सोचेजस्तो सहजता अनलाइनले पाएको छैन । अझै अनलाइनका कतिपय पत्रकार मोबाइलबाटै पत्रकारिता गर्न सक्षम छैनन् वा कसैलाई अझ घरबाटै समाचार अपलोड गर्न, फोटो सम्पादन गर्न, भिडियो बनाउन वा अपलोड गर्न धौधौ पर्छ ।
प्रकोपको जोखिम न्यूनीकरण गर्न सबैभन्दा महत्वपूर्ण कदम हो, पूर्वतयारी । पूर्वतयारीले नै कुनै पनि प्राकृतिक वा मानवीय प्रकोपमा हामीलाई सुरक्षित रहन मद्दत गर्छ । तर, कोभिड-१९ को महामारी भने अर्कै अनिश्चित किसिमको छ र, यसले विश्वका ठुल्ठूला देशसमेत पूर्वतयारीमा कमजोर रहेको प्रष्ट पारेको छ ।
विश्वभर महामारीको रूप लिएको कोभिड-१९ विरुद्ध पूर्वतयारीका लागि नेपालसँग प्रशस्त समय थियो । तर, प्रधानमन्त्रीले भनेझैँ ‘भाइसले हामी (नेपाली)लाई छुँदैन’ वा ‘पशुपतिनाथले बचाएको देश’जस्ता अवधारणाले हाम्रो त्यो समय खेर गयो । पहिलोपटक चीनको उहान सहरमा कोरोनाभाइरस देखिएपछि र, त्यसपछि युरोप ‘हटस्पट’ बन्दै गर्दा हामीले नेपालमा पनि यो महामारी आउनसक्छ भन्ने हिसाबले काम गर्न सकेनौँ । जनस्वास्थ्यको यो सङ्कटलाई नेपाली मिडियाले नजिकैबाट अँगाले पनि यस्तो समयका लागि पूर्वतयारी योजना मिडियासँग पनि थिएन; यसको असर सिधै अहिले मिडियामा देख्न सकिन्छ ।
हुन त नेपाली मिडियाले आफ्नो छुट्टै प्रकोप पूर्वतयारी योजना बनाएका उदाहरण न्यून छ । केही अघि मात्र कामना पब्लिकेसन्सले बर्नमथ विश्वविद्यालयको सहयोगमा एउटा खेस्रा कोरेको छ, जसमाथि अझै थप काम हुन भने बाँकी नै छ । प्रकोपको किसिमका अनुसार के-कस्तो पूर्वतयारी गर्ने, समाचारकक्षमा वा फिल्डमा प्रकोपका बेला कसरी सुरक्षित रहने, के–कस्तो प्रकोपमा के–के गर्न हुने वा नहुने, प्रकोपका बेलामा समाचार सङ्कलन गर्दा के-के कुरामा ध्यान पु¥याउने, प्रकोपमा पत्रकार आफू कसरी सुरक्षित रहने, मानवीय मूल्यमान्यताका के-के कुरा कसरी अवलम्बन गर्नेलगायत विभिन्न पक्षलाई समेटेर बृहत्तर तथा सटिक कार्ययोजनाको अभाव सबै मिडियामा छ नै ।
सरकारी मिडियाले चाहिँ सरकारकै नीति-निर्देशनको पालना गर्ने भन्ने एउटा कुरा त छ, यसलगायत केही नीतिगत काम भने सरकारी मिडियामा भएकै छ । तर, हाल रेडियो नेपाल र नेपाल टेलिभिजिनको प्राथमिकता सार्वजनिक सेवा प्रसारणमा जानु रहेकाले अझै पनि सरकारी मिडिया पूर्वतयारीमा कमीकमजोरी छ । अझ ती योजना कार्यान्वयनको पक्ष झन् ठूलो हो, जहाँ मिडियाको नेतृत्व, समाचारकक्ष तथा पत्रकार स्वयंको भूमिका सबैभन्दा बढी हुन्छ ।
सामान्य रूपमा प्राथमिक उपचारका सामग्री वा अझ केही चोटपटक लागेमा मेडिकल टेपसम्म पनि व्यवस्था अहिलेसम्म नभएको हाम्रा प्रायः समाचारकक्षको अवस्था छ । आगलागीको पूर्वतयारीस्वरूप समयसमयमा विद्युतीय तारको जाँच र आगो निभाउने विकल्पको व्यवस्थाजस्ता गर्न सकिने काम नै अझै टाढाको कुरा हो ।
धेरैले त अझ प्रकोप जोखिम न्यूनीकरण भन्दा भूकम्प नै सम्झन्छन्, हुन त २०७२ को भूकम्पले केही पाठ हामी मिडियाकर्मीलाई सिकाएकै छ । मोफसलका पत्रकारले यसभन्दा थप बाढीपहिरोलाई पनि सम्झन्छन्, तर अद्यापि यस विषयमा मोफसलको समाचार कक्ष पनि तयार छैन । एक त मोफसलमा पूर्वतयारीको निश्चित योजना भएका सञ्चार संस्था नगण्य नै छन् (हुन त राजधानी वा ठूला सहरमै पनि पूर्वतयारी योजना बलियो रूपमा रहेको छैन), अर्कोतर्फ पत्रकारिताको व्यावसायिक अभ्यास नै पनि सन्तोषजनक रूपमा विकास भएको छैन ।
स्रोतसाधनको कमी एक ठाउँमा होला, तर मिडियामा लगानी गर्नेहरूबाट नै यसलाई व्यापारको दृष्टिकोणबाट मात्रै हेर्ने गरेको पाइन्छ । पत्रकारलाई समयमा उचित तलब–सुविधा नदिने आधारभूत समस्याले ग्रस्त एउटा ठूलो पाटो छ र, यस्तो अवस्थामा झन् प्रकोप पूर्वतयारी लगानीकर्ताको लागि प्राथमिकतामा त्यति पर्ने गरेकै छैन ।
पूर्वतयारीकै कुरा गर्नुपर्दा कोरोनाले सिकाएको ‘वर्क फ्रम होम’को पद्धतिको पनि एउटा पक्ष छ । हाम्रो समाचारकक्ष अद्यापि पुरानै ढङ्गले सञ्चालित थिए, अनलाइनको ठूलो दुनियाँलाई हाम्रा समाचारकक्षले अझै पूर्णतः अवलम्बन गर्न सकेको छैन । हुन त अनलाइन पोर्टलको विकाससँगै र अहिलेको महामारीका कारण अनलाइनमा हामी अभ्यस्त त भइरहेका छौँ । तर, के अझै पनि हाम्रो काम गर्ने तरिका पुरातन मिडियाको जस्तो मात्र त छैन ? हाम्रो अनलाइन पोर्टलको न्युजरुम पनि छापा माध्यमको डिजिटल विस्तार मात्र त होइन ? प्रश्न अझै सान्दर्भिक छन् ।
छापा माध्यमले त कोरोना महामारीबीच बन्द नै गर्नुपर्ने स्थिति आयो । सङ्क्रमणको डरका कारण पाठकले पत्रिका नै छुन मन नपराउने गरेको पाइएको छ । अनि, यसको प्रत्यक्ष फाइदा भयो अनलाइनलाई । अनलाइन माध्यमले यसबीच पाठक ह्वात्तै बढाएको छ, तर समाचार कभरेज र गुणस्तर कत्तिको वृद्धि भएको छ भन्ने प्रश्न आउँछ । हुन त यो समय अहिले मिडिया बाँच्ने समय हो, नयाँ काम गर्न खतरा लिने अवस्था अहिलेको लागि छैन ।
यता रेडियो र टेलिभिजनका लागि ‘वर्क फ्रम होम’ त्यति सहज चल्न सकेन । दुवैले अनलाइन भिडियो कन्फरेन्सिङमार्फत् कार्यक्रम चलाएका छन् । तर, सम्बन्धित श्रव्यदृश्य लिन स्थलगत रूपमै भिड्नुपर्ने बाध्यता छ । श्रव्य सामग्री त अझ फोनबाट लिन सकिन्छ, तर दृश्यकै लागि अवस्था सहज छैन । त्यहीअनुसारको सम्पादन सेट घरमा हुँदैन, मास्टर कन्ट्रोल रुमका लागि अफिस पुग्नै पर्छ ।
यसबीच प्रसारणमा नयाँ परिवर्तन चाहिँ वैकल्पिक स्टुडियोको आएको छ । यदि एक ठाउँको स्टुडियोमा कदाचित कोही सङ्क्रमित भएमा अर्को ठाउँको अर्कै स्टुडियोबाट प्रसारण निरन्तरता दिन सकिन्छ र, यसर्थ वैकल्पिक स्टुडियोको आवश्यकता यस्तो बेला ज्ञात भएको छ । यो भविष्यको कुनै प्रकोपका लागि पूर्वतयारीको एउटा अङ्ग हुन सक्छ ।
अनलाइन माध्यम यस्तो प्रकोपमा सहज हुन्छ । तर, सोचेजस्तो सहजता अनलाइनले पाएको छैन, अझै अनलाइनका कतिपय पत्रकार मोबाइलबाटै पत्रकारिता गर्न सक्षम छैनन् वा कसैलाई अझ घरबाटै समाचार अपलोड गर्न, फोटो सम्पादन गर्न, भिडियो बनाउन वा अपलोड गर्न धौधौ पर्छ । कारण, अनलाइनका पत्रकार यसको प्रकृतिसँग त्यति जानकार छैनन् । यसर्थ, अद्यापि अनलाइन पत्रकारिता छापा माध्यमको डिजिटल भर्सन मात्र देखिन्छ । यसको सम्भावनाको प्रचूरता र व्यापकता धेरै अनलाइन पोर्टलमा त खोतलिएकै छैन ।
यीबाहेक नेपालमा चलचित्र, म्युजिक भिडियो क्षेत्र, सांगीतिक क्षेत्र, यसका प्राविधिक र गैर–कलाकार पक्ष आदिमा पनि पूर्वतयारी देखिएन । भारतमा कोभिड-१९ का कारण बलिउडमा भएका विभिन्न घटनाले पनि हाम्रो मनमस्तिष्कमा केही प्रभाव छाडेकै छ, जुन शायद भावी प्रकोपसँग लड्न काम लाग्ला ।
आमसञ्चार क्षेत्रमै सबैभन्दा ठूलो पूर्वतयारीको पक्ष आर्थिक स्रोत जुटाउनुकै भएको यो महामारीले देखाएको छ । हुन त यो मिडियाका लागि मात्र नभई सबै किसिमका उद्योग तथा व्यक्ति-व्यक्तिलाई पनि आवश्यक हो । तर, यस महामारीमा देखिएको मिडियामा पत्रकार निकाल्नुपर्ने अवस्था, उचित पुँजी आपतकालका लागि जम्मा नगरेको अवस्था तथा प्रकोप पूर्वतयारीप्रति आवश्यक ध्यान नपुग्दाका असर सबैले यस बुँदालाई लगानीकर्ताले मनन गर्नुपर्ने औँल्याउँछ ।
समग्र रूपमा भन्नुपर्दा यो महामारीले हामीलाई धेरै पाठ सिकाएको छ । प्रकोप हामीले जानेबुझेका भूकम्प, बाढीपहिरो वा आगलागीका वा अन्य मानवसिर्जित द्वन्द्वका माध्यमबाट मात्र होइन, कहिलेकाहीँ यस्तो अकल्पित पनि हुन सक्छ । हुन त प्रायः प्रकोप अकल्पित हुन्छन् नै, तर पूर्वतयारी मात्रले हामीलाई सुरक्षित र विषम परिस्थितिमा पनि फ्रन्टलाइनमा बसेर सेवा सञ्चालन गर्न सक्षम बनाउँछ । आजै यो पूर्वतयारीबारे सचेत भई काम गरे भोलिका प्रकोपसँग हामी कम्तीमा कम जोखिमपूर्ण रूपले जुध्न सक्छौँ ।
लेखक कान्तिपुर सिटी कलेजमा पत्रकारिता लगायत आमसञ्चार अध्यापन र मिडियाका विविध विषयमा अनुसन्धानमा संलग्न छन्। विपद् पत्रकारिता शिक्षण क्षेत्रमा पनि उनको रुचि छ । उनी हाल देखापढी डट कममा डेस्क सम्पादक हुन्।