गूगलले "जर्नालिस्ट स्टुडियो" शुरू गरेको छ । यसमा पत्रकारलाई प्रभावकारी, रचानात्मक र सुरक्षित ढंगमा काम गर्न सजिलो होस् भनेर बिभिन्न प्राविधिक औजारहरु समेटिएको गूगल न्युज इनिसिएटिभ (जीएनआई) ले जनाएको छ । यी औजार आर्टिफिसिअल इन्टेलीजेन्स (एआई) र मेशिन लर्निंङ प्रविधिमा आधारित छन् ।
हाल समाविष्ट दुई औजार
पहिलो औजार हो "पिनपोइन्ट" जसले ठुल्ठुला सयौं वा हजारौं दस्ताबेजहरुमा खास सूचना वा कन्टेन्ट सजहै खोज्न मद्धत गर्छ । सबै भन्दा बढी दोहोरिइरहने संस्था, व्यक्ति, उनीहरुका ठेगानालाई यसले स्वत: पत्तो लगाउँने र संगठित गर्ने काम गर्छ । दस्ताबेजमा सामान्य सर्च गर्दा बारम्बार "Ctrl+F" थिच्नु पर्थ्यो । अब पत्रकारले "गूगल सर्च", "नलेज ग्राफ", अप्टिकल क्यार्याकटर रिकग्निसन, स्पीच-टु-टेक्स्ट को माध्यमबाट हस्तलिखि दस्ताबेज वा नोटहरु, तस्बीर, पिडीएफ डकुमेन्टका साथै श्रव्य सामग्रीमा सर्च गर्न सक्छन् ।
अमेरिका, पिलिपिन्स र मेक्सिकोका केहि अग्रणी समाचार माध्यमहरुले कोभिड-१९ र अन्य बिषयमा अनुसन्धानात्मक रेपोर्टिङका लागि "पिनपोइन्ट" प्रयोग गरिसकेको र अब आम पत्रकारका प्रयोगका लागि यो खुला गरिएको जीएनआईले बताएको छ । प्रयोग गर्न चाहने पत्रकारले पहिला आवेदन दिनु पर्ने उसले जनाएको छ । हाल यो औजार अंग्रेजी, फ्रान्सेली, जर्मन, इटालियन, पोलिश, प्रोचुगाली र स्पेनी भाषामा उपलब्ध छ।
दोस्रो औजार हो "दि कमन नलेज प्रोजेक्ट" को बेटा प्रिभ्यु । स्थानीय समुदायका महत्त्वपूर्ण मुद्दाहरूबारे अन्वेषण गर्ने, दृश्याङ्कन गर्ने, तथ्याङ्क शेयर गर्ने यो नयाँ विधि हो । हजारौं-हजार डेटा पोइन्टहरुबाट रिपोर्टरले आफ्नै अन्तरक्रियात्मक चार्ट तयार गर्न सक्छन, लेख-रचनामा तिनलाई एमबिड गर्न सक्छन् र सोसल मिडियामा शेयर गर्न सक्छन्।
दृश्यात्मक पत्रकारितामा काम गर्ने "पोलिग्राफ" नामक टोलीले जीएनआईको सहयोगमा "दि कमन नलेज प्रोजेक्ट" तयार गरेको हो । हाल अमेरिका र क्यानेडासम्बन्धि तथ्याङ्क यसमा समाबिस्ट छन् ।
यी औजार कसरी प्रयोग गर्ने भनेर सिक्न इच्छुक पत्रकारले जीएनआईको आगामी कुनै अनलाइन सेसनमा भाग लिन सक्ने कुरा पनि उल्लेख गरिएको छ ।
"गुणस्तरीय पत्रकारिता हाम्रा समाजका लागि अत्यन्तै महत्वपूर्ण छ । यी औजार प्रकाशित गर्दै गर्दा हामी यस महत्वपूर्ण कार्यमा सहयोग पुर्याउन आउँदा दिनमा गूगलको सक्दो प्रयोग गरिरहने आशा गर्दछौं," जीएनआईले भनेको छ ।