कोभिड-१९ महामारीको क्रममा नेपाली मिडियामा देखिएका बिषय-वस्तु र शैली, मल्टिमिडियामा प्रयोग, पाठकसम्मको पहुँचका लागि अपनाइएका सम्प्रेषण वा बितरणका तौरतरिका, र बजार व्यवस्थापन र प्रवर्धनमा देखिएका चुनौती र नयाँ प्रयोगहरुबारे लक्ष्मण डंगोलको खोजपूर्ण र विचारणीय आलेख।
हरेक संकट वा महामारी सामनापछि मानिसले आफ्नो कार्यशैलीमा परिमार्जन गर्ने गरेको दृष्टान्त पाइन्छ । वुहानबाट फैलिएको नोभल कोरोनाभाइरस रोग (कोभिड-१९) ले विश्वव्यापी माहामारीको रुप लिएपछि नेपाली पत्रकारको रिर्पोटिङ गर्ने शैलीमा केहि उल्लेखनीय परिवर्तन आएको छ । पत्रकारको कार्यालय घरमै बनेसँगै कोभिड-१९ रिपोर्टिङमा केहि नवप्रवर्तनका उदाहरणहरु पनि देखा परेका छन्।
अधिकांश नेपाली सञ्चार माध्यमले डिजिटल प्रविधिको अझ बृहतर प्रयोग गर्न थालेका छन् । उनीहरूले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका छन् । पाठकलाई महामारीबारे सूचना दिएका छन् । कोभिडका समाचारमा आंकडाको प्रयोगलाई विशेष ध्यान दिएको पाइन्छ । भिडियो प्रसारणलाई व्यापकता दिइएको छ । अन्य कतिपय नयाँ 'ट्रेन्ड" पनि देखिएका छन्।
मिडियामा नवप्रवर्तन
आजभोली प्रविधिको कुरा गर्दा 'इन्नोभेसन' अर्थात् ‘नवप्रवर्तन’ आफैं नयाँपनको आभास दिने शब्द बनेको छ । सूचना प्रविधिको उच्चतम विकास भएसँगै मिडियामा नवप्रवर्तन स्वभाविक रुपमा बढेको पाइन्छ । मुख्यतया प्रकाशकले उत्पादन गरेका सामग्री वेच्न वा संस्था टिकाउन नवप्रवर्तनको भूमिका महत्वपूर्ण मानिएको छ।
बितेका दशकहरुमा भने मिडियामा नवप्रवर्तन तीन चक्रमा संगसंगै जस्तो गरी देखिएको विज्ञहरु बताउँछन्। ती हुन्-- डिजिटल प्रकाशन (वेबसाइटबाट प्रकाशन), सामाजिक संञ्जालबाट वितरण, र अडियन्स इन्गेजमेन्ट अर्थात् पाठक केन्द्रित प्रकाशन।
यस विषयका अध्येता गर्सिया एभिलेजका अनुसार मिडियामा नवप्रवर्तन भनेको सृर्जनात्मक सीपहरुको प्रयोगको माध्यमबाट उत्पादन, प्रक्रिया तथा सेवामा परिवर्तन गराउन सक्ने सामर्थ्यलाई बुझ्नु पर्दछ। यस्तो सामर्थ्यले समस्याको पहिचान गर्न सघाउँछ। मिडिया उधोग स्वयंलाई फाइदा हुने मात्र होइन पाठक-स्रोताको पहुँचमा गुणस्तरीय नयाँ सामग्री पुर्याउन पनि मद्दत गर्छ।
नयाँ प्रविधि र परिवर्तित व्यावसायिक वा सामाजिक परिवेशसंगै मिडियामा पनि परिवर्तन वा नयाँ-नयाँ प्रयोगहरु हुने नै भए । बितेका दशकहरुमा भने मिडियामा नवप्रवर्तन तीन चक्रमा संगसंगे जस्तो गरी देखिएको कुरा अर्का अध्येता ज्याकी पार्कले उल्लेख गरेकी छन्। ती हुन्-- डिजिटल प्रकाशन (वेबसाइटबाट प्रकाशन) , सामाजिक संञ्जालबाट वितरण, र अडियन्स इन्गेजमेन्ट अर्थात् पाठक केन्द्रित प्रकाशन।
व्यवहारिक रुपमा पाठकलाई केन्द्रमा राखेर गरिने पत्रकारिताले आफ्नो रणनैतिक योजना बनाउने क्रममै आफ्ना उत्पादित सामाग्री, व्यापार योजना, वितरण र पाठक आदिलाई नवप्रवर्तनसंग जोडेर हेर्ने गर्छ। नयाँ हुन् वा स्थापित मिडिया, तिनले यस्तो रणनीति अपनाउँदा आफ्ना पाठकलाई बिशेष प्राथमिकता दिने मान्यता रहेको छ -- सकेसम्म पाठक सहभागितालाई संख्यात्मकका साथै गुणात्मक रूपमा बढाउने र पत्रकारिताको सत्य, तथ्य र निष्पक्ष समाचार-सूचना सम्प्रेषण गर्ने सिद्धान्तलाई अंगिकार गर्दै आफ्नो व्राण्ड भ्यालु तथा व्यापार पनि बढाउने ।
ढिलो-छिटोको कुरामात्र हो, नवप्रवर्तनका माथि उल्लेखित कतिपय दृस्टान्तहरु नेपाली मिडियाको सन्दर्भमा पनि लागू हुन्छन्। खास गरी डिजिटल मिडिया वा यसको विकास क्रमबारे हाम्रा थुप्रै अनुभव अन्य देशहरुसंग पनि मेल खान्छन् ।
समाचार-कन्टेन्टमै नवप्रवर्तनको कुरा गर्दा, विषय, शैली, मल्टिमिडिया, सेतु (लिङ्क), कन्टेन्टको ढाँचा वा संरचना, सामग्री उत्पादनमा विविधता र भाषाजस्ता कुरालाई महत्व दिएको पाइन्छ। यस आलेखमा मैले कोभिड-१९ महामारीको बेला नेपाली मिडियामा देखिएका बिशेष गरी रेडियो, टेलिभिजन र अनलाइन माध्यममा बिषय-वस्तु वा समाचार-कन्टेन्टका स्वरुप र प्रस्तुतिका शैली, मल्टिमिडियामा प्रयोग, पाठक सम्मको पहुँचका लागि अपनाइएका सम्प्रेषण वा बितरणका तौरतरिका आदि केलाउने प्रयास गरेको छु । अन्त्यमा, बजार व्यवस्थापन र प्रवर्धनमा खट्किएका कुराहरु पनि औंल्याएको छु र मिडियामा नवप्रवर्तनको मार्गमा देखिएका अवरोध तथा सुधारका उपायबारे चर्चा गरेको छु।
समाचार-कन्टेन्ट र शैली
देशमा सर्वसुलभ वा अधिक पहुँचको माध्यम रहेका रेडियो स्टेसनहरुले बिषय-बस्तु चयन र प्रस्तुतिका शैलीमा पाठक-केन्द्रित प्रयोगहरु गरेको पाइन्छ ।
उदाहरणका लागि, नारायणी एफ एमको एउटा कार्यक्रमलाई लिउँ। उक्त एफएमका समाचार प्रमुख माधुरी महतो भन्छन्, ‘समाजमा राम्रा र नराम्रा पक्षसँग जोडिएको जनताको सवाल र सरकारी निकायका प्रतिनिधिका कोभिडसम्बन्धि जवाफ तत्काल दिने ‘जनसरोकार’ कार्यक्रम चलाउने गर्दछौं ।’ कोभिडपछि नियमित प्रशारणमा रहेको स्थानीय सरकारको भूमिकामा आधारित ‘हल्ला बोल’ कार्यक्रमतिर उनले इशारा गरेका हुन्।
यस कार्यक्रममा कोभिडलागेका मानिसलाई प्रशासनसँग समन्वय गरेर उनीहरुको घरघरमा पुगेर सान्त्वना दिने गरिन्छ, र श्रोताले यसलाई रुचाएको पाइन्छ । बिषय-वस्तुका दृष्टिमा, कोभिड लागेपछि घरमै क्वारेन्टाइनमा बस्ने होइन अस्पतालमै जानु पर्दछ भन्ने मान्यताले समाजमा पीडा भोगेका मानिसका कथा समेटिएको छ । कोभिडको महामारीमा श्रोता-केन्द्रित यस्ता थुप्रै कार्यक्रम धेरै एफ एमहरुले गरिरहेका छन्।
पत्रकार स्वयं समाचारको विषय हम्मेसी बन्ने चलन छैन, तर यस महामारीको क्रममा स्थानीय एफएमहरुमा कतिपय संक्रमित मिडियाकर्मी समाचारका उपयुक्त पात्र र जनचेतनाका भुक्तभोगी, प्रभावकारी साधन पनि बनेका छन् । आइसोलेसन वा क्वारेन्टाइनका अनुभव आफ्नो बृहतर समुदायसंग बाँडिरहेका छन् । यस्तो "स्टोरी-टेलिङ"बाट स्थानीय वा सामुदायिक रेडियोको मर्म थप उजागर भएको छ।
सामुदायिक रेडियोहरुको साझा नेटवर्क, सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले साझा समाचार वाचनकै क्रममा सर्वसाधरण मानिसलाई जोड्ने गरेको छ । नेपाली समाजमा सासु र बुहारी मिल्दैनन् भन्ने मान्यता छन्, त्यसलाई चिर्न सासु-बुहारीको सम्बन्धलाई आमाछोरीको रूपमा प्रस्तुत गरिएको छ । अर्को नौलो प्रयोग, कोरोना लागेर निको भएको मानिसको सन्देश सम्बन्धित व्यक्तिकै आवाजमा समाचार भित्रै एक मिनेटसम्म दिने गरिएको छ ।
बिषय र कार्यक्रम ढाँचाकै कुरा गर्दा, पत्रकार स्वयं समाचारको विषय हम्मेसी बन्ने चलन छैन, तर यस महामारीको क्रममा स्थानीय एफएमहरुमा कतिपय संक्रमित मिडियाकर्मी समाचारका उपयुक्त पात्र र जनचेतनाका भुक्तभोगी (त्यसैले प्रभावकारी) साधन पनि बनेका छन् । आइसोलेसन वा क्वारेन्टाइन अनुभव आफ्नो बृहतर समुदायसंग बाँडिरहेका छन् । आफू जोखिममा रहेको अवस्थामा पनि यस्ता मिडियाकर्मी आफ्नो समुदायसंग प्रत्यक्ष तर सुरक्षित रूपमा सम्पर्कमा रहेका छन् । यस्तो "स्टोरी-टेलिङ"बाट स्थानीय वा सामुदायिक रेडियोको मर्म थप उजागर भएको छ।
समाचारका अलावा अन्य कन्टेन्ट र प्रस्तुतिमा पनि केहि नयाँ प्रयोग देखिएको छ। विद्यालयहरु बन्द भएपछि शहरमा अनलाइन पढाइ हुँदै आएपनि दूरदराजका गाउँघरमा यस्तो सुविधाको अभाव छ । इन्टरनेटको पहुँचमा नरहेका बालबालिकाका लागि सीआईएन रेडियोको न्यूज रुमबाट ‘‘हाम्रो घर हाम्रो पाठशाला’ जस्ता कार्यक्रम सञ्चालन हुदै आएको छ । यसरी थुप्रै रेडियोहरु नै कक्षा कोठा बन्न पुगे। सीआईएनका समाचार प्रमुख गोविन्द खड्काका अनुसार वालवालिकालाई कसरी सृर्जनात्मक बनाउन सकिन्छ भन्नेमा कार्यक्रम केन्द्रीत रहेको छ । ‘बाल सिकाइमा आधारित पाठ्यक्रमका केही हिस्सा संलग्न छन् र कार्यक्रमलाई कथात्मक शैलीमा प्रस्तुत गर्ने गरिएको छ ।’
स्थानीय सृजनात्मक प्रविधि पनि बिषय छनौटको दृष्टिमा नवीन रहे । जस्तै, लकडाउनमा हिंड्नेलाई समात्न नेपाल प्रहरीले प्रयोगमा ल्याएको "गजबको हतियार" वा "बल्छी" । मौलिक यो नेपाली आविष्कारबारे स-तस्बीर समाचार विश्वका कतिपय मिडियामा पनि आएका थिए। विषयमा नवप्रवर्तन झल्कने अर्को उदाहरण हो-- स्थानीय सामग्रीको प्रयोग गरेर स्वाब लिइएकोबारे प्राथमिकतासाथ प्रशारित समाचार ।
यस्तै गरी टेलिभिजनमा पनि बिषय, कन्टेन्ट र शैलीमा दर्शक केन्द्रित प्रयोगका केहि उदाहरण देख्न सकिन्छ। प्लाज्मा थेरापी र त्यसको प्रयोगका समाचारमा भनौ वा विज्ञानका प्रयोगशालामा भएका खबर देखि औषधि र भ्याक्सिन बन्ने बिषय टेलिभिजनको प्राथमिकतामा परे । जस्तो कि नेपाल टेलिभिजनमा दिउँसो दैनिक १२:३० बजे आउने 'कोभिड हटलाइन'मा श्रोताले टेलिफोन, भाइबर, मेसेन्जरमा स्वास्थ्य विज्ञसँग सोध्न सक्छन् र सोझै उत्तर पनि पाउँछन् । यो दर्शकले रुचाइएको कार्यक्रममा पर्छ । त्यस्तै, एनटिभीकै मुख्य समाचारपछि नयाँशैलीको 'कोरोना केयर'' पनि प्रसारण भैरहेको छ । डाक्टरका सल्लाह, माक्स कसरी लगाउने जस्ता व्यावहारिक स्वास्थ्यका भिडियोमा पाठकको रुची पाइएको छ ।
त्यस्तै, कान्तिपुर टेलिभिजनमा प्रशारण भएको ‘गुड मर्निङ नेपाल’मा कोभिडबारे जानकारीमुलक अन्तर्वार्तालाई स्थान दिएको पाइन्छ । केटिभीकै 'कान्तिपुर समाचार'ले विश्वस्वास्थ्य संगठनको नेपाल प्रतिनीधि डा. होजे भ्यान्डलायरसंगको प्रत्यक्ष अन्तर्वार्ता दर्शकसामु ल्याएको थियो। स्थानीय सृजनात्मक प्रविधि पनि समाचारका रोचक बिषय बने। जस्तो कि, लकडाउनमा हिंड्नेलाई समात्न नेपाल प्रहरीले प्रयोगमा ल्याएको "गजबको हतियार" वा "बल्छी" केटिभीमा फिचर गरिएको थियो। वास्तवमा मौलिक यो नेपाली आविष्कारबारे स-तस्बीर समाचार विश्वका कतिपय मिडियामा पनि आएका थिए। विषयमा नवप्रवर्तन झल्कने अर्को उदाहरण हो-- स्थानीय सामग्रीको प्रयोग गरेर स्वाब लिइएकोबारे प्राथमिकतासाथ प्रशारित समाचार । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएका स्वाब संकलन गर्ने मोबाइल गाडीलाई पनि यसको दृष्टान्तका रुपमा लिन सकिन्छ।
एनटिभी, एपी-वान लगायतका नेपालका कतिपय एचडी टेलिभिजनले यस्ता प्रविधि वा बिषयगत नवप्रवर्तनका दृश्टान्त पाएसम्म प्रस्तुत गर्ने प्रयास गरे।
नेपालमा पाँच लाख जति कान नसुन्ने मानिस छन् । उनीहरुका लागि एनटिभी लगायत कतिपय टिभीले सांकेतिक भाषामा समाचार प्रशारण गरे। गएको जेठ १ गतेदेखि ‘प्राइम टाइम बुलेटिनमा पनि कोभिडका सूचना पाउने हकको सुनिश्चिता गर्न भनेर सांकेतिक भाषामा समाचार दिने कामको सुरुवात गरिएको छ ।
यस्तै गरी अन्य कन्टेन्टको सवालमा, रेडियोमा जस्तै टेलिभिजनहरुमा पनि पठनपाठनका कार्यक्रमहरु प्रशारित हुँदै आएका छन्। कोभिडको समयमा एनटिभीमा विज्ञान विषय पढाउँदै गरेको भिडियो यस्तै एउटा उदाहरण हो।
मौलिक अनलाइन र प्रिन्ट प्रकाशनका अनलाइनमा राखिएका समाचार-कन्टेन्टमा पनि बिषय र शैलीका यस्ता केहि उदाहरण देख्न सकिन्छ। यी आफैंमा सधैं नवप्रवर्तन नहोलान् तर "नवीनता"मा जोड दिने समाचारको मान्यता अनुरुप पनि मिडियाको यस्ता कुरामा चासो हुनु स्वाभाविक देखिन्छ।
कोरोनाकालमा मिडियाका उत्पादन वा सेवाहरु खुम्चिएको र ताजा अपडेट वा समाचार-सामग्रीको सदैव खड्को रहेकोअवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित आयोजना गर्ने कोभिड-१९ सम्बन्धि अनलाइन व्रिफिङले पनि सञ्चारमाध्यमका लागि समयानुकुल सामग्री प्रदान गर्यो। यस्ता सरकारी ब्रिफिङ (वा प्रेस रिलिजहरु) सामन्यतया समाचारको कच्चा पदार्थ मात्र बन्ने गर्छन् जसलाई अलि मेहनती पत्रकारले थप सोधखोज र पुनर्लेखन वा पुनर्मार्जित गरेर मात्र प्रयोग गर्ने गर्छन्। तर महामारीको क्रममा अधिकांश अनलाइन मिडियाका लागि यस्ता ब्रिफिङ स्वत: तयार सामग्रीको रूपमा उपलब्द भए र यिनको भरपूर प्रयोग पनि गरियो । उपयोग र प्रस्तुतिको दृष्टिमा यसलाई एउटा नौलो प्रयोग नै मान्नु पर्छ।
अन्य मिडियामा जस्तै अनलाइनमा पनि नवीन र जनचासोका बिषयमा नजर परेको देखिन्छ। अनलाइन खबरमा प्रकाशित एटिएम मेसिनबाट कोरोनाभाइरस सर्न सक्ने जोखिम र अपनाउनु पर्ने सतर्कता सम्बधि सामग्री यस्तो एउटा उदाहरण हो। साधारण विज्ञानको प्रयोग गरेर हातले नछोई स्यानीटाइजर र पानी प्रयोग गर्न सकिने प्रविधिका बारेमा पनि कामलाग्ने खालका समाचार प्रकाशित भए ।
महामारीमा समाचार धेरै कोभिडमय भयो। परिणामत: अन्य महत्वपूर्ण बिषयहरु समाचारमा अत्यन्तै न्यून हुन पुगे । यस कुरालाई ख्याल राखेर जनसरोकारका अन्य बिषयलाई पनि समाचार बनाउन मिडियाले प्रयास भने नगरेका होइनन् । बिषय छनौटमा देखिएको नौलोपना यस अर्थमा पनि प्रष्ट हुन्छ ।
मिडियाको खबरदारीको भूमिकामा पनि पत्रकारले नयाँ पाटाहरु केलाएको देखिन्छ । विज्ञान तथा राजनीतिक समाचारमा कलम चलाउँदै आएका नेपाल खबरका विशेष सम्वाददाता मणि दाहालले अनुमतिबिनै पहिलो नेपाली संक्रमितको नमूनाबाट विदेशमा कोरोनाको जिन सिक्वेन्सिङ गरिएको खुलासा गरेका थिए।
सचेतनाको पाटो मात्र होइन लकडाउनको सकारात्मक असरको रूपमा वातावरणीय गुणस्तरमा सुधार भै काठमाडौंको प्रकृति नै मुस्कुराउन पुगेको समाचारलाई लिन सकिन्छ । मनोरम दृष्यले क्षणिकरुपमा भएपनि मानिसलाई कोभिडको त्रास भुलाउने कुरामा सहयोग पुर्याएको भान हुन्छ।
महामारीमा समाचार धेरै कोभिडमय भयो। नेपाल खबरका दाहाल ८० प्रतिशत कोरोनाकै समाचार पाठक समक्ष प्रस्तुत गरेको बताउँछन् । परिणामत: अन्य महत्वपूर्ण बिषयहरु समाचारमा अत्यन्तै न्यून हुन पुगे । यस कुरालाई ख्याल राखेर जनसरोकारका अन्य बिषयलाई पनि समाचार बनाउन मिडियाले प्रयास भने नगरेका होइनन् । बिषय छनौटमा देखिएको नौलोपना यस अर्थमा पनि प्रष्ट हुन्छ। जस्तो कि अंग्रेजी सप्तहिक नेपाली टाइम्सले कोभिडकै नसोचेका प्रभाव वा महामारीमा समाचारको मूल प्रवाहमा नआएका, ओझेलमा परेका वा बिर्सिएका महत्वपूर्ण समाचारका बिषयमा प्रकाश पर्ने प्रयास गरेको देखिन्छ । सडक दुर्घटनाबाट ज्यान गुमाउन सक्ने ७०० नेपाली लकडाउनका कारण बच्न सकेको सोनिया अवालेको रिपोर्ट, आवश्यक स्वास्थ्य सेवा र स्यहार नपाएर लकडाउनकै समयमा गर्भवती महिलाहरुले बढ्दो संख्यामा ज्यान गुमाउनु परेको नुनुता राईको रिपोर्ट यसका उदाहरण हुन् ।
यस्तै सेतोपाटी, नेपाली टाइम्स र अन्य मिडियाले बिगतमा नेपालमा आएका महामारीबारे पनि खोजि गरेर जानकारी प्रस्तुत गरे । स्पष्ट गर्नु पर्ने कुरा के हो भने, मिडियामा आउने लेख-सामग्रीमा समाचारबारे आवश्यक "ब्याकग्राउन्ड" वा प्रसंग खुलाउनु पत्रकारिताको मूल मान्यताभित्र पर्छ, तर व्यहारमा यो बिरलै चरितार्थ हुने गरेको छ ।
यी माथिका उदाहरणले नेपाली मिडियाका नौलोपनका केहि प्रयासलाई स्पष्ट गर्छन् -- अनलाइनमा रहेका गोरखापत्र, कान्तिपुर, नागरिक देखि अनलाइनखबर, सेतोपाटी, देखापडी, नेपालखबर र अन्य थुप्रै मिडियाको नाम लिन सकिन्छ।
मल्टीमिडिया र प्रविधिको प्रयोग
नागरिक नेर्टवर्क अनलाइनका सहसम्पादक प्रशान्त लामिछाने भन्छन्, ‘नेपालमा कोभिड भित्रिएपछि पत्रकारको दैनिकी फेरिएको छ । नेपाल पूर्णरुपमा डिजिटल जर्नालिज्ममा प्रवेश गरेको छ ।’
टेलिभिजनहरुमा पनि उच्चतम प्रविधि प्रयोग गरी कोभिडलाई लक्षित गरेर कार्यक्रम तथा सचेतनाका सामग्री बनेका छन् । तथ्याङ्क, मल्टीमिडिया, मोबाइल र भएजति साधन प्रयोग गरिएको छ । जस्तो, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका प्राध्यापक डा. सञ्जिव कोइरालाका ‘कोभिड-१९’ सम्बन्धि तथ्याङ्कलाई एनटिभी इटहरी च्यानलमा प्रस्तुत गरिएको भिडियोलाई लिन सकिन्छ ।
विविध प्ल्याटफर्महरुको प्रयोग ह्वातै बढेको छ। ‘डिजिटल माध्यममा मेसेन्जर, भाइबर, जुम जे-जति छन् ती प्रायः प्रत्येक दिनको एनटिभीका प्रमुख न्यूज बुलेटिनमा प्रयोग हुँदै आएका छन्,’ एनटिभी (इटहरी च्यानल) का प्रमुख डा. टंक उप्रेती भन्छन्, ‘संकटका बेला टेलिभिजन इन्डस्ट्रीमै नौलो प्रयोग गरिएको छ ।’
पत्रकारीतालाई जीवन्त पार्ने हो भने प्रविधिको अत्याधिक प्रयोग गर्नुपर्ने बाध्यता रहेको निकोल ब्रुनो, रासमस निलसेन र बब फ्र्याङ्कलिन जस्ता पश्चिमेली अध्येताले जनाएका छन्। यसरी मिडियामा प्राविधिक रुपान्तर हुँदा नेपालमा अनलाइन मिडिया नवप्रवर्तन क्षेत्रको रुपमा विकास भएको बुझ्न सकिन्छ । नेपालमा नयाँ डिजिटल सञ्चार माध्यम आउने क्रम जारी छ । यसले परम्परागत ढर्राका मिडियालाई स्तरउन्नती गर्न बाध्य पनि पारेको छ। यसैको अर्को पाटो मिडिया खर्चालु र बढी समय खपत हुने माध्यम बनेको छ, जसले मिडिया क्षेत्रको व्यापार मोडलमा पनि परिवर्तन ल्याएको छ ।
लकडाउनको अवधिमा नेपाली पत्रकारले ‘मोबाइल जर्नालिज्म’ अझ सिकेको पाइयो । मोबाइलबाट समाचारलाई चाहिने खुराक – फोटो, भिडियो र आवाज – कसरी संकलन गर्ने भन्नेकुरामा ध्यान दिइएको छ । ‘हरेक समाचार कोरोनामय बनेको छ । कोरोनाभाइरसका बारेमा सर्वसाधारणलाई थप जानकारी गराउने उद्देश्यले फेसबुक लाइभ पत्रकारले पहिलेको तुलनामा बढाएका छन् ।
आजकल अनलाइनमा पत्रकार सम्मेलन, मिटिङ, अन्तर्वार्ता प्रत्यक्ष हुने गरेको छ । कतिपय मिडियाले लकडाउनका बेला पत्रकारलाई डिजिटल सामग्री उत्पादन गर्न प्रशिक्षणसमेत गरेका छन्। ‘लकडाउनका अवधिमा पत्रकारलाई सक्षम बनाउन अनलाइन तालिमको व्यवस्था गरियो,’ नागरिकका सहसम्पादक प्रशान्त लामिछानले भन्छन्, ‘भिडियो एडिटिङ, स्काइप, जुम, मेसेन्जरमा गरिएका संवादलाई कसरी भन्नेबारे सिकियो ।’ लामिछाने फेसबुकमार्फत् नागरिक संवाद समेत चलाउँछन् ।
लकडाउनको अवधिमा नेपाली पत्रकारले ‘मोबाइल जर्नालिज्म’ अझ सिकेको पाइयो । मोबाइलबाट समाचारलाई चाहिने खुराक – फोटो, भिडियो र आवाज – कसरी संकलन गर्ने भन्नेकुरामा ध्यान दिइएको छ । ‘हरेक समाचार कोरोनामय बनेको छ । कोरोनाभाइरसका बारेमा सर्वसाधारणलाई थप जानकारी गराउने उद्देश्यले फेसबुक लाइभ पत्रकारले पहिलेको तुलनामा बढाएका छन् ।
अर्को नौलो अभ्यास आम मानिसलाई पनि पत्रकारिताको व्यावसायिक कार्यमा प्रतक्ष्य रूपमा संलग्न गराइयो। देशसञ्चार अनलाइनकका भिडियो एडिटर तथा प्रोड्युसर प्रभात खनाल भन्छन्, ‘लकडाउनमा जान सम्भव नभएको स्थानमा, स्थानीय मानिसलाई भिडियो खिचेर पठाउन लगाइयो । त्यो मेरा लागि नौलो प्रयोग भएको छ ।’
लकडाउन अवधिमा जूम तथा फेसबुकमा गरिएका अन्तर्वार्ताको प्रयोग बढ्यो । तर भाइबर, मेसेन्जर र जूमको नयाँ प्रयोग पत्रकारितामा भएपनि भिडियोको टेक्निकल क्वालिटी खस्केको छ । घरमा बसेर मोबाइलमा खिचिएको भिडियो प्रयोग गरिएको छ ।
एनटिभी (इटहरी च्यानल)ले लकडाउनको अवधिभर परम्परागत किसिमको लाइभ गर्न सकेन । जुन झन्झटिलो हुन्थ्यो। त्यसको सट्टामा जनकपुरधामबाट स्टुडियोसम्म फेसबुक मार्फत् लाइभ, र त्यसपछि स्टुडियोबाट श्रव्यदृश्यमा ‘भ्यालु एड’ गरेर प्रशारण गर्ने काम गरेको थियो । यसरी फेसबूक मार्फत् टेलिभिजनमा लाइभगर्दा भिडियो तथा अडियो क्वालिटीमा समस्या देखिएको छ । फ्रेमिङ र लाइटिङको समस्या छन् ।
तयारी राम्रो भयो भने सामग्री गुणस्तरीय हुन सक्छन् । अर्को भनेको श्रव्यदृष्य सामग्री गुणस्तरीय बनाउन भिडियो खिच्ने तरिका सिकाउन सकिन्छ । विपद् कुनै पनि बेला आइपर्न सक्ने हुँदा भिडियोको गुणस्तर कायम गर्ने तयारीका साथ पत्रकार जुट्नु पर्ने हुन्छ ।
अन्य मल्टिमिडियाका सन्दर्भमा भर्चुअल अन्तर्वार्ता, शोर्ट-फोर्म भिडियो, सेतु, र डेटा’ वा ‘इन्फोग्राफिक्स’बारे संक्षिप्तमा केहि चर्चा गरौँ:
भर्चुअल अन्तर्वार्ता: साधारणतया अनलाइनमा अन्तर्वार्ता पाठकले पढ्न मिल्ने गरि प्रकाशन गरिन्छ । तर अहिले अन्तर्वार्ता लिखित तथा श्रव्यदृष्य मार्फत् प्रसारण गर्न थालिएको छ । जस्तो, नागरिक नेटवर्कको यो अन्तर्वार्तामा (“कोरोनाले फेरिदियो दैनिकीः पहिले फिल्म सुटिङमा अहिले कुखुरा पालनमा”) फरक शैली अपनाइएको छ । नागरिक दैनिकका अन्तर्वार्ता अनलाइन, र फेसबुक दुवैमा राख्ने गरिएको छ ।
लेखनमा मात्र अभ्यस्त भएका पत्रकार आजकल फेसबुकमा लाइभ अन्तर्वार्तामा छाएका छन् । नेपाल खबरका दाहाल भन्छन्, ‘कोभिडले घरमै बसेर स्वदेश र विदेशमा रहेका नेपाली वैज्ञानिकसँग कुराकानी गरियो ।’ यसले के देखाउँछ भने भविष्यमा नेपाली पत्रकारितामा पत्रकारले मोवाइलबाटै पत्रकारिता र भिडियोग्राफी जस्ता शीप विकास गर्नु पर्ने हुन्छ । प्रतिस्पर्धी पत्रकारितामा सत्य, तथ्य र सन्तुलन गर्ने खालका समाचार मात्र पाठकको मन जित्न सक्ने हुँदा प्रस्तुतिमा पनि नौलोपन ल्याउन आवश्यक पर्नेछ । सामाजिक सञ्जाल फेसबुकले भिडियो पत्रकार बनाउन प्रेरित गरेको छ ।
शोर्ट-फोर्म भिडियो प्रयोग: अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सिको गर्दै नेपाली मिडियाले पनि छोटा भिडियो फेसबुकमा पोष्ट गर्ने गरेका छन् । त्यस्ता छोटा भिडियोको नेपाली मिडियामा कोभिडपछि प्रयोग बढ्दो छ । नागरिक, नेपालखबर र देशसञ्चारले कम्तिमा एक र बढीमा चार वटासम्म शोर्ट-फोर्म भिडियोको दैनिक प्रयोग गर्ने गरेका छन् । त्यस्तै कान्तिपुर, नागरिक, र अन्नपूर्णपोष्टजस्ता दैनिक पत्रिकाले पनि फेसबुकपेजमा छोटा भिडियो प्रकाशन गर्ने गर्छन् । अन्य अनलाइन मिडियाले पनि साधारण शोर्ट-फोर्म भिडियो प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता भिडियोमा कम समयमा आवश्यक जानकारी पाठकलाई दिन सकिने मान्यता छ ।
अनलाइनखबरले ‘यसरी भयो संसद भवनमा नेता र सांसदको स्वाब संकलन’ शीर्षकमा यस्तो छोटो भिडियो प्रकाशन गरेको छ । सेल्फी स्टिकको प्रयोग गरेर बनाइएको ‘अमेरिकामा कोरोनाको प्रभावमा’ शीर्षकको भिडियो रिपोर्टिङ पनि छ । अर्को भिडियो, क्वारेन्टाइन स्थलदेखि सानेपासम्म एउटा परिवारलाई पछ्याउदाँ..., क्वारेन्टाइनपछि मानिसको खुशीसँग सम्बन्धित छ ।
सम्वन्धित समाचारमा लिङ्क गरिएको सामग्रीको मौलिक प्रकाशन वा स्रोतसँग पाठकले सोझै सम्पर्कका साथ हेर्न सक्छन् । यसो गर्दा लेख-सामग्रीको थप विश्वसनीयता पनि कायम हुने मान्यता छ । नेपालको पत्रकारितामा कमैमात्र हाइपरटेक्स प्रयोग गरिएको पाइन्छ ।
सेतु (हाइपरटेक्स वा लिङ्क) र संरचना: डिजिटल समाचार साइटका लागि हाइपरटेक्स लेखनले सूचना लिङ्क गर्न र पाठकलाई सूचित गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा यस विषयका ज्ञाता अलेजन्द्राओ रोस्टले उल्लेख गरेका छन्। हाइपरटेक्सको अर्को विशेषता, सम्वन्धित समाचारमा लिङ्क गरिएको सामग्रीको मौलिक प्रकाशन वा स्रोतसँग पाठकले सोझै सम्पर्कका साथ हेर्न सक्छन् । यसो गर्दा लेख-सामग्रीको थप विश्वसनीयता पनि कायम हुने मान्यता छ । नेपालको पत्रकारितामा कमैमात्र हाइपरटेक्स प्रयोग गरिएको पाइन्छ । बिरलै उदाहरण मध्ये नेपाली टाइम्सको यो लेखमा १९ वटा लिङ्क गरिएको देखिन्छ। यो अर्को उदाहरण काठमान्डु पोस्टमा।
संरचनाले पाठकलाई बताउन खोजेको कुरालाई सुरुदेखि अन्त्यसम्म मिलाउने काम गर्दछ । मौलिक कथा भन्नलाई संरचना पनि उतिकै मिलेको हुनुपर्दछ । हरेक जिज्ञासाबाट समाचार बन्नेहुँदा जिज्ञासाअनुरुप समाचार प्रस्तुत गर्नु पर्छ; त्यसै अनुरुप भाषामा मिठास हुन पनि जरुरी हुन्छ । पाठकलाई पढौं-पढौं लाग्ने वा रेडियोको सन्दर्भमा सुनौं-सुनौं लाग्ने खालका प्रस्तुति हुन अनिवार्य भएको छ । अझ डिजिटल समाचारको प्रस्तुतिमा पनि नवप्रवर्तन जरुरी भएको छ । अध्येता ज्याकी पार्कले उल्लेख गरेकी छन्, ‘जसरी समाचार माध्यमलाई बाहिरबाट अवरोध आउँछ त्यसरी नै मिडिया भित्रबाटै आउने प्रभावको कुरा हो नवप्रवर्तन भनेको। त्यसकारण मिडियाले आफ्नो खुराक बिकाउनका लागि पाठकको ध्यान खिच्न समाचारको भन्ने शैली वा संरचनालाई आकर्षक बनाउँनु पर्ने हुन्छ ।’ फाट्टफुट्ट यस्ता प्रयोग नेपाली मिडियाले नगरेका होइनन्। कोभिड-१९ को सन्दर्भमा सेतोपाटीमा प्रकाशित 'यसरी मनाइयो पचली भैरवको ‘न्यू नर्मल’ जात्रा'लाई यस्तो एउटा उदाहरणको रूपमा लिन सकिन्छ।
‘डेटा’ र ‘इन्फोग्राफिक्स’को प्रयोग: नेपालमा ‘डेटा जर्नालिज्म’ राम्रोसँग विकास भएको छैन । केही मिडियामा सोधखोज गरियो तर प्रायजसोसँग जवाफ एउटै थियो, '…आवश्यकताअनुसार इन्फोग्राफिक्स प्रयोग गरिन्छ।’ एकाद पत्रकारले केही अनलाइनमा इन्फोग्राफिक्स तथा भिडियोमा काम गर्ने गरेको पाइयो । समय अभाव र कतिपय प्राविधिक ज्ञानको कमीले समस्या भएको देखिन्छ ।
केहि उदाहरण हेरौं। अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको यो समाचार ("२३५ जोखिममै")मा आंकडाको प्रयोग गरिएको छ । कोभिडका समाचारमा ‘डेटा भिज्युलाइजेसन्’ यदाकदा गर्ने गरेको पाइन्छ । आँकडालाई प्रिन्ट तथा अनलाइन मिडियाले आवश्यकता अनुसार प्रस्तुत गरेको पाइन्छ। जस्तो कि, रिपब्लिकाको कोभिडसम्बन्धि समाचार (एक लाख चौध हजार मानिसमा एउटा भ्यान्टिलेटर, इन्फोग्राफिक्स: नेपाल कोभिड अपडेटस्)।
पाठकले डेटालाई सरल रुपमा बुझ्न प्रयोग गरिने इन्फोग्राफिक्स अनलाइनमा रहेका कान्तिपुर, काठमान्डु पोस्ट, नेपाली टाइम्स, नागरिक, माईरिपब्लिका र अन्नपूर्णपोष्टले अन्यमिडियाको तुलनामा कोभिडका समयमा बढी प्रयोग गरेका छन् ।
नेपालमा ‘डेटा जर्नालिज्म’ राम्रोसँग विकास भएको छैन । केही मिडियामा सोधखोज गरियो तर प्रायजसोसँग जवाफ एउटै थियो, '…आवश्यकताअनुसार इन्फोग्राफिक्स प्रयोग गरिन्छ।’ एकाद पत्रकारले केही अनलाइनमा इन्फोग्राफिक्स तथा भिडियोमा काम गर्ने गरेको पाइयो ।
पहिलो पोष्ट, नेपाली टाइम्स, कान्तिपुर, नेपाल खबर, बाह्रखरीजस्ता अनलाइनहरूले कोभिडका आँकडालाई जिल्ला, शहर, नेपालको नक्साभित्र महामारीका हटस्पट देखि लिएर फैलंदै गएको इन्फोग्राफिक्स बनाएको पाइन्छ । नेपाली टाइम्समा प्रकाशित भिडियो, इन्फोग्राफिक्स र अडियोसमेत भएको ‘हिमालयन न्युयोर्कर्स टेल स्टोरीज् अफ कोभिड-१९’ लाई थप उदाहरणको रुपमा लिन सकिन्छ। ‘पछिल्लो समय पत्रकारितामा डेटा भिज्युलाइजेसन्, एनिमेसन तथा ग्राफको प्रयोगलाई नयाँ आयामका रुपमा हेरिएको दि हिमालय टाइम्स अंग्रेजी दैनिकका सम्पादक राजन पोखरेल बताउँछन्
यद्यपी, केहि वेबसाइट डेटामै केन्द्रित नभएका भने होइनन् । जस्तो कि नेपालइनडेटाले विविध तथ्याङ्कहरु प्रकाशित गर्ने गरेको छ। नेपालइनडेटा वेबसाइटको गृह पृष्ठको मेनुबारमा राखिएको ड्यासबोर्डमा “कोभिड १९” लेखिएको लिङ्क क्लिक गरेपछि लाइभ फ्लोचार्ट देख्न सकिन्छ ।
मिडियामा डेटासम्बन्धि समाचार आएमा नेपालइनडेटाले रेकर्ड गर्दछ । नेपालइनडेटाका प्रमुख टेक्निकल अफिसर विपिन सिन्जाली भन्छन्, ‘नेपालमा सरकारी आँकडा एकत्रित नहुने हुँदा पत्रकार, अनुसन्धानकर्मी र विद्यार्थीहरूलाई डेटा सजिलै उपलब्ध होस भनेर वेबसाइटको परिकल्पना गरिरहेको हो।’ नेपालइनडेटाले कृषिका तथ्याङ्कहरूलाई प्रक्षेपणसमेत गर्ने गरेको छ । तर मिडियामा प्रयोग भएको डेटाको विषयमा उसले अनुसन्धान गरेको छैन । एकादरुपमा स्वतन्त्र अनुसन्धानकर्ताले ट्वीटर र सामाजिक सञ्जालमा कस्ता किसिमको समाचार बढी आए भन्नेबारे अनुसन्धान गर्न प्रयास भने गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) मा पछिल्लो समय ’डिजिटल प्लेटफर्म’ को लागि छुट्टै समूह छ । सामाजिक सञ्जाल, प्रोगामिक ल्यांग्वेज, मल्टिमिडिया, युट्युब र लाइभ स्ट्रिमिङ आदि टिमअनुसार काम गर्दछन् । रेडियो कान्तिपुर र टेलिभिजनमा लाइभ गर्नु परेमा आवश्यकता अनुसार कार्य विभाजन गरिन्छ, केएमजीका सामग्री रणनीति समूहका एक सदस्य निशान साही भन्छन् ।
वितरण प्रक्रियामा नवपर्वतन
नेपाल प्रेस काउन्सिको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा नियमित प्रकाशन हुने ९ सय ५० पत्रिका छन् । ६५० रेडियो र २०० टेलिभिजन लाइसेन प्राप्त छन् । २०६५ अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलमा सूचिकृत छन् । यी सूचिकृत सञ्चार माध्यमले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्रामलाई समाचार वितरणको मूख्य माध्यम बनाएका छन् । कान्तिपुर, नागरिक, देशसञ्चारजस्ता दैनिक तथा अनलाइन सञ्चारमाध्यम अधिकांशले सामाजिक सञ्जालको प्रयोग गर्दछन् । बीबीसी न्यूज नेपाली सेवाले पनि सामाजिक सञ्जालको भरपूर प्रयोग गरेको देखिन्छ।
नेपालमा मानिसहरुको पहिलो सूचना प्राप्तिका आधार सामाजिक सञ्जाल रहेको प्रेस काउन्सिलले लकडाउनको अवधिमा गरेको संक्षिप्त सर्वेक्षण (२०७७ जेष्ठ १६ गते) ले देखाएको छ । उक्त सर्वेक्षणले नेपालमा ३१.८% अनलाइन, २४.४% सामाजिक सञ्जाल, २२.७% रेडियो, १८.८ टेलिभिजन, २.३ पत्रपत्रिका पहिलो सूचना प्राप्तीको माध्यम रहेको देखाएको छ ।
सर्वेक्षणका सहसंयोजक चेतनाथ धमला भन्छन्, ‘समाचारको कस्तो प्रभाव रहेछ जान्न सानो आकारमा सर्वेक्षण गरिएको हो ।‘ उनी थप्छन् ‘यो मुलत लामो समय लगाएर गरिएको नवप्रवर्तनसम्बन्धि अनुसन्धान होइन ।’ तर यसले मानिसको पछिल्लो रुची कस्तो रहेछ भन्ने प्रारम्भिक आँकलन गर्न सहयोग भने हुन्छ।
तथ्याङ्कको आधारमा भन्ने हो भने मुलुकमा डिजिटल पत्रकारिता फस्टाउनमा मोबाइलको हात छ । करिव आधा जनसंख्यामा मोबाइल फोन मार्फत इन्टरनेटको पहुँच पुगेको नेपाल दुरसञ्चार प्राधिकरणको गत वर्षको रिपोर्टले देखाउँछ । मोवाइलमा थ्री-जी र फोर-जीको प्रयोगपछि मोबाइलमार्फत मात्र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १ करोड ४६ लाख ५० हजार पुगेको छ । यसले सामाजिक सञ्जाल प्रयोग कर्ता बढेको स्पष्ट गर्छ ।
सामाजिक सञ्जालको प्रयोगको कुरा गर्दा नेपालमा फेसबुक, ट्वीटर, भाइबर, युट्यूब र मेसेन्जरजस्ता माध्यमको प्रयोग बढ्दो छ, जसका कारण नेपालमा डिजिटल पत्रकारिताको अभ्यास पनि मौलाएको देखिन्छ । नापोलियनक्याट नामको सोसल मिडिया टूल्स सम्बन्धि साइटका अनुसार नेपालमा १ करोड १५ लाख ४५ हजार फेसबुक प्रयोग कर्ता छन् । इन्स्टाग्राममा १६ लाख ९१ हजार ६ सय छन् । मेसेन्जरमा १ करोड ७ लाख ७१ हजार र लिङ्कइन्डमा ८ लाख २३ हजार ५ सय छन् । यिनैवीच नेपाली डिजिटल पत्रकारिता फस्टाएको देखिन्छ ।
नेपाल प्रेस इन्स्टिच्युट र बोर्नमथ विश्वविद्यालयले नेपालको पत्रकारितामा कोभिड-१९ ले पारेको प्रभावबारे गरेको राष्ट्रिय सर्वेक्षण प्रतिवेदनअनुसार पत्रकारले अधिकांश समाचार अनलाइन माध्यमबाट संकलन गर्ने गरेका छन् । कूल ११३४ उत्तरदातामध्ये ८०.४ प्रतिशत (९१२ जना) ले सोसल मिडियाबाट समाचार संकलन गर्ने बताए । त्यसका अलवा समाचार संकलनका क्रममा आधिकारिक र सरकारी स्रोतमा निर्भरता बढेको सर्वेक्षणले देखाएको छ ।
उक्त सर्वेक्षणले समाचार सामग्री वितरणमा देशव्यापी रुपमा छापा, श्रब्यदृश्य, श्रब्य र अनलाईन सामग्रीको उत्पादनमा कमी आएको उल्लेख गरेको छ । छापा र प्रशारण माध्यम सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ ।
प्रशारण माध्यममा पनि उस्तै प्रवृत्ति देखिएको छ । रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रशारण उत्पादन घटेको बताए। कोभिड-१९ संकटकै कारण श्रब्यदृश्य सामाग्री पनि उल्लेखनीय रूपमा घटेको सर्वेक्षणले देखाएका छ ।
बितरणमा नयाँ प्रयोगको अर्को उदाहरण स्वरुप सामाजिक सञ्जाल र इन्टरनेटको अधिकतम फाइदा लिदै सर्वसाधरणले महामारीकै वीच सोह्रश्राद्धको समयमा आफ्ना पितृको श्राद्ध गरेका थिए ।
अर्को नयाँपन ड्यासबोर्डको प्रयोगमा देख्न सकिन्छ। मूलधारको अधिकांश अनलाइन मिडियाले कोभिड ड्यासबोर्डस् मुख्य पेजमा राखेको पाइन्छ । मिडिया फाउन्डेसनले संग्रह गरेको यो लिङ्कमा बिभिन्न मिडियाका ड्यासबोर्ड प्रयोगका उदाहरण प्रस्तुत गरिएको छ। तर समयक्रमसँगै कतिपय मिडियाले कोभिड ड्यासबोर्ड जनशक्ति तथा अन्य कारण देखाएर हटाएका छन् । कतिपयले आउटसोर्सिङ गरेको पाइन्छ ।
वितरणकै कुरा गर्दा आजकल युट्युब च्यानलको भीड बढेको छ । नेपालमा युट्यूव च्यानल दर्ता हुने प्रावधान छैन । तैपनि दर्ता भएका अनलाइन, टेलिभिजन, रेडियो र पत्रकारसमेतका गरी कम्तीमा ३ हजार युट्युब च्यानल भएको नेपाल पुकार अनलाइन टिभीका सम्पादक प्रकाशचन्द्र दाहाल बताउँछन् ।
भनिन्छ, कोभिडका समाचार युट्युबमा मोनिटाइजेसन नहुने हुँदा कमैले मात्र प्रकाशन गर्छन् । प्राय युट्युबरहरुले विदेशबाट आएका चिकित्सकसँग कोभिडसम्बन्धि अन्तर्वार्ता लिने गरेका छन् । प्रविधिका समाचार खासै हेरेको पाइदैन । ‘राजनैतिक, अपराध र श्रीमानश्रीमतिको झगडा भने युट्युब च्यानलको प्राथमिकतामा पर्दछ ।
अर्को नयाँपन ड्यासबोर्डको प्रयोगमा देख सकिन्छ। मूलधारका अधिकांश अनलाइन मिडियाले कोभिड ड्यासबोर्डस् मुख्य पेजमा राखेको पाइन्छ । फेसबुक म्यासेन्जर ग्रुप र भाइबर ग्रुप मार्फत् पत्रकारले सूचना सम्प्रेषण गर्ने शैली अपनाउँदै आएका छन् । तर समयक्रमसँगै कतिपय मिडियाले कोभिड ड्यासबोर्ड जनशक्ति तथा अन्य कारण देखाएर हटाएका छन् । कतिपयले आउटसोर्सिङ गरेको पाइन्छ ।
कतिपयले अनलाइनको मेनुबारमा कोभिड लेखेका छन्, जसमा प्रयोगकर्ताले क्लिक गर्ने वितिकै कोभिडका समाचार र तथ्याङ्क आउने गर्दछ । कतिपय अनलाइनले मुख्य पेजमा कोभिडका डेटा राखेका छन्, जसबाट प्रयोगकर्तालाई कोभिड-१९ का संक्रमित बढेको वा घटेको सजिलै थाहा पाउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि छुट्टै वेबसाइड बनाएर सूचना सम्प्रेशन गर्दै आएको छ। फेसबुक म्यासेन्जर ग्रुप र भाइबर ग्रुप मार्फत् पत्रकारले सूचना सम्प्रेषण गर्ने शैली अपनाउँदै आएका छन् ।
व्यवस्थापन र प्रवर्धनमा नवप्रवर्तनको खाँचो
कोभिड-१९ ले व्यवसायजन्य सामग्रीमा कम आएपछि व्यवसायिक पत्रकारितामा थप चुनौती देखिएको छ । मिडिया विज्ञापनमा धेरै आश्रित हुनेहुँदा महामारीपछि समस्या हुनु स्वभाविक ठानिन्छ । मुलतः मिडियाको आयस्रोत अखबार विक्रिवितरण र विज्ञापन हो । तर पछिल्लो समय फेसबुक र युट्युबबाट थप आम्दानी गर्ने गरिएको बुझिन्छ ।
राज्यले ‘संयुक्त मिडिया उत्थान कोष’ सञ्चालन गर्न सक्छ । उधोगीले त्यो कोषमा सहयोग गर्न सक्छन् । कोभिडका समयमा असर नपरेका व्यापारिक क्षेत्र इन्टरनेट प्रदायक संस्था, दुरसञ्चार, बैंक तथा वितिय संस्थाहरु र बीमा कम्पनीले कोषमा सहयोग गर्न सक्छन्। जतिपनि सूचना तथा प्रचारप्रसारको सामग्रीमा मिडियाले भूमिका खेल्नु पर्दछ।
दैनिक उपभोग्य बस्तुहरु जस्तैः औषधि, पेट्रोलियम र तरकारीजस्ता बस्तुहरुको विज्ञापन हुँदैन । उधोग व्यापार पनि राम्ररी सञ्चालन नहुँदा त्यसबाट विज्ञापन अपेक्षा गर्ने कुरो हुँदैन । यसकारण मिडियाको भविष्य अन्योलमा रहेको देखिन्छ । यस्तो अवस्थामा राज्यले भूमिका खेल्न सक्न । वेलायतमा केही अखबारलाई राज्यले कागज निशुल्क दिने गरेको छ । यसको सट्टामा सरकारी सूचना प्रकाशन गर्ने गरेको पाइन्छ ।
कोभिडविरुद्ध लड्न मिडियाको भूमिका निःसन्देह महत्वपूर्ण हुन्छ । राज्यले ‘संयुक्त मिडिया उत्थान कोष’ सञ्चालन गर्न सक्छ । उधोगीले त्यो कोषमा सहयोग गर्न सक्छन् । कोभिडका समयमा असर नपरेका व्यापारिक क्षेत्र इन्टरनेट प्रदायक संस्था, दुरसञ्चार, बैंक तथा वितिय संस्थाहरु र बीमा कम्पनीले कोषमा सहयोग गर्न सक्छन्। त्यसका लागि माथि भनिए झै कोभिडविरुद्ध एकद्ध रुपमा लड्न जतिपनि सूचना तथा प्रचारप्रसारको सामग्रीमा मिडियाले भूमिका खेल्नु पर्दछ।
पत्रकार भीम भुर्तेल मिडियामा आवद्ध साँढे दुई लाख जनशक्ति रहेको अनुमान गर्छन् । ती मानिसले नेपालको अर्थतन्त्रलाई उकास्न प्रत्यक्ष भूमिका नखेलेपनि उनीहरुको रोजगार गुम्ने खतरा छ । पर्यटन, होटल रेस्टुरेन्ट र शैक्षिक संस्था ठप्प छन् । उधोग कलकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्तो अवस्थामा ‘संयुक्त मिडिया उत्थान कोष’ले भूमिका खेल्न सक्नेछ ।
‘मिडियागृहको पनि इमान्दारीता भएन । छ महिनामै पत्रकार कटौतिको ठूला मिडियाले जुन किसिमको दृश्य देखियो त्यसले मिडिया सञ्चालक इमान्दार हुन पर्ने देखिन्छ,‘ भुर्तेल भन्छन्, ‘यस्तो अवस्थामा मिडियासँग सम्वन्धित संस्थाहरुले व्यवसायमा नयाँ उपायको खोजी गरेको पाइदैन । पत्रकारिता व्यवसायलाई दीगो गर्न थप वैकल्पिक उपाय खोज्न सकेको छैन ।’
नेपालका नीजि क्षेत्रबाट सञ्चालित नागरिक र कान्तिपुर दैनिक पनि डिजिटल पत्रकारिता केन्द्रित भएको देखिन्छ। कोभिडले समग्र व्यापारमा पारेको असरको अवस्थामा बजार पुन स्वस्थ भएपछि मात्र आय बढ्ने हुँदा त्यो अवधिमा टिकिराख्ने उनीहरुको पछिल्लो कार्यनीति बुझिएको छ ।
व्यापारमा नवप्रवर्तन नीति तत्काल अबिलम्वन गर्न सक्ने अवस्था, अनुसन्धान र विकासका कुरा अहिलेको अवस्थामा तत्कालै सम्भव नहोला । तर जस्तोसुकै रुपमा पनि आफ्ना उत्पादनलाई निरन्तरता दिइरहने नागरिक नेटवर्कका उप-प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारी बताउँछन्, ‘अन्य संघसंस्थाहरुको कार्यक्रमहरुमा सुरुवात भएपछि त्यसको आधारमा थप नीति अबिलम्वन गर्ने हो । उठ्न पर्ने रकम उठाउने, आफ्नो उत्पादन नागरिक दैनिक, रिपव्लिका, रेडियो र नागरिक अनलाइनलाई थप व्यवस्थित गर्ने मार्ग पहिल्याउने अहिलेको योजना छ ।’
लकडाउनकै बीचमा कतिपय स्थानीय तहमा सञ्चालित रेडियोका विज्ञापनको रकम उठ्न पाएन। त्यसैले मोसफलका रेडियोलाई टिकाउन कतिपय कार्यक्रम कोभिडसँग सम्बन्धित रहेर स्थानीय सरकारसँग समन्वय गरेर चलाउने गरिएको छ। तर मिडिया सेवामुलक व्यापार रहीआएको हुनाले व्यवसाय खस्कनुमा यसका अरु विभिन्न पाटाहरु पनि छन् ।
जस्तो कि, आजकल स्मार्ट फोन कसले पो बोक्दैनन् र? फोन बोक्ने सबैले फोटो तथा भिडियो खिच्छन् । पत्रकार र सामान्य मानिसले खिचेको फोटो र भिडियो एकै खालका भएमा के अर्थ ? पत्रकारितामा सत्य, तथ्य र सन्तुलन पनि कायम हुनुपर्दछ । यसकारण गुणस्तरमा ध्यान दिनु जरुरी हुन्छ ।
अर्को कुरा, कतिपय मिडियाकर्मीले समाधान केन्द्रीत पत्रकारिता हुन नसकेको अनुभव गरेका छन्। महामारीका बेला राज्यलाई मिडियाले सहयोग गर्नु पर्दथ्यो, त्यो हुन नसेको पत्रकार सुरेन्द्र फुँयालको बुझाइ छ । बीबीसी न्यूज नेपालीमा उप-सम्पादक भएर काम गरेका स्वतन्त्र पत्रकार फुँयाल नेपाली मिडियामा कोभिडका विषयमा ६० प्रतिशत समाचार अझै आइरहेको बताउँछन् । तर भन्छन्, स्वास्थ्य तथा आर्थिक समस्याको समाधान हुने खालका रिपोटिङ् हुन सकेन, जुन मौलिक खालका हुनु पर्थ्यो ।
एशिया टाइम्सका स्तम्भकार र अर्थशास्त्री समेत रहेका भीम भुर्तेल भन्छन्-- बन्दाबन्दीको समयमा सरकारले दैनिक गरेका कामको फेरिस्त र सकारात्मक सुधारका पक्षहरू आउन सकेनन्, जसका कारण बहुआयामिक हिसावमा कोभिडको समयमा राष्ट्र बैंकले के-कस्ता काम गर्यो, तिनले मुलुकको अर्थतन्त्र सुधारमा के-कस्ता प्रभाव पारे, त्यस्ता समाचर आउन सकेनन् ।
‘जनस्वास्थ्यमा सरकारले के-कस्ता काम गर्यो र तिनले जनताको जीवनस्तरमा कस्ता प्रभाव पारे त्यसमा नयाँ शैलीमा समाचार आएनन्,’ भुर्तेल भन्छन्, ‘जनस्तरको आर्थिक स्थितिसँग जोडेर समाचार कम आउनु पत्रकार चुक्नु हो।’
नवप्रवर्तनमा अवरोध तथा उपाय
इन्नोभेसनमा हाम्रा निश्चय पनि थुप्रै बाधा-अड्चन छन् । मिडियागृहहरुको नेतृत्व वा व्यवस्थापकीय क्षमतामा कमी यो आलेख तयार गर्ने क्रममा मैले देखेको यस्तो एउटा मुख्य अड्चन हो । अधिकांश मिडियाले नवप्रवर्तनलाई खासै उत्साहका साथ अंगालेको पाइंदैन। हुन् पनि नवप्रवर्तनमा लगानी गर्नुले तत्कालै आम्दानी बढ्छ भन्ने पनि छैन; राम्रो रणनीति बिनै सुरु गरे यो जोखिमपूर्ण पनि हुन् सक्छ। अर्को हो स्रोत-साधनको कमी।
सरकारी नीतिमा पनि नवप्रवर्तनको उचित व्याख्यासमेत पाइदैन । विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७६ ले ‘मिडियामा नवप्रवर्तन’लाई छुन सकेको छैन ।
सृजनशील नेतृत्व मिडियाले अपनाउन सकेमा सुधार सम्भव छ । प्रकाशकले आफ्ना व्यापारिक योजना विस्तार गर्न वा टिकाउन अनुसन्धान तथा विकास जरुरत पर्दछ । अनुसन्धानको नतिजाको आधारमा पाठकको रुची र व्यापारिक क्षेत्रको पहिचान गर्न सक्नेछन् । अनि व्यापारमा नवप्रवर्तनको नीति लागु हुन सक्नेछ । अध्ययनहरुले पनि देखाएका छन्, लगानी, नेतृत्व, प्रेरणा, ‘ट्रायल एण्ड एरर’ र सृर्जनशिलता बाणिज्यमा नव–प्रवर्तन’का लागि उपाय बनेका छन्।
यस्तै मिडिया क्षेत्रमा अनुसन्धान तथा विकास र पत्रकारलाई अनुसन्धान वृत्तिविकास पुरस्कारको कमी देखिन्छ । स्वास्थ्य रिपोटिङमा गैरपत्रकारले गर्ने रिपोर्टिङमा समस्या देखिएको छ। द्रुत समाचार दिंदा, समाचार बढी विक्छ भनेर फोनमै प्रश्न सोध्ने र नबुझेका कुरा प्रमाणित नगर्दा समस्या देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकरी प्रमुख डा. प्रदिप ज्ञवाली बताउँछन् ।
सृजनशील नेतृत्व मिडियाले अपनाउन सकेमा सुधार सम्भव छ । जस्तो, प्रकाशकले आफ्ना व्यापारिक योजना विस्तार गर्न वा टिकाउन अनुसन्धान तथा विकास जरुरत पर्दछ । अनुसन्धानको नतिजाको आधारमा पाठकको रुची र व्यापारिक क्षेत्रको पहिचान गर्न सक्नेछन् । अनि व्यापारमा नवप्रवर्तनको नीति लागु हुन सक्नेछ । अध्ययनहरुले पनि देखाएका छन्, लगानी, नेतृत्व, प्रेरणा, ‘ट्रायल एण्ड एरर’ र सृर्जनशिलता बाणिज्यमा नवप्रवर्तन’का लागि उपाय बनेका छन्।
स्मरणीय छ, कतिपय अवस्थामा मिडियाको क्षेत्रका मानिसले भन्दा पनि सूचना प्रविधिको क्षेत्रका सृजनशील मानिसले नवप्रवर्तन गतिविधिबाट फाइदा लिएका छन् । युट्युब च्यानल, फेसबुक, व्लग र दर्ता नगरी सञ्चालन गरेको अनलाइनपत्रिका इत्यादी त्यसैको उदाहरण हुन् ।
अन्त्यमा, निजी मिडियाले आफ्नो नवप्रवर्तन नीति तथा रणनीति कार्वान्वयन गर्दा जोखिमलाई अवसरको रुपमा बदल्न सक्नेबारे सोच्नु उपयुक्त होला। स्मरणीय छ, कोरोना माहामारीको तीन महिनामै सरकारी सञ्चार माध्यमले एक वर्षको लक्षित उपलब्धीस्वरुप करिब ८० प्रतिशत ‘बाणिज्यमा नवप्रवर्तन’ हासिल गरेको एनटिभीको एउटा आन्तरिक कार्यमूल्यांकनमा पाइएको छ । निजी क्षेत्रका मिडियाले पनि सामाजिक उत्तरदायित्वलाई बुझेर मिडियामा नवप्रवर्तन विधि अझ बढी अपनाउनु पर्ने देखिन्छ ।
लक्ष्मण डंगोल रिभोसाइन्स डट कम का सम्पादक हुन्। यो सामग्री मिडिया फाउण्डेसनको कोभिड-१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो । लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन् ।