाई छान्ने प्रवृत्ति बढ्दै गएको छ । यसले तत्कालिन समयमा केही नकारात्मक प्रभाव पारे पनि पत्रकारिता क्षेत्र र पत्रकारमा थप निखार ल्याउने छ । क्षमतावान पत्रकारहरुले राम्रो अवसर पाउनेछन् । अन्ततः यसले व्यवसायिक पत्रकारितालाई उचाइमा पुर्याउने छ ।
पत्रकारले समाज बुझ्नु जरुरी छ । महाव्याधिमा पत्रकारले समाज चिन्ने र समाजले पत्रकारिता बुझ्ने दुवै मौका पाए । चेतनाको स्तर चिन्ने मौका पाए । कोरोना संक्रमितलाई समाजले गरेको व्यवहार, आफन्तले गरेको व्यवहारबाट समाज कति क्रूर रहेछ भन्ने कुरा स्पष्ट पार्यो । पश्चिमा संस्कृतिभन्दा पूर्वीय संस्कृतिमा आपसी प्रेम, स्नेह र सद्भाव बलियो हुन्छ भन्ने भ्रम टुट्यो । कोभिड संक्रमितलाई गरिएको दुव्र्यवहारबाट समाज चेतनशील बनिसकेको रहेनछ र, राज्य तथा सरोकारवाला निकायले चेतना वृद्धिमा अझै धेरै काम गर्नुपर्नेछ भन्ने कुरा पनि देखायो ।
पत्रकार तीर्थ कोइराला कोभिड-१९ ले सञ्चार जगतलाई प्रविधि र संकटसँग खेल्न सिकाएको बताउँछन् । कोइरालाले भनेजस्तै प्रविधिसँगै पत्रकारिता सुविधाको पेशा मात्रै होइन रहेछ भन्ने कुरा कोभिड-१९ महामारीले सिकाएको छ । मिडियामा लगानी गरेर आउनेहरुलाई ‘संकट पनि पर्दो रहेछ’ भन्ने चेतना दिएको छ ।
व्यक्तिगत र पेशागत सुरक्षाका सवालमा सञ्चित पुँजी पनि चाहिने भएकाले हुरहुरी मिडियामा लगानी आउने चलनको अन्त्य गर्छ । कालो धन नहुनेहरु मिडियामा लगानी गर्न हिच्किचाउँछन् । जसले लगानी गर्छ उसले पुँजीको दीर्घकालीन सञ्चितीसहित गर्छ । यस्तो लगानीले सञ्चार क्षेत्रलाई मजबुत बनाउँछ ।
राजनीतिक रुपमा अस्थिर हुने हाम्रो मुलुक सानातिना घटनाले पनि तत्काल आर्थिक अवस्थामा असर पार्ने गरेको छ । बेला बेलामा कुनै न कुनै प्राकृतिक विपद् अर्थात् संकटको सामना गर्नुपर्ने हुँदा मिडिया लगानीकर्ता अथवा व्यवस्थापनमा लागेकाहरुले नियमित काम गर्ने तौरतरिकासँगै अप्ठ्यारो समयमा काम गर्ने योजना र व्यवस्थालाई सधै तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।
२०७२ सालमा भोग्नुपरेको महाभूकम्प, भूकम्पसँगसँगै खेपेको लोडसेडिङ, भूकम्प पछाडि विस्तारै उठ्नै लाग्दा खेपेको नाकाबन्दीको समयमा र अहिले कोरोना कहरमा पनि मिडिया व्यवसायी, पेशाकर्मी र पत्रकार अप्ठ्यारोमा परेका छन् । यसअर्थ सम्भावित जोखिम विश्लेषण र विपद्अघिको पूर्वतयारी गर्नुपर्ने रहेछ भन्ने ठूलो पाठ कोरोनाले सिकाएको छ ।
यसको अर्को पक्ष भनेको सबै संगठित संस्थाभित्र तत्काल जोखिम बहन गर्नसक्ने कोष सञ्चितिको व्यवस्था, आधारभूत कामका लागि जनशक्ति, स्रोत र स्थान समेत छुट्याएर काम गर्नुपर्ने रहेछ भन्ने पनि सिकाएको छ ।
पत्रकार कोइरालाका अनुसार कार्यगत शैलीको ‘प्याराडायम सिफ्ट’ भएको छ । अहिले सञ्चार जगत भौतिक उपस्थितिबिना नै गरिने समाचार सामग्रीमा केन्द्रित भएको छ ।
महाव्याधिमा गर्नुपर्ने पूर्वतयारीको सवालमा संसार तयार नभएको बेला हाम्रा मिडिया मात्रै तयार हुनसक्ने कुरै भएन । हरेक नकारात्मक घटनाले केही सकारात्मक सन्देश पनि सँगै लिएर आएका हुन्छन् । कोभिड-१९ ले प्रविधि, कार्यशैली, लगानी सुरक्षा, व्यवसायिक सुरक्षालगायत सबै क्षेत्रमा निक्कै सकारात्मक सन्देश दिएको छ पत्रकारिता क्षेत्रलाई । यसबाट सबैले पाठ सिक्नुपर्छ । संक्रमणबाट धेरै मानवीय क्षति भयो, र व्यापार व्यवसायमा प्रभाव देखियो, कैयौं बिरामी परे तर, यसले कैयौं गुणा सकारात्मक सन्देश पनि दिएको छ ।
पत्रकार र सञ्चारगृहलाई आवश्यक पर्ने भनेको समाचार हो । समाचारको खाँचो नै भएन । भ्रष्टाचारदेखि हरेक कुरामा कोरोनालाई केन्द्रविन्दुमा राखेर अथाह सामाग्री दिन पाइयो । प्रविधिको अधिकतम सदुपयोग भयो । यसलाई मिडियाले एउटा अवसरका रुपमा लिएर थप सुदृढ बन्दै अगाडि बढ्नुपर्छ ।
कोरोना कहर सकिएको छैन । तत्कालका लागि लकडाउन तथा निषेधाज्ञा छैन । महान चाड दशै र तिहारपछाडि व्यवसायिक अवस्थामा ‘स्लो डाउन’ सुरु हुनसक्ने सम्भावना छ । यस्तो अवस्थामा व्यवसायिक आचरणसहित गुणस्तरीय समाचार पस्कने ठूलो चुनौती मिडियाले भोग्नुपर्ने छ । जोखिमका बेला जसरी पनि टिक्नुपर्छ भन्ने अभिप्रायले पत्रकारितामा विकृति बढाउँछ । यसतर्फ मिडिया क्षेत्र थप सचेत हुन जरुरी छ ।
पौडेल समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपालकी प्रमुख हुन् ।