भक्तपुर, १८ मङ्सिर । नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले पत्रकारले कुनै पनि सङ्कटका बेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना, दूतावासको सहयोग तथा नेपाल पत्रकार महासङ्घ भक्तपुरको संयोजनमा भएको चारदिने प्राकृतिक विपद् तथा पुनःनिर्माण पत्रकारिता तालिमको आज समापन गर्दै उहाँले पत्रकारको काम आशावादी समाचार दिने मात्र नभई उत्साह र प्रेरणा दिनु पनि हो भन्नुभयो ।
कार्यक्रममा प्रमख प्रशिक्षक वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, राष्ट्रिय सञ्चार विकास केन्द्रका संयोजक विष्णुप्रसाद शर्मा, पत्रकार महासङ्घ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्कालगायतले विपदमा सत्यतथ्य समाचार सम्प्रेषण गर्ने प्रमुख जिम्मेवारी पत्रकारको रहेकाले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
तालिममा पत्रकार श्रीरामसिंह बस्नेत, बद्री तिवारीलगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा भूकम्प प्रभावित भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, धादिङ र नुवाकोटका २० सञ्चारकर्मीको सहभागिता थियो।
DCNepal.com, 4 Dec 2015