कोभिड-१९ महामारीमा विज्ञान सम्बन्धि सञ्चारको महत्व यति बढी कहिल्यै थिएन, तर बुझ्दै-सिक्दै जाँदा बैज्ञानिक रिसर्चमा पनि थप प्रगति हुँदै जाने हुन्छ भन्ने कुरा स्पष्ट गर्नु मिडियाको जिम्मेवारी हुन आउँछ
प्राध्यापक साम्मी बेदोउई र क्याथरिन सोमरभिल
कोभिड-१९ महामारीबाट सुरक्षित रूपमा कसरी उत्सन्न हुन सकिएला भन्नेबारे उत्तर खोज्दै सम्पूर्ण संसारले नै बिज्ञानतर्फ एकोहोरो हेरिरहेको अवस्थामा बिज्ञान सम्बन्धि सञ्चार कार्य यति बढी महत्वपूर्ण -- र यति भारपूर्ण -- कहिल्यै थिएन।
अहिले नयाँ-नयाँ दर्शक-श्रोताले विज्ञानमा रुचि देखाएका छन् र आम मानिसले मेनस्ट्रिम मिडियाबाट रिसर्च र सार्वजनिक स्वास्थ्य सम्बन्धि तथ्य-प्रमाणहरु यसरी उपभोग गरिरहेका छन् जसरी पहिला कहिल्यै गरेका थिएनन्।
तर आम मानिसको यस्तो ठूलो रुचिले मिडियाबाट उत्तिकै ठूलो जिम्मेवारी पनि निम्त्याउँछ ।
"बिशेष" समाचार 'ब्रेक' गर्ने केही पत्रकारहरूको हतारोमा रिसर्च पुरा हुनु अगावै त्यसबारे रेपोर्टिङ गर्ने उल्लेख्य जोखिम मिडियाले उठाउनु पर्ने र जनविश्वास गुमाउनु पर्ने हुन सक्छ।
रिसर्च पहेलीका अङ्गहरू
विज्ञानको सञ्चार भनेको सुलभ तरिकाले जटिल प्रक्रिया र कार्यहरूको व्याख्या गर्नु मात्र होइन, यो त नयाँ ज्ञान बिकसित गर्न विज्ञानमा हामीले प्रयोग गर्ने सिद्धान्तहरुको माध्यमद्वारा आम जनतालाई मार्गनिर्देशन गर्नु पनि हो - जस्तै, सार्स-कोभ-२ (कोभिड-१९) बिरुद्धको खोप तयार गर्नु वा संक्रमित मानिसका लागि नयाँ-नयाँ उपचारहरु विकास गर्नु ।
उसोभए वैज्ञानिकहरूले नयाँ ज्ञान कसरी विकसित गर्छन त? यो सामान्यतया पूर्वानुमानहरू वा किन केहि कुराले काम गर्ला या नगर्ला भन्ने सम्बन्धमा सम्भावित कारणहरूबारे सोचिएका विचारहरुबाट शुरु हुन्छ।
यी विचारहरूको जाँच गर्न बैज्ञानिक प्रयोगहरू सञ्चालन गरिन्छ र थुप्रै तथ्याङ्क संकलन गरिन्छ।
त्यसपछि परिणामहरूको विश्लेषण गरिन्छ र पहेली सुल्झाउने प्रयासमा परिणामका ती बिभिन्न भागहरु कुन-कहाँ मिल्छन् भनेर हेरिन्छ । प्राय गरी पहेली जहिल्यै पनि अपूरो हुन्छ र पहेलीमा उत्रेको तस्बीरलाई बिज्ञको ब्याख्या-विवेचनाको आवश्यकता पर्दछ।
अर्को शब्दमा भन्दा, यो दूधको दूध, पानीको पानी हुँदैन ।
अर्को चरणमा, अनुसन्धानकर्ताहरूले परिणामबारे सारांश तयार गरी रिसर्च विधि वर्णन गर्दै पाण्डुलिपि लेख्छन्। त्यसपछि उनीहरुले त्यसलाई वैज्ञानिक जर्नलमा बुझाउँछन् जसका सम्पादकले उक्त्त पाण्डुलिपिको मुल्याङ्कन गर्न अन्य बैज्ञानिकहरुलाई आग्रह गर्छन्।
अनुसन्धान चासोको विषय हो-होइन, रिसर्च गर्दा उपयुक्त विधिहरू प्रयोग गरिएका छन्-छैनन्, उनीहरुले पत्तो लगाएका कुराबारे बिवरण दिइसकेका छन्-छैनन्, र प्रस्तुत विचारहरु हाल उपलब्ध ज्ञानसँग तर्कसंगत र अनुकुल छन्-छैनन् भनेर यी "पियर रिभ्युअर" हरुले मूल्याङ्न गर्छन् ।
यसैबीच, अन्य वैज्ञानिकहरू पनि उही समस्यातर्फ अग्रसर हुन्छन्, तर उनीहरुले फरक-फरक कोणबाट र भिन्न-भिन्न विधिहरू अपनाएर हेर्छन्, केहि फरक र कहिलेकाहिं धेरै फरक विचार प्रस्तुत गर्दै।
यी अरु सबै अध्ययनहरूले रिसर्चको पूर्ण तस्वीरमा थप्दै जान्छन् । र यो प्रक्रिया लामो हुन सक्छ जो कहिलेकाँही दशकौं सम्म चलिरहन्छ ।
रिसर्च पेपरहरु प्रकाशनका लागि स्वीकार गरिए पनि ती प्रकाशित हुन् प्रायस: हप्तौं वा महिनौं लाग्छ । छिट्टो-छरितो पहुँचका लागि, हालको जस्तो अभूतपूर्व परिस्थितिमा प्रि-प्रिन्ट सर्भरमा पाण्डुलिपि अपलोड गरी पियर-रिभ्यु अगावै उपलब्द गराउने विकल्प बैज्ञानिकहरुले प्राय लिने गर्छन्।
यसले पारदर्शिता त बढाउँदछ, तर यसको अर्थ के पनि हुन्छ भने त्यस्ता रिसर्च पाण्डुलिपिमा प्रस्तुत विचारहरूको छानबिन वा समीक्षा गरिएको हुँदैन।
प्रणाली र प्रक्रियाहरू
विज्ञान वा स्वास्थ्य सम्बन्धि पत्रकारहरूले महामारी अघि विरलै मात्रै सोसल मिडियामा शेयर गरिएका वा मुख्य प्रि-प्रिन्ट वेबसाइटहरूमा राखिएका प्रि-प्रिन्टहरू हेर्ने र तिनबारे रिपोर्ट गर्ने गर्थे।
अहिले उनीहरुको त्यस्तो व्यवहारमा पुरै परिवर्तन आएको छ।
मिडिया उद्योग सधैं अतिनै प्रतिस्पर्धी रहिआएको छ र रहिरहने पनि छ । पहिलो हुने, "एक्सक्लुसिभ" (विशेष सूचना वा सामग्री) प्राप्त गर्ने अटूट चाहना मिडिया उद्योगमा ब्याप्त छ।
थुप्रै विज्ञान पत्रकारहरूको लागि अहिले प्रिन्ट-प्रिन्टले पहिलो हुने अवसर दिएको छ ।
तर यो अवसर उल्लेख्य जोखिमका साथ आउँदछ।
जर्नलमा बुझाएपछि प्राय: सबै जसो रिसर्च पाण्डुलिपिहरू परिवर्तन हुन्छन् र त्यसका लेखक वा अनुसन्धानकर्ताले थप प्रयोग वा परीक्षण गर्नू भन्ने पियर-रिभ्युअरका अनुरोधहरुलाई सम्बोधन गर्नु पर्ने हुन्छ ।
अन्य अवस्थाहरूमा, पेपरका निष्कर्षहरूलाई रिभ्युअरहरुले अस्वीकार पनि गर्न सक्दछन्।
तर पियर-रिभ्यु प्रक्रिया अचूक हुँदैन, अज्ञातकृति वा गुमनामी, केहि अग्रणी वैज्ञानिकबाट हुने प्रत्यक्ष प्रभाव, प्रकाशन, र नाफामुखी प्रकाशनका कारण र प्रेरणा सम्बधि मुद्धाहरु पनि छन्।
जे भए रिसर्चको समीक्षामा यो प्रणाली स्थापित रहिआएको छ, र अधिकांश अवस्थाहरुमा यसले प्रि-प्रिन्टले भन्दा बढी समीक्षाको अवसर दिन्छ ।
रिसर्च को पियर-समीक्षा भएको छैन भनेर समाचार-लेखको अन्त्यमा एउटा स्पष्टोक्ती राख्ने चलन धेरै तिर चलेको छ। तर पियर-रिभ्यु र प्रि-प्रिन्ट सम्बन्धि अवधारणा व्यापक रूपमा बुझिए मात्र यसले अपेक्षित उद्धेश्य पुरा हुन्छ ।
याथार्थ्य र भरोसा
यो महत्वपूर्ण छ कि सर्वसाधारण मानिस र मिडियाले यी प्रक्रियाहरू बुझ्नु पर्ने मात्र होइन, रिपोर्टिङ गर्दा यी बारे सावधानीपूवर्क ध्यान पनि दिनु पर्छ ।
कोभिड-१९ महामारीका विचमा झैँ कहिलेकाहिं आम मानिस र स्वास्थ्य सेवा प्रणालीलाई रिसर्चका पूर्वानुमानहरु सिद्ध भएको हेर्नका लागि पर्खेर बस्न सम्भव हुँदैन, पहेलीका केहि भागहरुकै आधारमा मात्रै पनि प्रभावकारी निर्णयहरू गर्नुपर्ने हुन सक्छ।
विज्ञान सधैं भन्दा छिट्छिटो गतिमा अघि बढिरहेको छ, र धेरै वैज्ञानिक जर्नलहरुले यसको लागि द्रुत पियर-समीक्षा प्रक्रियाहरू लागु गरेका छन्।
रिपोर्टिङ अझ चाँडो गर्नै पर्ने भए र पियर-रिभ्यु नगरिएको पाण्डुलिपि बारे लेख्नै पर्ने भए यसबारे समाचार-लेखको अन्त्यमा होइन शुरुमै स्पष्ट पार्नु आवश्यक छ।
यस्तै गरी ती रिसर्चका निष्कर्षहरू चाखलाग्दो हुन सक्ने भए पनि तिनको याथार्थ्य र एकरूपताको मूल्याङ्कन हुन अझै बाँकी छ भनेर स्पष्ट गर्नु त्यस्ता पाण्डुलिपिहरुमा टिप्पणी गर्ने विज्ञहरूको पनि जिम्मेवारी हुन आउँछ।
यो जिम्मेवारीबाट बिमुख हुँदा विज्ञानले कसरी ज्ञानमा प्रगति ल्याउँछ भन्ने प्रमुख सिद्धान्तमा क्षति पुग्ने जोखिम हुन्छ र बैज्ञानिक विधिप्रतिको जनमानसको भरोसामा पनि क्षय पुग्छ ।
अन्ततः, विज्ञानमा अहिले हामीले भरोसा गर्न सक्दैनौं भने केमा चाहिं भरोसा गर्न सक्छौं त?
प्राध्यापक साम्मी बेदोउई मेलबर्न विश्वविद्यालय र क्याथरिन सोमरभिल डोहर्टी इन्सटिच्युटसंग सम्बद्ध छन् । यो लेख हालै मेलबर्न विश्वविद्यालयको 'परसुट'मा प्रकाशित भएको थियो। अनुदित गरी "विपद् रिसोर्स" मा सधन्यवाद प्रकाशित गरिएको हो।