पत्रकार र सञ्चारमाध्यमहरूसामु कोभिड-१९ ले ल्याएका विविध चुनौतीहरू र तिनको सम्बोधन वा निकासका लागि नेपाल पत्रकार महासंघले के-कस्ता प्रयासहरु गर्दैछ ? प्रस्तुत छ महासंघका अध्यक्ष गोविन्द आचार्यसँग “मिडियाका लागि विपद् रिपोर्टिङ स्रोत "ले हालै गरेको अन्तर्वार्ता:
पत्रकारहरूमा कोभिड-१९ को संक्रमण दिन परदिन बढिरहेको अवस्था छ । जोखिम न्यूनीकरण गर्न पत्रकार महासंघले के-कस्ता उपायहरू गरेको छ ?
कोरोना सक्रमणको अवस्थामा पनि अग्रभागमा रहेर जनतालाई सत्य तथ्य सूचना सम्प्रेषण तथा जनताका समस्या र आवाज प्रवाह गर्ने भूमिका निर्वाह गरिरहेका पत्रकारहरूसमेत संक्रमित हुन पुगेका छन् । पत्रकार महासंघ केन्द्रीय कार्यालयमा प्राप्त जानकारी अनुसार हालसम्म कोरोना सक्रमणका कारण कपिलबस्तुमा १ जना पत्रकारको ज्यान गएको छ भने काठमाडौं, ललितपुर, कपिलबस्तु, धनुषा, पर्सा, सुर्खेत, सप्तरी, मोरंग, उदयपुर, वारा, लमजुंग, कास्की, रूपन्देही, बाँकेसहितका जिल्लामा ११५ जना पत्रकार संक्रमित हुन पुग्नु भएको छ (ताजा तथ्यांक )। पत्रकार महासंघले कोरोना सक्रमणको यस समयमा के गर्ने र के नगर्ने भनेर पत्रकारहरूका लागि निर्देशिका जारी गरेको छ । वेला वेला अभिमुखीकरण कार्यक्रम भएका छन् । मिडिया हाउस र जिल्ला तहसम्म पुगेर अनुगमन गर्ने, स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने तथा शाखाहरू मार्फत् कोरोना विमा गर्ने जस्ता कामहरू भएका छन् । नेपालमा समुदायस्तरमै कोरोना सक्रमितको संख्या दिनानुदिन बढिरहेकाले यसवाट सिंगो समाजलाई कसरी सक्रमणमुक्त बनाउन सकिन्छ भन्ने सन्देश र सूचना संचारमाध्यममार्फत् पत्रकारहरूले प्रवाह गरिरहेका छन् ।
अहिलेको अवस्थामा पत्रकारहरूको पेशागत हकहितको लागि महासंघको भूमिका कस्तो रहेको छ ?
कोरोना सक्रमणलाई बहाना बनाएर ठूला सञ्चारगृहले पत्रकारहरूलाई कामवाट निकाल्ने, वेतलवी विदामा राख्ने, तलव कटौती गर्ने तथा नियमितरूपमा तलव भुक्तानी नगर्ने समस्या देखिएको छ । यस खालको समस्याका कारण करिव पचास प्रतिशत पत्रकारहरूको सहज जिवनयापनमै समस्या पैदा भएको छ भने पत्रकारहरू पेशागतरूपमा असुरक्षित बनिरहेका छन् । यस्तो अवस्थामा पत्रकारहरूको पेशागत सुरक्षाका लागि महासंघले मिडिया हाउस र सरकार समक्ष ज्ञापनपत्र बुझाउने, धर्ना लगायत दवावमूलक कार्यक्रम गर्ने र श्रमजीवी पत्रकारको पक्षमा कानूनी लडाई लड्ने भूमिका खेलिरहेको छ । साथै आर्थिक अभावमा रहेका पत्रकारको समस्या समाधानका लागि आवश्यक पहल गर्दै आएको छ ।
कतिपय मिडिया हाउसले पत्रकारहरूले खाइपाई आइरहेको मासिक सुबिधा कटौती गरेकोले ठूलो समस्या देखा परेको छ जसको परिणाम पेशाबाटै पलायन हुने अवस्था आएको छ । यसबारेमा महासंघले के-कस्ता उपायहरू अघि सारेको छ ?
हो, नियमितरूपमा खाइपाई आएको तलव र सुविधा नपाउँदा श्रमजीवी पत्रकारहरू ठूलो समस्यामा छन् । कतिपय पत्रकार साथीहरू पत्रकारिता पेशावाटै पलाएन हुनु पर्ने अवस्था आयो भन्नु हुन्छ । यस्तो अवस्थामा एक पत्रकारलाई आफ्नो पेशामा कसरी टिकाइराख्ने भन्ने चुनौति थपिएको छ । कुनै पनि पत्रकार पेशावाट पलायन हुनु भनेको जनताको आवाज बन्द हुनु हो । यस्तो अवस्थामा महासंघले जिल्ला तहवाटै समस्यामा परेर पेशावाटै पलायन हुने अवस्था रहेका पत्रकारहरूको विवरण संकलन गरेको छ । ती साथीलाई काम वाट ननिकाल्न र पारिश्रमिक उपलब्ध गराउन सम्वन्धित मिडिया हाउसलाई दवाव दिने हाम्रो नीति छ । यसैगरी समस्यामा परेका साथीहरूलाई कमसे कम बाँच्नका लागि राहतको जोहो गर्ने महासंघले सोंच बनाएको छ । यही समस्या सम्बोधनका लागि हालै मात्र महासंघले १ करोड राशीको आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।
यो महामारीमा कतिपय मिडियामा गलत समाचारहरू सम्प्रेषण पनि भएका थिए । व्यवसायिक किसिमले गलत वा मिथ्या साचारहरु सम्प्रेषण हुनबाट बचाउन महासंघले के गर्दैछ ?
यो महामारीमा गलत समाचार र अफवाहहरू पैलन हुँदैन भन्ने हाम्रो मान्यता हो । गलत समाचार प्रवाह हुन नदिन पत्रकार महासंघले पत्रकारहरूका लागि आन्तरिक निर्देशिका जारी गर्नुका साथै प्रेस काउन्सिल र पत्रकार महासंघ मिलेर संयुक्त निर्देशिकासमेत जारी गरिएको छ । यसैगरी यसअवधिमा प्रकाशन-प्रसारण भएका सामग्रीको नियमित अनुगमन गरी गलत सामग्री प्रवाह गर्नेलाई सच्चाउन लगाउने र नसच्चिनेहरूमाथि पत्रकार आचार संहिता बमोजिम कारवाही गर्ने कार्यहरू पनि भइरहेका छन् ।
कोरोना संक्रमण भएयता पत्रकार महासंघले पत्रकारको हितको लागि अन्य के कस्ता कार्यक्रमहरू गरिरहेको छ ?
पत्रकार महासंघ कुनै सरकार वा राज्य होइन । यो पत्रकारहरूको साझा संस्था हो । मुख्यरूपमा पत्रकारहरूको सदस्यतावाट महासंघ संचालन हुन्छ । कोरोना सक्रमणका कारण हाम्रा सदस्यहरू नै प्रभावित बनिरहेको र संचार क्षेत्रमै ठूलो असर परेकाले महासंघले २०७७ सालको सदस्यता शुल्क छुट गर्ने निर्णय गरेको छ । अहिलेको अवस्थामा पत्रकारको पेशागत सुरक्षा मुख्य विषय बनेर आएकाले पेशागत सुरक्षाका लागि महासंघले दवावमूलक कार्यक्रम र कानूनी उपचारको वाटो अवलम्बन गरिरहेको छ । यसवाहेक यसबीचमा विभिन्न कार्यक्रमहरू समेत भएका छन् । हामीले सक्रमणकै बीचमा पनि जिल्ला जिल्ला र मिडिया हाउसमा पुगेर समस्या बुझेका छौं, नेपाल सरकारसहित सरोकारवाला निकायमा ध्यानाकर्षण पत्र बुझाएका छौं । पत्रकार हक, हित अधिकार, पत्रकारको लेख्ने स्वतन्त्रता र भौतिक सुरक्षा एवम् नागरिक हितका पक्षमा विभिन्न गतिविधि जारी राखेका छौं ।
फिल्डमा दौडिरहेका पत्रकारको स्वास्थ्यलाई लिएर महासंघले सुरक्षासम्वन्धी के कस्ता कार्यक्रमहरू गरिरहेको छ ?
फिल्डमा खट्ने पत्रकार साथीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर महासंघका केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले विभिन्न अभिमुखीकरण कार्यक्रम गर्ने, स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने, कोरोना विमा गर्ने तथा सरोकारवाला निकायसँग समन्वय गर्ने जस्ता कार्य गरिरहेका छन् ।
संचार क्षेत्रमा परेको प्रभाव, जस्तै स्वास्थ्य, आर्थिक र पेशागत असरका तथ्याङ्कहरू कसरी संकलन गर्नुभएको छ? यी तथ्यांकहरूले यथाअवस्था (वास्तविकता) लाई कतिको राम्ररी दर्साउन सक्छन् ?
नेपाल पत्रकार महासंघका देशभर १० वटा प्रदेश समिति, ७६ जिल्ला समिति, १२ एशोसिएट संस्था र ४२ प्रतिष्ठान शाखा क्रियाशील रहेका छन् । यी निकायहरूमार्फत् महासंघले नियमितरूपमा रिपोर्ट संकलन गरिरहेको छ । यसवाहेक हालैमात्र पत्रकार महासंघले आफ्ना सदस्यहरूमध्ये करिव १५ प्रतिशत अर्थात दुई हजार पत्रकारमा कोरोना सक्रमणपछिको अवस्था वारे सर्भेक्षण गरेर तथ्यांक संकलन गरेको छ । शेयर काष्ट इनिसियटिभसँगको सहकार्यमा गरिएको यस सर्भेको अन्तिम प्रतिवेदन आउन बाँकी छ । तर प्रारम्भिक प्रतिवेदनमा कोभिड-१९ महामारी र त्यसका कारण भएको लकडाउनले नेपाली पत्रकारिता क्षेत्रमा निकै प्रभाव परेको देखिन्छ । पत्रकारहरूको भौतिक सुरक्षासँगै उनीहरूको पेशागत सुरक्षामा यसले असर पारेको छ । महामारी तथा लकडाउनका कारण मिडिया क्षेत्रको आम्दानी घटेको र त्यसको प्रत्यक्ष असर पत्रकारहरूले भोग्नु परिरहेको छ । यस अवधिमा जागिर गुमाएका, वेतलवी विदामा राखिएका, तलव कटौती गरिएका र नियमित पारिश्रमिक भुक्तानी पाउन नसक्दा जिवनयापनकै लागि आर्थिक समस्या झेलीरहेका पत्रकारको सख्या करिव ४० प्रतिशत रहेको देखिन्छ । यसैगरी ७० प्रतिशत भन्दा बढी पत्रकारहरूले कोरोना महामारी तथा लकडाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । लकडाउनका कारण समाचार संकलनमा असुविधा हुनुका साथै सञ्चार माध्यमहरूले उपलब्ध गराउँदै आएको सुविधा कटौती गरेका कारण पनि उनीहरूले असहजता महसुस गरेका हुन् ।
यस्तै अधिकांश पत्रकारहरूले यस अवधिमा समाचार संकलन र सम्प्रेषण गर्दा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् ।
महासंघले सरकार, संचार क्षेत्र र पत्रकारहरूबाट कतिको सहयोग पाइरहेको छ? देशमा पत्रकारलाई सरकारबाट सहयोग भइरहेको छ ?
यसवेला एउटामात्रै समुदाय वा क्षेत्र नभई सबै क्षेत्र प्रभावित भएको अवस्था छ । यस्तो अवस्थामा राज्यले अभिभावकीय भूमिका खेल्नु पर्ने हो । हामीले समस्या समाधानका लागि सरकार समक्ष अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका छौं तर सरकार यसप्रति गम्भीर बनेर सुनुवाई गरिरहेको छैन । सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, पत्रकार र मिडिया संचालकहरूबीच सहकार्यको आवश्यकता छ । अहिलेको जटिल अवस्थामा एक अर्काबीच सहकार्य र सहयोग गरेर नै समस्याहरूसँग जुध्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । यसका लागि महासंघले सम्बन्धित सबैसँग पहल गर्दै आएको छ ।